के तपाईं अरूसित आफ्नो तुलना गर्नुहुन्छ?
आफूभन्दा सुन्दर, अझ धेरै लोकप्रिय, छिट्टै कुरा बुझ्ने अथवा स्कूलमा धेरै अंक ल्याउने व्यक्ति नभेट्ने को होला र? अरूको आफ्नो भन्दा अझ राम्रो स्वास्थ्य, जागिर, आफूभन्दा अझ सफल अथवा धेरै साथीहरू हुन सक्छन्। तिनीहरूको अझ धेरै सम्पत्ति, पैसा, नयाँ कार हुन सक्छ अथवा तिनीहरू अझ बढी आनन्दित देखिन सक्छन्। यस्ता कुराहरू ध्यान दिंदै के हामी अरूहरूसित आफ्नो तुलना गर्छौं? के तुलना भनेको स्वतः भइहाल्ने कुरा हो? मसीहीहरूले किन यसबाट जोगिने इच्छा राख्नुपर्छ? अनि कसैसित तुलना नगरीकन पनि हामी कसरी सन्तुष्ट हुन सक्छौं?
किन अनि कहिले हामीमा तुलना गर्ने झुकाव आउँछ
एकथरिको सोचाइअनुसार मानिसहरूले अरूसित आफ्नो तुलना गर्नुको एउटा कारण यसले तिनीहरूको आत्मसम्मान कायम राख्न अथवा उकास्न मदत गर्छ। आफूलाई आफ्ना साथीहरू जत्तिकै सफल पाउँदा मानिस अक्सर सन्तुष्ट हुन्छन्। अर्काथरिका व्यक्तिहरूको सोचाइअनुसार तुलना गर्नु भनेको आफ्ना अनिश्चितताहरू कम गर्ने, आफ्ना सक्षमता र सीमितताहरू बुझ्ने प्रयास हो। अरूका उपलब्धिहरू हामी नियाल्छौं। यदि तिनीहरू धेरै हदसम्म हामीजस्तै छन् अनि तिनीहरूले कुनै खास लक्ष्य हासिल गरेका छन् भने हामीलाई लाग्नसक्छ, हामी पनि त्यस्ता लक्ष्यहरू हासिल गर्न सक्छौं।
अक्सर तुलना आफू समानको स्तरसित गरिन्छ जस्तै समान लिङ्ग, समान उमेर र समान सामाजिक स्तर अनि एक-अर्कालाई राम्ररी चिन्ने व्यक्तिहरू। कुनै व्यक्तिसितको असमानता धेरै जस्तो लागेमा अक्सर त्यस्ता व्यक्तिसित तुलना गर्ने सम्भावना कम हुन्छ। अर्को शब्दमा भन्नुपर्दा औसत किशोरीले आफ्ना सहपाठीहरूसित भन्दा कुनै लोकप्रिय मोडेलसित तुलना गर्ने सम्भावना कम हुन्छ अनि त्यस्तै कुनै मोडेलले पनि उक्त किशोरीसित तुलना गर्ने सम्भावना कम हुन्छ।
तुलना के कस्ता क्षेत्रहरूमा हुने गर्छन्? समाजमा मोल गरिने सम्पत्ति अथवा गुण चाहे त्यो बौद्धिकता, सुन्दरता, धन, लुगाफाटा जेसुकै होस्—यी सबै तुलनाका क्षेत्रहरू हुन सक्छन्। यद्यपि, हामी आफूलाई चासो लाग्ने विषयहरूमा तुलना गर्न खोज्छौं। उदाहरणको लागि हामीलाई टिकट सङ्कलनमा चासो नहोउन्जेल आफूले चिनेको व्यक्तिले जति नै थुप्रो टिकट सङ्कलन गरे तापनि सम्भवतः हामी त्यसमा इर्ष्या गर्दैनौं।
तुलनाले सन्तुष्टिबाट नैराश्य, सम्मान र अनुकरण गर्ने इच्छाबाट हतोत्साह अथवा वैमनस्यता जस्ता विविध दुष्परिणामहरू निम्त्याउँछ। यीमध्ये कुनै-कुनै भावना त हानिकारक हुन्छन् अनि मसीही गुणसित नमिल्ने हुन्छन्।
प्रतिस्पर्धात्मक तुलना
तुलना गर्दा “विजयी” हुन प्रयत्न गर्नेहरू धेरैले प्रतिस्पर्धी मनोभाव देखाउँछन्। तिनीहरू अरूभन्दा राम्रो हुन चाहन्छन् अनि तिनीहरूलाई जबसम्म आफू राम्रो छु जस्तो लाग्दैन तबसम्म तिनीहरू सन्तुष्ट हुँदैनन्। यस्ता व्यक्तिहरूसित संगत गर्नु रमाइलो हुँदैन। यिनीहरूसितको मित्रतामा मनमुटाव पैदा हुन्छ, सम्बन्धहरू तनावग्रस्त हुन्छन्। यस्ता मानिसहरूमा नम्रताको कमी हुने मात्र होइन तर आफ्ना सँगीहरूलाई प्रेम गर्ने बाइबल सल्लाह पालन गर्न यिनीहरू अक्सर चुक्छन् किनकि यिनीहरूको आचरणबाट अरूले सजिलै आफूलाई तल खसालिएको अनि हेपिएको महसुस गर्न सक्छन्।—मत्ती १८:१-५; यूहन्ना १३:३४, ३५.
कुनै मानिसलाई जब अरूले आफूलाई “तल खसालेर कुरा” गरेको महसुस हुन्छ, उसलाई कुनै न कुनै चोट त पुगिहाल्छ। एक जना लेखकको भनाइअनुसार, “हाम्रो असफलताको पीडा त्यतिबेला झन् चर्कन्छ जब हाम्रै अवस्थामा हुने व्यक्तिले हामीले चाहिरेहको कुरा हासिल गर्छ।” प्रतिस्पर्धी मनोभावले गर्दा कुनै व्यक्तिको सम्पत्ति, संवृद्धि, ओहदा, प्रतिष्ठा, सुखसुविधा आदि कुराहरूको कारण उसप्रति ईर्ष्या, क्रोध र रिसइबीजस्ता भावनाहरू जगाउँछ। अनि यसले अझ प्रतिस्पर्धा गर्नतिर उन्मुख गर्छ जुन एउटा घातक चक्र बन्न जान्छ। बाइबलले “एउटाले अर्कोसित पाखुरा सुर्काउने” कुराको निन्दा गर्छ।—गलाती ५:२६.
आफ्नो प्रतिद्वन्द्वीका उपलब्धिहरूलाई तुच्छ ठान्दै ईर्ष्यालु व्यक्तिले आफ्नो चोटग्रस्त आत्मसम्मानलाई मलम-पट्टी लगाउने चेष्टा गर्छ। यस्ता प्रतिक्रियाहरू सानोतिनो लाग्न सक्ला तर समयमै ठम्याइएन र नियन्त्रण गरिएन भने अरूलाई जानाजानी चोट पुऱ्याउने जस्ता गम्भीर भूल गर्न उक्साउन सक्छ। दुईवटा बाइबल विवरणहरूमाथि विचार गर्नुहोस् जहाँ ईर्ष्याले मुख्य भूमिका खेल्यो।
पलिश्तीहरूमाझ बसोबास गर्दा आशिष्स्वरूप इसहाकका “प्रशस्त भेडा-बाख्रा, गाई-गोरु र नोकर-चाकर भए। यसैकारण पलिश्तीहरूले तिनलाई डाह गर्नलागे।” फलतः तिनीहरूले इसहाकको पिता अब्राहामले बनाएको इनार थुनिदिए र तिनीहरूका राजाले इसहाकलाई उक्त ठाउँ छोड्ने आदेश दिए। (उत्पत्ति २६:१-३, १२-१६) तिनीहरूको ईर्ष्या द्वेषपूर्ण र विनाशक थियो। तिनीहरू आफूबीच इसहाकको संवृद्धिलाई सहनै नसक्ने हदसम्म पुगे।
शताब्दीयौं पछि दाऊदले रणभूमिमा वीरता देखाए। उनको साहसिक कार्यलाई स्त्रीहरूले प्रशंसा गर्दै यसरी गाए: “शाऊलले हजारौं हजारलाई ध्वंश गरे, तर दाऊदले ता लाखौं लाखलाई ध्वंश गरे।” शाऊलले केही प्रशंसा पाएको भए तापनि उनले त्यस तुलनालाई आफ्नो बेइज्जती ठाने र उनको हृदयमा ईर्ष्या उब्ज्यो। त्यस उप्रान्त उनले दाऊदप्रतिको द्वेषलाई अझ झाँगिन दिए। तुरुन्तै उनले दाऊदलाई मार्न एकचोटि मात्र हैन धेरै चोटि प्रयास गर्न कुनै बेर लगाएनन्। ईर्ष्याले कस्तो घोर दुष्ट कार्य गर्न उक्साउँदो रहेछ!—१ शमूएल १८:६-११.
अरूले कमाएको ख्याति र हासिल गरेको सुखसुविधासित आफ्नो तुलना गर्दा यस्तै ईर्ष्या र प्रतिस्पर्धी भावनाहरू उब्जन सक्छ भने होसियार रहनुहोस्! यी परमेश्वरको सोचाइसित नमिल्ने हानिकारक भावनाहरू हुन्। तर यस्ता मनोभावहरूको प्रतिरोध कसरी गर्ने भनेर जाँच्नुअघि आउनुहोस्, तुलना गर्न हामीलाई उक्साउने अर्को तत्त्वबारे पनि विचार गरौं।
आत्म-विश्लेषण र सन्तुष्टि
के म चतुर, आकर्षक, दक्ष, सुन्दर जीउडालको, प्रभावशाली र अरूको आँखामा बसेको छु? अनि कुन हदसम्म?’ हामी विरलै ऐना अगाडि उभिएर यस्ता प्रश्नहरू सोध्छौं। यद्यपि, एक जना लेखकअनुसार “यस्ता प्रश्न निश्चय नै हाम्रो मनमा खेल्छ अनि मनमनै भए पनि त्यसको उत्तर त आउँछ र उत्तर केही हदसम्म चित्तबुझ्दो पनि हुन्छ।” कुनै व्यक्तिको स्पष्ट लक्ष्य छैन भने प्रतिस्पर्धी झुकाव अथवा ईर्ष्या नराखी उसले यस्ता कुराहरू मनमा खेलाऊलान्। त्यतिबेला उसले आफ्नो विश्लेषण मात्र गरिरहेको हुन्छ। यसो गर्नु आफैमा गलत त होइन। तर यसो गर्दा तुलना गर्नु चाहिं गलत हो।
विविन्न कारणहरूले गर्दा हाम्रा क्षमताहरू फरक-फरक हुन्छन्। आफूभन्दा अझ राम्रो गर्ने जस्तो देखिने कोही न कोही त सधैं नै भइहाल्छ। तसर्थ, तिनीहरूलाई ईर्ष्यालु नजरले हेर्नुभन्दा हामीले आफ्नो काम परमेश्वरको धार्मिक स्तर अनुरूप छ कि छैन भनी तुलना गर्नुपर्छ जुन असल र खराब छुट्याउने मुख्य तरिका हो। हामी व्यक्तिविशेषको रूपमा कस्तो छौं, यहोवा त्यसमा चासो लिनुहुन्छ। हामीलाई अरू कसैसित तुलना गरिरहनु उहाँलाई खाँचो छैन। प्रेरित पावल यस्तो सल्लाह दिन्छन्: “प्रत्येकले आफ्नै कामको जाँच गरोस्, तब मात्र त्यसले आफैलाई अरूसँग तुलना नगरी आफैमाथि गर्व गर्न सक्छ।”—गलाती ६:४, NRV.
ईर्ष्याको प्रतिरोध गर्ने
सबै मानिसहरू असिद्ध छन्, अतः ईर्ष्यासित लड्न धेरै कठिन र लामो सङ्घर्ष आवश्यक पर्न सक्छ। “मानमा एउटाले अर्कोको बढ्ता कदर गर” भनेर थाह पाउनु सजिलो छ तर त्यसलाई व्यवहारमा उतार्नु भने गाह्रो छ। पावलले पापप्रतिको आफ्नो झुकावलाई बुझे। यससित लड्न उनले आफ्नो ‘शरीरलाई कुट्नु र वशमा ल्याउनु’ पऱ्यो। (रोमी १२:१०; १ कोरिन्थी ९:२७) हाम्रो लागि यसको अर्थ प्रतिस्पर्धी सोचाइहरूको प्रतिरोध गर्नु र त्यसको ठाउँमा उत्थानदायी विचारहरूले भर्नु हुन सक्छ। “आफूलाई जस्तो सम्झनु पर्दछ त्यसभन्दा बढी नसम्झ[न]” हामीले यहोवाको मदत माग्दै प्रार्थना गर्नु आवश्यक छ।—रोमी १२:३.
बाइबल अध्ययन र मननले पनि मदत गर्न सक्छ। उदाहरणको लागि, परमेश्वरले प्रतिज्ञा गर्नुभएको भावी प्रमोदवनबारे विचार गर्नुहोस्। त्यतिबेला सबैसित शान्ति, सुस्वास्थ्य, प्रचुर भोजन, आरामदायी घर र सन्तोषजनक काम हुनेछ। (भजन ४६:८, ९; ७२:७, ८, १६; यशैया ६५:२१-२३) के त्यतिबेला कसैमा प्रतिस्पर्धा गर्ने झुकाव आउनेछ? अहँ, आउनेछैन। त्यतिबेला प्रतिस्पर्धा गर्ने खाँचै पर्नेछैन। हो, त्यतिबेला जीवन कस्तो हुनेछ भनेर यहोवाले हामीलाई एक-एक कुरा बताउनुभएको छैन तर मानिसले आफूलाई मनपर्ने इच्छा र सीप अपनाउनेछन् भनेर अनुमान गर्नु चाहिं व्यावहारिक हुनेछ। कसैले खगोलविद्या अध्ययन गर्लान् अनि अरूले चाहिं सुन्दर लुगाहरूको डिजाइन गर्लान्। किन एउटाले अर्काको इर्ष्या गर्ने? हाम्रा सँगीहरूको क्रियाकलाप हाम्रो लागि प्रेरणा बन्नेछ तर द्वेषको कारण होइन। यी सोचाइहरू त विगतका कुराहरू हुनेछन्।
यदि हामी यस्तो जीवनको चाह गर्छौं भने के अहिल्यै यस्तो मनोभाव विकास गर्ने प्रयास गर्नु पर्दैन र? हामी वरपरको संसारका धेरै समस्याहरूबाट मुक्त आध्यात्मिक प्रमोदवनको त हामीले अहिल्यै आनन्द उठाइरहेका छौं। नयाँ संसारमा प्रतिस्पर्धी मनोभाव ठ्याम्मै नहुने भएकोले यी कुराहरू त्याग्ने हामीसित ठोस कारण छ।
त्यसोभए, आफूलाई अरूसित तुलना गर्नु के गलत नै हो त? अथवा तुलना गर्ने उपयुक्त अवसर पनि छ कि?
उपयुक्त तुलना
धेरैजसो तुलनाहरूले तीतो अथवा नैराश्यपूर्ण परिणाम निम्त्याए तापनि सधैं यस्तो हुनै पर्छ भन्ने छैन। यस सन्दर्भमा प्रेरित पावलको सल्लाहलाई याद गर्नुहोस्: “विश्वास र धीरजद्वारा प्रतिज्ञाका हकदार हुनेहरूका देखासिकि गर्ने होओ।” (हिब्रू ६:१२) पुरातन समयका यहोवाका ती सेवकहरूका गुणहरू खेती गर्न प्रयत्न गर्नु फलदायी हुन सक्छ। हो, यसो गर्नुमा केही हदसम्म तुलना समावेश हुन सक्छ। यद्यपि, हामीले अनुकरण गर्नुपर्ने उदाहरणहरू अनि हामीले उन्नति गर्नुपर्ने क्षेत्रहरू बुझ्न यसले मदत गर्छ।
जोनाथनलाई विचार गर्नुहोस्। एक अर्थमा भन्नुपर्दा उनीसित ईर्ष्या गर्ने कारण थियो। इस्राएलको राजा शाऊलको जेठो छोरा भएकोले जोनाथनले कुनै बेला राजा हुने आशा राखेका हुन सक्छन् तर यहोवाले तिनीभन्दा ३० वर्ष कान्छो युवक दाऊदलाई रोज्नुभयो। यस कुराले गर्दा मनमा तीतो राख्नुको सट्टा जोनाथनले निःस्वार्थ मित्रतामा आफ्नो बेग्लै पहिचान बनाए अनि यहोवाले नियुक्त गर्नुभएको राजा मानेर दाऊदको समर्थन गरे। जोनाथन साँच्चै एक आध्यात्मिक पुरुष थिए। (१ शमूएल १९:१-४) उनी आफ्नो बाबु जस्तो थिएनन् जसले दाऊदलाई आफ्नो प्रतिद्वन्द्वी ठाने। जोनाथनले कामकुरामा यहोवाको हात भएको कुरा बुझे अनि उहाँको इच्छाप्रति अधीनता देखाए; उनले यसो भन्दै दाऊदसित आफ्नो तुलना गरेनन्, ‘मलाई नरोजेर किन दाऊदलाई?’
अरूले हामीलाई उछिन्दै छन् अथवा हाम्रो स्थान लिंदै छन् भन्ठान्दै हामीले सँगी मसीहीहरूबीच कहिल्यै खतरा महसुस गर्नु हुँदैन। प्रतिस्पर्धा गर्नु उचित होइन। परिपक्व मसीहीहरूको चिनारी सहयोग, एकता र प्रेम हो, प्रतिस्पर्धा होइन। समाजशास्त्री फ्रान्सिस्को अलबेरोनी यसो भन्छन्, “ईर्ष्याको सबैभन्दा ठूलो शत्रु प्रेम हो। यदि हामी कसैलाई प्रेम गर्छौं भने हामी उसको भलो चाहन्छौं र ऊ सफल र खुसी हुँदा हामी खुसी हुन्छौं।” त्यसैले मसीही मण्डलीमा कुनै व्यक्ति कुनै खास सुअवसरको लागि चुनिंदा त्यसमा सन्तुष्ट हुनु नै उनीप्रति प्रेम देखाउनु हो। जोनाथनले यस्तै गरे। यहोवाको संगठनमा जिम्मेवार स्थानमा रहेर विश्वासीपूर्वक सेवा गरिरहेकाहरूलाई सहयोग गर्दा उनले जस्तै हामीले पनि इनाम पाउनेछौं।
सँगी मसीहीहरूले बसालेका उत्कृष्ट उदाहरण प्रशंसा योग्यको हुन सक्छ। तिनीहरूसितको सन्तुलित तुलनाले तिनीहरूको विश्वासको स्वस्थ्य अनुकरण गर्न उत्प्रेरित गर्न सक्छ। (हिब्रू १३:७) तर हामी होसियार भएनौं भने अनुकरण प्रतिस्पर्धामा परिणत हुन सक्छ। जब आफूले प्रशंसा गर्ने कुनै व्यक्तिले आफूलाई उछिनेको महसुस हुन्छ र हामी उसलाई तल झार्न अथवा उसको आलोचना गर्न थाल्छौं, त्यतिबेला उसको अनुकरण गर्ने चाहना खस्केर इर्ष्यामा परिणत हुनेछ।
कुनै पनि असिद्ध मानिस आदर्श नमुना बन्न सक्दैन। त्यसैले, धर्मशास्त्र यसो भन्छ: “प्रिय बालकहरूझैं परमेश्वरका देखासिकी गर्नेहरू होओ।” अनि साथै “उहाँको पाइलामा टेकेर हिंड्नलाई एक उदाहरण तिमीहरूलाई दिएर ख्रीष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो।” (एफिसी ५:१, २; १ पत्रुस २:२१) प्रेम, न्यानोपन, समानुभूति र नम्रताजस्ता यहोवा र येशूका गुणहरू हामीले अनुकरण गर्ने कोसिस गर्नपुर्छ। उहाँहरूका गुण, उद्देश्य र कामकुरा गर्ने शैलीसित आफूलाई तुलना गर्न हामीले समय निकाल्नुपर्छ। यस्तो तुलनाले हाम्रो जीवनलाई उकास्न, निश्चित डोऱ्याइ, स्थायित्व र सुरक्षा दिन अनि परिपक्व मसीही पुरुष र स्त्रीहरूको उचाइ हासिल गर्न मदत गर्न सक्छ। (एफिसी ४:१३) तिनीहरूको सिद्ध उदाहरण अनुकरण गर्न यथासक्दो गर्न ध्यान केन्द्रित गऱ्यौं भने सँगी मानवहरूसित तुलना गर्ने झुकावमा पक्कै पनि कमी आउनेछ।
[पृष्ठ २९-मा भएको चित्र]
राजा शाऊलले दाऊदको ईर्ष्या गर्न थाले
[पृष्ठ ३१-मा भएको चित्र]
जोनाथनले आफूभन्दा कान्छो दाऊदलाई कहिल्यै प्रतिद्वन्द्वी ठानेनन्