आवरण लेख | परमेश्वरलाई प्रेम गर्न असम्भव छ भन्ने झूट
परमेश्वर रहस्यमय हुनुहुन्छ भन्ने झूट
धेरैले के विश्वास गर्छन्?
ख्रिष्टियन धर्मका “तीन वटा मुख्य हाँगा मानिने रोमन क्याथोलिक धर्म, इस्टर्न अर्थोडक्स धर्म र प्रोटेस्टेन्ट धर्मले तीन जना परमेश्वर मिलेर बनेको एउटा परमेश्वरबारे सिकाउँछन्। ती हुन्: पिता परमेश्वर, पुत्र परमेश्वर र पवित्र शक्ति परमेश्वर। ख्रिष्टियन धर्मको शिक्षाअनुसार यी तीन जना फरक-फरक परमेश्वर होइनन्। बरु एउटै परमेश्वर हुन्।”—द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका।
बाइबलले सिकाउने सत्य के हो?
परमेश्वरका छोरा येसुले बुबा र आफू बराबर हौँ वा एउटै हौँ भनेर कहिल्यै दाबी गर्नुभएन। बरु उहाँले भन्नुभयो: “म बुबाकहाँ जाँदै छु . . . किनकि बुबा मभन्दा महान् हुनुहुन्छ।” (युहन्ना १४:२८) साथै उहाँले एक जना चेलालाई यसो भन्नुभयो: “मेरा बुबा र तिमीहरूका बुबा अनि मेरा परमेश्वर र तिमीहरूका परमेश्वरकहाँ म जाँदै छु।”—युहन्ना २०:१७.
पवित्र शक्ति परमेश्वर होइन। उदाहरणको लागि, सुरु-सुरुका ख्रिष्टियनहरू “पवित्र शक्तिले भरिपूर्ण भए।” साथै यहोवाले भन्नुभयो: “म सबै मानिसमाथि आफ्नो पवित्र शक्ति खन्याउनेछु।” (प्रेषित २:१-४, १७) पवित्र शक्ति त्रिएकको भाग होइन। बरु यो त परमेश्वरको सक्रिय शक्ति हो।
यस विषयमा किन चासो राख्नुपर्छ?
क्याथोलिक धर्मविद् कार्ल रनर र हर्बर्ट भोरग्रिम्लरले बताएअनुसार त्रिएकको शिक्षा “परमेश्वरले प्रकट नगर्नुभएसम्म बुझ्न सकिँदैन अनि प्रकट गरिहाल्नुभयो भने पनि पूरै बुझ्न सकिँदैन।” तपाईँ कसैलाई राम्ररी चिन्न सक्नुहुन्न भने तिनलाई प्रेम गर्न सक्नुहुन्छ र? त्रिएकको शिक्षामा विश्वास गर्दा हामी परमेश्वरलाई चिन्न र प्रेम गर्न सक्दैनौँ।
अघिल्लो लेखमा उल्लेख गरिएका मार्कोले त्रिएकको शिक्षाले गर्दा परमेश्वरलाई चिन्न नसकेको महसुस गरे। तिनी भन्छन्: “मलाई परमेश्वरले आफ्नो परिचय मबाट लुकाउनभएको जस्तो लाग्यो। यसले गर्दा परमेश्वर मबाट झन् टाढा हुनुहुन्छ, रहस्यमय हुनुहुन्छ र उहाँसित नजिक हुनै सक्दिनँ जस्तो लाग्थ्यो।” तर “परमेश्वर गोलमालका परमेश्वर होइन।” (१ कोरिन्थी १४:३३) परमेश्वरले आफूबाट हाम्रो परिचय लुकाउनुभएको छैन। बरु हामीले उहाँलाई चिनेको चाहनुहुन्छ। येसुले भन्नुभयो: “हामी जे जान्दछौँ, त्यसको उपासना गर्छौँ।”—युहन्ना ४:२२.
मार्को भन्छन्: “मैले परमेश्वर त्रिएकको भाग हुनुहुन्न भन्ने कुरा बुझेपछि बल्ल उहाँसित व्यक्तिगत सम्बन्ध गाँस्न सकेँ।” हामीले परमेश्वरलाई कुनै अपरिचित र रहस्यमय व्यक्तिको रूपमा नभई चिन्न सकिने व्यक्तिको रूपमा हेऱ्यौँ भने उहाँलाई प्रेम गर्न सजिलो हुन्छ। बाइबल भन्छ: “जसले प्रेम गर्दैन, उसले परमेश्वरलाई चिनेको हुँदैन किनकि परमेश्वर प्रेम हुनुहुन्छ।”—१ युहन्ना ४:८.