यहोवाले आफ्ना वृद्ध सेवकहरूको कोमल हेरचाह गर्नुहुन्छ
“तिमीहरूको काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ, . . . तिमीहरूले देखाएका छौ, सो बिर्सनलाई परमेश्वर अधर्मी हुनुहुन्न।”—हिब्रू ६:१०.
१, २. (क) केश फुलेको व्यक्ति देख्दा तपाईंलाई केको सम्झना आउन सक्छ? (ख) वृद्ध ख्रीष्टियानहरूप्रति यहोवा कस्तो दृष्टिकोण राख्नुहुन्छ?
केश फुलेका वृद्ध व्यक्तिहरू मण्डलीमा देख्दा के तपाईंलाई दानियल किताबको एउटा विवरण सम्झना आउँछ? दानियलले पाएको त्यो दर्शनमा यहोवा परमेश्वरले आफूलाई सेतो केश भएको व्यक्तिको रूपमा चित्रण गर्नुभएको छ। दानियलले यस्तो लेखे: “मैले हेरिनै रहें, र के देखें भनें, सिंहासनहरू बसालिए, औ एक जना अति वृद्ध व्यक्ति त्यसमा बस्नुभयो। उहाँको पोशाक हिउँजस्तै सेतो थियो, उहाँका शिरका केश सफा ऊनजस्तै थिए।”—दानि. ७:९.
२ सफा ऊन प्रायः सेतो हुन्छ। त्यसैले, सेतो केश र “वृद्ध व्यक्ति” भन्ने पदवीले यहोवाको अथाह उमेर र अपार बुद्धिलाई संकेत गर्छ। अतः उहाँ हाम्रो गहिरो आदरको योग्य हुनुहुन्छ। त्यसोभए ती वृद्ध व्यक्ति अर्थात् यहोवाले, उमेर ढल्किसकेका विश्वासी पुरुष तथा स्त्रीप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ? बाइबल यसो भन्छ: “फुलेको केश शोभाको मुकुट हो, धर्मी जीवनबाट त्यो प्राप्त हुन्छ।” (हितो. १६:३१) हो, केश फुलिसकेका परिपक्व विश्वासी ख्रीष्टियानहरू यहोवाको नजरमा सुन्दर छन्। के तपाईं वृद्ध सँगी भाइबहिनीहरूप्रति यहोवाको जस्तै दृष्टिकोण राख्नुहुन्छ?
किन एकदमै मूल्यवान्?
३. वृद्ध सँगी विश्वासीहरू हाम्रो लागि किन एकदमै मूल्यवान् छन्?
३ यहोवाको नजरमा वृद्ध सेवकहरू प्रिय छन्। यसमा यहोवाका साक्षीहरूको परिचालक निकायका सदस्यहरू, विगतका र हाल सेवा गरिरहेका परिभ्रमण निरीक्षकहरू, जोसिला अग्रगामीहरू र मण्डलीमा विश्वासी भई सेवा गर्ने पाका राज्य प्रकाशकहरू पर्छन्। जोसका साथ दसौं वर्ष सुसमाचार प्रचार गरेका कोही-कोही वृद्ध व्यक्तिलाई तपाईं चिन्नुहुन्छ होला। अनि उनीहरूको असल उदाहरणले जवानहरूलाई उत्प्रेरित गरेको र तिनीहरूको जीवनलाई आकार दिन मदत पुऱ्याएको तपाईंलाई थाह होला। अरू कतिपय वृद्ध सँगी विश्वासीहरूले चाहिं ठूल्ठूला जिम्मेवारी बोकेका छन् र सुसमाचारको खातिर सतावट सहेका छन्। उनीहरूले अहिले र विगतमा राज्य गतिविधिको लागि पुऱ्याएको योगदानको यहोवा अनि “विश्वासी र बुद्धिमान् दास” एकदमै कदर गर्छन्।—मत्ती २४:४५.
४. हामीले वृद्ध ख्रीष्टियानहरूको आदर गर्नुपर्छ, उनीहरूका लागि प्रार्थना गर्नुपर्छ, किन?
४ यी विश्वासी वृद्ध जनहरू हाम्रो धन्यवाद र आदरका योग्य छन्। वास्तवमा, मोशाको व्यवस्थामा बूढा-पाकाप्रति देखाइने चासो अनि सम्मान परमेश्वरको भयसित सम्बन्धित छ भनी बताइएको छ। (लेवी १९:३२) यस्ता विश्वासी जनहरूका लागि हामीले नियमित रूपमा प्रार्थना गर्नुपर्छ र उनीहरूको प्रेमको परिश्रमको लागि धन्यवाद चढाउनुपर्छ। प्रेरित पावलले—के जवान, के वृद्ध—सबै प्यारा सहकर्मीका लागि प्रार्थना गरे।—१ थिस्सलोनिकी १:२, ३ पढ्नुहोस्।
५. यहोवाका वृद्ध उपासकहरूसितको संगतिबाट हामी कसरी लाभ उठाउन सक्छौं?
५ यसबाहेक, उमेर ढल्किसकेका ख्रीष्टियानहरूसित संगत गरेर मण्डलीका सबैले लाभ उठाउन सक्छन्। यहोवाका विश्वासी वृद्ध उपासकहरूले अध्ययन, अवलोकन र अनुभवद्वारा अमूल्य ज्ञान बटुलेका छन्। उनीहरूले धीरजी हुन र समानुभूति देखाउन सिकेका छन्। अनि आफूले सिकेका कुराहरू आउने पिंढीलाई सिकाउन पाउँदा उनीहरू औधी आनन्दित र सन्तुष्ट हुन्छन्। (भज. ७१:१८) जवान हो, बुद्धिमान् हुनुहोस् र जसरी गहिरो इनारको पानीबाट लाभ उठाउँछौं, त्यसरी नै ज्ञानका यी भण्डारबाट पूरापूर फाइदा उठाउनुहोस्।—हितो. २०:५.
६. वृद्ध भाइबहिनीको तपाईं साँच्चै मोल गर्नुहुन्छ भनेर कसरी देखाउन सक्नुहुन्छ?
६ के तपाईंले वृद्धहरूलाई ‘म तपाईंलाई यहोवाले जस्तै कदर गर्छु’ भन्नुभएको छ? उनीहरूको कदर गर्ने एउटा तरिका भनेको ‘तपाईंले देखाउनुभएको विश्वासको लागि म तपाईंलाई धेरै माया गर्छु र तपाईंको विचारको मोल गर्छु’ भनी बताउनु हो। यसबाहेक, उनीहरूबाट सिकेका कुरा व्यवहारमा उतारेर उनीहरूप्रतिको तपाईंको आदर देखावटी होइन भनी देखाउनुहुन्छ। थुप्रै वृद्ध ख्रीष्टियानहरूले आफू जवान छँदा विश्वासी पाका व्यक्तिहरूबाट पाएको सल्लाह व्यवहारमा उतार्दा जिन्दगीभर लाभ उठाएको सम्झना गर्न सक्छन्।a
व्यावहारिक तरिकामा कोमल भाव देखाउनुहोस्
७. यहोवाले वृद्धहरूको हेरचाह गर्ने मुख्य जिम्मेवारी कसलाई सुम्पनुभएको छ?
७ यहोवाले वृद्धहरूको हेरचाह गर्ने मुख्य जिम्मेवारी परिवारलाई सुम्पनुभएको छ। (१ तिमोथी ५:४, ८ पढ्नुहोस्) परिवारले वृद्ध सदस्यप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्दा यहोवा प्रसन्न हुनुहुन्छ। तिनीहरूले यसो गरेर यहोवाले जस्तै वृद्धहरूको ख्याल राख्छन् भनेर देखाइरहेका हुन्छन्। यस्ता परिवारहरूले परमेश्वरको अनुमोदन पाउँछन् र तिनीहरूको प्रयास तथा त्यागको लागि उहाँले आशिष् दिनुहुन्छ।b
८. वृद्ध ख्रीष्टियानहरूप्रति मण्डलीले किन चासो देखाउनुपर्छ?
८ त्यस्तैगरि, खाँचोमा परेका विश्वासी वृद्धहरू जसको परिवार सच्चाइमा छैन अथवा हेरचाह गर्न इच्छुक छैन, उनीहरूलाई स्थानीय मण्डलीले हेरचाह गर्दा यहोवा प्रसन्न हुनुहुन्छ। (१ तिमो. ५:३, ५, ९, १०) यसरी मण्डलीले वृद्धहरूप्रति ‘सहानुभूति [अर्थात् “सँगी भाव,” NW], भातृ-प्रेम, कोमल हृदय’ देखाइरहेको हुन्छ। (१ पत्रु. ३:८) पावलले भनेको कुरामा बूढा-पाकाप्रति मण्डलीको चासो एकदमै राम्ररी झल्किन्छ। एउटा अंगलाई दुःख भयो भने “सबै अंगले यसैको साथसाथै दुःख भोग्छन्” भनी तिनले बताए। (१ कोरि. १२:२६) वृद्ध जनहरूका खातिर व्यावहारिक र दयालु कदम चाल्दा पावलको सल्लाहमा पाइने सिद्धान्त लागू गरिरहेका हुन्छौं: “तिमीहरू एउटाले अर्कोको भार उठाऊ, र यसरी ख्रीष्टको व्यवस्था पूरा गर।”—गला. ६:२.
९. उमेर ढल्कँदै गएपछि मानिसहरूलाई कस्ता कुराहरू भार हुन सक्छन्?
९ वृद्ध व्यक्तिहरूलाई कस्ता कुराहरू भार हुन सक्छन्? थुप्रैलाई छिट्टै थकाइ लाग्छ। उनीहरूलाई डाक्टर कहाँ जानु, पानी/बिजुलीको पैसा तिर्नु, आवश्यक चिठी-पत्र लेख्नु, घर सफा गर्नु, खाना पकाउनु जस्ता आधारभूत कुरा गर्न पनि बल नभएको महसुस हुन सक्छ। उमेर सँगसँगै भोक, प्यास पनि कम हुँदै जाने भएकोले शरीरलाई वास्तवमा जत्ति खाना र झोल पदार्थ चाहिने हो त्यत्ति लिनु आवश्यक छैन भन्ने सोचाइ तिनीहरूले राख्न सक्छन्। आध्यात्मिक खानेकुराबारे पनि त्यस्तै भन्न सकिन्छ। कमजोर आँखा र कानले गर्दा आध्यात्मिक कुराहरू पढ्न र सुन्न गाह्रो हुन सक्छ अनि सभा जान तयार हुँदा पनि थकाइ लाग्न सक्छ। त्यस्ता वृद्ध व्यक्तिहरूलाई अरूले कसरी मदत गर्न सक्छन्?
तपाईं कसरी मदत गर्न सक्नुहुन्छ
१०. वृद्धहरूलाई व्यावहारिक मदत दिन प्राचीनहरूले के गर्न सक्छन्?
१० थुप्रै मण्डलीमा बूढा-पाकाहरूको हेरचाह उदाहरणीय तरिकामा गरिंदैछ। मायालु भाइबहिनीले उनीहरूलाई बजार जान, खाना पकाउन र सफासुग्घर गर्न सघाउँछन्। अध्ययन गर्न, सभाको लागि तयार हुन र नियमित तवरमा क्षेत्र सेवामा जान मदत गर्छन्। जवान साक्षीहरू उनीहरूसँगै जान्छन् र आउनु-जानुको प्रबन्ध पनि मिलाइदिन्छन्। वृद्धहरू घरबाट निस्कन सक्ने अवस्थामा छैनन् भने फोनबाटै कार्यक्रम सुन्ने प्रबन्ध मिलाइदिन्छन् वा सभाको कार्यक्रम रिकर्ड गरेर लगिदिन्छन्। प्राचीनहरूले सम्भव भएसम्म मण्डलीका बूढा-पाकाहरूको आवश्यकता पूरा गर्न व्यावहारिक मदतको प्रबन्ध मिलाउँछन्।c
११. एउटा परिवारले एक वृद्ध भाइलाई कसरी मदत गरे बताउनुहोस्।
११ अन्य ख्रीष्टियानहरूले पनि वृद्धहरूलाई घरमा बोलाउन, उदारता देखाउन सक्छन्। एक वृद्ध भाइकी पत्नी बितेपछि उनी पत्नीको पेन्सनविना घरको भाडा तिर्न असमर्थ भए। यी वृद्ध दम्पतीले एउटा परिवारसित बाइबल अध्ययन गरेका थिए। त्यो परिवारमा बुबा, आमा र दुई किशोर छोरीहरू थिए। तिनीहरूको ठूलो घर थियो। त्यो परिवारले उक्त वृद्ध भाइलाई तिनीहरूसँगै बस्न बोलायो र दुइटा कोठा दिए। तिनी परिवारकै सदस्य भए र पन्ध्र वर्षसम्म थुप्रै असल क्षणहरू सँगै बिताए। छोरीहरूले उनको विश्वास र अनुभवको भण्डारबाट धेरै सिके भने उनले चाहिं तिनीहरूको रमाइलो संगतिबाट आनन्द उठाए। ती पाको भाइको ८९ वर्षमा मृत्यु भयो र आफ्नो मृत्युसम्मै उनी त्यस परिवारसँग बसे। ती वृद्ध भाइको संगतिबाट पाएको आशिष्को लागि उक्त परिवार परमेश्वरप्रति सदा धन्यवादी छन्। येशू ख्रीष्टको सँगी चेलालाई मदत गरेकोमा ‘तिनीहरूले इनाम गुमाएका’ छैनन्।—मत्ती १०:४२.d
१२. उमेर ढल्किसकेका भाइबहिनीप्रति तपाईं कसरी कोमल भाव देखाउन सक्नुहुन्छ?
१२ वृद्ध भाइ वा बहिनीलाई यस परिवारले जस्तैगरि मदत गर्ने अवस्थामा तपाईं हुनुहुन्न होला तर वृद्धहरूलाई सभामा र प्रचारमा जान/आउन मदत गर्न सक्नुहुन्छ कि? उनीहरूलाई घरमा बोलाउन र बाहिर घुम्न जाँदा सँगै लैजान सक्नुहुन्छ। विशेष गरी उनीहरू बिरामी हुँदा वा घरमा कोच्रिएर बस्नुपर्दा भेट्न जान सक्नुहुन्छ। यसबाहेक, तपाईंले उनीहरूलाई सधैं बुज्रुगको व्यवहार गर्न सक्नुहुन्छ र त्यसो गर्नु पनि पर्छ। वृद्ध ख्रीष्टियानहरू टाठो भएसम्म उनीहरूसित सम्बन्धित कुनै निर्णय गर्नुपर्दा सधैं उनीहरूको राय माग्नुपर्छ। सम्झने शक्ति हराउँदै गएका वृद्धहरूले पनि उनीहरूको मर्यादाको ख्याल राखेको छ/छैन महसुस गर्न सक्छन्।
तपाईंको सेवा यहोवा बिर्सनुहुन्न
१३. उमेर ढल्किसकेका ख्रीष्टियानहरूको भावनाको ख्याल राख्नु किन महत्त्वपूर्ण छ?
१३ वृद्ध व्यक्तिको भावनाको कदर गर्नु अत्यावश्यक छ। आफू जवान र स्वस्थ छँदा गर्न सक्ने कुराहरूको तुलनामा अहिले खासै गर्न नसक्दा उनीहरूको मन साह्रै खिन्न हुनु कुनै नौलो कुरा होइन। उदाहरणको लागि झन्डै ५० वर्ष नियमित अग्रगामीको रूपमा सक्रियता साथ यहोवाको सेवा गरेकी एउटी बहिनीलाई लिनुहोस्। उनलाई एकदमै कमजोर बनाउँदै लैजाने रोग लाग्यो र सभा जान पनि मुस्किल पर्न थाल्यो। आफूले पहिला गरेको सेवा र अहिलेको अवस्थालाई सम्झँदा उनको भक्कानो फुट्यो। टाउको निहुराएर रूँदै उनले यसो भनिन्: “मैले केही गर्न सकिरहेको छैन!”
१४. भजनको किताबबाट यहोवाका वृद्ध सेवकहरूले कस्तो प्रोत्साहन पाउन सक्छन्?
१४ यदि वृद्ध व्यक्ति हुनुहुन्छ भने के तपाईंलाई पनि कहिल्यै त्यस्तो भावनाले पिरोलेको छ? वा यहोवाले मलाई बिर्सनुभयो होला जस्तो कहिलेकाहीं लाग्छ कि? उमेर ढल्कँदै जाँदा भजनहारले पनि त्यस्तै महसुस गरेका हुन सक्छन् किनभने तिनले यहोवालाई यसरी बिन्ती गरे: “बूढेसकालमा मलाई नत्याग्नुहोस्, मेरो बल घटेको बखतमा मलाई नछोड्नुहोस्। हे परमेश्वर, म बूढो हुँदा र मेरो कपाल फुलिसक्दा पनि मलाई नत्याग्नुहोस्।” (भज. ७१:९, १८) पक्कै पनि यहोवाले यस भजरहारलाई त्याग्न लाग्नुभएको थिएन र उहाँले तपाईंलाई पनि त्याग्नुहुन्न। अर्को भजनमा दाऊदले यहोवाबाट अवश्यै मदत पाइन्छ भन्ने कुरा जाहेर गरे। (भजन ६८:१९ पढ्नुहोस्) तपाईं पाको उमेरको विश्वासी ख्रीष्टियान हुनुहुन्छ भने यो कुरामा आश्वस्त हुनुहोस्, यहोवा तपाईंको साथमा हुनुहुन्छ र दिनदिनै उहाँले तपाईंलाई सँभाल्नुहुन्छ।
१५. सकारात्मक सोच कायम राख्न वृद्धहरूलाई कुन कुराले मदत गर्न सक्छ?
१५ तपाईं वृद्ध साक्षीहरूले यहोवाको महिमाको खातिर पहिला गर्नुभएको र अहिले गरिरहनुभएको कार्यलाई उहाँ कहिल्यै बिर्सनुहुन्न। “तिमीहरूको काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ, . . . तिमीहरूले देखाएका छौ, सो बिर्सनलाई परमेश्वर अधर्मी हुनुहुन्न” भनी बाइबल बताउँछ। (हिब्रू ६:१०) त्यसैले उमेर ढल्किसकेपछि यहोवाको लागि म केही कामको छैन भन्ने नकारात्मक सोच विकास नगर्नुहोस्। निरुत्साहजनक, नकारात्मक विचारलाई ठाउँ नदिई सकारात्मक सोच बनाउने कोसिस गर्नुहोस्। आफूले पाएका आशिष्हरू र भविष्यको आशामा रमाउनुहोस्! सबैभन्दा उत्तम ‘भविष्य र आशा’ हामीसित छ र यसको ग्यारेन्टी सृष्टिकर्ता स्वयम्ले दिनुभएको छ। (यर्मि. २९:११, १२; प्रेरि. १७:३१; १ तिमो. ६:१९) आशालाई मनमा राख्नुहोस्, मन-मस्तिष्कलाई जवान राखिराख्ने कोसिस गर्नुहोस् र मण्डलीमा तपाईंको उपस्थितिको केही महत्त्व छैन भनेर आँक्ने नगर्नुहोस्!e
१६. एक वृद्ध भाइले अब प्राचीनको हैसियतमा सेवा गर्न आफू सक्षम छैन भनी किन सोचे तर प्राचीनहरूका निकायले उनलाई कसरी प्रोत्साहन दिए?
१६ अस्सी वर्ष पुगिसकेका योहानलाई विचार गर्नुहोस्। उनले आफ्नी विश्वासी तर अहिले ओछ्यानमै थला परेकी श्रीमती सानीको स्याहारसुसार आफै गर्छन्।f योहान सभा र क्षेत्र सेवामा जान सकून् भनेर मण्डलीका बहिनीहरूले पालो फेरिदिन्छन्। तर हालै, योहानले भावनात्मक रूपमा क्लान्त महसुस गरे र मण्डलीमा प्राचीनको हैसियतमा सेवा गर्न सक्षम छैन भनी सोच्न थाले। गहभरि आँसु राख्दै उनले यसो भने, “अब प्राचीन भइरहनुको के नै अर्थ रह्यो र? म मण्डलीलाई कुनै आवश्यक सेवा पुऱ्याउनै सक्दिनँ।” मण्डलीका अन्य प्राचीनहरूले उनको अनुभव र राय अमूल्य छ भनी आश्वासन दिए। उनको सहभागिता सीमित भए तापनि प्राचीनको हैसियतमा सेवा गरिरहन अन्य प्राचीनहरूले आग्रह गरे। एकदमै प्रोत्साहित भएर योहानले प्राचीनको हैसियतमा सेवा गरिरहेका छन् र मण्डलीले पनि आशिष् पाइरहेको छ।
यहोवा साँच्चै ख्याल राख्नुहुन्छ
१७. वृद्ध ख्रीष्टियानहरूलाई बाइबलले कस्तो आश्वासन दिन्छ?
१७ ढल्कँदो उमेर सँगसँगै आउने समस्याहरूको बावजूद वृद्धहरू आध्यात्मिक तवरमा फस्टाउन सक्छन् भनी बाइबलले स्पष्ट पार्छ। भजनहारले यस्तो घोषणा गरे: “परमप्रभुको घरमा रोपेकाहरू . . . बूढेसकालमा पनि फल फलाउँछन्, . . . हरिला-भरिला हुन्छन्।” (भज. ९२:१३, १४) सायद एक प्रकारको शारीरिक समस्यासित जुझिरहेका प्रेरित पावलले ‘बाहिरी मनुष्यत्व नाश भइरहेको भए तापनि हरेस खाएनन्।’—२ कोरिन्थी ४:१६-१८ पढ्नुहोस्।
१८. वृद्ध सँगी विश्वासीहरू र उनीहरूको हेरचाह गर्ने व्यक्तिहरूलाई किन अरूको मदत चाहिन्छ?
१८ वृद्धहरूले ‘फल फलाइरहन’ सक्छन् भन्ने कुराको पुष्टि वर्तमान समयका थुप्रै उदाहरणले गर्छ। तर रोग र बुढ्यौलीसँगै आउने चुनौतीहरू पहाडरूपी नै हुन सक्छ। मायालु परिवारका सदस्यहरूका लागि पनि, ती वृद्धहरूको हेरचाह गर्नु चानचुने कुरा नहुन सक्छ। हेरचाह गर्नेहरू पनि थकित हुन सक्छन्। वृद्धहरू र उनीहरूको हेरचाह गर्ने व्यक्तिहरूप्रति कामबाटै प्रेम देखाउने सुअवसर र जिम्मेवारी मण्डलीको हो। (गला. ६:१०) त्यसरी मदतको हात बढाउँदा मुखले चाहिं “न्यानो गरी बस, पेटभरि खाऊ” भन्ने तर काममा चाहिं केही नगर्ने जस्ता हुँदैनौं।—याकू. २:१५-१७, NRV.
१९. विश्वासी वृद्ध ख्रीष्टियानहरू आफ्नो भविष्यबारे किन विश्वस्त हुन सक्छन्?
१९ ढल्कँदो उमेरको कारण ख्रीष्टियान गतिविधिमा केही परिवर्तन त आउन सक्छ तर यसले गर्दा वफादार वृद्ध सेवकहरूप्रतिको यहोवाको प्रेम भने कहिल्यै सेलाउँदैन। बरु, यी सबै विश्वासी ख्रीष्टियानहरू उहाँको नजरमा अमूल्य छन् र उहाँ उनीहरूलाई कहिल्यै त्याग्नुहुन्न। (भज. ३७:२८; यशै. ४६:४) उनीहरूलाई यहोवाले बूढेसकालभरि नै सँभाल्नुहुनेछ, डोऱ्याउनुहुनेछ।—भज. ४८:१४. (w 08 8/15)
[फुटनोटहरू]
a जून १, २००७ अंकको प्रहरीधरहरा-मा “वृद्धहरू—जवानहरूका लागि आशिष्” भन्ने लेख हेर्नुहोस्।
b पारिवारिक आनन्दको रहस्य किताबको अध्याय १५ हेर्नुहोस्।
c यसमा कुनै-कुनै देशमा सरकारले दिने वृद्ध-भत्ताको लागि मदत गर्नु पनि समावेश हुन सक्छ। जून १, २००६ अंकको वाचटावर-मा “परमेश्वरले वृद्धहरूको ख्याल राख्नुहुन्छ” भन्ने लेख हेर्नुहोस्।
d सेप्टेम्बर १, २००३ अंकको प्रहरीधरहरा-मा “यहोवाले सधैं हाम्रो फिक्री गर्नुहुन्छ” भन्ने लेख हेर्नुहोस्।
e मे १५, २००४ अंकको प्रहरीधरहरा-मा “वृद्ध जनहरू—हाम्रो मसीही भ्रातृत्वका बहुमूल्य सदस्यहरू” र जनवरी १५, २००५ को प्रहरीधरहरा-मा “जब बुढेसकाल ‘शोभाको मुकुट’ बन्छ” भन्ने लेख हेर्नुहोस्।
f केही नाउँहरू परिवर्तन गरिएका छन्।
तपाईं कसरी जवाफ दिनुहुन्छ?
• उमेर ढल्किसकेका विश्वासी ख्रीष्टियानहरूलाई तपाईं किन मूल्यवान् ठान्नुहुन्छ?
• वृद्ध सँगी विश्वासीहरूप्रति हामी कसरी कोमल भाव देखाउन सक्छौं?
• यहोवाका वृद्ध सेवकहरूलाई सकारात्मक सोच राख्न कुन कुराले मदत गर्न सक्छ?