प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 ४/१ pp. १४-१५
  • बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • “आफूले चाहेको सबै कुरा मसित छ जस्तो लाग्थ्यो”
    बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
  • बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
    प्रहरीधरहरा: बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
  • बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
    प्रहरीधरहरा: “तिनीहरूले मसित मर्यादापूर्ण व्यवहार गरे”
  • बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
    प्रहरीधरहरा: बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 ४/१ pp. १४-१५

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

एक जना जुवाडे र लुटेरालाई कुलत छाडेर आफ्नो जीवनशैली परिवर्तन गर्न केले उत्प्रेरित गऱ्‍यो? उनी के भन्छन्‌, हेरौं।

“म घोडादौड भनेपछि हुरुक्कै हुन्थें।”—रिचर्ड स्टिवर्ट

जन्म मिति: १९६५

जन्म स्थान: जमैका

विगतमा: जुवाडे र अपराधी

मेरो विगत: म जमैकाको राजधानी किङस्टनमा गरिबहरूको बाक्लो बस्ती भएको इलाकामा हुर्कें। त्यहाँ बेरोजगारी व्याप्त थियो अनि जताततै अपराधका घटनाहरू हुने गर्थे। आपराधिक गिरोहहरूको कारण मानिसहरू डरैडरमा जीवन बिताइरहेका थिए। गोली चलेको आवाज म दिनहुँजसो सुन्थें।

मेरो भाइ र बहिनी अनि मलाई हुर्काउन आमाले मरिमेटेर काम गर्नुभयो। उहाँ हामीले स्कूलमा राम्रोसँग पढेको चाहनुहुन्थ्यो। तर मलाई पढाइमा पटक्कै चासो थिएन, बरु म घोडादौड भनेपछि हुरुक्कै हुन्थें। त्यसैले म स्कूल नगईकन घोडादौड हेर्न जान्थें। म आफै पनि घोडादौडमा भाग लिन्थें।

यसरी चालै नपाई मलाई घोडादौडमा बाजी थाप्ने कुलत लाग्यो। म थुप्रै केटीहरूसँग अवैध यौनसम्बन्ध राखेर एकदमै पतित जीवन बिताउँथें। म गाँजा खान्थें अनि यस्तो ऐयासी जीवन बिताउन चोरी डकैती गर्थें। मसँग धेरै बन्दुक थियो। त्यसैको भरमा मैले धेरै चोरी डकैती गरें तर धन्‍न, मेरो हातबाट कसैको ज्यान गएन।

आखिरमा पुलिसले मलाई समाते अनि झ्यालखानामा थुनिदिए। झ्यालखानाबाट छुटेपछि पनि मेरो जीवनशैलीमा कुनै परिवर्तन आएको थिएन। भनौं भने म पहिले भन्दा झनै खतम भएको थिएँ। हेर्दा त म सोझो देखिन्थें तर वास्तवमा म जिद्दी, झडङ्‌ङ रिसाइहाल्ने अनि कठोर स्वभावको थिएँ। मलाई आफ्नो बाहेक अरू कसैको मतलब थिएन।

बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो: यसरी समस्यै-समस्याबाट गुज्रिरहेको अवस्थामा आमाले बाइबल अध्ययन गर्न थाल्नुभयो र यहोवाको साक्षी हुनुभयो। मैले उहाँको व्यक्‍तित्वमा राम्रा परिवर्तनहरू आएको देखें अनि कसरी यस्तो भयो होला भनेर मेरो मनमा प्रश्‍न खेल्न थाल्यो। त्यसैले त्यो कारण बुझ्न मैले पनि यहोवाका साक्षीसँग बाइबलबारे छलफल गर्न थालें।

यहोवाका साक्षीहरूको शिक्षा अन्य धर्महरूको भन्दा फरक रहेछ अनि उनीहरूले सिकाउने सबै कुरा बाइबलमा आधारित हुँदो रहेछ भनेर मैले थाह पाएँ। पहिले-पहिलेका ख्रीष्टियनहरूले जस्तै घरघरमा गएर प्रचार गर्ने त उनीहरू मात्रै थिए। (मत्ती २८:१९; प्रेषित २०:२०) उनीहरूबीचको निष्कपट प्रेम देख्दा साँचो धर्म भेट्टाएँ भन्‍ने कुरामा म विश्‍वस्त भएँ।—यूहन्‍ना १३:३५.

बाइबलबाट सिक्दै जाँदा मैले आफ्नो जीवनमा आमूल परिवर्तन गर्नुपर्ने महसुस गरें। यहोवा अवैध यौनसम्बन्धलाई घृणा गर्नुहुन्छ अनि उहाँलाई खुसी तुल्याउने हो भने आफ्नो शरीरलाई अशुद्ध पार्ने सबै आनीबानी त्याग्नुपर्छ भनेर मैले बुझें। (२ कोरिन्थी ७:१; हिब्रू १३:४) यहोवाका भावनाहरू छन्‌ अनि मेरो कामले उहाँलाई खुसी या दुःखी बनाउन सक्छ भनेर थाह पाउँदा मेरो मन छोयो। (हितोपदेश २७:११) त्यसैले मैले गाँजा खान छोड्‌ने, आफूसँग बन्दुकहरू नराख्ने अनि आफ्नो व्यक्‍तित्वमा सुधार गर्ने अठोट गरें। मैले जीवनमा धेरै परिवर्तन गरें तर अनैतिक जीवनशैली त्याग्न र जुवा खेल्न छोड्‌न भने एकदमै गाह्रो भयो।

सुरु-सुरुमा, मैले यहोवाका साक्षीहरूसँग अध्ययन गरिरहेको कुरा साथीहरूले थाह नपाओस्‌ भन्‍ने चाहन्थें। तर जब मैले मत्ती १०:३३ मा येशूले भन्‍नुभएको कुरा पढें, तब मेरो जीवनले नयाँ मोड लियो। त्यहाँ यस्तो लेखिएको छ: “जसले मलाई मानिसहरूसामु इन्कार गर्छ, म पनि उसलाई स्वर्गमा बस्नुहुने मेरो बुबासामु इन्कार गर्नेछु।” यो कुरा पढेपछि आफू यहोवाका साक्षीहरूसँग अध्ययन गरिरहेको कुरा साथीहरूलाई बताउन म जुरमुरिएँ। मेरो यस्तो परिवर्तन देखेर तिनीहरू छक्क परे। मजस्तो मान्छे पनि ख्रीष्टियन बन्ला भनेर तिनीहरूले पत्याउनै सकेनन्‌। तर म आफ्नो पुरानो जीवनशैलीमा फर्कन चाहन्‍नँ भनेर मैले तिनीहरूलाई भनिदिएँ।

मैले कसरी लाभ उठाएको छु: मैले बाइबल सिद्धान्तअनुसार जीवन बिताउन थालेको देखेर आमा एकदमै खुसी हुनुभयो। म कतै नराम्रो काम गर्दै छु कि भनेर अहिले उहाँलाई कुनै चिन्ता छैन। हामी दुवै जना यहोवालाई प्रेम गर्छौं र त्यही बन्धनबारे कुराकानी गर्छौं। म पहिले कस्तो थिएँ भनेर कहिलेकाहीं फर्केर हेर्दा आफैलाई अचम्म लाग्छ। यहोवाको मदत पाएर जीवनमा यति ठूलठूला परिवर्तनहरू गर्न सकें भनेर अहिले म विश्‍वासै गर्न सक्दिनँ। म पहिलेको जस्तो अनैतिक अनि भौतिकवादी जीवनशैली कत्ति पनि बिताउन चाहन्‍नँ।

यदि मैले बाइबलको सन्देशप्रति चासो नदेखाएको भए अहिले म मरिसकेको हुन्थें कि त झ्यालखानामा हुन्थें। तर आज हाम्रो परिवार सुखी अनि आनन्दित छ। सहयोगी पत्नी र ज्ञानी छोरीसँगै यहोवाको सेवा गर्न पाउँदा म एकदम खुसी छु। मायालु ख्रीष्टियन भाइबहिनीको माझमा हुन पाउँदा म यहोवाप्रति कृतज्ञ छु। मलाई बाइबल सत्य सिकाउन प्रयास गर्ने व्यक्‍तिप्रति पनि म आभारी छु। साथै बाइबलबाट अरूलाई सिकाउन पाउँदा मलाई असाध्यै खुसी लाग्छ। म विशेषगरि यहोवालाई धन्यवाद दिन्छु किनभने उहाँले नै मलाई अपार दया देखाएर उहाँतर्फ खिच्नुभयो। (w11-E 11/01)

[पृष्ठ १५-मा भएको ठुलो अक्षरको क्याप्सन]

‘यहोवाका भावनाहरू छन्‌ अनि मेरो कामले उहाँलाई खुसी या दुःखी बनाउन सक्छ भनेर थाह पाएँ’

[पृष्ठ १५-मा भएको चित्र]

मेरी पत्नी र छोरीसँगै

[पृष्ठ १५-मा भएको चित्र]

मैले आमाको व्यक्‍तित्वमा राम्रा परिवर्तनहरू आएको देखें

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने