प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w06 १/१ pp. ४-७
  • दुष्ट्याइँको हार भलाइको जित

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दुष्ट्याइँको हार भलाइको जित
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • खराबी गर्ने झुकाव
  • अज्ञानताले गर्दा दुष्ट्याइँ मौलाउँछ
  • दुष्ट्याइँको जड
  • खराब झुकाव हटाउने
  • सही ज्ञानले भलाइ फस्टाउँछ
  • दुष्टता जरैदेखि उखेलिनेछ
  • दुष्टताको कारण उदाङ्‌ग!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • “कसैलाई खराबको बदला खराब नगर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • परमेश्‍वरको सही ज्ञानमा सान्त्वना
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • के सैतान दुष्ट्‌याइँको प्रतीक मात्रै हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
w06 १/१ pp. ४-७

दुष्ट्याइँको हार भलाइको जित

राजा दाऊद भलादमी थिए। परमेश्‍वरलाई औधी माया गर्थे। न्याय भनेपछि मरिमेट्‌थे। थिचिएका, दबिएका र पिल्सिएकाहरूलाई ममता बाँड्‌थे। तर, यिनै भलादमी राजाले आफ्नै विश्‍वासी सैनिककी स्वास्नीसित अनैतिक सम्बन्ध राखे। ती स्त्री बेतशेबा गर्भवती भएको थाह पाएपछि दाउदले आफ्नो पाप ढाकछोप गर्न ती स्त्रीलाई विवाह गरे र उनका लोग्नेलाई मार्ने घिनलाग्दो षड्यन्त्र रचे।—२ शमूएल ११:१-२७.

मान्छेले मान्छेको भलाइ गर्न नसक्ने होइन। तैपनि, किन त्यही मान्छेले अर्को मान्छेको यतिविघ्न कुभलो गर्छ? बाइबलमा यसका थुप्रै ठोस कारणहरू पाइन्छन्‌। साथै, कसरी परमेश्‍वरले येशू ख्रीष्टलाई दुष्ट्याइँ जरैदेखि उखेल्न लगाउनुहुनेछ, त्यो पनि बाइबलले बताउँछ।

खराबी गर्ने झुकाव

राजा दाऊदले दुष्ट्याइँको एउटा कारण औंल्याए। आफ्नो पाप उदांगिएपछि तिनले आफ्नो त्यो कुकर्म स्वीकारे। तब तिनले पछुताउँदै लेखे: “हेर्नुहोस्‌, म अधर्ममा उत्पन्‍न भएँ। र पापैमा मेरी आमाले मलाई गर्भधारण गरिन्‌।” (भजन ५१:५) मानिस गर्भमै पापी होस्‌ भन्‍ने परमेश्‍वरको चाहना थिएन। तर, आदम र हव्वा परमेश्‍वरको विरुद्धमा उत्रेपछि तिनीहरू पापरहित छोराछोरी जन्माउन नसक्ने भए। (रोमी ५:१२) असिद्ध मानिसहरू बढ्‌दै जानुले के देखायो? मानिसको खराब गर्ने झुकाव हुन्छ भन्‍ने कुराको प्रमाण। किनकि उत्पत्ति ८:२१ ले यसो भन्छ: “मानिसको हृदयका विचार बालकदेखिनै खराब हुन्छ।”

यस झुकावलाई काबूमा राखिएन भने, बाइबलमा “शरीरका कामहरू” भनिएका “व्यभिचार,  . . दुश्‍मनी, झैझगडा, ईर्ष्या, क्रोध, विरोध, फूट, कुमार्ग, डाह” र अन्य घातक आचरणतिर मानिस धकेलिन्छ। (गलाती ५:१९-२१) राजा दाऊदलाई नै हेरौं न, तिनले शारीरिक इच्छालाई दबाउन सकेनन्‌ र व्यभिचार गर्न पुगे। जुन कुकर्मले विपत्ति ल्यायो। (२ शमूएल १२:१-१२) आफ्नो मनमा पलाएको कुभावनालाई तिनले दबाउन सक्थे। तर तिनले त बेतशेबालाई आँखा गाडेर एकटकले हेरिरहे। यसरी तिनको काम चेला याकूबले भनेजस्तै भयो: “हरेक मानिस आफ्नै तृष्णाबाट खिंचिई लोभिएर परीक्षामा पर्दछ। तब तृष्णा गर्भवती भएर पापलाई जन्माउँछ, र पाप पूरा बढेपछि मृत्यु उत्पन्‍न गराउँछ।”—याकूब १:१४, १५.

मानिसले आफ्नो कुइच्छा पूरा गर्न खोज्दा कस्तो परिणाम हुन्छ? कुकर्मले सीमा नाघ्न सक्छ। आमहत्या, बलात्कार र लूटपाट जस्ता जघन्य अपराध हुन जान्छ। यसबारे अघिल्लो लेखमा पनि बताइएको छ।

अज्ञानताले गर्दा दुष्ट्याइँ मौलाउँछ

प्रेरित पावलको जीवन कहानी हेर्दा मानिसले दुष्ट्याइँ गर्नुको दोस्रो कारण थाह पाउँछौं। पावल सोझो र दयालु भन्‍ने नाउँ कमाएर मरे। तिनी आफ्ना मसीही भाइबहिनीहरूको खातिर ज्यान दिन पनि तयार थिए। (१ थिस्सलोनिकी २:७-९) तर पावल पहिला त्यस्ता थिएनन्‌। नाउँ पनि शावल थियो। तिनी मसीहीहरूको विरुद्धमा “धम्की र हत्याको धुनमा सास फुलाउँदै” खुब तम्सिएका थिए। (प्रेरित ९:१, २) पावल किन त्यतिबेलाका मसीहीहरू विरुद्ध तम्सिए र अरूले गरेको यस्तो दुष्ट कामको समर्थन गरे? तिनी भन्छन्‌, ‘मैले यो अजानमा’ गरें। (१ तिमोथी १:१३) हो, पावलसँग “परमेश्‍वरका निम्ति जोश” त थियो तर त्यो “समझअनुसारको” अर्थात्‌ सही ज्ञानअनुसारको थिएन।—रोमी १०:२.

पावलजस्तै आज पनि थुप्रै सोझा मानिसहरू दुष्ट काम गर्छन्‌। किन? परमेश्‍वरको इच्छाको सही ज्ञान नबुझेकोले। उदाहरणको लागि, येशूले आफ्ना अनुयायीहरूलाई यो चेतावनी दिनुभयो: “त्यो बेला आउँछ, जब तिमीहरूलाई हत्या गर्नेले परमेश्‍वरको सेवा गर्दैछु भनी ठान्‍नेछ।” (यूहन्‍ना १६:२) येशूका यी शब्दहरूको मर्म अहिले यहोवाका साक्षीहरूले बुझेका छन्‌। थुप्रै मुलुकमा तिनीहरू सताइएका छन्‌। तिनीहरूको हत्या समेत गरिएको छ। त्यो पनि, परमेश्‍वरको सेवा गर्छु भनी टोपल्नेहरूको हातबाट। प्रस्ट छ, यसरी अरूको लहैलहैमा लागेर परमेश्‍वरको नाउँमा देखाएको उल्टो जोसले साँचो परमेश्‍वर खुसी हुनुहुन्‍न।—१ थिस्सलोनिकी १:६.

दुष्ट्याइँको जड

येशूले दुष्ट्याइँको जड बताइदिनुभयो। आफूलाई मार्न चाहने धार्मिक नेताहरूलाई उहाँले भन्‍नुभयो: “तिमीहरू त आफ्ना पिता, शैतानका तर्फबाटका हौ, औ आफ्नै पिताका अभिलाषा गर्ने इच्छा गर्छौ। त्यो त शुरूदेखिनै हत्यारा थियो।” (यूहन्‍ना ८:४४) यही शैतानले आदम र हव्वालाई परमेश्‍वरको विद्रोह गर्न फुस्लाएको थियो। त्यही विद्रोहले सारा मानिसमा पाप र मृत्यु ल्यायो।

शैतानले अय्यूबसित गरेको व्यवहारबाट त्यसको हत्यारा स्वभाव छर्लङ्‌गै देखियो। यहोवाले शैतानलाई अय्यूबको निष्ठा जाँच्न मन्जुरी दिनुहुँदा, अय्यूबको सारा सम्पत्ति स्वाहा पारेर पनि त्यसलाई चित्त बुझेन। त्यसले तिनका दस जना छोराछोरीको ज्यान पनि लियो। (अय्यूब १:९-१९) गएको सय वर्षभित्र मानिसहरू दुष्ट्याइँको घोर चपेटामा परेका छन्‌। कारण? असिद्धता, अज्ञानता र शैतानले मानिसको कामकुरोमा बढी नै हात हालेकोले। बाइबल बताउँछ कि शैतान “पृथ्वीतलमा फ्याँकियो, र त्यसका दूतहरू त्यसका साथसाथै फ्याँकिए।” बाइबलका तिनै पदहरूमा शैतानलाई पृथ्वीमा फ्याँकिएकोले “पृथ्वीलाई” अति दुःख आइपर्ने भविष्यवाणी गरिएको थियो। हुन त शैतानले मानिसहरूलाई खराब काम गर्न करकापमा पार्न सक्दैन। तैपनि त्यो “सारा संसारलाई” ठग्न भने खप्पिस छ।—प्रकाश १२:९, १२.

खराब झुकाव हटाउने

दुष्ट्याइँको जरै उखेल्न के गर्नुपर्छ? खराबी गर्ने जन्मजात झुकाव हटाउनुपर्छ, सही ज्ञान लिनुपर्छ र शैतानको प्रभाव मेटाउनुपर्छ। पहिला हेरौं, खराबी गर्ने जन्मजात झुकाव कसरी हटाउन सकिन्छ?

कुनै डाक्टर वा औषधीमूलोले यो खराब झुकाव हटाउन सक्दैन। तर जन्मजात पाप र असिद्धताबाट मुक्‍त हुन चाहनेहरूका लागि भने परमेश्‍वर यहोवाले उपचारको इन्तजाम गर्नुभएको छ। प्रेरित यूहन्‍नाले यस्तो लेखे: “येशूको रगतले हामीलाई सब पापबाट शुद्ध पार्छ।” (१ यूहन्‍ना १:७) सिद्ध मानव येशूले खुसीखुसी आफ्नो जीवन बलिदान दिनुभएर “हामी पापको लेखि मरेर धार्मिकताको लेखि बाँचौ भनी उहाँले आफ्नै शरीरमा हाम्रो पाप काठमाथि बोक्नुभयो।” (१ पत्रुस २:२४) आदमको दुष्ट्याइँले लादेको पाप येशूको बलिदानले हटाउने थियो। ख्रीष्ट येशू “सबैको छुटकाराको मोल” हुनुभयो भनेर पावल लेख्छन्‌। (१ तिमोथी २:६) हो, ख्रीष्टको मृत्युले मानिसजातिलाई सिद्धताको ढोका खोलिदियो जुन आदमको पापले गर्दा बन्द भएको थियो।

तर तपाईंको मनमा यस्तो प्रश्‍न उठ्‌ला! ‘यदि येशूको मृत्युले लगभग २,००० वर्ष अघि नै सिद्धताको ढोका खोलिसकेको थियो भने, किन दुष्टता र मृत्यु अझै छ त?’ यस प्रश्‍नको उत्तर नै दुष्ट्याइँको दोस्रो कारण बुझ्ने खुड्‌किलो हो। त्यो दोस्रो कारण के हो? परमेश्‍वरका उद्देश्‍यको सही ज्ञान नहुनु।

सही ज्ञानले भलाइ फस्टाउँछ

सोझा मानिसहरू अनजानमा दुष्ट काम गर्न पुग्छन्‌। त्योभन्दा पनि खराब कुरा त, “परमेश्‍वरको विरुद्धमा” चल्न सक्छन्‌। (प्रेरित ५:३८, ३९) तिनीहरू यी खराब कामको दलदलबाट कसरी निक्लन सक्लान्‌ त? दुष्ट्याइँ हटाउन यहोवा र येशूले के गरिरहनुभएको छ, सो ज्ञान हासिल गरेर। यहोवा परमेश्‍वर मान्छेले अनजानमा गरेका गल्तीहरू ओल्टाइपल्टाइ हेरिरहनुहुन्‍न। एथेन्समा छँदा पावलले यसो भने: “अज्ञानका समयलाई परमेश्‍वरले वास्ता गर्नुभएन, तर अब सबै ठाउँमा सब मानिसहरूलाई पश्‍चाताप गर्ने आज्ञा दिनुहुन्छ। यतिसम्म कि, उहाँले एक दिन ठहराउनुभएको छ, जुन दिनमा उहाँ आफूले नियुक्‍त गर्नुभएको मानिसद्वारा धर्मपूर्वक संसारको इन्साफ गर्नुहुनेछ, जसको बारेमा उहाँलाई मरेकोबाट बिउँताएर सबै मानिसहरूलाई उहाँले विश्‍वास दिलाउनुभएको छ।”—प्रेरित १७:३०, ३१.

पावलले येशूको पुनरुत्थान भएछ भनेर थाह पाए किनभने पुनरुत्थान हुनुभएका येशू उनीसित बोल्नुभयो र मसीहीहरूलाई नसताउनू भन्‍नुभयो। (प्रेरित ९:३-७) यसरी पावलले परमेश्‍वरका उद्देश्‍यको सही ज्ञान पाए। त्यसपछि तिनी बद्‌लिए र येशूको पाइलामा हिंड्‌ने साँच्चै सोझो व्यक्‍ति बने। (१ कोरिन्थी ११:१; कलस्सी ३:९, १०) साथै, उनले “राज्यको यो सुसमाचार” जोसिलो भई प्रचार गरे। (मत्ती २४:१४) आफ्नो मृत्यु र पुनरुत्थान भएदेखि यता ख्रीष्टले परमेश्‍वरको राज्यमा आफूसितै शासन गर्न मानिसहरू छान्‍नुभएको लगभग २,००० वर्ष भइसक्यो र ती मानिसहरूमध्ये पावल पनि एक जना हुन्‌।—प्रकाश ५:९, १०.

यहोवाका साक्षीहरूले एक सय वर्ष अघिदेखि जोसका साथ पालना गरिरहेको येशूको आज्ञा हो: “गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नलाई सिकाओ।” (मत्ती २८:१९, २०) यो सन्देश स्वीकार्नेहरूले ख्रीष्टको स्वर्गीय सरकारअन्तर्गत पृथ्वीमा अनन्त जीवन पाउनेछन्‌। येशूले भन्‍नुभयो: “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌।” (यूहन्‍ना १७:३) साँच्चै, यसरी चिन्‍नु अर्थात्‌ अरूलाई सही ज्ञान सिकाउनु जस्तो असल काम अरू छैन।

राज्यको यो सुसमाचार स्वीकार्नेहरूले दुष्ट्याइँको घेराबीच पनि “प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्‍वस्तता, नम्रता, संयम” जस्ता गुणहरू देखाउँछन्‌। (गलाती ५:२२, २३) तिनीहरूले येशूको नक्कल उतार्दै “कसैलाई खराबको बदला खराब” गर्दैनन्‌। (रोमी १२:१७) तिनीहरू “खराबीलाई भलाइले” जित्ने प्रयत्न गर्छन्‌।—रोमी १२:२१; मत्ती ५:४४.

दुष्टता जरैदेखि उखेलिनेछ

मानिसले आफ्नै बलबर्कतले दुष्ट्याइँको जड शैतानलाई जित्न सक्दैन। तर अब चाँडै यहोवाले येशूलाई शैतानको शिर कुच्याउन लगाउनुहुनेछ। (उत्पत्ति ३:१५; रोमी १६:२०) उहाँले येशूलाई सबै राजनैतिक व्यवस्था “चक्नाचूर  . . र  . . अन्त” गर्न लगाउनुहुनेछ। यी राजनैतिक व्यवस्थामध्येका धेरैजसोले गर्दा नै मानव इतिहास दुष्ट्याइँले रङ्‌गिएका हुन्‌। (दानियल २:४४; उपदेशक ८:९) आउँदै गरेको यस न्यायको दिनमा “हाम्रा प्रभु येशूको सुसमाचार नमान्‍नेहरू[ले]  . . अनन्त विनाशको सजाय भोग्नेछन्‌।”—२ थिस्सलोनिकी १:८, ९; सपन्याह १:१४-१८.

शैतान र त्यसका पक्ष लिनेहरू नास भइसकेपछि, स्वर्गमा विराजमान येशूले पृथ्वी सुरुको जस्तै हराभरा र सुन्दर बनाउन त्यहाँ बच्नेहरूलाई मदत गर्नुहुनेछ। पुनरुत्थान हुन योग्यहरूलाई ख्रीष्टले बिउँताउनुहुनेछ। (लूका २३:३२, ३९-४३; यूहन्‍ना ५:२६-२९) यसरी उहाँले दुष्ट्याइँका तुसहरू एक-एक गरेर हटाउँदै लानुहुनेछ।

यहोवाले मानिसहरूलाई येशूको सुसमाचार सुन्‍न कर गर्नुहुनेछैन। तर उहाँले जीवनदायी ज्ञान लिने मौका भने दिइरहनुभएको छ। तपाईंले यो मौकाको फाइदा अहिल्यै उठाइहाल्नुपर्छ! (सपन्याह २:२, ३) यसो गरेमा, अहिले जीवन नै खल्लो पारिरहेको दुष्ट्याइँसित जुध्ने तरिका सिक्नुहुनेछ। साथै, ख्रीष्टले दुष्ट्याइँ जरैदेखि कसरी उखेल्नुहुनेछ, त्यो पनि थाह पाउनुहुनेछ।—प्रकाश १९:११-१६; २०:१-३, १०; २१:३, ४. (w06 1/1)

[पृष्ठ ५-मा भएको चित्र]

सही ज्ञान नभएकोले शावलले अरूको दुष्ट कामको समर्थन गरे

[पृष्ठ ७-मा भएको चित्र]

अरूलाई सही ज्ञान सिकाउनु जस्तो असल काम अरू छैन

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने