परमेश्वरको नजिक हुनुहोस्
“तिनले परमप्रभु आफ्ना परमेश्वरको निगाह खोजे”
आफू सानो छँदाखेरि परमेश्वरको स्तरबारे सिकेका तर पछि त्यसबाट तर्केका एक जना पुरुष भन्छन्, “म आफूलाई एकदमै अयोग्य महसुस गर्छु।” तिनले आफ्नो जीवन पूर्णतया परिवर्तन गर्ने कदम चाल्न थाल्दा परमेश्वरले कहिल्यै माफी दिनुहुन्न होला भन्ने डर तिनलाई लागेको थियो। तर यी पश्चात्तापी पापीले २ इतिहास ३३:१-१७ मा मनश्शेबारे दिइएको बाइबल विवरणबाट आशा पाए। यदि तपाईंले आफ्ना विगतका पापहरूको कारण आफूलाई अयोग्य महसुस गर्नुभएको छ भने तपाईंले पनि मनश्शेको उदाहरणबाट सान्त्वना पाउन सक्नुहुन्छ।
मनश्शे परमेश्वरको भय मान्ने परिवारमा हुर्केका थिए। तिनका बुबा हिजकियाह यहूदाका सबैभन्दा उल्लेखनीय राजाहरूमध्ये एक थिए। परमेश्वरले मनश्शेका बुबाको आयु चमत्कारपूर्ण ढङ्गमा बढाइदिनुभएको लगभग तीन वर्षपछि तिनी जन्मेका थिए। (२ राजा २०:१-११) हिजकियाहले आफ्नो छोरालाई परमेश्वरको दयाको कारण पाएको उपहारको रूपमा हेर्थे र आफ्नो छोराको मनमा साँचो उपासनाप्रतिको प्रेम ठप्प हालिदिने प्रयास गरे भन्ने कुरामा कुनै शङ्का छैन। तर परमेश्वरको भय मान्ने आमाबाबुका छोराछोरीहरूले सधैं तिनीहरूको अनुकरण गर्छन् नै भन्ने छैन। मनश्शेको सन्दर्भमा पनि यस्तै भयो।
आफ्नो बुबाको मुत्यु हुँदा मनश्शे लगभग १२ वर्षका थिए। दुःखको कुरा, “घिनलाग्दा चालहरूमा हिंडेर तिनले परमप्रभुको दृष्टिमा जे खराब थियो त्यही गरे।” (पद १, २) के यी युवा राजामा साँचो उपासनाप्रति कुनै आदर नदेखाउने सल्लाहकारहरूको असर परेको थियो कि? बाइबलले यसबारे केही बताउँदैन। तर यति बताउँछ कि मनश्शे घोर मूर्तिपूजामा फसे र तिनले ज्यादै निर्दयी काम गरे। तिनले झूटा देवीदेवताहरूको लागि वेदीहरू बनाए, आफ्नै छोराहरूलाई बलि चढाए, तन्त्रमन्त्र गरे र खोपेर बनाइएको मूर्ति यरूशलेममा रहेको यहोवाको मन्दिरमा राखे। यहोवाले पटक-पटक दिनुभएका चेतावनीहरूमा हठी मनश्शेले ध्यान दिएनन् जबकि उहाँको चमत्कारद्वारा नै तिनको जन्म सम्भव भएको थियो।—पद ३-१०.
अन्ततः यहोवाले मनश्शेलाई साङ्गलाले बाँधिएर बाबेलमा कैदी हुन दिनुभयो। प्रवासमा हुँदा मनश्शेले आफ्ना कामहरूमा मनन गर्ने मौका पाए। आफ्ना शक्तिहीन अनि निर्जीव मूर्तिहरूले सुरक्षा दिन नसकेको तिनले देखे कि? अथवा परमेश्वरको भय मान्ने तिनका बुबाले तिनी सानै छँदा सिकाएका कुराहरू पो सम्झे कि? कुरा जेसुकै होस्, मनश्शेले आफ्नो मन परिवर्तन गरे। विवरण भन्छ: “तिनले परमप्रभु आफ्ना परमेश्वरको निगाह खोजे, अनि . . . विनम्र भएर झुके। . . . तिनले प्रार्थना गरे।” (पद १२, १३, NRV) तर के यस्ता घोर पापहरू गरेको मानिसलाई परमेश्वरले साँच्चै माफी दिनुहोला?
मनश्शेको साँचो पश्चात्ताप देखेर यहोवाको मन छोयो। दया पाउन गरेको तिनको बिन्ती परमेश्वरले सुन्नुभयो अनि “तिनलाई यरूशलेममा फेरि फर्काएर ल्याउनुभयो, र तिनलाई राजगद्दीमा बसाल्नुभयो।” (पद १३) आफूले साँच्चै पश्चात्ताप गरेको हो भनेर देखाउन मनश्शेले आफ्नो गल्ती सच्याउन सकेजति सबै गरे। तिनले आफ्नो राज्यबाट मूर्तिहरू हटाए र आफ्ना प्रजालाई “परमेश्वरको सेवा गर्न” आग्रह गरे।—पद १५-१७.
तपाईं आफ्ना विगतका पापहरूको कारण परमेश्वरबाट माफी पाउन अयोग्य छु जस्तो महसुस गर्नुहुन्छ भने मनश्शेको उदाहरणबाट प्रोत्साहन पाउन सक्नुहुन्छ। यो विवरण परमेश्वरद्वारा प्रेरित वचनको भाग हो। (रोमी १५:४) हो, हामीले यहोवा “क्षमा गर्न तयार” हुनुहुन्छ भनी जानेको उहाँ चाहनुहुन्छ। (भजन ८६:५) उहाँले मानिसको पापलाई होइन तर उसको मनको अवस्थालाई ध्यान दिनुहुन्छ। जुन पापीले पश्चात्तापी मनले प्रार्थना गर्छ, आफ्ना खराब कामहरू त्याग्छ र जे सही छ त्यसैअनुसार गर्ने कडा प्रयत्न गर्छ, उसले मनश्शेले जस्तै यहोवा “परमेश्वरको निगाह” खोजिरहेको हुन्छ।—यशैया १:१८; ५५:६, ७. ( w11 -E 01/01)