येसुको नाममा किन प्रार्थना गर्नुपर्छ?
येसुले धेरैचोटि प्रार्थनाबारे सिकाउनुभयो। येसुको समयमा यहुदी धर्मगुरुहरू “चौबाटोमा उभिएर” प्रार्थना गर्थे। किन? किनभने तिनीहरू “मानिसहरूले देख्नेगरि प्रार्थना गर्न” रुचाउँथे। तिनीहरू धर्मकर्म गर्ने व्यक्ति भनेर मानिसहरूसामु चिनिन चाहन्थे। तिनीहरूले “धेरै बोल्यो भने” आफ्नो प्रार्थनाको सुनुवाइ हुन्छ भनेर एउटै कुरा दोहोऱ्याई-तेहेऱ्याई लामो प्रार्थना गर्थे। (मत्ति ६:५-८) येसुले त्यसरी प्रार्थना गर्नु बेकार हो भन्नुभयो, जसले गर्दा निष्कपट मानिसहरूले प्रार्थना गर्दा के गर्नु हुँदैन भनेर बुझ्न सके। उहाँले प्रार्थना गर्दा के भन्नु हुँदैन भनेर सिकाउनुका साथै के भन्नुपर्छ, त्यो पनि सिकाउनुभयो।
हामीले प्रार्थना गर्दा परमेश्वरको नाम पवित्र पारिएको, उहाँको राज्य आएको र उहाँको इच्छा पूरा भएको हेर्ने चाहना प्रकट हुनुपर्छ भनेर येसुले सिकाउनुभयो। साथै उहाँले व्यक्तिगत कुराहरूको लागि पनि परमेश्वरसित मदत माग्न सकिन्छ भनेर सिकाउनुभयो। (मत्ति ६:९-१३; लुका ११:२-४) परमेश्वरले हाम्रो प्रार्थना सुन्नुभएको चाहन्छौँ भने हामीले हरेस नखाई विश्वास र नम्रताका साथ प्रार्थना गर्नुपर्छ भनेर येसुले सिकाउनुभयो। (लुका ११:५-१३; १८:१-१४) उहाँले सिकाउनुभएको कुरा आफ्नै उदाहरणबाट देखाउनुभयो।—मत्ति १४:२३, मर्कुस १:३५.
येसुले सिकाउनुभएका यी कुराहरूले उहाँका चेलाहरूलाई अझ अर्थपूर्ण रूपमा प्रार्थना गर्न पक्कै मदत गऱ्यो। तर उहाँले आफ्ना चेलाहरूलाई प्रार्थनाको विषयमा सबैभन्दा महत्त्वपूर्ण शिक्षा आफ्नो मृत्युको अघिल्लो रात मात्र दिनुभयो।
“प्रार्थना गर्ने तरिकामा ठूलो परिवर्तन”
येसुले वफादार प्रेषितहरूलाई प्रोत्साहन दिँदै आफ्नो अन्तिम रात बिताउनुभयो। तिनीहरूलाई एउटा नयाँ कुरा बताउन यो सबैभन्दा उपयुक्त समय थियो। येसुले भन्नुभयो: “बाटो, सत्य र जीवन मै हुँ। मबाहेक अरू कसैद्वारा कोही पनि बुबाकहाँ जान सक्दैन।” त्यसपछि उहाँले तिनीहरूलाई ढाडस दिँदै यस्तो प्रतिज्ञा गर्नुभयो: “तिमीहरूले मेरो नाममा जेसुकै मागे तापनि म त्यो गर्नेछु ताकि छोराद्वारा बुबाको महिमा होस्। यदि तिमीहरूले मेरो नाममा केही माग्यौ भने म त्यो गर्नेछु।” कुराकानीको अन्ततिर उहाँले यसो भन्नुभयो: “तिमीहरूले मेरो नाममा जेसुकै मागे तापनि म त्यो गर्नेछु ताकि छोराद्वारा बुबाको महिमा होस्। यदि तिमीहरूले मेरो नाममा केही माग्यौ भने म त्यो गर्नेछु।”—युहन्ना १४:६, १३, १४; १६:२४.
येसुले बताउनुभएका यी कुराहरू असाध्यै अर्थपूर्ण छन्। यसलाई एउटा बाइबल शब्दकोशले “प्रार्थना गर्ने तरिकामा ठूलो परिवर्तन” भनेको छ। येसुले परमेश्वरलाई नभई आफूलाई प्रार्थना गर्नुपर्छ भनिरहनुभएको थिएन। बरु उहाँले चेलाहरूलाई आफ्नो कुरा यहोवा परमेश्वरकहाँ पुऱ्याउने नयाँ माध्यमबारे बताउँदै हुनुहुन्थ्यो।
हुनत हो, यहोवा परमेश्वरले आफ्ना वफादार सेवकहरूको प्रार्थना सुन्दै आउनुभएको छ। (१ समुएल १:९-१९; भजन ६५:२) तर परमेश्वरले इस्राएलसित करार गर्नुभएको समयदेखि भने आफ्नो प्रार्थनाको सुनुवाइ भएको चाहनेहरूले इस्राएल परमेश्वरले रोज्नुभएको राष्ट्र हो भनेर स्विकार्नुपर्थ्यो। पछि सुलेमानको समयदेखि चाहिँ बलिदान चढाउन परमेश्वरले रोज्नुभएको ठाउँ मन्दिर हो भनेर तिनीहरूले मानिलिनुपर्थ्यो। (व्यवस्था ९:२९; २ इतिहास ६:३२, ३३) तर उपासना गर्ने यो प्रबन्ध केही समयको लागि मात्र थियो। प्रेषित पावलले लेखेझैँ इस्राएलीहरूलाई दिइएको व्यवस्था र मन्दिरमा चढाइएका बलिदानहरू “वास्तविकता नभएर आउन लागेका असल कुराहरूको छाया” मात्र थियो। (हिब्रू १०:१, २) वास्तविक कुरा आएपछि छायाको अस्तित्व रहेन। (कलस्सी २:१७) भन्नुको मतलब, यहोवासित सम्बन्ध गाँस्न इस्वी संवत् ३३ देखि मोसाको व्यवस्था पालन गर्नु परेन। बरु ख्रिष्ट येसुप्रति आज्ञाकारी हुनुपऱ्यो किनभने मोसाको व्यवस्थाले हामीलाई ख्रिष्टसम्म पुऱ्याउँछ।—युहन्ना १५:१४-१६; गलाती ३:२४, २५.
“सबै नामभन्दा” उत्तम नाम
येसुले हाम्रो लागि यहोवासामु पुग्ने आधार तयार पार्नुभयो। उहाँ हाम्रो प्रभावशाली साथी भइदिएर हाम्रो प्रार्थना परमेश्वरसम्म पुऱ्याउन र जवाफ पाउनको लागि बाटो खोलिदिने काम गर्नुभयो। हाम्रो लागि यस्तो कदम चाल्न येसुलाई केले मदत गऱ्यो?
हामी सबै जन्मजात पापी भएकोले हामीले गर्ने कुनै पनि काम वा हामीले चढाउने कुनै पनि बलिदानले हामीलाई यस पापबाट मुक्त गर्न सक्दैन अनि पवित्र परमेश्वर यहोवासित सम्बन्ध गाँस्ने अधिकार पनि दिन सक्दैन। (रोमी ३:२०, २४; हिब्रू १:३, ४) येसुले मानिसजातिको पाप हटाउन आफ्नो त्रुटिरहित जीवन बलिदान चढाउनुभयो; यसले गर्दा मानिसजातिको लागि परमेश्वरसित सम्बन्ध गाँस्न सम्भव भयो। (रोमी ५:१२, १८, १९) आफ्नो पापबाट छुटकारा पाउन चाहने सबैसित परमेश्वरको नजरमा निष्खोट ठहरिने र उहाँबारे “निर्धक्क भई बोल्ने” सुअवसर छ। तर त्यसको लागि तिनीहरूले येसुको बलिदानमा विश्वास गर्नै पर्छ र उहाँको नाममा प्रार्थना गर्नै पर्छ।—एफिसी ३:११, १२.
हामीले येसुको नाममा प्रार्थना गर्दा परमेश्वरको उद्देश्य पूरा गर्न उहाँले खेल्नुभएको कम्तीमा तीन वटा भूमिकामाथि विश्वास देखाइरहेका हुन्छौँ। (१) उहाँ “परमेश्वरको पाठो” हुनुहुन्छ, जसको बलिदानले पापको क्षमा गर्ने आधार तयार पाऱ्यो। (२) यहोवाले उहाँलाई फेरि जीवित पार्नुभयो र अहिले उहाँ “प्रधानपुजारी”-को रूपमा हामीलाई फिरौतीको बलिदानबाट लाभ उठाउन मदत गर्दै हुनुहुन्छ। (३) प्रार्थना गरेर परमेश्वरसमक्ष पुग्ने एक मात्र “बाटो” येसु हुनुहुन्छ।—युहन्ना १:२९; १४:६; हिब्रू ४:१४, १५.
हामीले येसुको नाममा प्रार्थना गर्दा उहाँको आदर गरिरहेका हुन्छौँ। त्यसरी आदर गर्नु उपयुक्त छ। किनभने यहोवाको इच्छा के हो भने “हरेकले येसुको नाममा घुँडा टेकून् अनि येसु ख्रिष्ट नै प्रभु हुनुहुन्छ भनेर हरेकले खुलेआम स्विकारून्, जसद्वारा परमेश्वर हाम्रा बुबाको महिमा हुनेछ।” (फिलिप्पी २:१०, ११) तर अझ महत्वपूर्ण कुरा, येसुको नाममा प्रार्थना गर्दा यहोवाको महिमा हुन्छ किनभने उहाँले हाम्रै फाइदाको निम्ति आफ्नो छोरा दिनुभयो।—युहन्ना ३:१६.
हामीले बानी परेकोले मात्र होइन, आफ्नो “सारा हृदयले” प्रार्थना गर्नुपर्छ
येसुका महत्त्वपूर्ण भूमिकाहरूबारे बुझाउन बाइबलमा उहाँलाई धेरै उपाधि र नाम दिइएको छ। यी भूमिकाहरूले उहाँले हाम्रो लागि जे गर्नुभएको छ, जे गर्दै हुनुहुन्छ अनि जे गर्नुहुनेछ, त्यसबाट हामीलाई हुने फाइदाहरूबारे बुझ्न मदत गर्छ। ( मा भएको “येसुको महत्त्वपूर्ण भूमिका” पेटी हेर्नुहोस्।) वास्तवमा परमेश्वरले येसुलाई “अरू सबै नामभन्दा उत्तम नाम” दिनुभएको छ।a येसुलाई स्वर्ग र पृथ्वीको सबै अधिकार दिइएको छ।—फिलिप्पी २:९; मत्ति २८:१८.
बानी परेकोले मात्र येसुको नाममा भन्ने गर्दैनौँ
हामी आफ्नो प्रार्थना यहोवाले सुन्नुभएको चाहन्छौँ भने येसुको नाममा प्रार्थना गर्नुपर्छ। (युहन्ना १४:१३, १४) तर हामीलाई बानी परेकोले मात्र “येसुको नाममा” भन्ने अभिव्यक्ति चलाउन चाहँदैनौँ। किन?
एउटा उदाहरण विचार गर्नुहोस्: तपाईँले कुनै व्यापारीबाट चिठी पाउनुहुँदा त्यसमा चलनअनुसारै “भवदीय” लेखिएको हुन्छ। तपाईँको विचारमा के तिनले त्यो अभिव्यक्ति आफ्नो भावना व्यक्त गर्न लेखेका हुन्? कि औपचारिकता पूरा गर्न मात्र लेखेका हुन्? हामीले प्रार्थनामा प्रयोग गर्ने येसुको नाममा भन्ने अभिव्यक्ति अर्थपूर्ण हुनुपर्छ। यो व्यापारीको चिठीको अन्तमा लेखिएको अभिव्यक्तिजस्तो हुनु हुँदैन। हुनत हो, हामीले “निरन्तर प्रार्थना” गर्नुपर्छ तर हामीले बानी परेकोले मात्र होइन, आफ्नो “सारा हृदयले” प्रार्थना गर्नुपर्छ।—१ थिस्सलोनिकी ५:१७; भजन ११९:१४५.
हामीलाई बानी परेकोले मात्र “येसुको नाममा” भन्ने अभिव्यक्ति प्रयोग नगर्न के गर्नुपर्छ? येसुका मनमोहक गुणहरूबारे मनन गरे कसो होला? उहाँले तपाईँको लागि के गर्नुभएको छ र अरू के गर्न तयार हुनुहुन्छ, त्यसबारे पनि विचार गर्नुहोस्। प्रार्थना गर्दा यहोवालाई धन्यवाद चढाउनुहोस् र उहाँको प्रशंसा गर्नुहोस्। किनभने उहाँले आफ्नो छोरालाई अचम्मलाग्दो तरिकामा प्रयोग गर्नुभएको छ। यसो गर्नुभयो भने तपाईँ येसुको यो प्रतिज्ञामा अझ धेरै भरोसा गर्न सक्नुहुन्छ: “तिमीहरूले बुबासित जे मागे पनि मेरो नाममा उहाँले त्यो तिमीहरूलाई दिनुहुनेछ।”—युहन्ना १६:२३.
a भाइनको एक्स्पोजिटरी डिक्स्नरी अफ न्यु टेस्टामेन्ट वर्डस्-अनुसार “नाम” भनेर अनुवाद गरिएको ग्रीक शब्दले “नामले सङ्केत गर्ने सबै थोक, अख्तियार, विशेष गुणहरू, ओहोदा, महानता, शक्ति [र] उत्कृष्टता”-लाई जनाउँछ।