प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w09 ९/१ pp. १३-१७
  • ख्रीष्टजस्तै आज्ञाकारी र साहसी हुनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ख्रीष्टजस्तै आज्ञाकारी र साहसी हुनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • असिद्धताको बाबजुद आज्ञाकारी
  • येशू—साहसको सर्वोत्तम नमुना
  • येशूजस्तै साहसी हुन सिक्नुहोस्‌
  • ख्रीष्टको जस्तो विश्‍वास र साहस देखाउनुहोस्‌
  • साहसी हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • ‘बलियो र साहसी हुनुहोस्‌!’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • “आँटिला होऊ र यो काम गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • ‘बलियो र अति साहसी हुनुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
w09 ९/१ pp. १३-१७

ख्रीष्टजस्तै आज्ञाकारी र साहसी हुनुहोस्‌

“साहस गर, मैले संसारलाई जितेको छु।”—यूह. १६:३३, NRV.

१. येशू कुन हदसम्म परमेश्‍वरप्रति आज्ञाकारी हुनुभयो?

येशू ख्रीष्टले सधैं परमेश्‍वरको इच्छाबमोजिम गर्नुभयो। स्वर्गमा हुनुहुने पिताको अवज्ञा गर्ने विचार उहाँको मनमा कहिल्यै आएन। (यूह. ४:३४; हिब्रू ७:२६) तर उहाँले पृथ्वीमा सामना गरेको परिस्थितिलाई विचार गर्दा आज्ञाकारी हुनु सजिलो चाहिं थिएन। प्रचारकार्यको सुरुदेखि नै उहाँलाई विश्‍वासी मार्गबाट तर्काउन शैतान आफै र अन्य शत्रुहरूले फकाउने, जबरजस्ती गर्ने वा झुक्याउने कोसिस गरे। (मत्ती ४:१-११; लूका २०:२०-२५) ती शत्रुहरूले उहाँलाई हदैसम्मको मानसिक, भावनात्मक र शारीरिक पीडा दिए। अन्ततः तिनीहरूले उहाँलाई शासनाको खम्बामा झुन्ड्याएर मारे। (मत्ती २६:३७, ३८; लूका २२:४४; यूह. १९:१, १७, १८) यी सबै अकल्पनीय पीडाको बाबजुद येशू “मृत्युसम्मै आज्ञाकारी हुनुभयो।”—फिलिप्पी २:८, पढ्‌नुहोस्‌।

२, ३. दुःखकष्ट आए पनि येशू आज्ञाकारी रहेको कुराबाट हामी के सिक्न सक्छौं?

२ पृथ्वीमा मानिसको रूपमा बटुलेका अनुभवले उहाँलाई आज्ञाकारिताको नयाँ पक्ष सिकायो। (हिब्रू ५:८) यहोवाको सेवा गर्नेबारे उहाँले सिक्नुपर्ने कुरा बाँकी के नै छ र, जस्तो लाग्न सक्छ। किनभने उहाँले अनगिन्ती वर्ष यहोवासित घनिष्ठ सम्बन्धको आनन्द उठाउनुभएको थियो र सृष्टिको बेला “मुख्य कालिगड” हुनुहुन्थ्यो। (हितो. ८:३०, NW ) तैपनि, मानिसको रूपमा विश्‍वासी भई दुःख भोगेर उहाँले आफूलाई पूर्णतया निष्ठवान्‌ प्रमाणित गर्नुभयो। पुत्र येशू परमेश्‍वरसँग अझै नजिक हुनुभयो। उहाँको अनुभवबाट हामी के सिक्न सक्छौं?

३ येशू सिद्ध मानिस हुनुभए तापनि आफैमा मात्र भर परेर पूर्णतया आज्ञाकारी हुने कोसिस गर्नुभएन। उहाँले परमेश्‍वरसँग मदत माग्नुभयो। (हिब्रू ५:७ पढ्‌नुहोस्‌) हामी पनि आज्ञाकारी रहन नम्र भई प्रार्थनापूर्वक परमेश्‍वरसँग मदत माग्नुपर्छ। त्यसैले प्रेरित पावलले ख्रीष्टियानहरूलाई यस्तो सल्लाह दिए: “तिमीहरूमा यस्तो मन [“मनोवृत्ति,” NW ] होस्‌, जो येशूमा पनि थियो।” उहाँले “रूपमा मानिसजस्तो भएर मृत्युसम्मै आज्ञाकारी हुनुभयो . . . [र] मृत्युसम्मै आफूलाई होच्याउनुभयो।” (फिलि. २:५-८) दुष्ट संसारमा पनि आज्ञाकारी रहन सम्भव छ भनेर येशूको जीवनशैलीबाट प्रमाणित भयो। हो, येशू सिद्ध हुनुभएकोले यो सम्भव भयो तर हामीजस्ता असिद्ध मानिसहरू नि?

असिद्धताको बाबजुद आज्ञाकारी

४. स्वैच्छिक इच्छासहित सृष्टि गरिनुले हाम्रो लागि के अर्थ राख्छ?

४ परमेश्‍वरले आदम र हव्वालाई स्वैच्छिक इच्छासहित बौद्धिक प्राणीको रूपमा सृष्टि गर्नुभयो। तिनीहरूको सन्तान भएकाले हामीमा पनि स्वैच्छिक इच्छा छ। यसको अर्थ? यसको अर्थ हो, असल वा खराब गर्ने निर्णय, हामी गर्न सक्छौं। अर्को शब्दमा भन्‍नुपर्दा परमेश्‍वरप्रति आज्ञाकारी हुने वा नहुने छनौट गर्ने स्वतन्त्रता उहाँले हामीलाई दिनुभएको छ। त्यस्तो ठूलो स्वतन्त्रता सँगसँगै जिम्मेवारी पनि आउँछ। वास्तवमा, हाम्रो निर्णयले जीवन वा मृत्युको अर्थ राख्छ। यसले हामी वरपरका मानिसहरूलाई पनि असर गर्छ।

५. हामी सबैले कस्तो संघर्ष गर्नुपर्छ र हामी कसरी सफल हुन सक्छौं?

५ हामी जन्मजात असिद्ध भएकोले आज्ञाकारी हुने कुरा स्वतः आउँदैन। परमेश्‍वरको व्यवस्था पालन गर्नु सधैं सजिलो छैन। पावलले पनि संघर्ष गर्नुपऱ्‍यो। तिनले लेखे: “मेरो बुद्धिको व्यवस्थाको विरुद्धमा लडाइँ गर्ने, र मेरा इन्द्रियहरूमा रहेको पापको अधीनमा भएको व्यवस्थाको बन्धनमा मलाई ल्याउने, मेरा इन्द्रियहरूमा भिन्‍नै व्यवस्था म देख्तछु।” (रोमी ७:२३) त्याग गर्नु, पीडा भोग्नु वा असुविधाको सामना गर्नु नपर्दा आज्ञाकारी हुन सजिलै हुन्छ। तर आज्ञाकारी हुने इच्छा र “शरीरको अभिलाषा, आँखाको अभिलाषा”-बीच द्वन्द चल्दा नि? यी अभिलाषाहरू आफ्नै असिद्धता र आफू वरपर फैलिएको “संसारको आत्मा”-को कारण उत्पन्‍न हुन्छ र यी शक्‍तिशाली छन्‌। (१ यूह. २:१६; १ कोरि. २:१२) यसको प्रतिरोध गर्न संकष्ट वा प्रलोभन आउनुअघि नै ‘आफ्नो हृदय ठीक’ राख्नै पर्छ र जस्तोसुकै परिस्थिति आए तापनि यहोवाको आज्ञा पालन गर्ने अठोट गर्नै पर्छ। (भज. ७८:८) आफ्नो हृदय ठीक राखेकोले सफलता साथ परीक्षाहरूको सामना गर्न सकेका थुप्रै उदाहरण बाइबलमा पाउँछौं।—एज्रा ७:१०; दानि. १:८.

६, ७. व्यक्‍तिगत अध्ययनले बुद्धिमानी छनौट गर्न कसरी मदत गर्न सक्छ, उदाहरणसहित बताउनुहोस्‌।

६ हृदयलाई ठीक राख्ने एउटा तरिका बाइबल अनि यसमा आधारित प्रकाशनहरू लगनशील भई अध्ययन गरेर हो। कल्पना गर्नुहोस्‌: तपाईं अहिले व्यक्‍तिगत अध्ययन गर्ने साँझको समयमा हुनुहुन्छ। बाइबलबाट सिक्ने कुरा व्यवहारमा उतार्न सकूँ भनेर परमेश्‍वरको पवित्र आत्मा माग्दै भर्खरै प्रार्थना गर्नुभएको छ। भोलिपल्ट साँझ टिभीमा एउटा फिल्म हेर्ने तपाईंको योजना छ। त्यो फिल्मबारे पत्रपत्रिका र अरूले राम्रो टिप्पणी गरेको तपाईंले सुन्‍नुभएको छ। तर त्यसमा अनैतिकता वा हिंसाका केही दृश्‍य छ भनेर पनि तपाईंलाई थाह छ।

७ तपाईं एफिसी ५:३ मा पाइने पावलको सल्लाहलाई गहिरिएर विचार गर्नुहुन्छ: “व्यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँसमेत पनि तिमीहरूबाट नलिइओस्‌, जस्तो कि पवित्र जनहरूलाई उचित हुन्छ।” फिलिप्पी ४:८ मा (पढ्‌नुहोस्‌) पाइने पावलको सल्लाह पनि तपाईं सम्झनुहुन्छ। यी प्रेरित सल्लाहहरूमा मनन गर्दै तपाईं आफैलाई यस्तो प्रश्‍न गर्नुहुन्छ: ‘आपत्तिजनक दृश्‍यहरू छ भनी थाह पाउँदा-पाउँदै मैलै त्यस्तो फिल्म हेरें भने यहोवाप्रति पूर्णतया आज्ञाकारी हुनुभएका येशूको उदाहरण के मैले पछ्याइरहेको हुन्छु?’ तपाईं के गर्नुहुन्छ? जे-सुकै होस्‌ भन्दै त्यो फिल्म हेर्ने निर्णय गर्नुहुन्छ?

८. हामीले किन उच्च नैतिक र आध्यात्मिक स्तर कायम राख्नुपर्छ?

८ खराब संगत, जुन हिंस्रक र अनैतिक मनोरञ्जनको रूपमा पनि आउन सक्छ, त्यसको प्रतिरोध गर्ने बल ममा छ भन्दै आफ्नो नैतिक र आध्यात्मिक स्तरलाई खस्कन दिनु गलत हुनेछ। बरु हामीले आफू र आफ्ना बालबच्चालाई शैतानको संसारबाट आउने भ्रष्ट प्रभावहरूदेखि जोगाउनुपर्छ। कम्प्युटर प्रयोगकर्ताहरू आफ्नो कम्प्युटरलाई खतरनाक भाइरसहरूबाट जोगाउन एकदमै सतर्क हुन्छन्‌ किनभने भाइरसले फाइलहरू खत्तम गर्न सक्छ, सुचारु रूपमा चल्न दिंदैन र कतिसम्म भने, त्यो कम्प्युटरलाई चलाएर अरू कम्प्युटरलाई पनि आक्रमण गर्न सक्छ। शैतानका “युक्‍तिहरू”-बाट आफूलाई सुरक्षित राख्न हामी झन्‌ कत्ति सतर्क हुनुपर्छ होला?—एफि. ६:११.

९. हरेक दिन यहोवाको आज्ञा पालन गर्न हामी किन कटिबद्ध हुनुपर्छ?

९ प्रायः हामीले हरेक दिन कुनै न कुनै तरिकामा यहोवाको इच्छाअनुसार कामकुरा गर्ने कि नगर्ने, छनौट गर्नुपर्ने हुन्छ। उद्धार पाउन हामीले यहोवाको आज्ञा पालन गर्नै पर्छ र उहाँका सही स्तरहरूअनुसार जिउनै पर्छ। येशू जस्तै “मृत्युसम्मै” आज्ञाकारी भई हामी आफ्नो विश्‍वास साँचो भएको देखाउँछौं। विश्‍वासी मार्गमा लाग्दा यहोवा हामीलाई इनाम दिनुहुन्छ। येशूले प्रतिज्ञा गर्नुभयो: “अन्तसम्म स्थिर रहने चाहिंले उद्धार पाउनेछ।” (मत्ती २४:१३) स्पष्ट छ, यसको लागि येशूको जस्तै साहस चाहिन्छ।—भज. ३१:२४.

येशू—साहसको सर्वोत्तम नमुना

१०. हामीमाथि कस्ता दबाबहरू आउन सक्छ र हाम्रो प्रतिक्रिया कस्तो हुनुपर्छ?

१० हामी जुन तरिकामा यस संसारको मनोवृत्ति र आचरणले घेरिएका छौं, त्यसको प्रभावमा परेर भ्रष्ट नहुन साहस चाहिन्छ। यहोवाका धार्मिक मार्गबाट तर्काउन सक्ने नैतिक, सामाजिक, आर्थिक र धार्मिक दबाब ख्रीष्टियानहरूमाथि आइपर्छ। थुप्रैलाई परिवारबाट विरोध आउँछ। कतिपय देशका शैक्षिक संस्थाहरूले क्रमविकासको शिक्षामा झनै जोड दिइरहेका छन्‌। साथै नास्तिकवादलाई झन्‌ बढी स्वीकार्न थालेका छन्‌। त्यस्तो दबाबको बेला हामी लल्याकलुलुक परेर चुपो लागी बस्न सक्दैनौं। प्रतिरोध गर्दै आफूलाई सुरक्षित राख्न कदम चाल्नै पर्छ। यस्तो बेला कसरी सफल हुने, येशूको उदाहरणबाट सिक्न सक्छौं।

११. येशूको उदाहरण मनन गर्दा कसरी थप साहस पाउन सक्छौं?

११ येशूले चेलाहरूलाई भन्‍नुभयो: “संसारमा तिमीहरूलाई सङ्‌कष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु।” (यूह. १६:३३, NRV ) उहाँ संसारको प्रभावसामु कहिल्यै झुक्नुभएन। यो संसारको दबाबमा उहाँ प्रचारकार्यदेखि कहिल्यै पछि हट्‌नुभएन, नता साँचो उपासना र सही आचरणको स्तर नै खस्कन दिनुभयो। हामी पनि त्यस्तै हुनुपर्छ। प्रार्थनामा येशूले चेलाहरूबारे यसो भन्‍नुभयो: “जस्तो म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन्‌!” (यूह. १७:१६) येशूको साहसी उदाहरणको अध्ययन र मनन गर्दा यस संसारबाट अलग रहन आवश्‍यक साहस पाउन सक्छौं।

येशूजस्तै साहसी हुन सिक्नुहोस्‌

१२-१४. येशूले साहस देखाएका घटनाहरू बताउनुहोस्‌।

१२ येशूले आफ्नो सेवकाईभरि नै ठूलो साहस देखाउनुभयो। परमेश्‍वरको पुत्रको रूपमा आफ्नो अख्तियार चलाउँदै उहाँ निडर भई “परमेश्‍वरको मन्दिरभित्र पस्नुभयो, र उहाँले मन्दिरमा किन-बेच गर्ने सबैलाई धपाउनुभयो, र सराफीहरूका टेबल र ढुकुर बेच्नेहरूका आसन पल्टाइदिनुभयो।” (मत्ती २१:१२) उहाँको मृत्युको अघिल्लो रात सिपाहीहरू उहाँलाई पक्रन आउँदा चेलाहरूको सुरक्षा गर्न उहाँले साहसी भई यसो भन्‍नुभयो: “यदि तिमीहरू मलाई खोज्दछौ भने यिनीहरूलाई चाहिं जानदेओ।” (यूह. १८:८) यस घटनाको एकछिन पछि उहाँले पत्रुसलाई तिनको तरवार म्यानमै राख्न भन्‍नुभयो। यसबाट प्रस्ट भयो उहाँ निर्धक्क हुनुको स्रोत यहोवा हुनुहुन्छ, मानिसले बनाएको हतियार होइन।—यूह. १८:११.

१३ निडरता साथ येशूले आफ्नो समयका निर्दयी झूटा शिक्षक र तिनीहरूको झूटा शिक्षा उदांग पार्नुभयो। उहाँले तिनीहरूलाई भन्‍नुभयो: “धिक्कार, तिमीहरूलाई, शास्त्री र फरिसी हो, कपटीहरू! किनकि तिमीहरू मानिसहरूको विरुद्ध स्वर्गको राज्य बन्द गर्दछौ। . . . व्यवस्थाका . . . गहकिला कुराहरू, अर्थात्‌ न्याय, दया र विश्‍वास छोड्‌दछौ। . . . तिमीहरू कचौरा र थालको बाहिरपट्टि ता माझ्दछौ, तर भित्रपट्टि भने ती लूट र असयमले भरिएका हुन्छन्‌।” (मत्ती २३:१३, २३, २५) येशूका चेलाहरूलाई पनि त्यस्तै साहसको खाँचो पर्नेथियो किनभने झूटा धर्मगुरुहरूले तिनीहरूलाई सताउने र कसै-कसैलाई मार्ने थिए।—मत्ती २३:३४; २४:९.

१४ येशूले प्रेतहरू विरुद्ध समेत साहसी अडान लिनुभयो। एकचोटि, उहाँको भेट भूत लागेको मानिससित भयो। तिनी यत्ति बलियो भएका थिए कि कसैले तिनलाई साङ्‌लाले बाँधेर राख्न सकेको थिएन। नडराई येशूले त्यसलाई वशमा पारिरहेको थुप्रै प्रेतहरू निकालिदिनुभयो। (मर्कू. ५:१-१३) आज परमेश्‍वरले ख्रीष्टियानहरूलाई त्यस्तो चमत्कार गर्ने शक्‍ति दिनुभएको छैन। तैपनि, प्रचार र शिक्षण कार्यमा शैतान विरुद्ध हामीले पनि आध्यात्मिक युद्ध लड्‌नै पर्छ जसले मानिसहरूको “समझशक्‍तिलाई अन्धा तुल्याइदिएको” छ। (२ कोरि. ४:४) येशूको जस्तै हाम्रो हतियार “शारीरिक होइनन्‌, तर किल्लाहरू” अर्थात्‌ एकदमै गहिरो जरा गाडिएको गलत धार्मिक विचारहरू ‘भत्काउनसक्नेझैं [गरी] परमेश्‍वरले शक्‍तिमान’ तुल्याउनुभएको छ। (२ कोरि. १०:४) यी आध्यात्मिक हतियारहरू चलाउनेबारे येशूको उदाहरणबाट हामी धेरै कुरा सिक्न सक्छौं।

१५. येशूको साहस केमा आधारित थियो?

१५ येशूको साहस आफ्नो बहादुरीमा नभई विश्‍वासमा आधारित थियो। हाम्रो पनि त्यस्तै हुनुपर्छ। (मर्कू. ४:४०) साँचो विश्‍वास हामी कसरी हासिल गर्न सक्छौं? यस सन्दर्भमा पनि येशूको उदाहरणले हामीलाई डोऱ्‍याइ प्रदान गर्छ। बाइबलको गहिरो ज्ञान हुनुका साथै यसमा पूर्ण भरोसा भएको उहाँले देखाउनुभयो। येशूले हतियारको रूपमा साँच्चैको तरवार होइन तर आत्माको तरवार अर्थात्‌ परमेश्‍वरको वचन चलाउनुभयो। उहाँले बारम्बार धर्मशास्त्रलाई उद्धृत गर्दै आफ्नो शिक्षा यस अनुरूप भएको पुष्टि दिनुभयो। अक्सर उहाँले कुराको सुरुमै “यस्तो लेखिएको छ” भनेर परमेश्‍वरको वचनलाई संकेत गर्नुहुन्थ्यो।a

१६. हामीले आफ्नो विश्‍वासलाई कसरी अझ बलियो बनाउन सक्छौं?

१६ उहाँको चेला भएपछि आउने परीक्षाको सामना गर्न सक्ने विश्‍वास बनाउन हामीले यी कुरा नगरी हुन्‍न: सधैं बाइबल पढ्‌ने र अध्ययन गर्ने, ख्रीष्टियान सभाहरू धाउने। यसो गर्दा विश्‍वासको जग अर्थात्‌ सच्चाइ मनमा ठप्प बस्छ। (रोमी १०:१७) आफूले पढेको कुरा मनन पनि गर्ने पर्छ अनि यसले हाम्रो मनमा अमेट छाप पार्छ। क्रियाशील विश्‍वासले मात्र हामीलाई साहसी कदम चाल्न उत्प्रेरित गर्छ। (याकू. २:१७) अनि हामीले पवित्र आत्माको लागि प्रार्थना गर्नै पर्छ किनभने विश्‍वास आत्माको फलको एउटा पक्ष हो।—गला. ५:२२.

१७, १८. एक जवान बहिनीले स्कूलमा कसरी साहस देखाइन्‌?

१७ साँचो विश्‍वासले कसरी साहस दिन्छ किट्टी नाउँ गरेकी जवान बहिनीले अनुभव गरिन्‌। स्कूलमा ‘सुसमाचारसँग शर्माउन’ हुँदैन भनेर तिनलाई सानै उमेरदेखि थाह थियो। अनि सहपाठीहरूलाई राम्रो साक्षी दिने तिनको भित्री चाहना थियो। (रोमी १:१६) प्रत्येक वर्ष अरूलाई सुसमाचार सुनाउने अठोट तिनले गर्थिन्‌ तर साहस बटुल्न नसकेकोले पछि हट्‌थिन्‌। तिनी १७/१८ वर्षकी हुँदा अर्कै स्कूलमा गइन्‌। तिनले भनिन्‌, “यसपालि भने म पहिलाजस्तै मौकाहरू खेर जान दिन्‍नँ।” तिनले ख्रीष्टको जस्तो साहस, विवेक र सही मौकाको लागि प्रार्थना गरिन्‌।

१८ स्कूलको पहिलो दिन विद्यार्थीहरूलाई पालैपालो आफ्नो परिचय दिन भनियो। कसै-कसैले आफ्नो धर्म पनि बताए तर खासै धर्म मान्‍ने नगरेको उल्लेख गरे। आफूले प्रार्थना गरेको मौका यही हो भन्‍ने किट्टीलाई लाग्यो। आफ्नो पालो आउँदा तिनले निर्धक्क भई यसो भनिन्‌: “म यहोवाको साक्षी हुँ र आध्यात्मिक अनि नैतिक मामिलामा मेरो गाइड बाइबल हो।” तिनले बोल्दै गर्दा केही विद्यार्थीहरूले नाक चेप्य्राउन थाले। तर अरू केहीले ध्यान दिएर सुने र पछि प्रश्‍न पनि गरे। आफ्नो विश्‍वासको लागि अडान लिने असल उदाहरणको रूपमा शिक्षकले किट्टीलाई लिए। येशूको साहसी उदाहरणबाट आफूले पाठ सिकेकोमा किट्टी औधी खुसी भइन्‌।

ख्रीष्टको जस्तो विश्‍वास र साहस देखाउनुहोस्‌

१९. (क) साँचो विश्‍वास हुनुमा के समावेश छ? (ख) हामी कसरी यहोवालाई आनन्दित तुल्याउन सक्छौं?

१९ प्रेरितहरूले पनि आफ्नो साहसी कार्य विश्‍वासमा आधारित हुनुपर्छ भनेर बुझे। तिनीहरूले येशूलाई यस्तो बिन्ती गरे: “हामीहरूको विश्‍वास बढाइदिनुहोस्‌।” (लूका १७:५, ६ पढ्‌नुहोस्‌) साँचो विश्‍वास हुनुको अर्थ परमेश्‍वरको अस्तित्वलाई स्वीकार्नु मात्र होइन। यसमा यहोवासित घनिष्ठ सम्बन्ध विकास गर्नु समावेश छ, एउटा सानो बच्चाले आफ्नो मायालु बुबासित बाँधेको सम्बन्ध जस्तो। प्रेरणा पाएर सुलेमानले यस्तो लेखे: “हे मेरो छोरो, तँ बुद्धिमानी छस्‌ भने मेरो मन पनि खुशी हुनेछ। तैंले ठीक कुरा गर्दा म मेरो सारा मन-तनले रमाहट गर्नेछु।” (हितो. २३:१५, १६) त्यसैगरि, हामीले धार्मिक स्तरहरूका लागि साहसी भई अडान लिंदा यहोवा आनन्दित हुनुहुन्छ र यो थाह पाउँदा हाम्रो साहस बढ्‌छ। त्यसैकारण सधैं येशूको उदाहरण अनुकरण गरौं र धार्मिकताको लागि साहसी अडान लेऔं। ( w 09 9/15)

[फुटनोट]

a उदाहरणको लागि, मत्ती ४:४, ७, १०; ११:१०; २१:१३; २६:३१; मर्कू. ९:१३; १४:२७; लूका २४:४६; यूह. ६:४५; ८:१७ हेर्नुहोस्‌।

के तपाईं बुझाउन सक्नुहुन्छ?

• असिद्ध भए पनि हामी कसरी आज्ञाकारी रहन सक्छौं?

• साँचो विश्‍वास केमा आधारित हुन्छ र यसले हामीलाई साहसी हुन कसरी मदत गर्छ?

• आज्ञाकारी हुँदा र ख्रीष्टको जस्तो साहस देखाउँदा के प्राप्त गर्न सक्छौं?

[पृष्ठ १५-मा भएको चित्र]

प्रलोभनहरूको प्रतिरोध गर्न के तपाईंले आफ्नो ‘हृदयलाई ठीक’ पार्दै हुनुहुन्छ?

[पृष्ठ १७-मा भएको चित्र]

हामी येशूले जस्तै विश्‍वासमा आधारित साहस देखाउन सक्छौं

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने