प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 १०/१५ pp. २१-२५
  • लेवीहरूको प्रार्थनाबाट सिक्न सकिने पाठ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • लेवीहरूको प्रार्थनाबाट सिक्न सकिने पाठ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • एउटा विशेष महिना
  • पाप स्वीकार्ने दिन
  • परमेश्‍वरको महिमित नामको प्रशंसा
  • यहोवाले आफ्ना सेवकहरूका लागि गर्नुभएका अद्‌भुत कामहरू
  • अनुशासनको खाँचो
  • यहोवा मेरो अंश हुनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • यरूशलेम, नाउँअनुसारकै शहर
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 १०/१५ pp. २१-२५

लेवीहरूको प्रार्थनाबाट सिक्न सकिने पाठ

“तपाईंको महिमित नाउँ धन्यको . . . होस्‌।” —नहे. ९:५, NRV.

के तपाईं जवाफ दिन सक्नुहुन्छ?

  • लेवीहरूले इस्राएलीहरूलाई एकसाथ भेला गर्दा ती इस्राएलीहरूले कस्तो राम्रो काम गरे?

  • यहोवा भन्‍ने महान्‌ नाम धारण गर्न आफू योग्य भएको कुरा उहाँले कसरी प्रमाणित गर्नुभयो?

  • लेवीहरूको प्रार्थनाबाट हामी के सिक्न सक्छौं?

१. यहोवाका सेवकहरूको कुन जमघटबारे हामी सिक्नेछौं? हामीले कस्ता प्रश्‍नहरूबारे विचार गर्नुपर्छ?

“उभिएर परमप्रभु तिम्रा परमेश्‍वर, जो अनन्तदेखि अनन्तसम्म हुनुहुन्छ, उहाँको प्रशंसा गर।” यी जोडदार शब्दहरूमार्फत लेवीहरूले यहोवाका सेवकहरूलाई एकसाथ भेला भएर प्रार्थना गर्न आग्रह गरे। बाइबलमा उल्लिखित लामो प्रार्थनामध्ये यो पनि एउटा हो। (नहे. ९:४, ५, NRV) घटना ईसापूर्व ४५५ को हो। यहूदीहरूको सातौं महिना तिस्रीको (सेप्टेम्बर/अक्टोबर) २४ औं दिन यहोवाका सेवकहरू यरूशलेममा भेला भएका थिए। त्यस जमघटबारे अझ धेरै कुरा सिक्दै जाँदा आफैलाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: ‘यो समारोह सफल बनाउन लेवीहरूले नियमित रूपमा के गरे? लेवीहरूको प्रार्थनाबाट म के सिक्न सक्छु?’ आउनुहोस्‌, यो विशेष दिन सुरु हुनुअघि भएका केही घटनाबारे बुझौं।—भज. १४१:२.

एउटा विशेष महिना

२. इस्राएलीहरूले हाम्रो लागि कस्तो उदाहरण बसाले?

२ त्यो जमघटभन्दा एक महिनाअघि यहूदीहरूले यरूशलेमको पर्खाल पुनर्निर्माण गरेर सिध्याएका थिए। (नहे. ६:१५) त्यो काम सिध्याउन तिनीहरूलाई ५२ दिन मात्र लागेको थियो। त्यसपछि तिस्री महिनाको पहिलो दिन तिनीहरू एज्रा र अन्य लेवीले परमेश्‍वरको व्यवस्था पढेको र व्याख्या गरेको सुन्‍न चोकमा एकसाथ भेला भए। “सुनेका कुरा बुझ्न सक्ने सबै” जना “बिहानदेखि मध्य दिनसम्म” परिवारसहित भेला भए र ध्यान दिएर सुने। आज सुविधासम्पन्‍न राज्यभवनमा उपस्थित हुनेहरूका लागि कत्ति राम्रो पाठ! सभामा ध्यान दिनुको साटो हामी मन अन्तै डुलाउँछौं कि? त्यसोभए इस्राएलीहरूले बसालेको उदाहरण सम्झनुहोस्‌। तिनीहरूले ध्यान दिएर सुने, सुनेका कुराहरू मनमा गुने अनि परमेश्‍वरको व्यवस्था पालन नगरेको महसुस गरेर रुनसमेत थाले।—नहे. ८:१-९.

३. इस्राएलीहरूले कुन आज्ञा पालन गरे?

३ तर त्यो पाप स्वीकार्ने दिन नभई चाडको दिन थियो। त्यसकारण मानिसहरू आनन्दित भएको यहोवा चाहनुहुन्थ्यो। (गन्ती २९:१) त्यसैले नहेम्याहले तिनीहरूलाई यसो भने: “अब तिमीहरू जाऊ। स्वादिष्ट भोजन खाऊ र मीठो दाखमद्य पिएर ताजा होऊ। आफ्नो निम्ति जुटाउन नसक्नेहरूलाई पनि भाग पठाइदेऊ। किनभने आजको दिन हाम्रा परमप्रभुको निम्ति पवित्र छ। उदास नहोऊ, किनभने परमप्रभुको आनन्दनै तिमीहरूको बल हो।” मानिसहरूले आज्ञा पालन गरे र त्यो दिन “धूमधामसित उत्सव” मनाए।—नहे. ८:१०-१२.

४. इस्राएलको घरानाका मुख्य-मुख्य मानिसहरूले के गरे? झुप्रोबासको चाडको प्रत्येक दिन लेवीहरूले के गरे?

४ अर्को दिन घराना-घरानाका मुख्य-मुख्य मानिसहरू परमेश्‍वरका सबै आज्ञा पालन गरिरहेका छौं कि छैनौं भनेर पक्का गर्न एकसाथ भेला भए। व्यवस्था अध्ययन गर्दा तिस्री १५ देखि २२ सम्म झुप्रोबासको चाड मनाउनुपर्ने रहेछ भनेर तिनीहरूले थाह पाए। त्यसपछि तिनीहरूले तुरुन्तै चाडको तयारी सुरु गरे। त्यो चाड यहोशूको समयपछिको सबैभन्दा सफल चाड भयो र मानिसहरूमा “ठूलो रमाहट भयो।” चाडको प्रत्येक दिन लेवीहरूले उपस्थित सबैलाई परमेश्‍वरको व्यवस्था पढेर सुनाए।—नहे. ८:१३-१८.

पाप स्वीकार्ने दिन

५. लेवीहरूले प्रार्थना गर्न सुरु गर्नुअघि परमेश्‍वरका सेवकहरूले के गरे?

५ चाड सिद्धिएको दुई दिनपछि अर्थात्‌ तिस्री २४ पाप स्वीकार्ने उपयुक्‍त दिन थियो। त्यो खाने र रमाहट गर्ने दिन थिएन। बरु परमेश्‍वरको आज्ञा पालन नगरेकोमा इस्राएलीहरूले दुःख माने र भाङरा लगाए। साथै तिनीहरू उपवास पनि बसे। फेरि पनि लेवीहरूले मानिसहरूलाई बिहान तीन घण्टाजति परमेश्‍वरको व्यवस्थाको पुस्तक पढेर सुनाए। दिउँसोपख मानिसहरूले “आफ्नो-आफ्नो पापको स्वीकार गर्दै परमप्रभु आफ्ना परमेश्‍वरलाई दण्डवत्‌ गर्दैरहे।” त्यसपछि लेवीहरूले सम्पूर्ण मानिसहरूका लागि प्रार्थना गर्न सुरु गरे। —नहे. ९:१-४.

६. अर्थपूर्ण प्रार्थना गर्न लेवीहरूलाई केले मदत गऱ्‍यो? लेवीहरूबाट हामी के सिक्न सक्छौं?

६ लेवीहरू नियमित रूपमा परमेश्‍वरको व्यवस्था पढ्‌थे। यसले तिनीहरूलाई अर्थपूर्ण प्रार्थना गर्न मदत गऱ्‍यो। प्रार्थनाको पहिलो भागले यहोवाका कामहरू तथा उहाँका गुणहरूलाई जोड दिन्छ। प्रार्थनाको बाँकी भागमा चाहिं लेवीहरूले मानिसहरूका पापहरूबारे अनि इस्राएलीहरू परमेश्‍वरको “ठूलो करुणा” पाउन किन योग्य थिएनन्‌, त्यसबारे बताएका छन्‌। (नहे. ९:१९, २७, २८, ३१) लेवीहरूबाट हामी के सिक्न सक्छौं? परमेश्‍वरको वचन हरेक दिन पढ्‌नुपर्छ र मनन गर्नुपर्छ। यसो गर्नु हामीसित कुरा गर्न यहोवालाई निम्तो दिएसरह हो। अनि प्रार्थना गर्दा हामीसित यहोवालाई भन्‍नुपर्ने कुरा धेरै हुनेछ र हाम्रो प्रार्थना अझ अर्थपूर्ण हुनेछ।—भज. १:१, २.

७. लेवीहरूले परमेश्‍वरसित के मागे? तिनीहरूको उदाहरणबाट हामी के सिक्न सक्छौं?

७ प्रार्थनामा लेवीहरूले एउटा मात्र बिन्ती चढाए। प्रार्थनाको अन्ततिर तिनीहरूले यसो भने: “हे हाम्रा परमेश्‍वर, तपाईं महान्‌, पराक्रमी र भययोग्य परमेश्‍वर हुनुहुन्छ। तपाईं आफ्नो करार विश्‍वाससित पूरा गर्नुहुन्छ। हाम्रा राजा, राजकुमार, पूजाहारी, अगमवक्‍ता, पुर्खाहरू र तपाईंका सबै प्रजामाथि परिआएका कष्ट—अश्‍शूरका राजाहरूका समयदेखि आजको दिनसम्म पाएका कष्टलाई हलुका नसम्झनुहोस्‌।” (नहे. ९:३२) लेवीहरूले आज हाम्रो लागि राम्रो उदाहरण बसालेका छन्‌। प्रार्थना गर्दा, कुनै कुरा माग्नुअघि उहाँको प्रशंसा गर्नुपर्छ र उहाँलाई धन्यवाद दिनुपर्छ।

परमेश्‍वरको महिमित नामको प्रशंसा

८, ९. (क) लेवीहरूले नम्र हुँदै कसरी आफ्नो प्रार्थना सुरु गरे? (ख) लेवीहरूले प्रार्थनामा स्वर्गका कुन दुईवटा सृष्टिबारे उल्लेख गरे?

८ लेवीहरू नम्र थिए। प्रार्थना गर्नुअघि तिनीहरूले निकै सोचविचार गरेको भए तापनि यहोवा जुन हदसम्म प्रशंसा पाउन योग्य हुनुहुन्छ, त्यो शब्दमा व्यक्‍त गर्न सकिंदैन जस्तो तिनीहरूलाई लाग्यो। त्यसैले तिनीहरूले नम्र हुँदै सम्पूर्ण इस्राएलीहरूका खातिर यसो भन्दै प्रार्थना गर्न थाले: “तपाईंको महिमित नाउँ धन्यको र सारा धन्य र प्रशंसामा सर्वोच्च होस्‌।”—नहे. ९:५, NRV.

९ प्रार्थनामा तिनीहरूले यसो पनि भने: “तपाईं मात्र परमप्रभु हुनुहुन्छ। तपाईंले नै स्वर्ग, सर्वोच्च स्वर्ग, त्यसका सबै तारामण्डल, पृथ्वी र त्यसमा भएका सबै थोक, समुद्र र तिनमा भएका सबै थोकहरू बनाउनुभयो। तपाईंले नै तिनीहरू सबैको रक्षा गर्नुहुन्छ। औ स्वर्गदूतहरूले तपाईंको सेवा गर्दछन्‌।” (नहे. ९:६) यस पदमा लेवीहरूले यहोवाले सृष्टि गर्नुभएका केही अद्‌भुत कुराहरू उल्लेख गरे। उहाँले स्वर्ग र “त्यसका सबै तारामण्डल” बनाउनुभयो। साथै उहाँले यस सुन्दर पृथ्वीमा सबै कुरा बनाउनुभयो र प्रत्येक जीवित प्राणीलाई प्रजनन क्षमता दिनुभयो। यस प्रार्थनामा लेवीहरूले स्वर्गदूतहरूबारे पनि उल्लेख गरे। यी स्वर्गदूतहरूले नम्र हुँदै तुच्छ मानिसजातिको सेवा गरेर परमेश्‍वरको इच्छा पूरा गर्छन्‌। (हिब्रू १:१४) आज हामी पनि एकताबद्ध भई यहोवाको सेवा गर्छौं। नम्र हुँदै यहोवाको सेवा गरेर हामीले पनि स्वर्गदूतहरूको अनुकरण गर्नुपर्छ।—१ कोरि. १४:३३, ४०.

१०. यहोवाले अब्राहामको लागि जे गर्नुभयो, त्यसबाट हामी के सिक्छौं?

१० त्यसपछि, लेवीहरूले प्रार्थनामा परमेश्‍वरले अब्रामको लागि गर्नुभएका कुराहरू उल्लेख गर। तिनी ९९ वर्षका भइसकेका थिए र तिनको कुनै सन्तान थिएन। तैपनि यहोवाले तिनको नाम परिवर्तन गरेर अब्राहाम राख्नुभयो जसको अर्थ “असंख्य जाति-समूहका पिता” हो। (उत्प. १७:१-६, १५, १६) तिनका सन्तानलाई कनान देश दिने कुरा पनि यहोवाले अब्राहामलाई बताउनुभयो। यहोवाले आफ्नो प्रतिज्ञा कसरी पूरा गर्नुभयो, त्यसबारे लेवीहरूले यसो भने: ‘तपाईं तिनै परमप्रभु हुनुहुन्छ, ती परमेश्‍वर जसले अब्रामलाई कल्दीहरूको ऊरबाट चुनेर निकालिल्याउनुभयो, र तिनलाई अब्राहाम नाउँ राख्नुभयो। तिनी तपाईंप्रति विश्‍वासी भएकोले तिनलाई र तिनका सन्तानलाई कनानीहरूको देश दिनुभयो। तपाईंले आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो, किनभने तपाईं धर्मी हुनुहुन्छ।’ (नहे. ९:७, ८) मानिसहरू आफूले गरेको प्रतिज्ञा अक्सर बिर्सन्छन्‌। तर सधैं आफ्नो प्रतिज्ञा पूरा गर्ने कोसिस गरेर हामी यहोवाको अनुकरण गर्न सक्छौं।—मत्ती ५:३७.

यहोवाले आफ्ना सेवकहरूका लागि गर्नुभएका अद्‌भुत कामहरू

११, १२. यहोवा नामको अर्थ के हो? यो नाम धारण गर्न आफू योग्य भएको कुरा उहाँले कसरी प्रमाणित गर्नुभयो?

११ यहोवा नामको अर्थ हो, “उहाँले गराउनुहुन्छ।” यसको मतलब आफ्ना प्रतिज्ञाहरू पूरा गर्न उहाँ निरन्तर कदम चाल्नुहुन्छ। अब्राहामको सन्तान अर्थात्‌ इस्राएल राष्ट्रसित गरेको प्रतिज्ञा पूरा गरेर उहाँले यससम्बन्धमा राम्रो उदाहरण बसाल्नुभयो। तिनीहरू मिश्रमा दास छँदा परमेश्‍वरले तिनीहरू मुक्‍त हुनेछन्‌ र प्रतिज्ञा गरिएको देशमा जानेछन्‌ भनेर प्रतिज्ञा गर्नुभयो। त्यतिबेला यो असम्भवजस्तो देखिन्थ्यो। तर आफ्नो प्रतिज्ञा पूरा नहोउन्जेल यहोवाले एकपछि अर्को कदम चालिरहनुभयो। यसप्रकार यहोवा भन्‍ने महान्‌ नाम धारण गर्न आफू योग्य भएको कुरा उहाँले प्रमाणित गर्नुभयो।

१२ यहोवाले आफ्ना सेवकहरूका लागि गर्नुभएको केही कामबारे पनि लेवीहरूले आफ्नो प्रार्थनामा वर्णन गरे। तिनीहरूले यसो भने: “तपाईंले मिश्र देशमा हाम्रा पुर्खाहरूले पाएको दुःख देख्नुभयो, औ लाल-समुद्रमा सहायताको निम्ति कराएको तिनीहरूको पुकारा तपाईंले सुन्‍नुभयो। औ अभिमानी भएर तिनीहरूले हाम्रा पुर्खाहरूसित व्यवहार गरेको हुनाले तपाईंले फिरऊन, तिनका भारदार र तिनको देशका सबै मानिसहरूको विरुद्धमा चिह्न र आश्‍चर्य कामहरू गरेर आफ्नो निम्ति एउटा नाउँ राख्नुभयो, जो आजको दिनसम्म छँदैछ। औ तिनीहरू बीचबाट सुखा जमिनमा हिंडिजान तिनीहरूको सामने समुद्रलाई दुई भाग पारिदिनुभयो। तर उर्लंदो पानीमा ढुङ्‌गा फालेझैं ती खेद्‌नेहरूलाई तपाईंले फालिदिनुभयो।” यहोवाले आफ्ना सेवकहरूका लागि गर्नुभएको कामबारे लेवीहरूले यसो पनि भने: “त्यहाँका बासिन्दा कनानीहरूलाई तपाईंले तिनीहरूकै अधीन तुल्याइदिनुभयो . . . पर्खाल लाएका शहरहरू र मलिलो देश तिनीहरूले लिए। असल-असल थोकहरू भएका घरहरू कब्जा गरे। ढुङ्‌गामा खनेका कूवा, दाखबारी, भद्राक्षका रूख र अरू फलका रूखहरू प्रशस्त मात्रामा तिनीहरूले पाए। यसरी खाएर तिनीहरू तृप्त भए। औ पुष्टाएर तपाईंको महान्‌ काममा तिनीहरू आनन्दित भए।”—नहे. ९:९-११, २४, २५.

१३. इस्राएलीहरूले मिश्र छोडेको केही समयपछि नै उहाँले तिनीहरूका लागि के गर्नुभयो? तर पछि तिनीहरूले के गरे?

१३ आफ्नो प्रतिज्ञा पूरा गर्न यहोवाले अरू पनि थुप्रै कुरा गर्नुभयो। उदाहरणको लागि, इस्राएलीहरूले मिश्र छोडेको केही समयपछि नै उहाँले तिनीहरूलाई व्यवस्था दिनुभयो र उपासना गर्ने तरिका सिकाउनुभयो। लेवीहरूले आफ्नो प्रार्थनामा यसो भने: “तपाईं सीनै पर्वतमाथि ओर्लनुभयो, र स्वर्गबाट तिनीहरूसँग बात गर्नुभयो, औ तिनीहरूलाई उचित न्याय-वचन, साँचो व्यवस्था, धर्म-विधिहरू र आज्ञाहरू दिनुभयो। ती असल थिए।” (नहे. ९:१३) यहोवाले इस्राएलीहरूलाई आफ्ना सेवकहरूको रूपमा रोज्नुभएको थियो र तिनीहरूलाई प्रतिज्ञा गरिएको देश दिन लाग्नुभएको थियो। त्यसैले उहाँले तिनीहरूलाई उहाँको पवित्र नाम धारण गर्न सुहाउने व्यक्‍ति हुन सिकाउनुभयो। तर तिनीहरूले यहोवाको आज्ञा उल्लङ्‌घन गरे।—नहेम्याह ९:१६-१८ पढ्‌नुहोस्‌।

अनुशासनको खाँचो

१४, १५. (क) यहोवाले इस्राएलीहरूलाई कसरी करुणा देखाउनुभयो? (ख) यहोवाले इस्राएलीहरूसित गर्नुभएको व्यवहारबाट के सिक्छौं?

१४ सीनै पर्वतमा यहोवाप्रति आज्ञाकारी हुने प्रतिज्ञा गरेको केही समय नबित्दै इस्राएलीहरूले दुईवटा गलत काम गरे। त्यसबारे लेवीहरूले आफ्नो प्रार्थनामा उल्लेख गरे। ती इस्राएलीहरूले चालेको गलत कदमले गर्दा तिनीहरू उजाडस्थानमा मृत्युदण्ड पाउन योग्यका थिए। तर यहोवाले तिनीहरूलाई करुणा देखाउनुभयो र तिनीहरूको आवश्‍यकता पूरा गरिरहनुभयो। आफ्नो प्रार्थनामा लेवीहरूले यसरी यहोवाको प्रशंसा गरे: “चालीस वर्षसम्म तपाईंले उजाडस्थानमा तिनीहरूलाई पाल्नुभयो, औ तिनीहरूका खुट्टा पनि सुन्‍निएन।” (नहे. ९:१९, २१) हामीले वफादार भई यहोवाको सेवा गर्न सकोस्‌ भनेर यहोवा हाम्रो आवश्‍यकता पनि पूरा गर्नुहुन्छ। यहोवाप्रति अनाज्ञाकारी भएकोले र विश्‍वासको कमी भएकोले उजाडस्थानमा मर्नुपरेका हजारौं इस्राएलीहरूजस्तो हामी कहिल्यै हुन चाहँदैनौं। तिनीहरूको खराब उदाहरण हाम्रो लागि चेतावनी हो।—१ कोरि. १०:१-११.

१५ दुःखको कुरा, प्रतिज्ञा गरेको देशमा प्रवेश गरेका इस्राएलीहरू यहोवाप्रति वफादार भइरहेनन्‌। तिनीहरूले कनानी देवीदेवताको उपासना गर्न थाले। अनैतिक काम गर्नु र आफ्ना छोराछोरीलाई बलि चढाउनुजस्ता कुराहरू त्यस उपासनामा समावेश थियो। त्यसैले यहोवाले इस्राएल राष्ट्रलाई शत्रु राष्ट्रहरूको हातमा सुम्पनुभयो। तर इस्राएलीहरूले पश्‍चात्ताप गर्दा यहोवाले तिनीहरूलाई क्षमा दिनुभयो र शत्रुहरूमाथि विजयी हुन मदत गर्नुभयो। यस्तो कुरा “धेरैपल्ट” भयो। (नहेम्याह ९:२६-२८, ३१ पढ्‌नुहोस्‌) लेवीहरूले यसरी स्वीकारे: “धेरै वर्षसम्म तपाईंले तिनीहरूसित धीरज धर्नुभयो। आफ्ना अगमवक्‍ताहरूद्वारा तपाईंको आत्माले तिनीहरूलाई चेतावनी दिनुभयो। तर तिनीहरूले सुनेनन्‌। यसैकारण तपाईंले तिनीहरूलाई विदेशी मानिसहरूको हातमा सुम्पिदिनुभयो।”—नहे. ९:३०.

१६, १७. (क) इस्राएलीहरू फेरि अनाज्ञाकारी हुँदा नतिजा कस्तो भयो? (ख) इस्राएलीहरूले के स्वीकारे? तिनीहरूले के गर्ने प्रतिज्ञा गरे?

१६ बेबिलोनबाट फर्केपछि ती इस्राएलीहरू फेरि अनाज्ञाकारी भए। नतिजा कस्तो भयो? लेवीहरूले प्रार्थनामा यसो भने: “आज हामी दास भएका छौं। तपाईंले हाम्रा पुर्खाहरूलाई त्यसका फलहरू खान र त्यसका असल कुराहरू उपभोग गर्नलाई दिनुभएको यही देशमा हामी दास भएका छौं। तपाईंले हाम्रा पापहरूले गर्दा हामीमाथि प्रभुत्व गर्न खटाउनुभएका राजाहरूकहाँ त्यसका सबै उब्जनीहरू जान्छन्‌। . . . हामीचाहिं यति दुःखमा परेका छौं।”—नहे. ९:३६, ३७.

१७ के लेवीहरूले परमेश्‍वर आफ्ना सेवकहरूप्रति अन्यायी भइरहनुभएको छ भन्‍न खोजेका थिए? त्यसो त पक्कै होइन! तिनीहरूले यसरी स्वीकारे: “हामीमाथि सबै जेजति बितेका छन्‌ तिनमा तपाईंले न्यायसित काम गर्नुभयो। तपाईंले विश्‍वाससित काम गर्नुभयो, तर हामीले चाहिं दोष गऱ्‍यौं।” (नहे. ९:३३) इस्राएल राष्ट्रले परमेश्‍वरको व्यवस्था पालन गर्ने गम्भीर प्रतिज्ञा गरेर त्यस प्रार्थनाको समापन गरियो। (नहेम्याह ९:३८ पढ्‌नुहोस्‌; १०:२९) तिनीहरूले लिखित रूपमा वाचा बाँधे र ८४ जना यहूदी नेताले त्यसमा सही-छाप लगाए।—नहे. १०:१-२७.

१८, १९. (क) नयाँ संसारमा हुन चाहन्छौं भने हामीले के गर्नुपर्छ? (ख) हामीले केको लागि प्रार्थना गरिरहनुपर्छ र किन?

१८ नयाँ संसारमा यहोवाले चाहनुहुने खालको मानिस हुन हामीलाई उहाँको अनुशासन चाहिन्छ। प्रेषित पावलले यसरी सोधे: “कुनचाहिं छोरालाई बुबाले अनुशासन दिएको हुँदैन र?” (हिब्रू १२:७) यहोवाको अनुशासन स्वीकाऱ्‍यौं र वफादार भई उहाँको सेवा गरिरह्‍यौं भने उहाँको डोऱ्‍याइ स्वीकारेको कुरा देखाइरहेका हुन्छौं। अनि गम्भीर गल्ती गऱ्‍यौं भने पनि साँचो पश्‍चात्ताप गर्दै नम्र भई अनुशासन स्वीकारेको खण्डमा यहोवाले क्षमा दिनुहुनेछ भन्‍ने कुरामा ढुक्क हुन सक्छौं।

१९ इस्राएलीहरूलाई मिश्रबाट छुटाउँदा यहोवाले जुन अद्‌भुत काम गर्नुभयो, त्योभन्दा ठूलठूला काम उहाँले चाँडै गर्नुहुनेछ। त्यसपछि सबैले यहोवा कत्ति महान्‌ परमेश्‍वर हुनुहुन्छ भनी थाह पाउनेछन्‌। (इज. ३८:२३) इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गरेझैं यहोवाप्रति वफादार रहने सबै जना नयाँ संसारमा प्रवेश गर्नेछन्‌। (२ पत्रु. ३:१३) त्यसैले परमेश्‍वरको महिमित नाम पवित्र पारियोस्‌ भनेर प्रार्थना गरिरहौं। यसपछिको लेखमा हामी अर्को प्रार्थनाबारे छलफल गर्नेछौं। यस प्रार्थनाले हामीलाई अहिले र सदाको लागि यहोवाको आशिष्‌ पाउन के गर्नुपर्छ, बुझ्न मदत गर्नेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने