प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w07 ८/१ pp. २४-२७
  • “आफूलाई सबै किसिमका लालचबाट जोगाओ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “आफूलाई सबै किसिमका लालचबाट जोगाओ”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अनुचित आग्रह
  • लालची हुनदेखि होसियार हुनुहोस्‌
  • प्रशस्तताको जिन्दगी
  • सुरक्षित भविष्य
  • तपाईं कसरी रूपैयाँपैसाप्रति सन्तुलित दृष्टिकोण राख्न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • के तपाईं “परमेश्‍वरतर्फ धनी” हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • के तपाईं साँच्चै परमेश्‍वरमाथि भरोसा राख्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • परमेश्‍वरको राज्यको खोजी गर्नुहोस्‌, भौतिक चिजबिज होइन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
w07 ८/१ pp. २४-२७

“आफूलाई सबै किसिमका लालचबाट जोगाओ”

“मानिससँग भएका प्रशस्त चीजहरूले मानिसको जिन्दगी रहँदैन।”—लूका १२:१५.

१, २. (क) आजभोलिका मानिसहरूको चासो र सोखबारे तपाईं के भन्‍न सक्नुहुन्छ? (ख) त्यस्तो सोचले हामीलाई कसरी असर गर्न सक्छ?

पैसा, जायजेथा, मान-सम्मान, राम्रो तलब आउने जागिर, परिवार। अधिकांश मानिसहरूले यस्ता-यस्तै कुराका आधारमा सफलता नाप्ने गर्छन्‌ वा यस्ता कुरा सुरक्षित भविष्यको ग्यारेन्टी हो भन्ठान्छन्‌। मानिसहरू धनी मुलुकको होऊन्‌ वा गरिब मुलुकको, धेरैको चासो र सोख भौतिक कुरा प्राप्त गर्नु र सफलता हासिल गर्नुमा केन्द्रित हुन्छ। अर्कोतर्फ, आध्यात्मिक कुरामा तिनीहरूको चासो छ नै भने पनि, त्यो तीव्र गतिमा सेलाउँदै गइरहेको छ।

२ यस्तै हुनेछ भनेर बाइबलमा भविष्यवाणी गरिएको थियो। बाइबल यसो भन्छ: “आखिरी दिनमा डरलाग्दो समय आउनेछ। किनभने मानिसहरू स्वार्थी, धनका लोभी, . . . परमेश्‍वरभन्दा बरु सुख-विलास निको मान्‍ने, भक्‍तिको भेष चाहिं लिने तर त्यसको शक्‍तिलाई इन्कार गर्ने हुनेछन्‌।” (२ तिमोथी ३:१-५) दिनहुँ त्यस्ता मानिसहरूसित उठबस गर्दा साँचो मसीहीहरूलाई तिनीहरूको जस्तै सोच र जीवनशैली अपनाउने दबाब आइरहन्छ। हामीलाई ‘संसारकै ढाँचामा’ ढाल्न खोज्ने प्रयासहरूको हामी कसरी प्रतिरोध गर्न सक्छौं?—रोमी १२:२, NRV.

३. येशूको कुन सल्लाह अब हामी विचार गर्नेछौं?

३ “विश्‍वासका कर्त्ता र सिद्ध तुल्याउनुहुने” येशू ख्रीष्टले यस विषयमा एकदमै राम्रो पाठ सिकाउनुभएको छ। (हिब्रू १२:२) एक चोटि येशूले भीडलाई साँचो उपासनासम्बन्धी केही विषयमा थप समझ दिंदै गर्नुहुँदा एउटा मान्छेले बीचैमा कुरा काटेर यस्तो आग्रह गरे: “हे गुरु, अंश बण्डा गरून्‌ भनी मेरा दाज्यूलाई भनिदिनुहोस्‌।” त्यसको जवाफमा येशूले त्यस मानिस र त्यहाँ उपस्थित सबैलाई निकै गहकिलो सल्लाह दिनुभयो। लालच विरुद्ध उहाँले कडा चेतावनी दिनुका साथै सोच्न बाध्य पार्ने एउटा दृष्टान्त दिएर यस विषयलाई जोड दिनुभयो। येशूले त्यतिबेला भन्‍नुभएको कुरामा हामीले पनि गम्भीर भई विचार गर्नुपर्छ। साथै, उहाँले भन्‍नुभएको कुरा जीवनमा लागू गर्दा कसरी फाइदा हुन्छ भनेर पनि सोच्नुपर्छ।—लूका १२:१३-२१.

अनुचित आग्रह

४. ती मानिसले बीचैमा येशूको कुरा काट्‌नु किन अनुचित थियो?

४ ती मानिसले बीचैमा येशूको कुरा काट्‌नुअघि उहाँले चेलाहरू र अन्य मानिसहरूलाई कपट विरुद्ध होसियार रहनुपर्ने, मानिसको पुत्रलाई अरूसामु स्वीकार्न साहस गर्नुपर्ने र पवित्र आत्माबाट मदत पाउनेबारे बताइरहनुभएको थियो। (लूका १२:१-१२) पक्कै पनि, चेलाहरूले मनमा राख्नुपर्ने यी गहन विषय थिए। तर सोच्न बाध्य पार्ने त्यस्तो विषयमा भाषण दिइरहनुभएको बेला ती मानिसले बीचैमा कुरा काटे र सायद सम्पत्तिको कारण परिवारमा भइरहेको खिचलो मिलाइदिन आग्रह गरे। तैपनि, यस घटनाबाट हामी महत्त्वपूर्ण पाठ सिक्न सक्छौं।

५. ती मानिसको आग्रहबाट तिनीबारे के कुरा थाह भयो?

५ भनिन्छ, “धार्मिक प्रवचन भइरहेको बेला मानिसको मन कहाँ हुन्छ त्यसैबाट तिनी वास्तवमा कस्ता व्यक्‍ति हुन्‌ भनी चिनिन्छ।” येशूले गम्भीर आध्यात्मिक विषयमा कुरा गरिरहनुभएको बेला ती मानिस चाहिं आर्थिक लाभ कसरी पाउने भन्‍नेबारे सोचिरहेका हुन सक्छन्‌। पैतृक सम्पत्तिबारे तिनको गुनासो जायज थियो कि थिएन, त्यो त बाइबलमा बताइएको छैन। सायद तिनले विभिन्‍न मामिलामा बुद्धिमानी न्यायाधीशको रूपमा येशूले कमाउनुभएको असल नाउँ र उहाँको अख्तियारको फाइदा उठाउन खोजिरहेका थिए। (यशैया ११:३, ४; मत्ती २२:१६) जेहोस्‌, तिनको आग्रहबाट के देखियो भने तिनको मनभित्र एउटा समस्या उब्जेको थियो, तिनी आध्यात्मिक कुराहरूको कदर गर्न नराम्ररी चुकिरहेका थिए। हामीले आफ्नो मन जाँच्ने के यो एउटा असल कारण होइन र? उदाहरणका लागि, सभाहरूमा हाम्रो मन सजिलै कता-कता पुग्न सक्छ वा सभापछि गर्नुपर्ने काममा ध्यान गइरहेको हुन सक्छ। त्यसको साटो मञ्चबाट भनिरहेको कुरामा ध्यान दिनुपर्छ र त्यो जानकारी जीवनमा लागू गर्न सकिने तरिकाहरूबारे सोच्नुपर्छ। यसो गर्दा स्वर्गमा हुनुहुने हाम्रो पिता यहोवा परमेश्‍वर र सँगी विश्‍वासीहरूसितको सम्बन्धलाई बढाउन सक्छौं।—भजन २२:२२; मर्कूस ४:२४.

६. येशूले किन ती मानिसको आग्रह मान्‍नुभएन?

६ ती मानिसले त्यस्तो आग्रह गर्नु पछाडिको कारण जस्तोसुकै भए तापनि येशूले तिनको आग्रह मान्‍नुभएन। बरु, येशूले तिनलाई यसो भन्‍नुभयो: “ए मानिस, कसले मलाई तिमीहरूमाथि न्यायकर्त्ता अथवा बाँडिदिने तुल्यायो?” (लूका १२:१४) येशूले यसो भन्‍नुको तात्पर्य त्यहाँ उपस्थित मानिसहरूलाई राम्ररी थाह थियो किनभने मोशाको व्यवस्थाअनुसार त्यस्ता मामिलाहरूको इन्साफ गर्नका लागि सहरहरूमा न्यायकर्ताहरू नियुक्‍त गरिएका हुन्थे। (व्यवस्था १६:१८-२०; २१:१५-१७; रूथ ४:१, २) तर येशू भने त्योभन्दा महत्त्वपूर्ण कुरा अर्थात्‌ मानिसहरूलाई सत्यको गवाही दिने र परमेश्‍वरको इच्छा सिकाउने कुरामा चिन्तित हुनुहुन्थ्यो। (यूहन्‍ना १८:३७) सांसारिक टन्टामा अलमलिनुको सट्टा येशूको उदाहरण पछ्याउँदै हामी आफ्नो समय र शक्‍ति राज्यको सुसमाचार प्रचार गर्ने र ‘सबै देशका जातिहरूलाई चेला बनाउने’ काममा प्रयोग गर्छौं।—मत्ती २४:१४; २८:१९.

लालची हुनदेखि होसियार हुनुहोस्‌

७. येशूले ती मानिसको कस्तो भित्री आशयलाई याद गर्नुभयो?

७ येशू मानिसको भित्री मनसाय बुझ्न सक्नुहुन्थ्यो। त्यसैले ती मानिसले उहाँलाई आफ्नो घरायसी मामिला सुल्झाइदिन आग्रह गर्दा तिनको मनमा केही गम्भीर समस्या लुकेको छ भनी उहाँले बुझ्नुभयो। तसर्थ, तिनको आग्रहलाई इन्कार मात्र गर्नुभएन तर उहाँ कुरोको चुरोमा पुग्नुभयो र यसो भन्‍नुभयो: “होशियार रहो, आफूलाई सबै किसिमका लालचबाट जोगाओ, किनकि मानिससँग भएका प्रशस्त चीजहरूले मानिसको जिन्दगी रहँदैन।”—लूका १२:१५.

८. लालच भनेको के हो र यसले कतातिर डोऱ्‍याउन सक्छ?

८ लालच भनेको राम्रै उद्देश्‍यको लागि प्रयोग हुन सक्ने पैसा वा केही चीज आर्जन गर्ने चाहना मात्र होइन। नेपाली बृहत्‌ शब्दकोश-अनुसार लालच भनेको “कुनै वस्तु पाउने तीव्र इच्छा, तिर्सना, अति लोभ, अनुचित इच्छा” हो। लालचमा, अरूको चीज नै किन नहोस्‌, त्यो हासिल गर्ने तीव्र इच्छा र तिर्सना मुछिएको हुन्छ। अनि लालची व्यक्‍तिले कुनै कुराको आफूलाई खासै आवश्‍यकता छ कि छैन वा यसले अरूलाई कस्तो प्रभाव पार्छ भन्‍ने कुनै परबाह गर्दैन, केवल त्यो हासिल गर्ने ध्याउन्‍न राख्छ। लालची व्यक्‍तिको मन र कार्य उसलाई चाह भइरहेको कुरामा यतिबिघ्न केन्द्रित हुन्छ, त्यो कुरा नै तिनको लागि ईश्‍वर हुन्छ। नबिर्सनुहोस्‌, प्रेरित पावलले लोभी व्यक्‍तिलाई मूर्तिपूजकसित तुलना गरे जो परमेश्‍वरको राज्यमा पस्न पाउनेछैन।—एफिसी ५:५; कलस्सी ३:५.

९. कुन-कुन तरिकामा लालची हुन सकिन्छ? केही उदाहरण दिनुहोस्‌।

९ चाखलाग्दो कुरा के छ भने, येशूले लालच विरुद्ध चेतावनी दिनुहुँदा “सबै किसिमका लालच” भन्‍नुभयो। लालच विभिन्‍न प्रकारका हुन्छन्‌। दस आज्ञामध्ये अन्तिम आज्ञामा लालचका केही पक्षहरू समेट्‌दै यसो भनिएको छ: “तैंले आफ्नो छिमेकीको घरको लालच नगर्नू। तैंले आफ्नो छिमेकीकी स्वास्नीका लालच नगर्नू, तेरो छिमेकीको कमारा-कमारी, गोरु, गधा वा त्यसको कुनै पनि थोकको लालच नगर्नू।” (प्रस्थान २०:१७) कुनै न कुनै किसिमको लालच गरेको कारण गम्भीर पापमा फसेका व्यक्‍तिहरूको उदाहरण बाइबलमा थुप्रै छन्‌। अर्काको कुराको लालच गर्ने पहिलो व्यक्‍ति शैतान थियो। त्यसले यहोवाको मात्रै हक लाग्ने महिमा, आदर र अख्तियारको लालच गऱ्‍यो। (प्रकाश ४:११) हव्वाले आफै सही र गलत छुट्याउन सक्ने अधिकारको लालच गरी र यसरी बहकाउमा परेकीले नै मानिसजाति पाप र मृत्युको दलदलमा फसे। (उत्पत्ति ३:४-७) प्रेतहरू पहिला स्वर्गदूत नै थिए। तर पछि तिनीहरूले आफ्नो अधिकारमै नपर्ने कुराको लागि ‘आफ्नो मर्यादा कायम नराखेर उचित वासस्थान त्यागे।’ (यहूदा ६, NRV; उत्पत्ति ६:२) बालाम, आकान, गेहजी र यहूदा इस्करयोतीलाई पनि विचार गर्नुहोस्‌। आफूसित भएको कुरामा सन्तुष्ट हुनुको साटो तिनीहरूले भौतिक धनसम्पत्तिको अनुचित इच्छा गरे जसले गर्दा आफ्नो अधिकारको गलत फाइदा उठाउन खोज्दा आफूलाई विनाशमा पुऱ्‍याए।

१०. येशूको सल्लाहबमोजिम हामी कसरी ‘होसियार रहनुपर्छ’?

१० येशूले लालची नहुनू भन्‍नुअघि सुरुमै “होशियार रहो” भन्‍नु कत्ति उपयुक्‍त थियो! किन? किनभने अरू लोभी वा लालची भएको त मानिसले सुइँको पाइहाल्छ तर आफू लालची भएको कुरा स्वीकार्न भने तिनलाई त्यति सजिलो हुँदैन। तर प्रेरित पावलले “रूपियाँ-पैसाको प्रेमनै सबै किसिमका खराबीको जरा हो” भने। (१ तिमोथी ६:९, १०) गलत इच्छा नै “गर्भवती भएर पापलाई जन्माउँछ” भनी चेला याकूबले बताए। (याकूब १:१५) अरू लालची भएका छन्‌ कि भनेर हेर्न त होइन तर ‘सबै किसिमका लालचबाट जोगिएर’ आफ्नो मनको इच्छा के हो, त्यो जाँच्न हामी येशूको सल्लाहबमोजिम ‘होशियार रहनुपर्छ।’

प्रशस्तताको जिन्दगी

११, १२. (क) लालची हुने विरुद्ध येशूले कस्तो चेतावनी दिनुभयो? (ख) हामीले किन येशूको सल्लाह सुन्‍नुपर्छ?

११ हामी लालची हुनदेखि होसियार रहनै पर्ने अर्को कारण पनि छ। येशूले त्यसपछि के भन्‍नुभयो याद गर्नुहोस्‌: “मानिससँग भएका प्रशस्त चीजहरूले मानिसको जिन्दगी रहँदैन।” (लूका १२:१५) धन-दौलतले सुख र सफलता दिन्छ भन्‍ने सोचाइ राख्ने यस भौतिकवादी युगमा येशूको यो भनाइ पक्कै विचारणीय छ। आफूसित भएको प्रशस्त धनसम्पत्तिले साँच्चैको अर्थपूर्ण र सन्तोषजनक जीवन दिन सक्दैन भनेर येशूले भन्‍न खोज्दै हुनुहुन्थ्यो।

१२ तर कोही-कोही यो भनाइसित सहमत नहोलान्‌। तिनीहरू भन्लान्‌, धनसम्पत्तिले जीवन अझ आरामदायी र आनन्दमय बनाउँछ जसले गर्दा जीवन झन्‌ सार्थक हुन्छ। त्यसैकारण तिनीहरू आफूले चाहे जति सबै भौतिक चीजबीज र इलेक्ट्रोनिक सामानहरू जुटाउन दौडधूप गर्छन्‌। तिनीहरू भन्ठान्छन्‌, यी सबै कुरा भएमा आरामदायी जीवन बिताउन सकिन्छ। तर यस्तो सोच राख्नेहरूले येशूले भन्‍नुभएको कुराको मर्मलाई बुझेका हुँदैनन्‌।

१३. जीवन र चीजबीजहरूप्रतिको सन्तुलित दृष्टिकोण के हो?

१३ येशूले प्रशस्त धनसम्पत्ति हुनु सही हो वा गलत भन्‍ने कुरामा ध्यान दिनुको सट्टा मानिससँग भएका “चीजहरूले” जिन्दगी रहँदैन भन्‍ने कुरामा जोड दिनुभयो। यस विषयमा भन्‍नुपर्दा हामी सबैलाई थाह छ जीवन निर्वाह गर्न वास्तवमा धेरै कुरा चाहिंदैन। एक छाक खान, एक सरो लाउन र टाउको लुकाउन मात्र भए पुग्छ। धनीहरूसँग त यी कुरा प्रशस्त होलान्‌ तर गरिबहरूले भने यी कुराको लागि निकै संघर्ष गर्नुपर्ने हुन सक्छ। तर धनी होऊन्‌ वा गरिब, मर्दा सबैले एउटै परिणाम भोग्छन्‌—सबै कुरा बेकारको हुन्छ। (उपदेशक ९:५, ६) त्यसैले अर्थपूर्ण र सार्थक जीवन भनेको आफूले प्राप्त गर्न सक्ने कुराहरूमा मात्रै निर्भर हुन सक्दैन र हुनु पनि हुँदैन। येशूले बताइरहनुभएको जीवनलाई जाँचेर हेर्दा यो कुरा स्पष्ट हुन्छ।

१४. यस बाइबल विवरणमा पाइने “जिन्दगी” शब्दबाट हामी के सिक्न सक्छौं?

१४ लूकाको सुसमाचारको पुस्तकमा येशूले “मानिससँग भएका . . . चीजहरूले मानिसको जिन्दगी रहँदैन” भन्‍नुहुँदा यहाँ चलाइएको “जिन्दगी” शब्दले (युनानी, जुइ) जीवन बिताउने तरिका वा शैलीलाई नभई जीवनलाई नै बुझाउँछ।a चाहे हामी धनी हौं वा गरिब, चाहे विलासी जीवन बिताइरहेका वा हातमुख जोर्न धौ-धौ परिरहेका, हाम्रो आयु कति हुन्छ र भोलिको दिन देख्न पाउँछौं कि पाउँदैनौं भन्‍ने कुरा हाम्रो वशमा छँदैछैन भनेर येशूले भनिरहनु भएको थियो। येशूले डाँडाको उपदेशमा यसो भन्‍नुभयो: “तिमीहरूमध्ये कुनचाहिंले फिक्री गरेर आफ्नो आयुमा एक घडी पनि थप्न सक्छ?” (मत्ती ६:२७, NRV) यहोवा मात्रै “जीवनको मूल” हुनुहुन्छ र उहाँले मात्र विश्‍वासी जनहरूलाई स्वर्गमा होस्‌ या पृथ्वीमा, कहिल्यै अन्त नहुने ‘साँच्चैको जीवन’ अर्थात्‌ “अनन्त जीवन” दिन सक्नुहुन्छ भनेर बाइबलमा स्पष्टै बताइएको छ।—भजन ३६:९; १ तिमोथी ६:१२, १९.

१५. किन थुप्रैले भौतिक कुरामा आफ्नो भरोसा राख्छन्‌?

१५ मानिसहरूले जीवनबारे कति सजिलै टेढो वा गलत सोचाइ राख्न सक्छन्‌, त्यो कुरा येशूका शब्दहरूबाट स्पष्ट हुन्छ। के धनी, के गरिब सबै असिद्ध छन्‌ र सबैले आखिरमा एउटै नतिजा भोग्छन्‌। प्राचीन समयका मोशाले यस्तो टिप्पणी गरे: “हाम्रो आयु त सत्तरी वर्ष मात्र हो, बलले भ्यायो भने, असी पुग्ला। तापनि तिनीहरूको अवधि कष्ट र शोकमा बित्छ, किनकि आयुचाहिं चाँडै बित्छ, र हामी उडिजान्छौं।” (भजन ९०:१०, NRV; अय्यूब १४:१, २; १ पत्रुस १:२४) यसैकारण, परमेश्‍वरसित असल सम्बन्ध विकास नगर्नेहरूले पावलले भनेझैं “हामी खाऔं र पिऔं, किनभने भोलि ता हामी मरिहाल्छौं पो” भन्‍ने सोच राख्छन्‌। (१ कोरिन्थी १५:३२) अरूले चाहिं जीवन एकदमै छोटो र अनिश्‍चित छ भन्दै भौतिक कुराहरूमा जीवनको सुरक्षा र स्थायित्व खोज्छन्‌। सायद तिनीहरूलाई भौतिक कुराहरू टन्‍नै भयो भने जीवन केही हदसम्म सुरक्षित हुन्छ भन्‍ने लागेको हुन सक्छ। त्यसैकारण तिनीहरू धनसम्पत्ति र भौतिक चीजबीज नै सुरक्षा र सुखको स्रोत हो भन्‍ने गलत सोचाइ राख्दै ती कुरा थुपार्न मरिमेट्‌छन्‌।—भजन ४९:६, ११, १२.

सुरक्षित भविष्य

१६. जीवनको साँचो मोल केको आधारमा नापिंदैन?

१६ हो, जीवन उच्चस्तरको हुँदा गाँस, बास, कपास र अन्य सुख-सुविधाको कुनै समस्या हुँदैन र जीवन अझ आरामदायी हुन सक्छ। साथै राम्रो-राम्रो उपचार पनि पाउन सकिन्छ जसको कारण हामी आयु लम्बाउन सकौंला। तर के त्यस्तो जीवन साँच्चै अर्थपूर्ण र अझ सुरक्षित हुन्छ? लामो आयु वा भौतिक चीजबीजको आधारमा जीवनको साँचो मोल नापिंदैन। त्यस्ता कुरामा बढ्‌तै भरोसा राख्दा हुने खतराबारे प्रेरित पावलले बताए। तिमोथीलाई तिनले यस्तो लेखे: “यस वर्त्तमान संसारका धनीहरूलाई कडा आज्ञा देऊ, कि तिनीहरू घमण्डी नहोऊन्‌, र अनिश्‍चित सम्पत्तिमा होइन, तर हामीलाई सबै चीज प्रशस्तसँग उपभोग गर्न दिनुहुने, परमेश्‍वरमाथिनै आशा राखून्‌।”—१ तिमोथी ६:१७.

१७, १८. (क) धनसम्पत्तिको सन्दर्भमा कस्ता उल्लेखनीय उदाहरणहरू अनुकरण गर्न लायकका छन्‌? (ख) यसपछिको लेखमा येशूको कुन दृष्टान्तलाई विचार गरिनेछ?

१७ धनसम्पत्तिमा भरोसा राख्नु बुद्धिमानी कुरा होइन किनभने ती “अनिश्‍चित” छन्‌। कुलपिता अय्यूब असाध्यै धनी थिए तर अकस्मात्‌ विपत्ति आइपर्दा तिनको धन केही काम लागेन, ती स्वाहा भए। विपत्ति र परीक्षाको बेला तिनलाई परमेश्‍वरसितको बलियो सम्बन्धले नै सँभाल्यो। (अय्यूब १:१, ३, २०-२२) अब्राहाम आफ्नो प्रशस्त धनसम्पत्तिको कारण यहोवाबाट पाएको कठिन जिम्मेवारी स्वीकार्नदेखि पन्छिएनन्‌ र तिनले “असंख्य जाति-समूहका पिता” हुने सुअवसर पाए। (उत्पत्ति १२:१, ४; १७:४-६) यी तथा अन्य उदाहरण अनुकरण गर्न लायकका छन्‌। जवान हौं या वृद्ध, हामीले जीवनको साँच्चै महत्त्वपूर्ण कुरा के हो र कुन कुरामा आफ्नो भरोसा राखिरहेका छौं, सो जाँचेर हेर्नुपर्छ।—एफिसी ५:१०; फिलिप्पी १:१०.

१८ लालच गर्ने र जीवनप्रति सही दृष्टिकोण राख्नेबारे येशूले जति बोल्नुभयो ती अर्थपूर्ण र निर्देशनमूलक छन्‌। तर येशूले अझै केही थप निर्देशन दिनुभयो र उहाँले एक मूर्ख धनी मानिसबारे सोच्न बाध्य पार्ने एउटा दृष्टान्त बताउनुभयो। त्यो दृष्टान्त आज हाम्रो समयमा कसरी लागू हुन्छ? अनि हामी त्यसबाट कस्तो पाठ सिक्न सक्छौं? यसपछिको लेखले यिनै विषयमा छलफल गर्नेछ। (w 07 8/1)

[फुटनोट]

a “जिन्दगी” भनेर अनुवाद गरिएको अर्को युनानी शब्द बायोस हो। भाइन्स एक्सोपोजिटरी डिक्सनरी अफ ओल्ड एण्ड न्यु टेस्टामेन्ट-अनुसार बायोस शब्दले “जीवनको अवधि,” “जीवनशैली” र “जीवनको स्रोत”-लाई बुझाउँछ।

तपाईंको के जवाफ छ?

• भीडमा एउटा मानिसले गरेको आग्रह येशूले नमान्‍नुभएको कुराबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

• लालच गर्नदेखि हामी किन होसियार हुनै पर्छ र कसरी होसियार रहन सक्छौं?

• किन धनसम्पत्तिले मानिसको जीवन रहँदैन?

• कुन कुराले जीवन साँच्चै सार्थक र सुरक्षित बनाउन सक्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने