प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 ६/१५ pp. ८-१०
  • सबैभन्दा बहुमूल्य सम्पदा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सबैभन्दा बहुमूल्य सम्पदा
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • मिल्दोजुल्दो सामग्री
  • आमाबुबा हो, छोराछोरीलाई यहोवालाई प्रेम गर्न सिकाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • आध्यात्मिक तवरमा बलियो परिवार बसाल्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • आमाबाबुहरू हो, आफ्नो परिवारको पालनपोषण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • आमाबाबु हो, छोराछोरीलाई प्रेममा प्रशिक्षण दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 ६/१५ pp. ८-१०

सबैभन्दा बहुमूल्य सम्पदा

आफ्नो जीवनको उत्तरार्धमा वृद्ध प्रेरित यूहन्‍नाले यस्तो लेखे: “मेरा छोरा-छोरीहरू सत्यमा चलेका सुन्‍नभन्दा बढ़ता आनन्द अरू मलाई हुँदैन।”—३ यूहन्‍ना ४.

यी विश्‍वासी प्रेरितले आफ्ना छोराछोरी भनेर आध्यात्मिक अर्थमा उल्लेख गरिरहेका थिए। तथापि, थुप्रै आमाबाबु ती प्रेरितका शब्दहरूमा सहमत हुनेछन्‌। तिनीहरूले आफ्ना छोराछोरीलाई यहोवाको “शिक्षा र चेताउनीमा पालन-पोषण” गर्न कडा परिश्रम गरेका छन्‌ अनि अब आफ्ना हुर्केका छोराछोरीहरू “सत्यमा चलेका” देख्न पाउँदा हर्षित हुन्छन्‌। (एफिसी ६:४) वास्तवमा, आफ्ना छोराछोरीलाई अनन्त जीवनको बाटो सिकाउनु भनेको तिनीहरूलाई सबैभन्दा बहुमूल्य सम्पदा दिनु हो। त्यसको कारण के हो भने, ईश्‍वरीय भक्‍ति जसमा यहोवाले चाहनुभएअनुसार जीवन बिताउनु समावेश छ, त्यसले “अहिले भइरहेको र पछि हुनेसमेत जीवनको प्रतिज्ञा” दिन्छ।—१ तिमोथी ४:८.

सिद्ध पिता यहोवाले आफ्ना छोराछोरीलाई आध्यात्मिक प्रशिक्षण दिन कडा मेहनत गर्ने ईश्‍वरभीरु आमाबाबुलाई निकै मूल्यवान्‌ ठान्‍नुहुन्छ। छोराछोरीले सकारात्मक प्रतिक्रिया देखाएको खण्डमा आफ्ना आमाबाबुसितै साँचो उपासनामा भाग लिन पाउँदा निकै आनन्द उठाउन सक्छन्‌। त्यस्ता छोराछोरीहरू परिपक्व बन्दै जाँदा तिनीहरूले त्यस्ता अनुभवहरूको मीठो सम्झना सँगाल्छन्‌। कोही-कोही आफूले पहिलो चोटि ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा भाग लिंदाको मीठो सम्झना गर्छन्‌।a अथवा आफ्ना आमाबाबुसँगै घर-घरको सेवकाईमा जाँदा बाइबलको एउटा पद पढ्‌न सकेको समय सम्झन्छन्‌। आफ्ना आमाबाबुले बाइबलका कथाहरू भएको मेरो पुस्तक वा लिस्निङ टु द ग्रेट टिचर?b पुस्तकबाट पढेर सुनाएको कसरी बिर्सन सक्छन्‌ र? आफूलाई असाध्यै मन परेको कुराबारे गेब्रिल यसो भन्छन्‌: “म चार वर्षको हुँदा आमाले खाना पकाउँदै गर्दा गीत गाएर मलाई हरेक दिन सुनाउनुहुन्थ्यो। एउटा खास राज्य गीतले मेरो मनमा अझै पनि गहिरो भावना उब्जाउँछ। पछि गएर यसैले मलाई यहोवाको सेवा गर्नुको महत्त्व बुझ्न मदत गऱ्‍यो।” सायद गेब्रिलले भनिरहेको त्यो सुन्दर गीत तपाईंलाई पनि थाह होला। यो यहोवाको भजन गाओ भन्‍ने अङ्‌ग्रेजी गीतको पुस्तकको “युवावस्थामा यहोवाको उपासना गर्नुहोस्‌” भन्‍ने शीर्षक भएको गीत न. १५७ हो।

गीतको बोल यसरी सुरु हुन्छ: “साना बालकहरूको मुखबाट परमेश्‍वरको प्रशंसा भयो;/तिनीहरूले येशूको प्रशंसा गर्न आफ्नो स्वर उचाले।” निस्सन्देह, येशूसित संगत गर्ने विशेष मौका पाएका केटाकेटीहरू थिए अनि तिनीहरूको स्फूर्तिदायी र इमानदार स्वभावले येशूलाई आनन्दित तुल्याएको हुनुपर्छ। येशूले यी साना बालकहरूलाई सिकाउन कति सजिलो हुन्छ भन्‍ने कुरा आफ्ना अनुयायीहरूले अनुकरण गर्नुपर्ने कुरा हो भनेर बताउनुभयो। (मत्ती १८:३, ४) त्यसैले यहोवाको उपासनामा बालकहरूको उचित स्थान छ। वास्तवमा, त्यस गीतको बोल अझै यसो भन्छ: “हो, बालकहरूले समेत परमेश्‍वरको प्रशंसा गर्न सक्छन्‌।”

घरमा, स्कूलमा र अन्य ठाउँहरूमा आफ्नो उदाहरणीय आचरणद्वारा थुप्रै केटाकेटीले परमेश्‍वर र आफ्नो परिवारको ठूलो आदर गरेका छन्‌। “सत्यलाई प्रेम गर्ने मसीही आमाबाबुहरू” हुनु तिनीहरूको लागि कस्तो आशिष्‌ हो। (व्यवस्था ६:७) ईश्‍वरभीरु आमाबाबुहरू परमेश्‍वरले भन्‍नुभएअनुसार गर्छन्‌ जसले एक जना मायालु बुबाको हैसियतमा आफ्ना प्राणीहरू हिंड्‌नुपर्ने बाटोमा हिंड्‌न सिकाउनुहुन्छ। अनि यी आमाबाबुहरूले कस्तो आशिष्‌ पाउँछन्‌! फलस्वरूप तिनीहरूले आफ्नो परिवारका साना केटाकेटीहरूलाई सिकाउँदा “तिनीहरूको आज्ञा पालन गर्ने तथा आनन्दित तुल्याउने” छोराछोरीहरू पाउनु कस्तो आशिष्‌को कुरा हो! (यशैया ४८:१७, १८) हाल यहोवाका साक्षीहरूको मेक्सिको शाखा कार्यालयमा सेवा गर्ने आनहेलिका यसो भन्छिन्‌: “मेरा आमाबाबुले बाइबलका सिद्धान्तहरू सधैं व्यवहारमा उतार्ने प्रयास गर्नुभयो। त्यसले गर्दा मेरो बाल्यावस्था एकदमै रमाइलो भयो। म खुसी थिएँ।”

ती मसीहीहरू आफ्नो आध्यात्मिक सम्पदाको राम्रो जगेर्ना गर्नु सार्थक छ भन्‍ने कुरामा सहमत छन्‌। सायद तपाईं जवान हुनुहुन्छ र साँचो मसीही मूल्यमान्यताहरू राख्ने परिवारमा तपाईंको लालनपालन भइरहेको छ। त्यसो हो भने, त्यही गीतमा यस्तो आग्रह गरिएको छ: “हे मसीही युवाहरू हो, आफ्नो मार्ग सफा राख्न यत्न गर्नुहोस्‌।” तपाईंले आफ्नो निर्णय आफै गर्नुपर्ने समय आउनेछ, त्यसैले अहिले नै “जवान छँदा यहोवामा भर पर्न सिक्नुहोस्‌।/लोकप्रिय हुनेतिर कहिल्यै नलाग्नुहोस्‌।”

लोकप्रिय हुने कुरालाई जीवनमा प्राथमिकता दिने गल्ती तपाईंले गर्नुभयो भने तपाईंले पाउनुभएको सबै प्रशिक्षण बेकार जान सक्छ र भविष्यका लागि प्रत्याशाहरू भताभुङ्‌ग हुन सक्छन्‌। लोकप्रिय हुने इच्छाले गर्दा आफ्नो सतर्कता गुम्न सक्छ। कसै-कसैले हेर्दा राम्रै अनि आकर्षक समेत देखिने तर मसीही स्तरहरूप्रति कुनै चासो नराख्ने व्यक्‍तिहरूसित संगत गरेका छन्‌। यङ पिपल आस्क—हाऊ क्यान आई मेक रियल फ्रेन्ड्‌स? भन्‍ने भिडिओकी प्रमुख पात्र तारालाई त्यस्तै भएको थियो। ताराजस्तै, साँचो उपासनालाई महत्त्वपूर्ण नठान्‍ने व्यक्‍तिहरूसित संगत गर्दा जो कोही मसीहीले उक्‍त गीतले भनेझैं “खराब संगतले भला चाल-चलनलाई बिगार्दछ” भनी ढिलो होस्‌ या चाँडो थाह पाउनेछन्‌। राम्रो बानी बसाल्न वर्षौं प्रयास गर्नुपर्छ तर ती तुरुन्तै बिग्रन सक्छन्‌।

हुन त हो, ईश्‍वरीय भय झल्काउने जीवन बिताउन सजिलो छैन। तैपनि, गीतले भनेझैं “तपाईंले युवावस्थामा परमेश्‍वरलाई सम्झनुभयो,/अनि आत्मा र सत्यतामा यहोवाको सेवा गर्नुभयो भने” तपाईंले साँचो सफलताको लागि बलियो जग बसाल्नुहुनेछ। अनि “उमेर बढ्‌दै गएपछि अझ बढी आनन्द थाह पाउनुहुनेछ।” यहोवाको मायालु हेरचाहमा तपाईंले यसको महत्त्व अझ बढी बुझ्नुहुनेछ अनि उहाँको नजरमा सही कुरा गर्न कुनै पनि कुराले रोक्न सक्दैन। परिपक्व, ईश्‍वरभीरु वयस्क हुने तरिका त्यही हो। यसको अलावा, मसीही लालनपालनको बुद्धिमानीपूर्वक सदुपयोग गर्दा “परमेश्‍वरको हृदय आनन्दले चम्कन दिने” मौका दिन्छ। मानिसले यो भन्दा ठूलो अरू कुन सम्मान पाउन सक्छ र?—हितोपदेश २७:११.

त्यसैले युवाहरू हो, यहोवा र तपाईंका मसीही आमाबाबुबाट पाउनुहुने प्रशिक्षण कति अनमोल छ भनेर सधैं सम्झनुहोस्‌। तपाईंप्रति तिनीहरूको महान्‌ प्रेमले यहोवाको नजरमा मनपर्ने कुरा गरिरहन उत्प्रेरित गरोस्‌। येशू ख्रीष्ट र विश्‍वासी जवान तिमोथीजस्तै तपाईंले स्वर्गमा हुनुहुने पिता र तपाईंका मानव आमाबाबुलाई खुसी तुल्याउनुहुनेछ। अनि तपाईं पनि कुनै दिन आमाबाबु बन्‍नुभएको खण्डमा माथि उल्लिखित आनहेलिकासित सहमत हुनुहुनेछ जसले यसो भनिन्‌: “कुनै दिन मेरो बच्चा भयो भने उसलाई शैशवकालदेखि नै यहोवाप्रतिको प्रेम राखिदिन र त्यही प्रेमलाई उसको बाटो डोऱ्‍याउने ज्योति बनाउन कडा परिश्रम गर्नेछु।” साँच्चै, अनन्त जीवनतर्फ डोऱ्‍याउने सोझो मार्ग नै सबैभन्दा बहुमूल्य सम्पदा हो!

[फुटनोटहरू]

a बाइबल शैक्षिक कार्यक्रमको यो भाग यहोवाका साक्षीहरूको मण्डलीमा जवान तथा वृद्ध दुवैको लागि खुला छ।

b यहाँ उल्लिखित प्रकाशनहरू यहोवाका साक्षीहरूद्वारा प्रकाशित हुन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने