प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 ४/१ p. ६
  • मोशा—प्रेमको उदाहरण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मोशा—प्रेमको उदाहरण
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको मार्ग सिक्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • मोशाको विश्‍वास अनुकरण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • बलिरहेको झाडी
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मोशा—विश्‍वासको उदाहरण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 ४/१ p. ६

मोशा—प्रेमको उदाहरण

प्रेम के हो?

प्रेम भनेको अरूप्रति गहिरो स्नेह देखाउनु हो। मायालु व्यक्‍तिले आफ्नो बोली र व्यवहारबाट आफूले माया गरेका मानिसहरूप्रति कस्तो महसुस गर्छन्‌ भनेर देखाउँछन्‌। तिनी जस्तोसुकै त्याग गर्न समेत तयार हुन्छन्‌।

मोशाले कसरी प्रेम देखाए?

मोशाले परमेश्‍वरप्रति प्रेम देखाए। कसरी? पहिलो यूहन्‍ना ५:३ को विवरण सम्झनुहोस्‌: “परमेश्‍वरका आज्ञाहरू पालन गर्नु नै उहाँलाई प्रेम गर्नु हो।” मोशाले यो सिद्धान्त जीवनभर लागू गरे। यहोवाले अह्राउनुभएको जस्तोसुकै काम मोशाले पूरा गरे। तिनले शक्‍तिशाली राजा फिरऊनसामु खडा हुने जस्तो साहसपूर्ण कामदेखि लिएर लाल समुद्रमा लौरो तेर्साउने जस्तो साधारण देखिने कामसम्म गरे। परमेश्‍वरको आज्ञा गाह्रो होस्‌ या सजिलो, “मोशाले त्यसैनै गरे।”—प्रस्थान ४०:१६.

मोशाले सङ्‌गी इस्राएलीहरूप्रति प्रेम देखाए। आफ्ना जनहरूलाई डोऱ्‍याउन यहोवाले मोशालाई चलाउनुभएको हो भनेर इस्राएलीहरूले बुझेका थिए। त्यसैले तिनीहरू मोशासामु थुप्रै समस्या लिएर आउँथे। हामी यस्तो लेखिएको पाउँछौं: “मानिसहरू चाहिं बिहानदेखि बेलुकीसम्म मोशाका वरिपरि आए।” (प्रस्थान १८:१३-१६) इस्राएलीहरूले दिनभरि एकपछि अर्को समस्या सुनाउँदा मोशा कत्ति थकित भए होलान्‌, कल्पना गर्नुहोस्‌ त! तर आफूले माया गरेका मानिसहरूलाई मदत गर्न मोशा खुसी थिए।

तिनीहरूको कुरा सुन्‍ने मात्र नभई आफूले माया गरेका मानिसहरूका लागि मोशाले प्रार्थना गरे। आफ्नो विरोध गर्नेहरूका लागि पनि तिनले प्रार्थना गरे। उदाहरणको लागि, मोशाकी दिदी मरियमले तिनीविरुद्ध गनगन गर्दा यहोवाले मरियमलाई कुष्ठरोगले प्रहार गर्नुभयो। मरियमले सजाय पाएकोमा खुसी हुनुको सट्टा मोशाले उनको लागि तुरुन्तै यसो भन्दै प्रार्थना गरे: “हे परमेश्‍वर, म आग्रहपूर्वक बिन्ती गर्दछु, त्यसलाई निको पारिदिनुहोस्‌।” (गन्ती १२:१३) मोशाले निःस्वार्थ भएर प्रार्थना गर्नुको कारण प्रेम थियो।

हामी के सिक्न सक्छौं?

यहोवाप्रति गहिरो प्रेम खेती गरेर हामी मोशाको अनुकरण गर्न सक्छौं। त्यस्तो प्रेमले “मनैदेखि” उहाँको आज्ञा पालन गर्न उत्प्रेरित गर्छ। (रोमी ६:१७) मनैदेखि यहोवाप्रति आज्ञाकारी हुँदा हामी उहाँको हृदयलाई आनन्दित तुल्याइरहेका हुन्छौं। (हितोपदेश २७:११) हामी आफै पनि लाभ उठाउँछौं। निष्कपट प्रेमले परमेश्‍वरको सेवा गर्दा आनन्दित भई सही काम गर्नेछौं।—भजन १००:२.

मोशाको अनुकरण गर्ने अर्को तरिका, आत्मत्यागी प्रेम खेती गरेर हो। साथीभाइ वा परिवारका सदस्यले आफ्नो समस्याबारे सुनाउँदा प्रेमको कारण हामी यी कुराहरू गर्न उत्प्रेरित हुनेछौं: (१) मनैदेखि उनीहरूको कुरामा ध्यान दिनेछौं; (२) उनीहरूलाई समानुभूति देखाउनेछौं वा उनीहरूको अवस्था बुझ्ने प्रयास गर्नेछौं; (३) उनीहरूको ख्याल गर्छौं भनेर देखाउनेछौं।

मोशाले जस्तै आफूले माया गर्ने मानिसहरूका लागि हामी प्रार्थना गर्न सक्छौं। उनीहरूले समस्याबारे बताउँदा तर आफूले भने केही मदत गर्न नसक्दा हामी कहिलेकाहीं निराश हुन्छौं। सायद यसरी दुखेसो पोख्छौं होला: “खै के गर्ने, तपाईंको लागि प्रार्थनाबाहेक म अरू के नै गर्न सक्छु र!” तर नबिर्सनुहोस्‌, “परमेश्‍वरको स्तरबमोजिम असल काम गर्ने मानिसको उत्कट बिन्तीले ठूलो काम गर्न सक्छ।” (याकूब ५:१६) कुनै व्यक्‍तिको निम्ति यहोवालाई प्रार्थना गर्दा उहाँ तिनको लागि केही गरिदिन उत्प्रेरित हुनुहुनेछ। तर हामीले प्रार्थना नगरेको भए सायद यहोवाले केही गर्नुहुन्थेन कि! त्यसैले आफूले प्रेम गरेका मानिसहरूका लागि प्रार्थना गरिदिनु जस्तो उत्तम कुरा अरू केही हुँदैन।a

मोशाबाट धेरै कुरा सिक्न सक्छौं भनेर के तपाईं सहमत हुनुहुन्‍न र? आम मानिस भएर पनि तिनले विश्‍वास, नम्रता र प्रेमको उत्कृष्ट उदाहरण बसाले। हामीले मोशाको उदाहरण अनुकरण गर्न जति धेरै प्रयास गर्छौं, आफूलाई र अरूलाई त्यति नै फाइदा पुऱ्‍याइरहेका हुनेछौं।—रोमी १५:४. (w13-E 02/01)

a परमेश्‍वरले हाम्रो प्रार्थना सुनेको चाहन्छौं भने उहाँको इच्छाअनुसार गर्ने अथक प्रयास गर्नुपर्छ। थप जानकारीको लागि, यहोवाको साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय १७ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने