स्त्रीहरूसित आदरपूर्ण र मर्यादित व्यवहार गरेको परमेश्वर चाहनुहुन्छ
पृथ्वीमा हुनुहुँदा येसुले स्वर्गमा बस्नुहुने आफ्नो बुबाको व्यक्तित्व र काम गर्ने तौरतरिका दुरुस्तै झल्काउनुभयो। येसुले भन्नुभयो: “म आफूखुसी केही पनि गर्दिनँ तर बुबाले मलाई जे-जे सिकाउनुभयो, ती नै कुराहरू बोल्छु। . . . म सधैँ उहाँलाई मन पर्ने कामहरू गर्छु।” (युहन्ना ८:२८, २९; कलस्सी १:१५) येसुले स्त्रीहरूसित गर्नुभएको बोली-व्यवहार र तिनीहरूप्रतिको मनोवृत्ति विचार गर्दा परमेश्वर पनि स्त्रीहरूप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ र अरूले तिनीहरूसित कस्तो व्यवहार गरेको चाहनुहुन्छ भनेर बुझ्न सक्छौँ।
सुसमाचारका किताबहरूमा लेखिएको विवरणको आधारमा थुप्रै शास्त्रविद्ले कुन कुरा मानिलिएका छन् भने स्त्रीहरूप्रति येसुको दृष्टिकोण त्यतिबेलाका मानिसहरूको भन्दा बिल्कुलै फरक थियो। हामी किन त्यसो भन्न सक्छौँ? अझ महत्त्वपूर्ण कुरा, के उहाँका शिक्षाहरूले गर्दा स्त्रीहरूले आज पनि अझ बढी स्वतन्त्रता पाउन सक्छन्?
येसुले स्त्रीहरूसित कस्तो व्यवहार गर्नुभयो?
येसुले तिनीहरूलाई यौन इच्छा पूरा गर्ने साधन ठान्नुभएन। केही यहुदी धर्मगुरुले स्त्रीहरूसित सम्पर्कमा आउँदा त्यसले कामवासना मात्र जगाउँछ, राम्रो कुरा केही गर्दैन भन्ने सोचाइ राख्थे। स्त्रीहरूलाई प्रलोभनको स्रोत ठानिन्थ्यो। त्यसैले तिनीहरूलाई सार्वजनिक ठाउँमा पुरुषहरूसित कुरा गर्न वा घुम्टो नलगाई आउन निषेध गरिएको थियो। तर येसुले भने पुरुषहरूलाई आफ्नो शारीरिक इच्छा काबूमा राख्न अनि स्त्रीहरूलाई समाजबाट अलग राख्नुको साटो तिनीहरूसित मर्यादित व्यवहार गर्न सल्लाह दिनुभयो।—मत्ति ५:२८.
येसुले यसो पनि भन्नुभयो: “जसले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्छ र अर्कीसित विवाह गर्छ, उसले व्यभिचार गरेर आफ्नी पत्नीको हक खोसेको ठहरिन्छ।” (मर्कुस १०:११, १२) यसरी येसुले एक जना पुरुषले “जुनसुकै कारण देखाएर” आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्न सक्छ भन्ने त्यतिबेलाका धर्मगुरुहरूको प्रचलित शिक्षालाई तिरस्कार गर्नुभयो। (मत्ति १९:३, ९) धेरैजसो यहुदी पुरुषको लागि व्यभिचार गर्दा आफ्नी पत्नीको हक खोसिरहेको हुन्छ भन्ने धारणा बिलकुलै नौलो थियो। बाइबलसम्बन्धी एउटा किताब यसो भन्छ: “येसुले पति र पत्नी दुवैले एउटै नैतिक स्तर पालन गर्नुपर्छ भनी सिकाउनुभएर स्त्रीहरूको सम्मान र मर्यादा बढाउनुभयो।”
वर्तमान समयमा उहाँको शिक्षाको असर: यहोवाका साक्षीहरूको मण्डलीहरूमा हुने सभाहरूमा स्त्रीहरू पुरुषहरूसित निसङ्कोच सङ्गत गर्छन्। तर तिनीहरू आफूलाई पुरुषहरूले नराम्रो नजरले हेर्लान् वा बढ्तै नजिक हुन खोज्लान् भनेर डराउनु पर्दैन। किन? किनभने ख्रिष्टियन पुरुषहरू “वृद्ध स्त्रीहरूलाई आमालाई जस्तैगरि अनि युवतीहरूलाई चाहिँ चोखो मनले बहिनीलाई जस्तैगरि” व्यवहार गर्न सजग छन्।—१ तिमोथि ५:२.
येसुले स्त्रीहरूलाई सिकाउन समय निकाल्नुभयो। त्यतिबेलाका धर्मगुरुहरूले स्त्रीहरूलाई केही पनि सिकाउनु हुँदैन भन्ने धारणा राख्थे। तर येसुले भने तिनीहरूलाई सिकाउनुभयो अनि आफ्नो विचार व्यक्त गर्न प्रोत्साहन दिनुभयो। येसुले आफ्नो शिक्षा सुन्नदेखि मरियमलाई वञ्चित गर्नुभएन। यसरी उहाँले एउटी स्त्रीको ठाउँ भान्छा-कोठामा मात्र होइन भनेर देखाउनुभयो। (लुका १०:३८-४२) उहाँको शिक्षाबाट मरियमकी दिदी मार्थाले पनि लाभ उठाइन् भन्ने कुरा उनले लाजरसको मृत्युपछि येसुलाई दिएको तार्किक जवाफबाट प्रस्ट हुन्छ।—युहन्ना ११:२१-२७.
येसु स्त्रीहरूको विचारको कदर गर्नुहुन्थ्यो। येसुको समयका प्रायजसो यहुदी स्त्रीले असल छोरा छ भने सुखी हुन सकिन्छ भन्ने धारणा राख्थे र त्यसमा पनि ऊ भविष्यवक्ता भयो भने त झनै बेस। एकचोटि एउटी स्त्रीले ठूलो स्वरमा येसुलाई यसो भनी: “आनन्दित हुन् ती आमा, जसको कोखबाट तपाईँले जन्म लिनुभयो!” यतिबेला उहाँले उसको ध्यान अझ महत्त्वपूर्ण कुरातर्फ खिच्नुभयो। (लुका ११:२७, २८) यसरी येसुले स्त्रीहरू समाजले तोकेको दायराभित्र बस्नु मात्र पर्याप्त छैन तर परमेश्वरप्रति आज्ञाकारी हुनु अझ महत्त्वपूर्ण छ भनेर प्रस्ट पार्नुभयो।—युहन्ना ८:३२.
वर्तमान समयमा उहाँको शिक्षाको असर: ख्रिष्टियन मण्डलीका शिक्षकहरूले सभाहरूमा स्त्रीहरूले गर्ने टिप्पणीहरूको कदर गर्छन्। यी पुरुषहरू परिपक्व स्त्रीहरूको आदर गर्छन् किनभने तिनीहरू अरूको अगाडि हुँदा र नहुँदा दुवै अवस्थामा “असल कुराका शिक्षकहरू” भएको देखाउँछन्। (तितस २:३) यी पुरुषहरू परमेश्वरको राज्यको सुसमाचार जनसमक्ष घोषणा गर्ने काममा पनि स्त्रीहरूको महत्त्वपूर्ण भूमिका छ भनेर स्विकार्छन्।—भजन ६८:११; पृष्ठ ९ मा भएको “के प्रेषित पावलले स्त्रीहरूलाई बोल्न निषेध गरे?” पेटी हेर्नुहोस्।
येसुले स्त्रीहरूको ख्याल राख्नुभयो। बाइबलकालीन समयमा छोरीहरूलाई छोराहरूजत्तिको महत्त्वपूर्ण ठानिँदैन थियो। यस्तै धारणा यहुदीहरूको धर्मग्रन्थ ताल्मुदमा पाइन्छ: “धन्य हो त्यो मानिस, जसका सन्तान छोराहरू हुन्। धिक्कार छ उसलाई, जसका सन्तान छोरीहरू हुन्।” केही आमाबुबा छोरीलाई ठूलो बोझ ठान्थे किनभने उसको लागि पति छान्नुपर्ने र दाइजो दिनुपर्ने हुन्थ्यो। साथै तिनीहरू बुढेसकालमा छोरीको भर पर्न सकिँदैन भन्ने सोचाइ राख्थे।
येसुले एउटी छोरीको जीवन छोराको जत्तिकै महत्त्वपूर्ण छ भनेर देखाउनुभयो। कसरी? उहाँले नाइन सहरकी विधवाको छोरालाई ब्युँताउनुभएजस्तै याइरसकी छोरीलाई पनि ब्युँताउनुभयो। (मर्कुस ५:३५, ४१, ४२; लुका ७:११-१५) येसुले “१८ वर्षदेखि प्रेतले कमजोर बनाएको एउटी स्त्रीलाई” निको पार्नुभएपछि उसलाई “अब्राहामकी छोरी” भन्नुभयो। (लुका १३:१०-१६) यस्तो अभिव्यक्ति यहुदी लेखोटहरूमा कतै पाइँदैन। येसुले यस्तो आदरपूर्ण र दयालु अभिव्यक्ति चलाउनुभएर उसलाई समाजको अभिन्न अङ्गको रूपमा स्विकार्नुभयो। त्यति मात्र होइन, उहाँले उसको बलियो विश्वासको पनि कदर गर्नुभयो।—लुका १९:९; गलाती ३:७.
वर्तमान समयमा उहाँको शिक्षाको असर: एउटा एसियाली भनाइ यस्तो छ: “छोरी हुर्काउनु र छिमेकीको बगैँचा स्याहार्नु उस्तै हो।” मायालु ख्रिष्टियन बुबाहरू यस्तो सोचाइबाट प्रभावित हुँदैनन्। बरु आफ्ना छोरा र छोरी दुवैको राम्रो हेरचाह गर्छन्। ख्रिष्टियन आमाबुबा आफ्ना सबै छोराछोरीलाई राम्रो शिक्षा र स्वास्थ्य उपचार दिन प्रयास गर्छन्।
येसुले आफू फेरि जीवित भएको खबर प्रेषितहरूलाई दिने सुअवसर मरियम मग्दलिनीलाई दिएर तिनको सम्मान गर्नुभयो
येसुले स्त्रीहरूलाई भरोसा गर्नुभयो। यहुदी अदालतहरूमा एउटी स्त्रीको बयानलाई दासको जत्तिको मात्र महत्त्व दिइन्थ्यो। प्रथम शताब्दीका इतिहासकार जोसेफसले यसो भने: “स्त्रीहरूको बयानलाई कुनै मान्यता नदिइयोस् किनभने तिनीहरू जाबो स्त्री हुन्।”
यस्तो धारणाको ठीक विपरित येसुले आफू फेरि जीवित भएको कुराको साक्षी दिन स्त्रीहरूलाई रोज्नुभयो। (मत्ति २८:१, ८-१०) हुनत यी वफादार स्त्रीहरूले येसुलाई खम्बामा टाँगेर मारिएको अनि उहाँलाई गाडिएको आफ्नै आँखाले देखेका थिए। तर प्रेषितहरूले ती स्त्रीहरूको कुरा पत्याएनन्। (मत्ति २७:५५, ५६, ६१; लुका २४:१०, ११) तर फेरि जीवित भएपछि सबैभन्दा पहिला स्त्रीहरूकहाँ देखा पर्नुभएर ख्रिष्टले तिनीहरू पनि साक्षी दिने कार्यमा अरू चेलाजत्तिकै महत्त्वपूर्ण छन् भनेर देखाउनुभयो।—प्रेषित १:८, १४.
वर्तमान समयमा उहाँको शिक्षाको असर: यहोवाका साक्षीहरूको मण्डलीमा जिम्मेवारी वहन गरिरहेका पुरुषहरूले स्त्रीहरूको धारणाको कदर गरेर तिनीहरूलाई महत्त्वपूर्ण ठानेको देखाउँछन्। ख्रिष्टियन पतिहरूले पनि पत्नीहरूको कुरा ध्यान दिई सुनेर तिनीहरूको “आदर” गर्छन्।—१ पत्रुस ३:७; उत्पत्ति २१:१२.
बाइबलका सिद्धान्तहरूले गर्दा स्त्रीहरू आनन्दित हुन सक्छन्
बाइबलका सिद्धान्तहरूअनुसार चल्नेहरूले स्त्रीहरूको आदर र सम्मान गर्छन्
पुरुषहरूले ख्रिष्टको अनुकरण गर्दा परमेश्वरले सुरुमा चाहनुभएजस्तै स्त्रीहरूले आदर र स्वतन्त्रता पाउँछन्। (उत्पत्ति १:२७, २८) पुरुषवादलाई समर्थन गर्नुको साटो ख्रिष्टियन पतिहरू बाइबलका सिद्धान्तहरूअनुसार चल्छन्। यसले गर्दा पत्नीहरू आनन्दित हुन सक्छन्।—एफिसी ५:२८, २९.
येलेनाले बाइबल अध्ययन गर्न थाल्दा आफ्नो पतिबाट कठोर व्यवहार भोगिरहेकी थिइन् र यो कुरा कसैलाई थाह थिएन। उनको पति हिंस्रक वातावरणमा हुर्किएका रहेछन्, जहाँ आफूले विवाह गर्न चाहेको स्त्रीलाई अपहरण गर्नु र शारीरिक दुर्व्यवहार गर्नु सामान्य कुरा थियो। येलेना भन्छिन्: “बाइबलबाट सिकेको कुराले मलाई बल दियो। मलाई असाध्यै माया गर्ने, मेरो कदर र वास्ता गर्ने कोही हुनुहुँदो रहेछ भनेर बुझेँ। मेरो पतिले बाइबल अध्ययन गर्नुभयो भने मप्रति उहाँको दृष्टिकोण परिवर्तन हुनेछ भनेर पनि बुझेँ।” येलेनाको पति बाइबल अध्ययन गर्न राजी हुँदा र पछि बप्तिस्मा गरेर यहोवाको साक्षी बन्दा उनको सपना साकार भयो। येलेना भन्छिन्: “आत्मसंयम देखाउने सन्दर्भमा उहाँ राम्रो उदाहरण बन्नुभयो। हामीले एकअर्कालाई खुला मनले क्षमा दिन सिक्यौँ। बाइबलका सिद्धान्तहरूले गर्दा आफ्नो वैवाहिक जीवनमा मेरो महत्त्वपूर्ण स्थान छ भनेर बुझेँ र सुरक्षित महसुस गर्न सकेँ।”—कलस्सी ३:१३, १८, १९.
अरू थुप्रै स्त्रीले पनि येलेनाले जस्तै अनुभव गरेका छन्। लाखौँ ख्रिष्टियन स्त्री खुसी छन् किनभने तिनीहरू र तिनीहरूका पतिहरू दुवै वैवाहिक जीवनमा बाइबलका सिद्धान्तहरू लागू गर्ने प्रयास गर्छन्। तिनीहरू सङ्गी ख्रिष्टियनहरूसित सरसङ्गत गर्दा आदर, सान्त्वना र स्वतन्त्रता पाएको महसुस गर्छन्।—युहन्ना १३:३४, ३५.
ख्रिष्टियन पुरुष र स्त्री दुवैले आफू पापी र त्रुटिपूर्ण भएकोले “व्यर्थताको अधीनमा” परेको परमेश्वरको सृष्टिको भाग हौँ भनेर बुझेका छन्। तर मायालु परमेश्वर र बुबा यहोवाको नजिक भएर तिनीहरूले “भ्रष्टताको दासत्वबाट स्वतन्त्र” हुने र “परमेश्वरको सन्तानको रूपमा गौरवशाली स्वतन्त्रता पाउने” आशा पाएका छन्। परमेश्वरको अधीनमा रहने पुरुष र स्त्री दुवैको लागि कस्तो अद्भुत आशा!—रोमी ८:२०, २१.