प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 ३/१५ pp. १२-१६
  • यहोवाको सेवा गर्दा आनन्दित भइरहनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको सेवा गर्दा आनन्दित भइरहनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको सेवा गर्दा आनन्दित भइरहन बाइबल प्रयोग गर्नुहोस्‌
  • गरिब विधवा
  • “मेरो प्राण लिनुहोस्‌”
  • “दुःख पाएको मानिसले गरेको प्रार्थना”
  • तिनले परमेश्‍वरबाट सान्त्वना पाए
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • विश्‍वास देखाएकीले सारपतकी विधवाले इनाम पाइन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • तिनले परमेश्‍वरबाट सान्त्वना पाए
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • के तपाईं एलियाजस्तै वफादार हुनुहुनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 ३/१५ pp. १२-१६
एउटी आनन्दित महिला झ्यालबाट बाहिर हेर्दै

यहोवाको सेवा गर्दा आनन्दित भइरहनुहोस्‌

‘कोही धेरै वर्षसम्म बाँच्छ भने ऊ ती सबैमा आनन्दित होस्‌।’—उप. ११:८.

तपाईं कसरी जवाफ दिनुहुन्छ?

  • यहोवाको सेवा गर्दा आनन्दित भइरहन केले गर्दा गाह्रो हुन सक्छ?

  • आनन्दित भइरहन हामी कसरी बाइबल प्रयोग गर्न सक्छौं?

  • गरिब विधवा, एलिया र भजन १०२ का लेखकको उदाहरणले हामीलाई आनन्दित भइरहन कसरी मदत गर्छ?

१. यहोवाले दिनुभएको कस्ता आशिष्‌हरूले हामीलाई आनन्दित बनाउँछ?

यहोवा हामी आनन्दित भएको चाहनुहुन्छ। त्यसैले उहाँले हामीलाई थुप्रै आशिष्‌ दिनुभएको छ। जस्तै, उहाँले हामीलाई जीवन दिनुभएको छ। उहाँले हामीलाई साँचो उपासनातर्फ खिच्नुभएकोले आफ्नो जीवन उहाँको प्रशंसा गर्न चलाउन सक्छौं। (भज. १४४:१५; यूह. ६:४४) यहोवा हामीलाई प्रेम गर्नुहुन्छ। यस कुरामा उहाँ हामीलाई विश्‍वस्त पार्नुहुन्छ। साथै उहाँको सेवा गरिरहन मदत पनि दिनुहुन्छ। (यर्मि. ३१:३; २ कोरि. ४:१६) हामीले प्रशस्त आध्यात्मिक भोजन र मायालु भाइबहिनीहरू पाएका छौं। त्यसकारण हामीले अहिल्यै आध्यात्मिक प्रमोदवनको आनन्द उठाइरहेका छौं। अनि हामीसित भविष्यको अनमोल आशा पनि छ।

२. परमेश्‍वरका केही वफादार सेवकले केसित सङ्‌घर्ष गर्छन्‌?

२ आनन्दित हुने यस्ता कारणहरू हुँदाहुँदै पनि परमेश्‍वरका केही वफादार सेवक नकारात्मक भावनासित सङ्‌घर्ष गर्छन्‌। आफूलाई र आफ्नो सेवालाई यहोवा कुनै मोल गर्नुहुन्‍न जस्तो तिनीहरूलाई लाग्न सक्छ। यस्तो नकारात्मक भावनासित सङ्‌घर्ष गरिरहेका मानिसहरूलाई “धेरै वर्षसम्म” बाँच्ने कुरा सपनाजस्तो लाग्न सक्छ। जीवनमा सधैं अन्धकार छाएको जस्तो लाग्न सक्छ।—उप. ११:८.

३. केको कारण नकारात्मक सोचाइ आउन सक्छ?

३ निराशा, रोगबिमार वा वृद्धावस्थाको कारण यस्तो नकारात्मक सोचाइ आउन सक्छ। (भज. ७१:९; हितो. १३:१२; उप. ७:७) अनि हाम्रो हृदय पनि छली छ। परमेश्‍वर हामीसित खुसी भए पनि हाम्रो हृदयले हामीलाई दोषी ठहराउन सक्छ। (यर्मि. १७:९; १ यूह. ३:२०) सैतानले परमेश्‍वरका सेवकहरूबारे झूट फैलाएको छ। सैतानको जस्तै सोचाइ राख्नेहरूले हामीलाई अविश्‍वासी एलीपजको यस धारणाको प्रभावमा पार्न सक्छन्‌: हामी परमेश्‍वरको लागि बेकारका छौं। अय्यूबको समयमा त्यो धारणा झूटो थियो र अहिले पनि झूटो नै हो।—अय्यू. ४:१८, १९.

४. यस लेखमा हामी केबारे छलफल गर्नेछौं?

४ ‘घोर अन्धकारमा हिंड्‌नेहरूका’ साथमा यहोवा हुनुहुनेछ भनी बाइबल बताउँछ। (भज. २३:४) यहोवा आफ्नो वचनमार्फत हामीसित रहनुहुन्छ। बाइबलले “गहिरो जरा गाडेर बसेका कुराहरूलाई उखेल्न सक्छ।” यसको मतलब हामीले आफूबारे राख्ने गलत र नकारात्मक विचारलाई समेत बाइबलले परिवर्तन गर्न सक्छ। (२ कोरि. १०:४, ५) यहोवाको सेवा गर्दा आनन्दित भइरहन कसरी बाइबल प्रयोग गर्न सक्छौं, आउनुहोस्‌ बुझौं। यसो गर्दा तपाईं आफैले लाभ उठाउनुहुनेछ अनि अरूलाई प्रोत्साहन दिने तरिकाहरू पनि सिक्नुहुनेछ।

यहोवाको सेवा गर्दा आनन्दित भइरहन बाइबल प्रयोग गर्नुहोस्‌

५. आनन्दित भइरहन हामीलाई कस्तो जाँचले मदत गर्छ?

५ हामीलाई आनन्दित भइरहन मदत गर्ने केही कुराबारे प्रेषित पावलले बताए। कोरिन्थ मण्डलीलाई तिनले यस्तो सल्लाह दिए: “तिमीहरू विश्‍वासमा छौ कि छैनौ भनी जाँचिरहो।” (२ कोरि. १३:५) “विश्‍वास” भनेको बाइबलमा प्रकट गरिएको सम्पूर्ण ख्रीष्टियन शिक्षा हो। हाम्रो वचन र काम ती शिक्षा अनुरूप छन्‌ भने हामी यस जाँचमा पास हुन्छौं र “विश्‍वासमा” रहेको देखाइरहेका हुन्छौं। कुनचाहिं शिक्षा स्वीकार्ने भनेर हामी छनौट गर्न सक्दैनौं। हामीले बाइबलमा पाइने सम्पूर्ण ख्रीष्टियन शिक्षा अनुरूप जीवन बिताएको हुनै पर्छ।—याकू. २:१०, ११.

६. ‘विश्‍वासमा छौं कि छैनौं’ भनेर जाँच्नु किन आवश्‍यक छ? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌)

६ फेल हुने हो कि भनेर सोच्नुहुन्छ भने सायद तपाईं यो जाँच दिन चाहनुहुन्‍न। तर हामी आफूलाई कसरी हेर्छौं, त्योभन्दा पनि यहोवा हामीलाई कसरी हेर्नुहुन्छ, त्यो महत्त्वपूर्ण छ किनकि हामीलाई भन्दा उहाँलाई धेरै कुरा थाह छ। (यशै. ५५:८, ९) उहाँ आफ्ना उपासकहरूको निन्दा गर्न होइन, बरु असल गुण भेट्टाउन र मदत गर्न उनीहरूलाई जाँच्नुहुन्छ। ‘विश्‍वासमा छु कि छैन’ भनेर जाँच्न परमेश्‍वरको वचन प्रयोग गर्दा तपाईंले आफूलाई परमेश्‍वरले जसरी नै हेर्न थाल्नुहुनेछ। यसो गर्दा परमेश्‍वरको लागि बेकारको छु भन्‍ने सोचाइ हटाउन मदत पाउनुहुनेछ। बरु उहाँले तपाईंलाई मूल्यवान्‌ ठान्‍नुहुन्छ भनेर सम्झन सक्नुहुनेछ। यो कुरा सम्झनु भनेको अँध्यारो कोठामा घाम छिरोस्‌ भनेर पर्दा खोल्नुजस्तै हो।

७. बाइबलमा उल्लेख गरिएका वफादार मानिसहरूको उदाहरणबाट तपाईं कस्तो मदत पाउन सक्नुहुन्छ?

७ बाइबलमा उल्लेख गरिएका वफादार मानिसहरूको उदाहरण मनन गर्दा हामीले आफूलाई राम्ररी जाँचिरहेका हुन्छौं। उनीहरूको अवस्था वा भावनालाई तपाईंको अवस्था वा भावनासित तुलना गर्नुहोस्‌। अनि उनीहरूको ठाउँमा तपाईं भएको भए के गर्नुहुन्थ्यो होला, विचार गर्नुहोस्‌। आउनुहोस्‌, बाइबलमा भएका तीनवटा उदाहरण विचार गरौं र आफू “विश्‍वासमा” भएको पक्का गर्न बाइबल प्रयोग गर्ने तरिका सिकौं। यसो गरेमा यहोवाको सेवा गर्दा आनन्दित भइरहन सक्नुहुन्छ।

गरिब विधवा

८, ९. (क) गरिब विधवाको अवस्था कस्तो थियो? (ख) ती विधवामा कस्तो नकारात्मक सोचाइ आएको हुन सक्छ?

८ यरूशलेमको मन्दिरमा येशूले एउटी गरिब विधवालाई नियालेर हेर्नुभयो। आफूले चाहेको सबै कुरा गर्न सक्दैनौं भने तिनको उदाहरणले हामीलाई आनन्दित भइरहन मदत गर्छ। (लूका २१:१-४ पढ्‌नुहोस्‌) तिनको अवस्था विचार गर्नुहोस्‌। तिनले श्रीमान्‌को मृत्युको पीडा सहनुपरेको थियो। साथै धर्मगुरुहरूले पनि मदत गर्नुको सट्टा ‘विधवाहरूको घर हडप्थे।’ (लूका २०:४७) तिनी असाध्यै गरिब थिइन्‌। एउटा कामदारले केही मिनेटमा कमाउने पैसा मात्र मन्दिरमा खसाल्न सक्थिन्‌।

९ दुईवटा सानो सिक्का लिएर मन्दिरको चोकमा छिर्दा ती विधवाले कस्तो महसुस गरिन्‌ होला, कल्पना गर्नुहोस्‌ त! श्रीमान्‌ जीवित भएको भए अहिले दिन लागेको अनुदानको तुलनामा अझ धेरै दिन सक्थें भनेर सोचिन्‌ कि? अरूले धेरै पैसा चढाएको देखेर लज्जित महसुस गर्दै आफ्नो अनुदान त केही कामको छैन भन्‍ने सोचाइ राखिन्‌ कि? त्यस्तो सोचाइ राखेकै भए पनि साँचो उपासनालाई समर्थन गर्न तिनले सक्दो गरिन्‌।

१०. विधवा यहोवाको लागि बहुमूल्य भएको कुरा येशूले कसरी देखाउनुभयो?

१० विधवा र तिनको अनुदान यहोवाको लागि बहुमूल्य छ भनेर येशूले भन्‍नुभयो। ती विधवाले धनी मानिसहरूले भन्दा धेरै खसाली भनी येशूले भन्‍नुभयो। तिनले दिएको अनुदान अरूको अनुदानसितै मिसाइनेथियो। तर येशूले तिनको विशेष प्रशंसा गर्नुभयो। मन्दिरको अनुदान गन्‍नेहरूलाई ती दुई साना सिक्का र ती सिक्का खसाल्ने व्यक्‍ति यहोवाको लागि कत्ति बहुमूल्य छन्‌ भनेर थाह थिएन। तर परमेश्‍वरको सोचाइ सबैभन्दा महत्त्वपूर्ण थियो; अरू मानिसले के सोचे वा ती विधवा स्वयम्‌ले आफूबारे के सोचिन्‌, त्यो महत्त्वपूर्ण थिएन। तपाईं विश्‍वासमा हुनुहुन्छ कि हुनुहुन्‍न भनी जाँच्न यो विवरण प्रयोग गर्न सक्नुहुन्छ कि?

गरिब विधवा अनुदान खसाल्न मन्दिरमा लाइन लाग्दै

गरिब विधवाको उदाहरणबाट तपाईंले के सिक्नुभयो? (अनुच्छेद ८-१० हेर्नुहोस्‌)

११. विधवाको उदाहरणबाट तपाईं के सिक्न सक्नुहुन्छ?

११ तपाईं यहोवालाई के दिन सक्नुहुन्छ, त्यो तपाईंको अवस्थामा भर पर्न सक्छ। उमेर वा स्वास्थ्य समस्याले गर्दा कतिपयले प्रचारकार्यमा आफूले चाहेजति भाग लिन सकेका छैनन्‌। के तिनीहरूले घण्टा एकदमै थोरै भएकोले रिपोर्ट पनि नदिऊँ कि भनेर सोच्नुपर्छ? तपाईं युवावस्थामा हुनुहुन्छ वा स्वस्थ हुनुहुन्छ भने पनि तपाईंलाई यस्तो लाग्न सक्छ: ‘परमेश्‍वरका सेवकहरूले उहाँको सेवामा प्रत्येक वर्ष बिताउने थुप्रै घण्टाको तुलनामा मेरो त केही पनि होइन।’ हामीले यहोवाको लागि गर्ने सानोभन्दा सानो काम पनि उहाँ याद गर्नुहुन्छ र उहाँ त्यसको कदर गर्नुहुन्छ भनेर गरिब विधवाको उदाहरणले देखाउँछ। गाह्रो अवस्थामा त्यसो गरेका छौं भने त यहोवा त्यसको झनै मोल गर्नुहुन्छ। गएको वर्ष तपाईंले गरेको सेवा सम्झनुहोस्‌ त! यहोवाको सेवामा एक घण्टा मात्र बिताउन पनि तपाईंले ठूलो त्याग गर्नुपऱ्‍यो होला। त्यसोभए त्यो एक घण्टामा तपाईंले यहोवाको लागि जे-जति गर्नुभयो, त्यसको उहाँ कदर गर्नुहुन्छ भनेर ढुक्क हुनुहोस्‌। गरिब विधवाको अनुकरण गर्दै यहोवाको सेवामा सक्दो गर्नुभयो भने आफू “विश्‍वासमा” रहेको प्रमाण दिइरहनुभएको हुनेछ।

“मेरो प्राण लिनुहोस्‌”

१२-१४. (क) नकारात्मक सोचाइले एलियालाई कस्तो असर गऱ्‍यो? (ख) एलिया किन निराश भए?

१२ भविष्यवक्‍ता एलिया यहोवाप्रति वफादार थिए र तिनको विश्‍वास बलियो थियो। तर एक चोटि तिनी असाध्यै निराश भए र मर्न पाए हुन्थ्यो भनेर यहोवालाई बिन्ती गरे। तिनले यसो भने: “बस्‌ भयो! हे परमप्रभु, अब मेरो प्राण लिनुहोस्‌।” (१ राजा १९:४) कहिल्यै यत्ति धेरै निराश नभएकाहरूले एलियाको प्रार्थनालाई “समझहीन” भन्लान्‌। (अय्यू. ६:३) तर तिनलाई साँच्चै त्यस्तै लागेको थियो। याद गर्नुहोस्‌, एलिया मर्न चाहँदा यहोवा तिनीसित रिसाउनुभएन। बरु तिनलाई मदत गर्नुभयो।

१३ एलिया किन त्यसरी निराश भए? केही समयअघि मात्र एलियाले यहोवा नै साँचो परमेश्‍वर हुनुहुन्छ भनेर प्रमाणित गर्ने चमत्कार गरेका थिए। उक्‍त चमत्कारपछि बालका ४५० भविष्यवक्‍ताहरू मारिएका थिए। (१ राजा १८:३७-४०) परमेश्‍वरका सेवकहरू अब साँचो उपासनातर्फ फर्कनेछन्‌ भनेर एलियाले सोचेको हुनुपर्छ तर त्यस्तो भएन। दुष्ट रानी ईजेबेलले एलियालाई मार्ने योजना बनाएकी थिइन्‌ र तिनले एलियाकहाँ त्यो सन्देश पठाइन्‌। मृत्युदेखि डराएर एलिया इस्राएलको दक्षिणी भागमा पर्ने यहूदाको उजाडस्थानतिर भागे।—१ राजा १९:२-४.

१४ उजाडस्थानमा एक्लै भएको बेला एलियाले व्यर्थैमा भविष्यवक्‍ताको काम गरेछु भनेर सोच्न थाले। तिनले यहोवालाई यसो भने: “म मेरा अघि-अघिका पिता-पुर्खाहरूभन्दा असल छैनँ!” तिनले आफूलाई चिहानमा भएका आफ्ना पिता-पुर्खाको हाडखोड जस्तै बेकामको ठाने। तिनले आफूलाई असफल व्यक्‍ति ठाने र यहोवा वा अरूको नजरमा आफू कुनै मोलको छैन भन्ठाने।

१५. एलियालाई अझै पनि मूल्यवान्‌ ठानेको कुरा यहोवाले कसरी देखाउनुभयो?

१५ तर यहोवाले एलियालाई फरक तरिकाले हेर्नुभयो। एलिया यहोवाको नजरमा मूल्यवान्‌ रहिरहे र उहाँले तिनलाई त्यो कुरा बताउनुभयो। तिनलाई बलियो पार्न यहोवाले एक जना स्वर्गदूत पठाउनुभयो। दक्षिणमा पर्ने होरेब पर्वतसम्मको ४० दिने यात्राको लागि तिनलाई बलियो बनाउन उहाँले भोजन र पानीको व्यवस्था पनि मिलाउनुभयो। कुनै पनि इस्राएली यहोवाप्रति वफादार रहेनन्‌ भन्‍ने तिनको गलत सोचाइलाई पनि उहाँले दयालुपूर्वक सच्याउनुभयो। यहोवाले एलियालाई नयाँ जिम्मेवारी दिनुभयो र तिनले त्यो स्वीकारे। एलियाले यहोवाको मदतबाट लाभ उठाए र स्फूर्ति पाएर फेरि भविष्यवक्‍ताको काम थाले।—१ राजा १९:५-८, १५-१९.

१६. यहोवाले तपाईंलाई कसरी साथ दिनुभएको छ?

१६ आफू “विश्‍वासमा” भएको पक्का गर्न र आनन्दित भई यहोवाको सेवा गर्न तपाईंलाई एलियाको उदाहरणले मदत गर्छ। पहिलो, यहोवाले तपाईंलाई कसरी साथ दिनुभएको छ, त्यसबारे सोच्नुहोस्‌। एल्डर वा कुनै परिपक्व ख्रीष्टियनले चाहिएकै समयमा तपाईंलाई मदत गरे कि? (गला. ६:२) बाइबल, ख्रीष्टियन प्रकाशन र मण्डलीका सभाहरूबाट मदत पाउनुभयो कि? अर्को पटक यीमध्ये कुनै माध्यमबाट मदत पाउँदा मदतको मुख्य स्रोतबारे विचार गर्नुहोस्‌ र यहोवालाई धन्यवाद दिन नबिर्सनुहोस्‌।—भज. १२१:१, २.

१७. यहोवा आफ्ना सेवकहरूमा भएको कुन कुराको मोल गर्नुहुन्छ?

१७ दोस्रो, नकारात्मक सोचाइले हामीलाई बहकाउन सक्छ भनेर नबिर्सनुहोस्‌। हामीलाई परमेश्‍वरले कसरी हेर्नुहुन्छ, त्यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। (रोमी १४:४ पढ्‌नुहोस्‌) हामीले यहोवाप्रति देखाउने भक्‍ति र वफादारीको उहाँ मोल गर्नुहुन्छ। हामी यहोवाको लागि कति गर्छौं, त्यसको आधारमा उहाँ हाम्रो मोल गर्नुहुन्‍न। एलियाले जस्तै तपाईंले पनि चालै नपाई यहोवाको लागि धेरै काम गर्नुभएको हुन सक्छ। तपाईंले चालै नपाई मण्डलीका भाइबहिनीहरूलाई मदत पुऱ्‍याइरहनुभएको हुन सक्छ। अनि तपाईंको कडा मेहनतले गर्दा इलाकाका मानिसहरूले बाइबल सत्य सुन्‍न पाएका हुन सक्छन्‌।

१८. तपाईंले यहोवाबाट पाएको जिम्मेवारीले के प्रमाणित गर्छ?

१८ तेस्रो, यहोवाबाट पाएको हरेक जिम्मेवारीलाई उहाँ तपाईंसित हुनुहुन्छ भन्‍ने प्रमाणको रूपमा लिनुहोस्‌। (यर्मि. २०:११) तपाईंको सेवा असफल जस्तो देखियो वा कुनै-कुनै आध्यात्मिक लक्ष्य प्राप्त गर्नै नसकिने जस्तो देखियो भने सायद तपाईं पनि एलिया जस्तै निराश हुनुहुनेछ। तर तपाईंसित अझै पनि एउटा ठूलो सुअवसर छ र त्यो सुअवसर सबैले पाउन सक्छन्‌। त्यो हो, सुसमाचार प्रचार गर्ने र यहोवाको नाम वहन गर्ने। त्यसैले यहोवाप्रति वफादार भइरहनुहोस्‌। अनि तपाईं पनि ‘आफ्नो मालिकसँगसँगै रमाउन’ सक्नुहुनेछ।—मत्ती २५:२३.

“दुःख पाएको मानिसले गरेको प्रार्थना”

१९. भजन १०२ का लेखकले कस्तो अवस्था सामना गरे?

१९ भजन १०२ का लेखक निराश थिए। तिनले ‘दुःख पाएका’ थिए अर्थात्‌ शारीरिक र भावनात्मक रूपमा तिनी अति नै पीडित थिए। आफ्नो समस्यासित डट्‌ने बलसमेत तिनमा थिएन। (भज. १०२, शीर्षक) तिनलाई पीडा, एक्लोपन र मनमा आउने विभिन्‍न तर्कनाले सताएको थियो। (भज. १०२:३, ४, ६, ११) यहोवाले तिनलाई उचालेर फाल्न चाहनुहुन्छ जस्तो लागेको थियो।

२०. प्रार्थनाले नकारात्मक सोचाइसित डट्‌न कसरी मदत गर्न सक्छ?

२० ती भजनरचयिताले यहोवाको प्रशंसा गर्न छोडेनन्‌। (भजन १०२:१९-२१ पढ्‌नुहोस्‌) “विश्‍वासमा” रहेकाहरू समेत पीडित हुन सक्छन्‌ र सोचविचारै गर्न नसक्ने अवस्थामा पुग्न सक्छन्‌ भनेर भजन १०२ ले देखाउँछ। समस्यै समस्याले घेरिएकोले ती भजनरचयिताले आफूलाई “छानामाथिको एक्लो भङेराजस्तो” ठाने। (भज. १०२:७) तपाईं पनि त्यस्तै महसुस गर्नुहुन्छ भने ती भजनरचयिताले जस्तै यहोवालाई आफ्नो मनको कुरा पोखाउनुहोस्‌। प्रार्थनाले तपाईंलाई नकारात्मक सोचाइसित डट्‌न मदत गर्न सक्छ। यहोवाले “दीनहरूका प्रार्थनातर्फ ध्यान लगाउनुभएको छ, तिनीहरूको प्रार्थनालाई उहाँले तुच्छ” ठान्‍नुभएको छैन। (भज. १०२:१७) यस कुरामा भरोसा गर्नुहोस्‌।

२१. नकारात्मक सोचाइसित डटिरहेकाहरू कसरी अझ धेरै आनन्दित हुन सक्छन्‌?

२१ भजन १०२ ले तपाईं अझ धेरै आनन्दित हुन सक्नुहुन्छ भनेर पनि देखाउँछ। ती भजनरचयिताले यहोवासितको आफ्नो सम्बन्धमा ध्यान केन्द्रित गरे। (भज. १०२:१२, २७) यहोवाले आफ्ना सेवकहरूलाई परीक्षा सहन सधैं मदत गर्नुहुन्छ भनेर थाह पाउँदा तिनले सान्त्वना पाए। त्यसैले नकारात्मक सोचाइ आएकोले केही समय यहोवाको सेवा आफूले चाहेजति गर्न सक्नुभएन भने त्यसबारे प्रार्थना गर्नुहोस्‌। समस्याबाट मुक्‍त हुन सकूँ भनेर मात्र होइन, ‘यहोवाको नाउँको वर्णन होस्‌’ भनेर पनि प्रार्थना गर्नुहोस्‌।—भज. १०२:२०, २१.

२२.  हामी प्रत्येकले यहोवालाई कसरी खुसी पार्न सक्छौं?

२२ हामी विश्‍वासमा रहिरहेका छौं र यहोवाको नजरमा बहुमूल्य छौं भनेर पक्का हुन बाइबल प्रयोग गर्न सक्छौं। हुन त सैतानको संसारमा रहुन्जेल नकारात्मक सोचाइ वा निराशाबाट पूर्णतया मुक्‍त हुन सक्दैनौं। तर वफादार भई यहोवाको सेवा गरिरह्‍यौं भने हामी प्रत्येकले यहोवालाई खुसी पार्न र अनन्त जीवन पाउन सक्छौं।—मत्ती २४:१३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने