प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 १०/१ pp. ८-९
  • येशूले किन आफ्नो जीवन दिनुभयो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशूले किन आफ्नो जीवन दिनुभयो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मसीहलाई . . .
  • येशू ख्रीष्ट को हुनुहुन्छ?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • परमेश्‍वरले मानिसजातिलाई बचाउन के गर्नुभएको छ
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
  • येसु ख्रिष्ट को हुनुहुन्छ?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • येशूले परमेश्‍वरको धार्मिकताको महिमा कसरी गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 १०/१ pp. ८-९

येशूले किन आफ्नो जीवन दिनुभयो?

“मानिसको छोरा . . . धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन आयो।”—मर्कूस १०:४५.

येशूलाई आफ्नो जीवनमा कस्ता कुराहरू आइपर्नेछ भनेर थाह थियो। आफ्नो जीवनमा विघ्नबाधाहरू आइपर्नेछ भनेर उहाँले बुझ्नुभएको थियो। अर्कोतर्फ, लगभग ३० वर्षकै उमेरमा दुःखदायी मृत्यु भोग्नुपर्नेछ भन्‍ने कुरामा उहाँ सजग हुनुहुन्थ्यो। साथै मृत्यु भोग्न उहाँ पूर्णतया तयार हुनुहुन्थ्यो।

बाइबलले येशूको मृत्युलाई ठूलो महत्त्व दिएको छ। एउटा किताबअनुसार ख्रीष्टियन ग्रीक धर्मशास्त्र अर्थात्‌ नयाँ नियममा झन्डै १७५ पटक येशूको मृत्युबारे तोकेरै उल्लेख गरिएको छ। तर येशूले दुःख भोग्नु र मर्नु किन आवश्‍यक थियो? येशूको मृत्युले हाम्रो जीवनमा ठूलो अर्थ राख्न सक्ने भएकोले यसबारे बुझ्नु आवश्‍यक छ।

▪ येशूलाई पहिल्यै थाह भएको कुरा। येशूले आफूमाथि आइपर्नै लागेको दुःख र मृत्युबारे आफ्नो जीवनको अन्तिम वर्षतिर आफ्ना चेलाहरूलाई पटक-पटक चेतावनी दिनुभयो। अन्तिम पटक निस्तार-चाड मनाउन यरूशलेमतर्फ जाँदै गर्दा उहाँले आफ्ना १२ प्रेषितलाई भन्‍नुभयो: “मानिसको छोरा मुख्य पुजारीहरू र शास्त्रीहरूको हातमा सुम्पिइनेछ र तिनीहरूले उसलाई मृत्युदण्ड दिनेछन्‌ र अन्यजातिका मानिसहरूको हातमा सुम्पिनेछन्‌, अनि तिनीहरूले उसको गिल्ला गर्नेछन्‌, उसलाई थुक्नेछन्‌, कोर्रा लगाउनेछन्‌ र मार्नेछन्‌।”a (मर्कूस १०:३३, ३४) आफूलाई के हुनेछ भनेर उहाँ किन यति निश्‍चित हुनुहुन्थ्यो?

आफ्नो जीवनको अन्त कसरी हुनेछ भनेर हिब्रू धर्मशास्त्रमा गरिएका थुप्रै भविष्यवाणीसित येशू परिचित हुनुहुन्थ्यो। (लूका १८:३१-३३) तीमध्ये केही कसरी पूरा भए, शास्त्रपदहरूसहित दिइएका तलका भविष्यवाणीहरूमा ध्यान दिनुहोस्‌।

मसीहलाई . . .

▪ तीस टुक्रा चाँदीको लागि धोका दिइने थियो।—जकरिया ११:१२; मत्ती २६:१४-१६.

▪ पिटिने र थुकिने थियो।—यशैया ५०:६; मत्ती २६:६७; २७:२६, ३०.

▪ खम्बामा टाँगिने थियो।—भजन २२:१६; मर्कूस १५:२४, २५.

▪ खम्बामा टाँगिएको बेला खिसी गरिने थियो।—भजन २२:७, ८; मत्ती २७:३९-४३.

▪ मारिंदा उहाँको कुनै पनि हड्डी भाँचिने थिएन।—भजन ३४:२०; यूहन्‍ना १९:३३, ३६.

येशूले यी तथा अन्य भविष्यवाणीहरू पूरा गर्नुभयो। यी भविष्यवाणीहरू उहाँ आफैले योजना बनाएर पूरा गर्न सक्ने कुरै थिएन। यी सम्पूर्ण भविष्यवाणी येशूमा पूरा हुनुले उहाँ परमेश्‍वरद्वारा पठाइनुभएको व्यक्‍ति हुनुहुन्छ भनेर प्रमाणित गर्छ। b

तर येशूले दुःख भोग्नु र मर्नु किन आवश्‍यक थियो?

▪ महत्त्वपूर्ण विवादहरू सुल्झाउन येशूले आफ्नो जीवन दिनुभयो। अदनको बगैंचामा उठेको विवादबारे येशूलाई थाह थियो। यो विवाद सम्पूर्ण मानिसजाति र स्वर्गदूतहरूलाई असर गर्ने खालको थियो। विद्रोही स्वर्गदूतको बहकाउमा परेर आदम र हव्वाले परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गर्ने छनौट गरे। तिनीहरूको विद्रोहले परमेश्‍वरको सार्वभौमिकताको औचित्यमाथि अर्थात्‌ उहाँको शासन गर्ने तरिकामाथि प्रश्‍न खडा गऱ्‍यो। कठिन परिस्थितिमा कुनै मानिस परमेश्‍वरप्रति वफादार रहिरहन सक्छ या सक्दैन भन्‍ने प्रश्‍न पनि तिनीहरूको पापले खडा गऱ्‍यो।—उत्पत्ति ३:१-६; अय्यूब २:१-५.

येशूले यहोवाको सार्वभौमिकता र मानिसको सत्यनिष्ठासम्बन्धी विवादको सबैभन्दा राम्रो जवाफ दिनुभयो। कसरी? “यातनाको खम्बाको मृत्युसम्मै आज्ञाकारी” भएर उहाँले यहोवाको सार्वभौमिकता उच्च पार्नुभयो। (फिलिप्पी २:८) उहाँले यो पनि प्रमाणित गर्नुभयो कि जस्तोसुकै कठिन परिस्थितिमा पनि त्रुटिरहित मानिस यहोवाप्रति पूर्णतया सत्यनिष्ठ रहिरहन सक्छ।

▪ मानिसजातिलाई छुटकारा दिलाउन येशूले आफ्नो जीवन दिनुभयो। प्रतिज्ञा गरिएका मसीहले भोग्ने दुःख र मृत्युले मानिसजातिको पापको लागि प्रायश्‍चितको काम गर्नेछ भनेर भविष्यवक्‍ता यशैयाले भविष्यवाणी गरे। (यशैया ५३:५, १०) उहाँले यो कुरा राम्रोसँग बुझ्नुभएकोले “धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान” खुसीसाथ अर्पण गर्नुभयो। (मत्ती २०:२८) उहाँले बलिदानस्वरूप दिनुभएको जीवनले त्रुटिपूर्ण मानिसहरूका लागि यहोवासित राम्रो सम्बन्ध गाँस्ने र पाप अनि मृत्युबाट छुटकारा पाउने बाटो खोलिदियो। येशूको मृत्युले हाम्रो लागि दुःखकष्टरहित पृथ्वीमा फेरि सधैंभरि बाँच्न पाउने प्रत्याशा सम्भव तुल्यायो, जुन मौका आदम र हव्वाले गुमाएका थिए।c—प्रकाश २१:३, ४.

▪ तपाईं के गर्न सक्नुहुन्छ? हामीले यस शृङ्‌खलाबद्ध लेखमा येशू कहाँबाट आउनुभयो, उहाँले कसरी जीवन बिताउनुभयो र उहाँले किन आफ्नो जीवन दिनुभयो भन्‍ने विषयमा बाइबलले के भन्छ भनी जाँच्न सक्यौं। येशूबारे यी सत्य कुरा थाह पाउँदा केवल उहाँबारे गलत धारणाहरू हटाउन मदत मिल्ने मात्र होइन। ती सत्य कुराहरूअनुसार चल्दा अहिल्यै सन्तुष्ट जीवन बिताउन अनि भविष्यमा अनन्त जीवनको आशिष्‌ पाउन सक्छौं। त्यस्ता आशिष्‌हरू पाउन के गर्नुपर्छ भनेर बाइबलले बताएको छ।

▪ येशू ख्रीष्टबारे र यहोवाको उद्देश्‍यमा उहाँको भूमिकाबारे अझ धेरै सिक्नुहोस्‌।—यूहन्‍ना १७:३.

▪ येशूमाथि विश्‍वास गरेर उहाँलाई आफ्नो मुक्‍तिदाताको रूपमा स्वीकारेको कुरा आफ्नो जीवनशैलीद्वारा देखाउनुहोस्‌।—यूहन्‍ना ३:३६; प्रेषित ५:३१.

यहोवाको “एक मात्र छोरा” येशू ख्रीष्ट, जसद्वारा हामीले उपहारस्वरूप “अनन्त जीवन” पाउन सक्छौं, उहाँबारे अझ धेरै सिक्न तपाईंलाई मदत गर्न यहोवाका साक्षीहरू खुसी हुनेछन्‌।—यूहन्‍ना ३:१६. ( w11 -E 04/01)

[फुटनोट]

a येशूले धेरै चोटि आफूलाई “मानिसको छोरा” भनी चिनाउनुभयो। (मत्ती ८:२०) यस अभिव्यक्‍तिले उहाँ मानव हुनुहुन्छ भनेर मात्र होइन तर बाइबल भविष्यवाणीमा बताइएका “मानिसका पुत्र” हुनुहुन्छ भनेर पनि देखाउँछ।—दानियल ७:१३, १४.

b येशूमा पूरा भएका भविष्यवाणीहरूबारे थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको “येशू ख्रीष्ट—प्रतिज्ञा गरिएको मसीह” भन्‍ने परिशिष्ट हेर्नुहोस्‌।

c येशूले बलिदानस्वरूप दिनुभएको जीवनको मोलबारे थप जानकारीको लागि बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ५, “छुडौतीको बलिदान—परमेश्‍वरले दिनुभएको सबैभन्दा महान्‌ उपहार” हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने