पैसा र नैतिकता इतिहासबाट सिक्ने
अप्रिल ७, १६३० मा चार सय मानिसहरूका पाइला इङ्गल्याण्डबाट एउटा नयाँ संसारतिर लम्कियो। पढेलेखेका, सफल व्यापारी र सांसदहरूको जमात थियो, त्यो। तीस वर्षसम्म (सन् १६१८-१६४८ सम्म) चलेको युद्धले युरोपलाई आर्थिक रूपमा जर्जर बनाइसकेको थियो। नयाँ अवसरको खोजीमा घरबार, व्यापार र नातेदार सबै छाडी तिनीहरू लम्के।
तिनीहरूको लक्ष्य केवल अवसरको खोजी थिएन। तिनीहरू धार्मिक सतावट खप्न नसकेर भागेका जोसिला प्युरिटानहरू थिए।a तिनीहरू यस्तो ईश्वरीय समाज बसाल्न चाहन्थे जहाँ तिनीहरू लगायत तिनीहरूका सन्तति बाइबल स्तरहरूमा सम्झौता नगरी धनी बन्न सक्थे। मासाच्युसेट्सको सालेममा पुगेर यात्रा टुङ्गियो। सानो टुक्रा जमिनमाथि आधिपत्य जमाएर त्यस इलाकाको नाउँ तिनीहरूले बोस्टन राखे।
सन्तुलनमा राख्नै गाह्रो
यस नयाँ बस्तीका नेता र गभर्नर विनथ्रोप धन कमाउनु र सामाजिक सेवामा लाग्नु, दुवैलाई उत्तिकै जोड दिन मरिमेटे। उनी मानिसहरूसित पैसा र नैतिकता दुवै होस् भन्ने चाहन्थे। तर सन्तुलनमा राख्नु सजिलो थिएन। सम्भाव्य खतराहरू ध्यानमा राख्दै आफ्ना सहकर्मीहरूलाई इश्वरीय समाजमा पैसाको भूमिका बुझाउन उनले कुनै कसर बाँकी राखेनन्।
धन कमाउनु गलत होइन भन्ने अन्य प्युरिटान नेताहरूको जस्तै विनथ्रोपको मान्यता थियो। धन कमाउनुको मुख्य उद्देश्य अरूको मदत गर्नु हो। त्यसैले जति धनी भयो, उति नै सुकर्म गर्न सकिन्छ भनी उनी तर्क गर्थे। इतिहासकार प्याट्रिसिया ओटुलको भनाइमा “प्युरिटानहरूको लागि धन जत्तिको टाउको दुखाइको विषय अरू भएन। धन परमेश्वरको आशिष् थियो अनि घमन्ड . . . र अनैतिक जीवनतिर उन्मुख गर्ने बेजोड प्रलोभन पनि थियो।”
धन र ऐसआरामले निम्त्याउन सक्ने पापबाट बच्न, धनले नमात्तिन अनि सादा जीवन बिताउन विनथ्रोपले जोड दिए। एकातिर मानिसहरूको धन कमाउने सनक र अर्कोतिर तिनै मानिसहरूलाई ईश्वरभक्ति र एकआपसमा प्रेम गराउन विनथ्रोपको जोडदार प्रयत्न। दुई विचारबीच कडा टक्कर पऱ्यो। विरोधीहरू निजी जीवनमा विनथ्रोपको हस्तक्षेपको विरोधमा उत्रिए। कसै-कसैले त निर्णय विनथ्रोपले होइन, निर्वाचित निकायले गर्नुपर्ने चर्को आवाज उठाए। कोही चाहिं यी सब विचारहरूलाई ठुक्राउँदै धनी बन्ने चाहना तृप्त गर्न नजिकैको कनेटिकटतिर लागे।
ओटुल भन्छिन्, “अवसर, पैसा र लोकतन्त्र, मासाच्युसेट्सका प्युरिटानहरूको धोको थियो। निजी सम्पत्ति जनसेवामा लगाउने विनथोप्रका आदर्श विचारहरू लात मार्दै तिनीहरू केवल आफ्नै स्वार्थ पूरा गर्न चाहन्थे।” सन् १६४९ मा ६१ वर्षको उमेरमा कङ्गाल भएर विनथ्रोप मरे। विभिन्न कठिनाइहरूको बावजुद विनथ्रोपले रचेको त्यो समाज अस्तित्वमा रहे तापनि पैसा र नैतिकताको सन्तुलित समाज बसाउने विनथ्रोपको सपना अधुरै रह्यो।
खोज जारी छ
विनथ्रोप मरे तर उनको त्यो आर्दश दर्शन मरेन। सुन्दर सपना सजाउँदै हरेक वर्ष अफ्रिका, दक्षिणपूर्वी एसिया, पश्चिम युरोप र ल्याटिन अमेरिकाका लाखौं मानिसहरू विदेशिन्छन्। धनी बन्ने सपना साकार पार्ने दाबी गर्ने पुस्तक, गोष्ठी र वेबसाइटहरूबाट धेरै लोभिन्छन्। नैतिक मूल्यलाई दाऊमा नराखी पैसा कमाउन संघर्ष गर्नेहरू आज पनि कम छैनन्।
तर परिणाम सोचेजस्तो भएको छैन। पैसा कमाउने भुत सवार भएकाहरू पैसादेवीको पाउमा आफ्ना मूल्यमान्यता र सिद्धान्तको बलि चढाउन तत्पर छन्। यस्तो प्रश्न सोध्नु जायज छ, “नैतिकवान् बन्नु र धनी बन्नु, दुवै सम्भव छ? भौतिक र आध्यात्मिक, दुवै रूपमा सम्पन्न ईश्वरभीरू समाज पनि बसाउन सकिएला? बाइबलको जवाफ अर्को लेखमा छ।(w06 2/1)
[फुटनोट]
a रोमन क्याथोलिकहरूको प्रभावबाट बिलकुलै मुक्त हुन लागिपरेका चर्च अफ इङ्गल्याण्डकै प्रोटेस्टेन्टहरूलाई १६ औं शताब्दीमा प्युरिटान नाउँ दिइयो।
[पृष्ठ ३-मा भएको चित्रको स्रोत]
Boats: The Complete Encyclopedia of Illustration/J. G. Heck; Winthrop: Brown Brothers