प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 ४/१५ pp. ६-८
  • बेइमान संसारमा कसरी इमानदार रहने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बेइमान संसारमा कसरी इमानदार रहने?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाप्रतिको स्वस्थकर भय
  • बाइबल प्रशिक्षित अन्तस्करण
  • सन्तुष्टिको भाव
  • काम गर्ने ठाउँमा इमानदार हुनुहोस्‌
  • ऋण तिर्नुहोस्‌
  • अरूको अगाडि राम्रोजस्तो देखिन नखोज्नुहोस्‌
  • इमानदारी—यहोवाको आदर गर्ने गुण
  • १४. सबै कुरामा इमानदार हुनुहोस्‌
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • सबै कुरामा इमानदार हुनुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • सबै कुरामा इमानदार हुनुहोस्‌
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • ईश्‍वरीय गुण—हिराभन्दा पनि किम्मती!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 ४/१५ pp. ६-८

बेइमान संसारमा कसरी इमानदार रहने?

हामीले सास फेर्ने हावाजस्तै बेइमानी जताततै व्याप्त छ। मानिसहरू झूट बोल्छन्‌, ठग्छन्‌, चोर्छन्‌, ऋण तिर्दैनन्‌ र व्यापारमा छलछाम गर्छन्‌। यस्तो वातावरणमा बस्नुपर्दा इमानदार हुने हाम्रो सङ्‌कल्पको अक्सर परीक्षा हुन्छ। बेइमान हुने झुकावको हामी कसरी प्रतिरोध गरिरहन सक्छौं? आउनुहोस्‌, हामीलाई यसो गर्न मदत गर्ने तीन वटा मुख्य तत्त्व विचार गरौं। ती हुन्‌: यहोवाप्रतिको भय, असल अन्तस्करण र सन्तुष्टिको भाव।

यहोवाप्रतिको स्वस्थकर भय

भविष्यवक्‍ता यशैयाले लेखे: “परमप्रभु हाम्रा न्यायकर्त्ता हुनुहुन्छ। परमप्रभु हाम्रा शासक हुनुहुन्छ। परमप्रभु हाम्रा राजा हुनुहुन्छ।” (यशै. ३३:२२) यहोवाको ओहदालाई बुझ्दा हामी उहाँप्रति भय राख्छौं। यही भयले गर्दा बेइमानी गर्ने मनोभावको प्रतिरोध गर्ने हाम्रो सङ्‌कल्प अझ बलियो हुन्छ। हितोपदेश १६:६ भन्छ: “परमप्रभुको भयले मानिसहरूलाई खराब कामबाट फर्काउँछ।” यस्तो भय भनेको परमेश्‍वर इखालु हुनुहुन्छ भन्ठान्दै थरथर काँपेर बस्नु होइन। बरु हाम्रो हितमा गहिरो चासो राख्ने स्वर्गमा बस्ने हाम्रो बुबा अप्रसन्‍न पो हुनुहुने हो कि भनी स्वस्थकर चिन्ता लिनु हो।—१ पत्रु. ३:१२.

यस्तो स्वस्थकर चिन्ता वा भयले पार्ने राम्रो प्रभावलाई एउटा सत्य घटनाले प्रस्ट पार्छ। रिकार्डो र तिनकी पत्नी फर्नान्डाले आफ्नो बैंक खाताबाट सात सय अमेरिकी डलर (लगभग ५०,००० रुपैयाँ) बराबरको रकम निकाले।a फर्नान्डाले नगनीकनै पैसाको बिटोलाई आफ्नो पर्समा राखिन्‌। केही रकम खर्च गरिसकेपछि घरमा फर्कंदा त जति रकम निकालिएको थियो, लगभग त्यति रकम अझै फर्नान्डाको पर्समा बाँकी भएको देख्दा तिनीहरू तीनछक परे। तिनीहरू यस्तो निष्कर्षमा पुगे, “पक्कै पनि बैंकको कर्मचारीले हामीलाई धेरै पैसा दियो।” अझ थुप्रै पैसा तिर्न बाँकी नै भएकोले पहिला त तिनीहरू उक्‍त रकम आफैसित राख्ने प्रलोभनमा परे। रिकार्डो भन्छन्‌: “पैसा फिर्ता गर्ने बल पाउन हामीले यहोवालाई प्रार्थना गऱ्‍यौं। हितोपदेश २७:११ मा उहाँले गर्नुभएको आग्रहअनुरूप उहाँलाई आनन्दित पार्ने चाहनाले गर्दा हामी पैसा फिर्ता गर्न इच्छुक भयौं।”

बाइबल प्रशिक्षित अन्तस्करण

बाइबल अध्ययन गरेर र सिकेका कुराहरू व्यवहारमा उतार्ने प्रयास गरेर हामी आफ्नो अन्तस्करणलाई प्रशिक्षण दिन सक्छौं। यसप्रकार ‘जीवित र प्रबल परमेश्‍वरको वचन’ हाम्रो दिमागसम्म मात्र होइन मनसम्म पुग्नेछ। यसले हामीलाई “सबै कुरामा इमानदार भई चल्न” उत्प्रेरित गर्नेछ।—हिब्रू ४:१२; १३:१८.

झाउको अवस्थालाई विचार गर्नुहोस्‌। तिनले पाँच हजार अमेरिकी डलर (लगभग ४,००,००० रुपैयाँ) बराबरको ऋणको भार बोकेका थिए। त्यसपछि ऋण नै नतिरी तिनी अर्कै सहरमा बसाइँ सरे। आठ वर्षपछि तिनले सच्चाइ सिके र बाइबल प्रशिक्षित अन्तस्करणले तिनलाई ऋण दिने व्यक्‍तिसित सम्पर्क गर्न र ऋण तिर्न झकझकायो! झाउले थोरै आम्दानीद्वारा आफ्नी पत्नी र चार जना छोराछोरीको हेरविचार गर्नुपर्थ्यो। त्यसैले प्रत्येक महिना अलि-अलि गरेर ऋण चुक्‍ता गर्ने कुरामा दुवै पक्ष राजी भए।

सन्तुष्टिको भाव

प्रेषित पावलले लेखे: “धेरै लाभ पाउन सकिन्छ तर त्यसको लागि आफूसित जे छ, त्यसैमा सन्तुष्ट भएर परमेश्‍वरको भक्‍ति गर्नुपर्छ। . . . खान, लाउन र बस्न पाएपछि हामी त्यसैमा सन्तुष्ट हुनेछौं।” (१ तिमो. ६:६-८) यो बुद्धिमानी सल्लाह मनमा लिंदा हामी लोभले भरिएको र शङ्‌कास्पद व्यापारिक कारोबारको पासोमा नपर्न वा रातारात धनी हुने अव्यावहारिक व्यवसायमा नमुछिन मदत पाउनेछौं। (हितो. २८:२०) पावलको सल्लाह पालन गर्दा हाम्रो आधारभूत आवश्‍यकताहरू पूरा गरिनेछ भन्‍ने कुरामा विश्‍वस्त हुँदै परमेश्‍वरको राज्यलाई पहिलो स्थान दिन पनि मदत मिल्नेछ।—मत्ती ६:२५-३४.

तथापि “धनसम्पत्तिको भ्रामक शक्‍तिले” लोभ र लालचको पासोमा पार्न सक्ने खतरालाई हामीले हल्कासित लिनु हुँदैन। (मत्ती १३:२२) आकानको उदाहरण सम्झनुहोस्‌। इस्राएलीहरूले चमत्कारपूर्ण तरिकाले यर्दन नदी पार गरेको तिनले देखेका थिए। तैपनि लोभको वशमा परेकोले यरीहो सहर विनाश हुँदा त्यहाँको केही चाँदी, सुन र महँगा लुगाफाटा चोर्ने चाहनालाई तिनले प्रतिरोध गरेनन्‌। त्यसले गर्दा तिनले ज्यानै गुमाउनुपऱ्‍यो। (यहो. ७:१, २०-२६) यसैकारण शताब्दियौंपछि येशूले यस्तो चेतावनी दिनुको कारण हामी बुझ्न सक्छौं: “तिमीहरूको आँखा खुला राख र हर प्रकारको लालचबाट आफूलाई जोगाओ।”—लूका १२:१५.

काम गर्ने ठाउँमा इमानदार हुनुहोस्‌

अब आउनुहोस्‌, सबै कुरामा इमानदार भई चल्ने हाम्रो सङ्‌कल्पको परीक्षा हुन सक्ने केही अवस्था विचार गरौं। आफू काम गर्ने ठाउँमा इमानदार हुनुमा ‘चोरी नगर्नु’ समावेश छ, चाहे चोरी गर्नु अरू मानिसका लागि सामान्य नै किन नहोस्‌। (ती. २:९, १०) सरकारी कार्यालयमा काम गर्ने जुरन्दरले इमानदार भई आफ्नो यात्राको हिसाबकिताब बुझाउँथे। तर तिनका सहकर्मीहरूले भने खर्च भएको भन्दा धेरै दाबी गर्थे। तिनीहरूलाई त्यसो गर्न कुनै गाह्रो थिएन किनभने त्यस विभागको हाकिमले नै तिनीहरूलाई बेइमानी गर्न छुट दिएका थिए। वास्तवमा, जुरन्दर इमानदार भएकोमा ती हाकिमले तिनलाई हप्काए र व्यापारको सिलसिलामा यात्रामा पठाउन छोडे। तर पछि त्यस कार्यालयको लेखा परीक्षण गरियो र इमानदार भएकोमा जुरन्दरको प्रशंसा गरियो। तिनको पदोन्‍नति पनि भयो।

आन्ड्रे सेल्सम्यान थिए। तिनका मालिकले तिनलाई ग्राहकहरूसित एउटा सेवा शुल्क दुई चोटि लिन लगाए। ती भाइले बाइबल सिद्धान्तहरू लागू गर्ने साहसको लागि यहोवालाई प्रार्थना गरे। (भज. १४५:१८-२०) मालिकले दिएको निर्देशन मान्‍न आफू तयार नहुनुको कारण पनि तिनले बुझाउन खोजे तर केही लागेन। त्यसैले आन्ड्रेले राम्रो कमाइ हुने यो जागिर छोड्‌ने निर्णय गरे। तथापि, लगभग एक वर्षपछि ती मालिकले आफूले ग्राहकहरूलाई ठग्न छोडिसकेको कुरामा विश्‍वस्त गराउँदै आन्ड्रेलाई फेरि काममा बोलाए। आन्ड्रेलाई मेनेजरको रूपमा बढुवा गरियो।

ऋण तिर्नुहोस्‌

प्रेषित पावलले ख्रीष्टियनहरूलाई यस्तो सल्लाह दिए: “कुनै कुरामा कसैको ऋणी नहोओ।” (रोमी १३:८) ऋण नतिर्नुको कारणबारे सफाइ दिंदै हामी यसो भनौंला, ‘जोसँग ऋण लिएको थिएँ ऊसँग टन्‍न पैसा छँदैछ, त्यसैले किन तिर्नुपऱ्‍यो र?’ तर बाइबल हामीलाई यस्तो चेतावनी दिन्छ: “दुष्टले ऋण लिन्छ, र फेरि तिर्दैन।”—भज. ३७:२१.

तर “अवसर” अर्थात्‌ परिस्थितिले नै हामीलाई आफूले लिएको पैसा तिर्न नसक्ने बनायो भने नि? (उप. ९:११) फ्रान्सिस्कोले आफ्नो बन्धकी तिर्नको लागि अल्फ्रेडोसित सात हजार अमेरिकी डलर (लगभग ५,००,००० रुपैयाँ) बराबरको ऋण लिएका थिए। तर आफ्नो व्यापारमा आएको समस्याले गर्दा तिनले तोकिएकै समयमा ऋण तिर्न सकेनन्‌। यसबारे अल्फ्रेडोसित कुराकानी गर्न फ्रान्सिस्को अग्रसर भए र अलि-अलि गरेर चुक्‍ता गरे पनि हुन्छ भन्‍ने कुरामा अल्फ्रेडो राजी भए।

अरूको अगाडि राम्रोजस्तो देखिन नखोज्नुहोस्‌

प्रथम शताब्दीको ख्रीष्टियन मण्डलीको एक दम्पती हननिया र सफीराको खराब उदाहरण सम्झनुहोस्‌। आफ्नो जमिन बेचेपछि तिनीहरूले त्यसबाट आएको रकमको केही हिस्सा मात्र प्रेषितहरूको चरणमा राखिदिए अनि पाएको रकम त्यति नै हो भनेर दाबी गरे। तिनीहरू आफ्नो देखावटी उदारताले अरूलाई प्रभाव पार्न चाहन्थे। तर परमेश्‍वरको पवित्र शक्‍तिको प्रेरणा पाएका प्रेषित पत्रुसले तिनीहरूको छल उदाङ्‌ग पारे र यहोवाले तिनीहरूलाई मार्नुभयो।—प्रेषि. ५:१-११.

बेइमान हननिया र सफीराजस्तो नभई बाइबलका लेखकहरू भने स्पष्टवादी र इमानदार थिए। रिसाएकोले गर्दा आफू प्रतिज्ञा गरिएको भूमिमा पस्न नपाउने कुरा मोशा आफैले इमानदार भई लेखे। (गन्ती २०:७-१३) त्यसैगरि निनवेवासीहरूलाई प्रचार गर्नुअघि र पछि आफूले देखाएका कमीकमजोरीलाई ढाकछोप गर्नुको सट्टा योनाले ती कुराहरू लेखे।—योना १:१-३; ४:१-३.

आफूलाई मर्का पर्ने भए पनि सत्य बोल्न निश्‍चय नै साहस चाहिन्छ। चौध वर्षीया नाटोयालाई स्कूलमा भएको घटनाबाट यो कुरा प्रस्ट हुन्छ। तिनले आफ्नो जाँचको उत्तरपत्र पुनरावलोकन गरिन्‌ र शिक्षकले सही भनेर नम्बर दिएको एउटा जवाफ वास्तवमा गलत भएको याद गरिन्‌। यसले आफ्नो नम्बर घटाउने भए तापनि नाटोयाले यसबारे आफ्नो शिक्षकलाई बताइन्‌। तिनले भनिन्‌, “यहोवालाई खुसी पार्न म इमानदार हुनै पर्छ भनेर मेरो आमाबुबाले सिकाउनुभएको छ। शिक्षकलाई खबर नगरेको भए मेरो अन्तस्करणले मलाई घोचिरहनेथियो।” नाटोयाले देखाएको इमानदारीको लागि शिक्षकले तिनको प्रशंसा गरे।

इमानदारी—यहोवाको आदर गर्ने गुण

सत्र वर्षीया जिजेलले कागजात र पैंतीस अमेरिकी डलर (लगभग २,५०० रुपैयाँ) बराबर रकम भएको पैसा राख्ने ब्याग भेट्टाइन्‌। त्यो ब्याग जसको हो, उसैलाई फिर्ता दिन तिनले स्कूलमार्फत प्रबन्ध मिलाइन्‌। एक महिनापछि स्कूलका उप-प्राध्यापकले कक्षामा एउटा पत्र पढेर सुनाए। त्यस पत्रमा जिजेलको इमानदारीको लागि तिनको प्रशंसा गरिएको थियो अनि तिनलाई राम्रो प्रशिक्षण दिने र ईश्‍वरीय शिक्षा सिकाउने परिवारको पनि तारिफ गरिएको थियो। तिनको “सुकर्म”-ले यहोवाको महिमा गऱ्‍यो।—मत्ती ५:१४-१६.

‘आफैलाई मात्र प्रेम गर्ने, पैसालाई प्रेम गर्ने, धाक लगाउने, अहङ्‌कारी र विश्‍वासघाती’ मानिसहरूबीच बस्नुपर्दा इमानदार हुन सजिलो छैन। (२ तिमो. ३:२) तैपनि यहोवाप्रतिको स्वस्थकर भय, बाइबल प्रशिक्षित अन्तस्करण र सन्तुष्टिको भावले हामीलाई बेइमान संसारमा पनि इमानदार रहन मदत गर्छ। साथै यसले ‘धर्मात्मा र धर्मकर्म निको मान्‍ने’ यहोवासित अझ घनिष्ठ मित्रता गाँस्न पनि मदत गर्छ।—भज. ११:७.

[फुटनोट]

a केही नाम परिवर्तन गरिएका छन्‌।

[पृष्ठ ७-मा भएको चित्र]

यहोवाप्रतिको स्वस्थकर भयले इमानदार हुने हाम्रो सङ्‌कल्पलाई बलियो बनाउँछ

[पृष्ठ ८-मा भएको चित्र]

हाम्रो इमानदार आनीबानीले यहोवाको महिमा गर्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने