को हुनुहुन्छ परमेश्वर?
तपाईं यो प्रश्नको जवाफ कसरी दिनुहुन्छ? कसै-कसैले परमेश्वरबारे यसो भन्छन्: ‘उहाँ त मेरो नजिकको साथी हुनुहुन्छ। उहाँलाई म राम्ररी चिन्छु।’ तर अरू कतिपयलाई भने परमेश्वर टाढाको नातेदार जस्तै लाग्छ। तिनीहरू परमेश्वर हुनुहुन्छ भनी विश्वास त गर्छन् तर तिनीहरूलाई उहाँबारे खासै केही थाह छैन। यदि तपाईं परमेश्वरमा विश्वास गर्नुहुन्छ भने तल दिइएका प्रश्नहरूको जवाफ कसरी दिनुहुन्छ?
१. के परमेश्वर वास्तविक व्यक्ति हुनुहुन्छ?
२. के परमेश्वरको नाउँ छ?
३. के येशू सर्वशक्तिमान् परमेश्वर हो?
४. के परमेश्वर मेरो ख्याल राख्नुहुन्छ?
५. के परमेश्वर सबै खालको उपासना स्वीकार्नुहुन्छ?
अरूलाई यी प्रश्न सोध्नुभयो भने सायद मान्छेपिच्छे फरक-फरक जवाफ पाउनुहुनेछ। त्यसैले परमेश्वरबारे विभिन्न मिथ्या र गलत विचार विकास भएकोमा छक्क मान्नु पर्दैन।
जवाफ किन महत्त्वपूर्ण
येशू ख्रीष्टले इनारमा भेटेको ईश्वर भक्त स्त्रीसित कुरा गर्दा परमेश्वरबारे सत्य थाह पाउनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो। ती सामरी स्त्रीले येशू अगमवक्ता हुनुहुन्छ भन्ने कुरा मानिलिएकी थिइन्। तर केही कुराले तिनलाई अप्ठ्यारोमा पाऱ्यो। येशू अर्कै धर्मको हुनुहुन्थ्यो। तिनले येशूलाई आफ्नो यो चिन्ताबारे बताउँदा उहाँले स्पष्ट भन्नुभयो: “तिमीहरू जे जान्दैनौ त्यो पुज्दछौ।” (यूहन्ना ४:१९-२२) यसबाट स्पष्ट हुन्छ कि सबै भक्त मानिसले परमेश्वरलाई साँच्चै चिनेको हुँदैन भनेर येशूले बुझ्नुभएको थियो।
के येशूले त्यसो भन्नुको मतलब कसैले पनि परमेश्वरलाई साँच्चै चिन्न सक्दैन भन्ने हो? होइन। येशूले ती स्त्रीलाई यसो पनि भन्नुभयो: “साँचोसँग पुज्नेहरू पितालाई आत्मा र सत्यतामा पुज्नेछन्। किनकि पिताले उहाँलाई पुज्नेहरू यस्तै चाहनुहुन्छ।” (यूहन्ना ४:२३) के तपाईं परमेश्वरलाई “आत्मा र सत्यतामा” पुज्नेहरूमध्ये हुनुहुन्छ?
तपाईं यो प्रश्नको जवाफमा पक्का हुनु एकदमै आवश्यक छ। किन? येशूले प्रार्थना गर्नुहुँदा सही ज्ञान लिनुपर्ने आवश्यकतामाथि यसरी प्रकाश पार्नुभयो: “अनन्त जीवन यही [हो], कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात् येशू ख्रीष्टलाई चिनून्।” (यूहन्ना १७:३) हो, तपाईंको भावी जीवनको आशा नै परमेश्वरबारे सत्य कुरा थाह पाउनुसित सम्बन्धित छ।
के परमेश्वरबारे सत्य थाह पाउनु साँच्चै सम्भव छ? हो, छ। त्यसोभए तपाईं कसरी त्यो सत्य थाह पाउन सक्नुहुन्छ? आफूबारे येशूले यसो भन्नुभयो: “बाटो, सत्य, र जीवन मैं हुँ, मबाहेक अरू कोहीद्वारा पिताकहाँ जानसक्तैन।” (यूहन्ना १४:६) उहाँले यसो पनि भन्नुभयो: “पिता को हुन्? पुत्रले, र जसलाई पुत्रले प्रकट गर्ने इच्छा गर्दछ, त्यसले बाहेक कसैले जान्दैन।”—लूका १०:२२.
त्यसैले परमेश्वरलाई चिन्ने मुख्य तरिका हामी येशू ख्रीष्टको शिक्षामा पाउन सक्छौं। वास्तवमा, येशूले हामीलाई यस्तो प्रतिज्ञा गर्नुभएको छ: “तिमीहरू मेरो वचनमा रह्यौ भने साँच्चै मेरा चेला हौ। औ तिमीहरूले सत्य के हो, सो जान्नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।”—यूहन्ना ८:३१, ३२.
त्यसो भए सुरुमा सोधिएका पाँच प्रश्नहरूको जवाफ येशू कसरी दिनुहुन्छ? (w 09 2/1)
[पृष्ठ ४-मा भएको चित्र]
के तपाईं आफूले राम्ररी चिन्दै नचिनेका परमेश्वरलाई पुज्नुहुन्छ?