यहोवा “मुक्ति दिने” परमेश्वर—बाइबल समयमा
“हे परमेश्वर, तपाईंनै मेरो सहायक र मलाई मुक्ति दिने हुनुहुन्छ, हे परमप्रभु, ढीलो नगर्नुहोस्।”—भज. ७०:५.
१, २. (क) परमेश्वरका उपासकहरूले कुन बेला उहाँलाई मदतको लागि पुकार्छन्? (ख) कस्तो प्रश्न खडा हुन्छ र हामी यसको जवाफ कहाँ पाउन सक्छौं?
बिदा मनाउन गएका एक आमाबाबुले आफ्नी २३ वर्षीया विवाहित छोरी शंकास्पद तरिकामा हराएको खबर पाउँछन्। हत्याको आशंका गरिन्छ। खबर सुन्नेबित्तिकै तिनीहरू सामान पोको पारेर घरतिर लाग्छन् र यस दौडानभरि यहोवालाई मदतको लागि व्यग्रसाथ पुकारिरहन्छन्। एक २० वर्षीय साक्षीलाई पछि गएर पूरै पक्षघात हुने रोग लागेको पत्ता लाग्छ। तुरुन्तै तिनले यहोवालाई पुकार्छन्। जागिर पाउन नसकिरहेकी एक्ली आमासित आफू र १२ वर्षकी छोरीको लागि खानेकुरा किन्न पैसा छैन। तिनी आफ्नो समस्या यहोवालाई पोखाउँछिन्। हो, पहाडरूपी परीक्षा वा कठिनाइ आइपर्दा परमेश्वरका उपासकहरू यहोवालाई पुकारिहाल्छन्। समस्याको घेरामा पर्दा के तपाईंले कहिल्यै यहोवालाई बिन्ती गर्नुभएको छ?
२ यहाँ एउटा महत्त्वपूर्ण प्रश्न खडा हुन्छ: यहोवालाई पुकार्दा उहाँ जवाफ दिनुहुन्छ भनेर के हामी साँच्चै आशा गर्न सक्छौं? यसको जवाफ भजन अध्याय ७० मा पाउन सक्छौं र यसले हाम्रो विश्वासलाई बलियो बनाइदिन्छ। यो मन छुने भजनका रचयिता हुन्, यहोवाका वफादार उपासक दाऊद। तिनले आफ्नो जीवनकालमा थुप्रै उकाली-ओराली पार गरे। परमेश्वरबाट प्रेरणा पाएर तिनले यस्तो लेखे: “हे परमेश्वर, तपाईंनै मेरो सहायक र मलाई मुक्ति दिने हुनुहुन्छ।” (भज. ७०:५) समस्याको बेला हामी पनि किन यहोवामा भर पर्न सक्छौं र उहाँ साँच्चै “मुक्ति दिने” हुनुहुन्छ भनी पूर्णतया विश्वस्त हुन किन सक्छौं, त्यो बुझ्न भजन अध्याय ७० ले हामीलाई मदत गर्नेछ।
“तपाईंनै . . . मुक्ति दिने हुनुहुन्छ”
३. (क) भजन ७० मा कस्तो गुहार मागिएको छ? (ख) भजन ७० मा दाऊद कस्तो भरोसा व्यक्त गर्छन्?
३ भजन ७० को सुरु र अन्तमा परमेश्वरलाई गुहार मागिएको छ। (भजन ७०:१-५ पढ्नुहोस्) मलाई छुटाउन “आत्तुरी गर्नुहोस्,” “चाँडै आउनुहोस्” भन्दै दाऊद यहोवालाई गुहार्छन्। अनि पद २-४ हेऱ्यौं भने दाऊदले इच्छा वा चाहना व्यक्त गर्दै पाँच वटा बिन्ती गरेका छन्। पहिलो तीन वटा तिनलाई मार्न खोजिरहेकाहरूसित सम्बन्धित छ। शत्रुहरूलाई पराजित गरिदिन र उनीहरूको दुष्टताको कारण शर्ममा पारिदिन दाऊद यहोवालाई बिन्ती गर्छन्। पद ४ को अर्को दुइटा बिन्ती चाहिं परमेश्वरका जनहरूसित सम्बन्धित छ। यहोवालाई खोज्नेहरू उहाँको महिमा र प्रशंसा गर्न उत्प्रेरित होऊन् भनी दाऊद प्रार्थना गर्छन्। भजनको अन्तमा दाऊद यहोवालाई यसो भन्छन्: “तपाईंनै मेरो सहायक र मलाई मुक्ति दिने हुनुहुन्छ।” याद गर्नुहोस्, दाऊद यहाँ अर्को बिन्ती चढाएजस्तो गरी “तपाईं . . . होऊन्” भन्दैनन्। बरु आफ्नो भरोसा व्यक्त गर्दै “तपाईंनै . . . हुनुहुन्छ” भन्छन्। परमेश्वरको मदत पाउने कुरामा दाऊद विश्वस्त छन्।
४, ५. भजन ७० बाट दाऊदबारे के थाह पाउँछौं र कुन कुरामा विश्वस्त हुन सक्छौं?
४ भजन ७० पढ्दा दाऊदबारे के थाह पाउन सक्छौं? आफ्नो ज्यान लिन लागिपरेका शत्रुलाई मार्ने मौका पाउँदा पनि दाऊदले मामिला आफ्नै हातमा लिन खोजेनन्। बरु, यहोवाले आफ्नै समयमा र आफ्नै तरिकामा विरोधीहरूको सामना गर्नुहुनेछ भन्ने कुरामा दाऊदले भरोसा गरे। (१ शमू. २६:१०) यहोवालाई खोज्नेहरूलाई उहाँले मदत गर्नुका साथै उद्धार गर्नुहुन्छ भनी पूरै विश्वस्त हुँदै दाऊद नडगमगाई अघि बढे। (हिब्रू ११:६) यस्ता साँचो उपासकहरूसित यहोवाको महानता र उहाँको महिमाबारे अरूलाई बताएर रमाहट गर्ने हर कारण छ भन्ने विश्वास दाऊदको थियो।—भज. ५:११; ३५:२७.
५ दाऊद जस्तै हामी पनि यहोवा हाम्रो सहायक र “मुक्ति दिने” हुनुहुन्छ भनेर पूर्णतया विश्वस्त हुन सक्छौं। तसर्थ, कठीन परीक्षाहरू आइपर्दा वा मदतको खाँचो पर्दा सहायता गर्न चाँडो आउनुहोस् भनेर यहोवालाई प्रार्थना गर्न सक्छौं। (भज. ७१:१२) तर हामीले मदतको लागि गरेको प्रार्थनाको यहोवा कसरी जवाफ दिनुहुन्छ? यो विषयमा जानुअघि दाऊदलाई मदतको एकदमै खाँचो परेको बेला कुन तीन तरिकामा यहोवाले तिनलाई छुटकारा दिनुभयो, हेरौं।
विरोधीहरूबाट छुटाइएको
६. धर्मीहरूलाई यहोवाले छुटाउनुहुन्छ भन्ने कुरा दाऊदले कसरी थाह पाए?
६ त्यतिबेला जे-जति प्रेरित वचन उपलब्ध थिए त्यसबाट धर्मीहरू यहोवाबाट मदत पाउने कुरामा विश्वस्त हुन सक्छन् भनी दाऊदले थाह पाएका थिए। अभक्त संसारमाथि यहोवाले जलप्रलय ल्याउँदा उहाँको डर राख्ने नूह र तिनको परिवारलाई बचाउनुभयो। (उत्प. ७:२३) सदोम र गमोराका दुष्ट बासिन्दाहरूमाथि आगो र गन्धक वर्षाउँदा यहोवाले धर्मी लूत र तिनका दुइटी छोरीलाई ज्यान बचाउँदै भाग्न मदत गर्नुभयो। (उत्प. १९:१२-२६) यहोवाले घमन्डी फिरऊन र तिनको सेनालाई लाल समुद्रमा नाश गर्दा आफ्ना जनहरूलाई सुरक्षित राख्नुभयो र विपत्तिजनक नतिजा भोग्नबाट बचाउनुभयो। (प्रस्थ. १४:१९-२८) त्यसैकारण दाऊदले अर्कै एउटा भजनमा “छुटकारा दिने परमेश्वर” भन्दै उहाँको बखान गर्दा के छक्क पर्नुपर्छ र?—भज. ६८:२०.
७-९. (क) छुटकारा दिन परमेश्वर सक्षम हुनुहुन्छ भनी विश्वास गर्न सक्नुको कस्तो कारण दाऊदसित थियो? (ख) आफ्नो छुटकाराको श्रेय दाऊदले कसलाई दिए?
७ यहोवाले छुटकारा दिन सक्नुहुन्छ भनेर पूर्णतया विश्वस्त हुन सक्नुको दाऊदसित व्यक्तिगत कारण पनि थियो। आफ्ना सेवकहरूलाई उहाँले आफ्नो “सनातनका बाहु”-ले उद्धार गर्न सक्नुहुन्छ भनी दाऊद आफैले अनुभव गरेका थिए। (व्यव. ३३:२७) यहोवाले दाऊदलाई “शत्रुहरू”-को हातबाट छुटाउनुभएको एक चोटि मात्र त होइन। (भज. १८:१७-१९, ४८) आउनुहोस्, एउटा उदाहरण विचार गरौं।
८ इस्राएलका स्त्रीहरूले दाऊदको सैन्य कौशलताको गुनगान गाउन थाल्दा शाऊललाई यत्ति जलन भयो कि तिनले दाऊदलाई झन्डै भित्तैमा उनिने गरी दुई-दुई पल्ट भाला हिर्काए। (१ शमू. १८:६-९) दुवैपल्ट दाऊद छल्न सफल भए। अनुभवी योद्धा भएकोले दाऊद सिपालु र फुर्तिलो थिए। के यही कारणले गर्दा तिनले छल्न सकेका हुन्? होइनन्। “परमप्रभु तिनीसँग हुनुभएको हुनाले” भनेर बाइबल बताउँछ। (१ शमूएल १८:११-१४ पढ्नुहोस्) पछि, पलिश्तीहरूको हातबाट दाऊदलाई मार्ने चाल विफल भएपछि “परमप्रभु दाऊदसँग हुनुहुँदोरहेछ भनी शाऊलले देखे।”—१ शमू. १८:१७-२८.
९ दाऊदले आफ्नो छुटकाराको श्रेय कसलाई दिए? भजन १८ को (NRV) मुख्य शीर्षकमुनि सानो अक्षरमा लेखिएको अंशमा यस्तो छ: “परमेश्वरले छुटकारा दिनुभएकोमा परमप्रभुको प्रशंसा . . . शाऊलका हातबाट छुटकारा पाएकोमा दाऊदको भजन।” दाऊदले आफ्नो भावना भजनमा यसरी व्यक्त गरे: “परमप्रभु मेरो चटान, मेरो गढी र मलाई छुटकारा दिने हुनुहुन्छ। मेरा परमेश्वर, मेरो बलियो चटान, उहाँमै म भरोसा राख्नेछु।” (भज. १८:२) आफ्ना जनहरूलाई छुटकारा दिन यहोवा सक्षम हुनुहुन्छ भनी थाह पाउँदा हाम्रो विश्वास बलियो हुन्छ, होइन र?—भज. ३५:१०.
ओछ्यानमै पर्दा सँभालिएको
१०, ११. भजन ४१ मा दाऊद बिरामी परेको बारे बताइएको छ, यो कहिलेतिरको कुरा हो भनेर हामी कसरी थाह पाउन सक्छौं?
१० दाऊद एकचोटि सिकिस्त बिरामी परेका थिए। यो, तिनले भजन ४१ मा उल्लेख गरेका छन्। केही समय तिनी यत्ति सिकिस्त बिरामी परेका थिए कि तिनका केही शत्रुहरूले “त्यो अब . . . फेरि उठ्नेछैन” भन्ठानेका थिए। (पद ७, ८) दाऊद कहिले त्यस्तो सिकिस्त बिरामी परेका थिए? यस भजनमा बताइएको परिस्थिति दाऊदलाई तिनका छोरा अब्शालोमले सत्ताच्युत गर्ने कोसिस गरिरहेको तनावग्रस्त समयको हुन सक्छ।—२ शमू. १५:६, १३, १४.
११ उदाहरणका लागि, आफूले एकदमै भरोसा गरेको र एउटै थालमा रोटी खाने परममित्रले धोका दिएको कुरा दाऊदले बताएका छन्। (पद ९) यसले हामीलाई दाऊदको जीवनको एउटा घटना सम्झना दिलाउन सक्छ। अब्शालोमले विद्रोह गरेको समयमा दाऊदको भरोसायोग्य सल्लाहकार अहीतोपेलले धोका दिए र त्यस विद्रोहमा साथ दिए। (२ शमू. १५:३१; १६:१५) एकातिर राजा ओछ्यानमै थलिएका छन् र उठ्ने बल पनि छैन। अर्कोतर्फ तिनलाई यो कुरा पनि थाह छ कि आफू वरपर यस्ता षड्यन्त्रकारीहरू छन् जो आफ्ना दुष्ट योजनाहरू साकार पार्न तिनी कहिले मर्लान् भनेर ढुकेर बसेका छन्। यस्तो अवस्थामा राजालाई कस्तो भयो होला, कल्पना गर्नुहोस्।—पद ५.
१२, १३. (क) दाऊदले कस्तो विश्वस्तता व्यक्त गरे? (ख) परमेश्वरले दाऊदलाई कसरी बल दिनुभएको हुन सक्छ?
१२ “मुक्ति दिने” परमेश्वरमा दाऊदको विश्वास धरमराएन। बिरामी परेका एक जना धर्मी सेवकबारे दाऊदले यसो भने: “परमप्रभुले त्यसलाई विपत्तिको दिनमा छुटकारा दिनुहुनेछ। परमप्रभुले [अर्थात् “यहोवाले नै,” NW] त्यसलाई त्यसको बिरामी अवस्थामा पलङ्गैमा सम्हाल्नुहुन्छ। त्यसलाई रोग लाग्दा तपाईंले त्यसको ओछ्यान बनाइदिनुहुन्छ।” (भज. ४१:१, ३) यहाँ पनि “यहोवाले नै” सँभाल्नुहुन्छ भन्दै दाऊदले आफ्नो विश्वस्तता जाहेर गरेको याद गर्नुहोस्। यहोवाले छुटाउनुहुने कुरामा दाऊद निश्चित थिए। कसरी?
१३ दाऊदले के आशा गरेका थिएनन् भने यहोवाले चमत्कार गरेर तिनको रोग निको पारिदिनुहुन्छ। बरु, यहोवाले “सम्हाल्नुहुन्छ” अर्थात् ओछ्यानमै पर्दा बल र सहयोग दिनुहुन्छ भनी तिनी पक्का थिए। दाऊदलाई निश्चय पनि त्यस्तो मदत चाहिएको थियो। कमजोर तुल्याउने बिमारीको अलावा तिनी शत्रुहरूद्वारा घेरिएका थिए जसले तिनीबारे झूटा कुरा भनिरहेका थिए। (पद ५, ६) सान्त्वनादायी कुराहरू सम्झन मदत गरेर यहोवाले दाऊदलाई बल दिनुभएको हुन सक्छ। दाऊदले यसो भन्नु चाखलाग्दो छ: “मलाई तपाईंले मेरो इमानदारीमा सम्हाल्नुहुन्छ।” (पद १२) आफ्नो कमजोर अवस्था र शत्रुहरूले फैलाइरहेको झूटो कुराको बाबजुद यहोवाले तिनलाई निष्ठावान् व्यक्ति ठान्नुभएको कुरामा गौर गर्दा पनि दाऊदले बल पाएका हुन सक्छन्। दाऊद अन्ततः निको भए। यहोवाले बिरामीहरूलाई पनि सँभाल्नुहुन्छ भनी थाह पाउनु के आश्वासनदायी छैन र?—२ कोरि. १:३.
खान-लाउन जुटाइएको
१४, १५. दाऊद र तिनका मानिसहरूले कहिले आफूहरू एकदमै खाँचोमा परेको अनुभव गरे र तिनीहरूले कस्तो मदत पाए?
१४ इस्राएलका राजा हुँदा दाऊदले असल-असल खाना तथा पेय पदार्थको आनन्द उठाए र अरूलाई पनि आफूसँगै खान निम्तो दिए। (२ शमू. ९:१०) तर, पर्याप्त खानेकुरा नहुँदा कस्तो हुन्छ, त्यो पनि दाऊदलाई थाह थियो। छोरा अब्शालोमले विद्रोह गरेर सिंहासन हडप्न खोज्दा दाऊद आफ्ना केही वफादार समर्थकहरूका साथमा यरूशलेमबाट भागे। तिनीहरू यर्दन नदीको पूर्वमा पर्ने गिलादतिर लागे। (२ शमू. १७:२२, २४) भगुवा जीवन बिताउन बाध्य दाऊद र तिनका मानिसहरूलाई खानपिनका साथै टाउको बिसाउने ठाउँको एकदमै खाँचो पऱ्यो। तर त्यस्तो विकट ठाउँमा तिनीहरूले खान र बस्न कसरी बन्दोबस्त मिलाउने?
१५ अन्ततः दाऊद र तिनका मानिसहरू महनैम सहर पुगे। त्यहाँ तिनीहरूको भेट तीन वीर पुरुष: शोबी, माकीर र बर्जिलाइसित भयो। तिनीहरू आफ्नो ज्यान बाजी लगाएर परमेश्वरद्वारा नियुक्त राजालाई मदत गर्न तयार थिए किनभने अब्शालोम राजा भएको खण्डमा तिनले अवश्यै दाऊदका समर्थकहरूलाई कडा सजाय दिने थिए। दाऊद र तिनका मानिसहरूको अवस्था बुझेर यी तीन वफादार प्रजाले आवश्यक चीजहरू जस्तै ओढ्ने-ओछ्याउने, गहुँ, जौ, चिउरा, सिमी, दाल, मह, दही र भेडा ल्याइदिए। (२ शमूएल १७:२७-२९ पढ्नुहोस्) यी मानिसहरूले देखाएको असाधारण वफादारिता र आतिथ्यले दाऊदको मन छोएको हुनुपर्छ। तिनीहरूले लगाएको गुण दाऊदले कसरी बिर्सन सक्थे र?
१६. दाऊद र तिनका मानिसहरूलाई खान-लाउन जुटाइदिने वास्तवमा को थिए?
१६ तर दाऊद र तिनका मानिसहरूलाई खान-लाउन जुटाइदिने वास्तवमा को थिए? यहोवा आफ्ना जनहरूको हेरचाह गर्नुहुन्छ भनेर दाऊद विश्वस्त थिए। खाँचोमा परेको सँगी उपासकलाई सहयोग गर्न यहोवाले अवश्यै अरू सेवकलाई घचघच्याउन सक्नुहुन्छ। दाऊदले गिलादमा भएको कुरालाई विचार गर्दा पक्कै पनि ती मानिसहरूले देखाएको दयालाई यहोवाको मायालु हेरचाहको रूपमा लिए। आफ्नो जीवनको अन्ततिर दाऊदले यस्तो लेखे: “जवान थिएँ, र अहिले बूढो भएको छु। तैपनि [मलगायत अन्य] धर्मात्मा त्यागिएको, र तिनका सन्तानले भिक्षा मागेको मैले देखेको छैनँ।” (भज. ३७:२५) आवश्यकताको बेला यहोवाको हात कहिल्यै छोटो हुँदैन भन्ने कुरा थाह पाउनु सान्त्वनादायी छ, होइन र?—हितो. १०:३.
‘भक्तहरूलाई परीक्षाबाट बचाउन यहोवा जान्नुहुन्छ’
१७. यहोवाले बारम्बार के प्रमाणित गर्दै आउनुभएको छ?
१७ बाइबल समयमा यहोवाले दाऊदलाई मात्र मुक्ति दिनुभएको होइन, अरू थुप्रैलाई दिनुभयो। ‘भक्तहरूलाई परीक्षाबाट बचाउन यहोवा जान्नुहुन्छ’ भन्ने प्रेरित पत्रुसका शब्दहरूको सत्यता यहोवाले दाऊदको समयदेखि बारम्बार प्रमाणित गर्दै आउनुभएको छ। (२ पत्रु. २:९) अर्को दुइटा उदाहरण विचार गर्नुहोस्।
१८. हिजकियाहको समयमा यहोवाले कसरी छुटकारा दिनुभयो?
१८ ईसापूर्व आठौं शताब्दीमा शक्तिशाली अश्शूरी सेनाले यहूदामाथि आक्रमण गर्दा र यरूशलेमलाई धम्की दिंदा राजा हिजकियाहले यस्तो प्रार्थना गरे: “हे हाम्रा परमप्रभु परमेश्वर, हामीलाई . . . बचाउनुहोस्, र पृथ्वीका सारा राज्यहरूले थाह पाऊन् कि तपाईं मात्र परमप्रभु हुनुहुन्छ।” (यशै. ३७:२०) हिजकियाहको मुख्य चिन्ताको विषय भनेको परमेश्वरको नाउँमा कलंक नलागोस् भन्ने थियो। यहोवाले त्यस व्यग्र प्रार्थनाको जवाफ दिनुभयो। एकै रातमा एउटा स्वर्गदूतले १,८५,००० अश्शूरीहरूलाई मारिदिए र यहोवाका विश्वासी सेवकहरूलाई छुटकारा दिए।—यशै. ३७:३२, ३६.
१९. कुन चेतावनी सुनेको कारण प्रथम शताब्दीका ख्रीष्टियानहरू विपत्तिबाट बचे?
१९ आफ्नो मृत्युको केही दिनअघि येशूले यहूदियामा रहेका आफ्ना चेलाहरूको फाइदाको लागि भविष्यसूचक चेतावनी दिनुभयो। (लूका २१:२०-२२ पढ्नुहोस्) येशूले चेतावनी दिनुभएको दशकौंसम्म केही भएन। तर इस्वी संवत् ६६ मा यहूदी विद्रोहको कारण रोमी सेना यरूशलेम विरुद्ध खडा भयो। सेस्टियस ग्यालसको नेतृत्वमा आएको फौजले मन्दिरको पर्खालको केही अंशमा क्षति त पुऱ्यायो तर तिनीहरू अचानक फर्के। येशूले भविष्यवाणी गर्नुभएअनुसार विनाशबाट भाग्ने मौका यही हो भन्ने बुझेर विश्वासी ख्रीष्टियानहरू डाँडातिर भागे। इस्वी संवत् ७० मा रोमी सेना फेरि आए। यसपालि चाहिं तिनीहरू फर्केनन् र यरूशलेम पूरै ध्वस्त बनाइदिए। येशूको चेतावनी पालन गर्ने ख्रीष्टियानहरू त्यस भयानक विपत्तिबाट बचे।—लूका १९:४१-४४.
२०. यहोवा “मुक्ति दिने” परमेश्वर हुनुहुन्छ भनेर हामी किन भरोसा राख्न सक्छौं?
२० यहोवाले आफ्ना जनहरूलाई मदत गर्नुहुन्छ भन्ने कुरामा मनन गर्दा के हाम्रो विश्वास बलियो हुँदैन र? उहाँले विगतमा गर्नुभएको कुरालाई विचार गर्दा हामी भरोसा गर्ने आधार पाउँछौं। अहिले र पछि हामीले जस्तोसुकै चुनौतीको सामना गर्नुपरे तापनि यहोवा “मुक्ति दिने” परमेश्वर हुनुहुन्छ भनेर हामी पनि पूर्णतया विश्वस्त हुन सक्छौं। तर यहोवाले हामीलाई कसरी मुक्ति दिन सक्नुहुन्छ? अनि पहिलो अनुच्छेदमा बताइएका व्यक्तिहरूलाई के भयो? अर्को लेख हामी हेरौं। (w08 9/15)
के तपाईंलाई याद छ?
• भजन ७० ले हामीलाई विश्वस्त हुने कस्तो कारण दिन्छ?
• बिरामी परेको बेला दाऊद कसरी सँभालिए?
• यहोवाले आफ्ना जनहरूलाई विरोधीहरूबाट छुटाउन सक्नुहुन्छ भनी कस्ता उदाहरणहरूबाट थाह पाउन सक्छौं?