बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
“म कहिल्यै नभरिने घ्याम्पो थिएँ”—लुका सुत्ज
जन्म मिति: सन् १९७५
जन्म स्थान: स्लोभेनिया
विगतमा: पियक्कड
मेरो विगत: मेरो जन्म स्लोभेनियाको राजधानी लियुबियानामा भएको थियो। सुरुमा त मेरो बाल्यावस्था राम्रै थियो। तर म चार वर्षको हुँदा मेरो जीवनमा एउटा दुःखद घटना घट्यो। मेरो बुबाले आत्महत्या गर्नुभयो। त्यसपछि दाइ र मेरो लालनपालन गर्न आमा काममा निकै घोटिनुपर्ने भयो।
म १५ वर्षको हुँदा हजुरआमासँग बस्न थालेँ। मलाई त्यहाँ बस्न रमाइलो लाग्थ्यो किनभने नजिकै मेरा साथीहरू पनि बस्थे। उहाँसित बस्दा मैले घरमा हुँदाभन्दा धेरै स्वतन्त्रता पाएँ। म १६ वर्षको हुँदा मैले सप्ताहन्तमा रक्सी पिउनेहरूसित सङ्गत गर्न थालेँ। मैले लामो कपाल पालेँ, अभद्र पहिरन लगाउन थालेँ अनि चुरोट पनि पिउन थालेँ।
मैले विभिन्न लागूपदार्थ पनि सेवन गरेँ तर मलाई रक्सी पिउन नै सबैभन्दा मन पर्थ्यो। सुरु-सुरुमा त म केही गिलास वाइन मात्र पिउँथेँ। तर पछि मैले बोतलका बोतल रित्त्याउन थालेँ। म आफूलाई रक्सीको मात लागेको कुरा लुकाउन पनि सिपालु भएँ। मेरो सासबाट आउने गन्धबाट मात्रै अरूले मैले रक्सी पिएको छु भनेर थाह पाउँथे। तैपनि मैले कति बोतल बियर, वाइन अनि भोड्का पिएको छु भनेर अरूलाई थाहै हुँदैनथ्यो।
म र मेरा साथीहरू रातभरि डिस्कोमा रक्सी पिएर बिताउँथ्यौँ। हुनत मैले मेरा साथीहरूले भन्दा दुई गुणा बढी रक्सी पिएको हुन्थेँ तर उनीहरूलाई घरसम्म पुग्न म नै मदत गर्थेँ। एकदिन मेरो साथीले मेरो कुरा काट्दै गरेको मैले सुनेँ। तिनले म कहिल्यै नभरिने घ्याम्पो थिएँ भन्दै थिए। यो स्लोभेनियन भाषाको एउटा अपमानजनक अभिव्यक्ति हो, जुन धेरै रक्सी पिउने व्यक्तिको लागि प्रयोग गरिन्छ। यसले गर्दा मेरो साह्रै चित्त दुख्यो।
म आफ्नो जीवनबारे सोच्न थालेँ। मैले आफ्नो जीवनमा कुनै अर्थपूर्ण काम गरेकै थिइनँ। त्यसैले आफू बेकामको छु जस्तो लाग्यो।
बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो? त्यही समयतिर मैले मेरो एक जना सहपाठी परिवर्तन भएको याद गरेँ। पहिलाभन्दा तिनी नम्र व्यक्ति भएका थिए। म त्यसको कारण थाह पाउन चाहन्थेँ। त्यसैले एकदिन मैले तिनलाई क्याफेमा बोलाएँ। कुराकानीको दौडान तिनले यहोवाका साक्षीहरूसित अध्ययन गरिरहेको कुरा बताए अनि आफूले सिकेका केही कुरा पनि बताए। तर मलाई ती सबै नौलो लाग्यो किनभने म पहिला कहिल्यै चर्च गएको थिइनँ अनि मैले बाइबल पनि पढेको थिइनँ। म साक्षीहरूको सभामा जान थालेँ अनि उनीहरूसित बाइबल अध्ययन पनि सुरु गरेँ।
बाइबल अध्ययनले मेरो आँखा खोलिदियो। मैले सिकेका सत्यहरूले मलाई आफ्नो जीवन परिवर्तन गर्न उत्प्रेरित गऱ्यो। उदाहरणको लागि, हामी “अन्तको दिनमा” बाँचिरहेका छौँ भनेर मैले सिकेँ। (२ तिमोथि ३:१-५) साथै परमेश्वरले पृथ्वीबाट खराब मानिसहरूलाई हटाउनुहुनेछ अनि प्रमोदवनमा असल मानिसहरूलाई सधैँभरि बाँच्ने मौका दिनुहुनेछ भनेर पनि सिकेँ। (भजन ३७:२९) म पनि त्यो समूहमा पर्न सकूँ भनेर आफ्नो जीवनमा परिवर्तनहरू गर्न चाहन्थेँ।
मैले आफूले सिकेका बाइबल सत्यहरू साथीहरूलाई बताएँ तर उनीहरूले मलाई ठट्टामा उडाए। जेहोस्, उनीहरूको प्रतिकृयाले मलाई उनीहरू मेरा असल साथी होइनन् भनेर बुझ्न मदत गऱ्यो। वास्तवमा मलाई रक्सी पिउने बानी बस्नुको एउटा कारण उनीहरू नै थिए। उनीहरू हप्ताभरि सप्ताहन्त कहिले आउला अनि मज्जाले रक्सी पिउँला भनेर मात्र सोच्ने गर्थे।
मैले आफ्ना पुराना साथीहरूसित समय बिताउन छोडेँ अनि साक्षीहरूसित समय बिताउन थालेँ। उनीहरूसित सङ्गत गर्दा मैले निकै प्रोत्साहन पाएँ किनभने उनीहरू परमेश्वरलाई माया गर्थे र उहाँको स्तरअनुसार जीवन बिताउँथे। बिस्तारै मैले पनि आफ्नो धेरै पिउने बानी छोड्न सकेँ।
मैले कसरी लाभ उठाएको छु? अहिले मलाई खुसी हुन रक्सी चाहिँदैन। यसको लागि म यहोवाप्रति कृतज्ञ छु। मेरो जीवनशैली पहिलाको जस्तो भएको भए मेरो अवस्था कस्तो हुन्थ्यो होला म कल्पनै गर्न सक्दिनँ। तर अहिले मैले उत्तम जीवन बिताइरहेको छु भन्ने कुरामा म विश्वस्त छु।
विगत सात वर्षदेखि मैले स्लोभेनियाको यहोवाका साक्षीहरूको शाखा कार्यालयमा सेवा गर्ने मौका पाएको छु। यहोवालाई चिनेर उहाँको सेवा गरेकोले अहिले मेरो जीवन अर्थपूर्ण भएको छ।