प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 ३/१५ pp. २५-२९
  • वृद्धहरूको हेरविचार गरौं

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • वृद्धहरूको हेरविचार गरौं
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “दुःखको समय”-को लागि योजना बनाउनुहोस्‌
  • बदलिंदो परिस्थितिको सामना गर्नुहोस्‌
  • कोही-कोही कसरी चुनौतीसित डट्‌छन्‌
  • वृद्ध आमाबुबाको हेरविचार गर्नेबारे बाइबल के भन्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • हाम्रा वृद्ध आमाबाबुको मान गर्ने
    पारिवारिक आनन्दको रहस्य
  • वृद्धहरूको आदर गरौं
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • वृद्धहरूको हेरचाह—एउटा मसीही जिम्मेवारी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 ३/१५ pp. २५-२९
छोराछोरीले ह्वीलचेयरमा भएकी वृद्ध आमालाई किनमेल गर्न मदत गरेको

वृद्धहरूको हेरविचार गरौं

“हे साना केटाकेटीहरू हो, हामी वचन र मुखले होइन तर कामद्वारा साँचो प्रेम गरौं।”—१ यूह. ३:१८.

तपाईं कसरी जवाफ दिनुहुन्छ?

  • आमाबुबा तथा हुर्किसकेका छोराछोरीले “दुःखको समय”-को लागि कसरी तयारी गर्न सक्छन्‌?

  • कुन बेला आमाबुबालाई छोराछोरीको अझ धेरै मदत चाहिन सक्छ?

  • वृद्ध आमाबुबाको हेरविचार गरिरहेकाहरूलाई तपाईं कस्तो मदत दिन सक्नुहुन्छ?

१, २. (क) थुप्रै परिवारले कस्ता चुनौती सामना गर्छन्‌ र तिनीहरूको मनमा कस्ता प्रश्‍नहरू आउँछन्‌? (ख) परिस्थितिमा हुने परिवर्तनको लागि आमाबुबा तथा छोराछोरीले कसरी तयारी गर्न सक्छन्‌?

कुनै समय तपाईंको आमाबुबा बलियो थिए होलान्‌ अनि आफ्नो ख्याल आफै राख्न सक्थे होलान्‌। तर अहिले उनीहरूको अवस्था देख्दा तपाईंलाई दुःख लाग्छ होला। तपाईंको आमा वा बुबा लडेर गम्भीर घाइते भएका छन्‌ होला, एकोहोरो टोलाएर बस्न थालेका छन्‌ होला वा कुनै गम्भीर रोगको शिकार भएका छन्‌ होला। अर्कोतर्फ, आमाबुबालाई आफ्नो स्वास्थ्यमा वा परिस्थितिमा आएको परिवर्तन स्वीकार्न गाह्रो हुन सक्छ; विशेषगरि आफ्नो ख्याल आफै राख्न नसक्ने अवस्थामा पुग्दा। (अय्यू. १४:१) आमाबुबालाई मदत गर्न के गर्न सक्छौं? कसरी उनीहरूको हेरविचार गर्न सक्छौं?

२ वृद्धहरूको हेरविचार गर्ने सम्बन्धमा तयार पारिएको एउटा लेख यसो भन्छ: “हुन त वृद्धावस्थामा आउने समस्याबारे कुरा गर्नु सजिलो छैन। तैपनि परिवारै मिलेर पहिल्यै राम्रो योजना बनाएको छ भने पछि जस्तोसुकै अवस्था आइपरे पनि सही निर्णय गर्न सकिन्छ।” वृद्धावस्थामा आइपर्ने समस्याहरूलाई टार्न सकिंदैन। त्यसैले पहिल्यै योजना बनाउनु आवश्‍यक छ। परिवारले कसरी राम्रो योजना बनाउन सक्छ?

“दुःखको समय”-को लागि योजना बनाउनुहोस्‌

३. वृद्ध आमाबुबालाई अझ धेरै मदतको आवश्‍यकता पर्दा परिवारले के गर्न सक्छ? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌)

३ वृद्ध आमाबुबा आफ्नो ख्याल आफै राख्न नसक्ने अवस्थामा पुग्दा उनीहरूलाई मदतको खाँचो पर्छ। (उपदेशक १२:१-७ पढ्‌नुहोस्‌) आमाबुबाको हेरविचार गर्ने सबैभन्दा राम्रो तरिका के हो र त्यसो गर्न परिवार कत्तिको सक्षम छ, त्यसबारे परिवारै बसेर छलफल गर्नुपर्छ। आमाबुबालाई कस्तो मदत चाहिएको छ अनि सबै मिलेर कसरी मदत गर्न सकिन्छ, त्यसबारे पनि छलफल गर्नुपर्छ। छलफलको दौडान सबैले, अझ विशेषगरि आमाबुबाले मनमा लागेको कुरा खुलस्त भन्‍नुपर्छ; केही पनि लुकाउनुहुँदैन। थप मदत दिएमा आमाबुबा अझै पनि एक्लै बस्न सक्छन्‌ कि?a आमाबुबाको राम्रो हेरविचार गर्न प्रत्येकले के गर्न सक्छन्‌ भनेर पनि छलफल गर्नुपर्छ। (हितो. २४:६) जस्तै, केहीले आमाबुबालाई दिनहुँ हेरविचार गर्न सक्लान्‌; केहीले भने आर्थिक सहयोग गर्न सक्लान्‌। सबैले आफ्नो जिम्मेवारी सम्झनुपर्छ। समय बित्दै जाँदा जिम्मेवारी साटफेर गर्न पनि सकिन्छ।

४. परिवारका सदस्यहरूले कहाँबाट मदत पाउन सक्छन्‌?

४ हेरविचार गर्न थालेपछि आमा वा बुबाको स्वास्थ्य अवस्थाबारे राम्ररी थाह पाउन सक्दो गर्नुहोस्‌। रोगले गर्दा आमा वा बुबाको स्वास्थ्य झन्‌झनै बिग्रँदै गइरहेको छ भने भविष्यमा अझै के-कस्ता कुराको आशा गर्न सकिन्छ, बुझ्नुहोस्‌। (हितो. १:५) वृद्धहरूलाई सरकारले दिने सुविधाहरूबारे पत्ता लगाउनुहोस्‌। आमाबुबाको हेरविचार गर्ने कामलाई सहयोग पुऱ्‍याउने र उनीहरूले अझ राम्रो हेरविचार पाउने कुनै कार्यक्रम सञ्चालन गरिएको छ कि, पत्ता लगाउनुहोस्‌। आमाबुबाको स्वास्थ्य गम्भीर हुँदै गएको देख्दा सायद तपाईं निराश हुनुहोला, तपाईंलाई ठूलो चोट पुग्ला अनि के गर्ने भनेर निर्णय गर्नै गाह्रो होला। यस्तो अवस्थामा भरोसायोग्य साथीलाई आफ्नो विचार बताउनुहोस्‌। सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवालाई मनको कुरा पोख्नुहोस्‌। उहाँले तपाईंलाई मनोशान्ति दिनुहुनेछ र जस्तोसुकै परिस्थितिको सामना गर्न तपाईं सक्षम हुनुहुनेछ।—भज. ५५:२२; हितो. २४:१०; फिलि. ४:६, ७.

५. आमाबुबाको हेरविचार कसरी गर्ने भनेर किन पहिल्यै पक्का गर्नुपर्छ?

५ आमाबुबा कुनचाहिं छोरा वा छोरीसित बस्ने भनेर परिवारले पहिल्यै पक्का गर्नुपर्छ। यसो गर्दा वृद्धावस्थामा आइपर्ने “दुःख”-को लागि परिवार तयार भइरहेको हुन्छ। (भज. ९०:१०) राम्रो योजना बनाइएको छैन भने समस्या आउँदा हतारमा निर्णय गर्नुपर्ने हुन्छ। एक विद्वान्‌अनुसार समस्या आएपछि मात्र निर्णय गर्नु भनेको “सबैभन्दा गलत समयमा निर्णय गर्नु हो।” हतारमा निर्णय गर्नुपर्दा परिवारका सदस्यहरूलाई तनाव हुन सक्छ र निचोडमा पुग्न गाह्रो हुन सक्छ। तर पहिल्यै योजना बनाइएको छ भने परिवर्तन सामना गर्न सजिलो हुन्छ।—हितो. २०:१८.

एउटा परिवार वृद्ध आमाको आवश्‍यकता र भविष्यको योजनाबारे छलफल गर्दै

वृद्ध आमाबुबाको हेरविचार कसरी गर्ने भनेर छलफल गर्न परिवार सँगै भेला हुन सक्छ (अनुच्छेद ६-८ हेर्नुहोस्‌)

६. आमाबुबा वृद्ध हुँदै जाँदा उनीहरूलाई कहाँ र कसरी राख्ने भनेर छलफल गर्नु किन मदतकारी हुन्छ?

६ आमाबुबालाई सजिलो होस्‌ भनेर घरमा के-कस्ता सुविधा थप्ने वा पछि उनीहरूलाई कहाँ राख्ने, त्यसबारे आमाबुबासित कुरा गर्न छोराछोरीलाई गाह्रो लाग्न सक्छ। तर खुलस्त कुराकानी गर्दा परिणाम राम्रो भएको थुप्रैले अनुभव गरेका छन्‌। किन? यसो गर्दा गाह्रो विषयमा कुराकानी गर्न, आदरपूर्वक सुन्‍न र समस्या आउनुअगावै व्यावहारिक योजना बनाउन सजिलो हुन्छ। साथै मनको कुरा खुलेर बताउँदा परिवारका सदस्यहरू एकअर्कासित घनिष्ठ हुनेछन्‌ र एकअर्काप्रतिको माया सधैं सम्झनेछन्‌। वृद्ध आमाबुबा सकुन्जेल अलग्गै बस्न चाहलान्‌। छोराछोरीबाट कस्तो किसिमको मदत चाहिन सक्छ, त्यस विषयमा आमाबुबाले पहिल्यै बताएमा मदत चाहिएको बेला निर्णय गर्न छोराछोरीलाई सजिलो हुन्छ।

७, ८. परिवारले के-कस्ता विषयबारे छलफल गर्नुपर्छ र किन?

७ आमाबुबा हो, छलफलको दौडान परिवारलाई आफ्नो इच्छा बताउनुहोस्‌। तपाईं कति खर्च गर्न सक्नुहुन्छ अनि कसरी हेरविचार गरिएको चाहनुहुन्छ, त्यसबारे पनि बताउनुहोस्‌। यसो गर्नुभयो भने तपाईं निर्णय गर्न नसक्ने अवस्थामा हुँदा छोराछोरीले तपाईंको इच्छाअनुसार निर्णय गरिदिनेछन्‌। तपाईंले सकुन्जेल अरूमा भर नपरी जीवन बिताउन सकोस्‌ भनेर तिनीहरूले सक्दो गर्नेछन्‌ र तपाईंको इच्छाको सम्मान गर्नेछन्‌। (एफि. ६:२-४) उदाहरणको लागि, तपाईंलाई कुनै छोराछोरीकहाँ गएर बस्न मन लागेको छ वा अरू नै केही चाहनुहुन्छ? व्यावहारिक हुनुहोस्‌ र परिवारका अरू सदस्यको विचार तपाईंको भन्दा बेग्लै हुन सक्छ भनेर नबिर्सनुहोस्‌। आफ्नो सोचाइ परिवर्तन गर्न पक्कै पनि समय लाग्छ।

८ राम्रो योजना बनायौं र खुलस्त कुराकानी गऱ्‍यौं भने थुप्रै समस्याबाट जोगिन सक्नेछौं। (हितो. १५:२२) तपाईं कस्तो स्वास्थ्य सेवा चाहनुहुन्छ र तपाईंको इच्छा के हो, त्यसबारे परिवारसित कुराकानी गर्नुहोस्‌। यहोवाका साक्षीहरूले प्रयोग गर्ने स्थायी अख्तियारनामा कार्डमा भएका बुँदाहरू छलफल गर्नुहोस्‌। उपलब्ध उपचारबारे जानकारी लिने अनि कस्तो उपचार स्वीकार्ने वा नस्वीकार्ने भनेर निर्णय गर्ने अधिकार तपाईंसित छ। स्थायी अख्तियारनामा कार्डमा आफ्नो इच्छा स्पष्टसँग लेख्नुहोस्‌। चाहिएको बेलामा तपाईंको लागि उपयुक्‍त निर्णय गरिदिन स्वास्थ्य प्रतिनिधि छान्‍नुहोस्‌। वृद्धहरू, हेरविचार गर्नेहरू र स्वास्थ्य प्रतिनिधिहरूसित स्थायी अख्तियारनामा कार्डको एक-एकवटा प्रतिलिपि हुनु आवश्‍यक छ। केही वृद्धले स्थायी अख्तियारनामा कार्डलाई आफ्नो इच्छा-पत्र, बिमा र बैङ्‌कसम्बन्धी महत्त्वपूर्ण कागजात अनि सरकारी अफिसहरूको ठेगाना भएको कागजातसँगै राखेका छन्‌।

बदलिंदो परिस्थितिको सामना गर्नुहोस्‌

९, १०. कुन बेला आमाबुबालाई छोराछोरीको अझ धेरै मदत चाहिन सक्छ?

९ थुप्रै अवस्थामा, वृद्ध आमाबुबा क्षमताले दिएसम्म आफ्नो ख्याल आफै राख्न चाहन्छन्‌ र छोराछोरी पनि उनीहरूको इच्छाको कदर गर्छन्‌। आमाबुबाले खाना पकाउन, सरसफाइ गर्न, औषधी खान वा अरूसित राम्ररी कुराकानी गर्न सक्छन्‌ भने छोराछोरी अति नै चिन्तित हुनु आवश्‍यक नहुन सक्छ। तर समय बित्दै जाँदा आमाबुबालाई हिंड्‌न र किनमेल गर्न गाह्रो हुन सक्छ; छिन-छिनमै बिर्सने समस्या पनि देखा पर्न थाल्छ। त्यतिबेला आमाबुबाको हेरविचार गर्न छोराछोरीले केही छाँटकाँट गर्नुपर्ने हुन सक्छ।

१० वृद्धहरू अलमल्लमा पर्न सक्छन्‌ वा निराश हुन सक्छन्‌। सुन्‍न, देख्न वा दिसा-पिसाब रोक्न गाह्रो हुन सक्छ अनि सोच्ने क्षमता कमजोर हुन सक्छ। यीमध्ये केही समस्या उपचार गरेर सुल्झाउन सकिन्छ। समस्या देखा पर्नेबित्तिकै डाक्टरलाई भेट्‌नुहोस्‌। डाक्टरलाई भेट्‌न वा आमाबुबाको व्यक्‍तिगत काममा मदत गर्न छोराछोरी अग्रसर हुनुपर्ला। आमाबुबाको राम्रो हेरविचार गर्न छोराछोरीले उनीहरूको तर्फबाट बोलिदिनुपर्ला, कागजपत्रको काममा सघाइदिनुपर्ला, आमाबुबा कतै जानुपर्ने छ भने उनीहरूलाई पुऱ्‍याइदिनुपर्ला अथवा अन्य काममा मदत गर्नुपर्ला।—हितो. ३:२७.

११. आमाबुबालाई सजिलो होस्‌ भन्‍नको लागि कुन कुरामा ध्यान दिनुपर्छ?

११ आमाबुबालाई गम्भीर रोग लागेको छ भने उनीहरूको हेरविचार गर्ने तरिकामा छाँटकाँट गर्नुपर्ने वा घरमा सुविधा थप्नुपर्ने हुन सक्छ। जति थोरै छाँटकाँट गरियो, आमाबुबालाई त्यति नै सजिलो हुनेछ। तपाईं आमाबुबाबाट टाढा बस्नुहुन्छ भने कुनै भाइबहिनी वा छिमेकी समय-समयमा आमाबुबालाई भेट्‌न गएर तपाईंलाई उनीहरूको हालखबर बताइदिन सक्छन्‌ कि? आमाबुबालाई खान पकाउने वा सरसफाइ गर्ने काममा मात्र मदत चाहिएको हो कि? घरमा थोरै छाँटकाँट गर्दा मात्र पनि आमाबुबालाई यताउता हिंड्‌न, नुहाउन वा अन्य काम गर्न सजिलो हुन्छ कि? उनीहरू काम सघाउने मान्छे राखेर छोराछोरीमाथि भर नपरी बस्न चाहेका पनि हुन सक्छन्‌। तर आमाबुबा आफ्नो ख्याल आफै राख्न सक्ने अवस्थामा छैनन्‌ भने अझै भरपर्दो प्रबन्ध मिलाउनुपर्छ। अवस्था जस्तोसुकै भए पनि स्थानीय क्षेत्रमा के-कस्ता सेवा-सुविधा उपलब्ध छन्‌, पत्ता लगाउनुहोस्‌।b—हितोपदेश २१:५ पढ्‌नुहोस्‌।

कोही-कोही कसरी चुनौतीसित डट्‌छन्‌

१२, १३. टाढा बस्ने आमाबुबाको आदर र हेरविचार गर्न केही छोराछोरीले के गरेका छन्‌?

१२ आमाबुबा सुरक्षित भएको र उनीहरूले सजिलो महसुस गरेको हामी चाहन्छौं किनकि हामी उनीहरूलाई माया गर्छौं। आमाबुबाले हेरविचार पाइरहेका छन्‌ भनेर सोच्दा मनोशान्ति पाउँछौं। तर हुर्किसकेका थुप्रै छोराछोरी आमाबुबाबाट टाढा बस्छन्‌। तिनीहरूमध्ये कोही-कोही बिदामा आमाबुबालाई भेट्‌न जान्छन्‌ र आमाबुबालाई गाह्रो हुने काम सघाउँछन्‌। नियमित रूपमा वा हरेक दिन फोन गरेर अनि चिठी पठाएर वा मेल गरेर छोराछोरीले आमाबुबालाई माया गरेको देखाउन सक्छन्‌।

१३ तपाईं आमाबुबाबाट टाढा बस्नुहुन्छ भने पनि उनीहरूलाई कस्तो हेरविचार चाहिएको छ पक्का गर्नु आवश्‍यक छ। आमाबुबा साक्षी हुन्‌ भने उनीहरूको मण्डलीका एल्डरहरूसित कुरा गरेर सल्लाह माग्न सक्नुहुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, आमाबुबाको लागि प्रार्थना गर्नुहोस्‌। (हितोपदेश ११:१४ पढ्‌नुहोस्‌) तर तपाईंका आमाबुबा साक्षी होइनन्‌ भने पनि उनीहरूको “आदर” गर्नुपर्छ। (प्रस्थ. २०:१२; हितो. २३:२२) हुन त सबै परिवारको निर्णय उस्तै हुन्छ भन्‍ने छैन। केहीले वृद्ध आमाबुबालाई आफूसँगै राख्ने वा आफू नजिकै ल्याएर राख्ने निर्णय गर्छन्‌। तर यसो गर्नु सधैं सम्भव हुँदैन। केही आमाबुबा आफ्ना छोराछोरी वा तिनीहरूको परिवारसित बस्न नचाहलान्‌। उनीहरू छोराछोरीको लागि बोझ बन्‍न चाहँदैनन्‌ र सकुन्जेल आफ्नो ख्याल आफै राख्न चाहन्छन्‌। केहीको आर्थिक अवस्था राम्रो हुन सक्छ। त्यसैले काम गर्ने मान्छे राखेर आफ्नै घरमा बस्न चाहलान्‌।—उप. ७:१२, NRV.

१४. आमाबुबाको हेरविचार गर्ने जिम्मेवारी सम्हालिरहेका छोरा वा छोरीलाई कस्तो समस्या आइपर्न सक्छ?

१४ कतिपय परिवारमा कुनै छोरा वा छोरी आमाबुबाको नजिकै बस्छन्‌ भने तिनले नै आमाबुबाको हेरविचार गर्ने जिम्मेवारी सम्हालिरहेका हुन्छन्‌। तर तिनी आमाबुबाको र आफ्नै परिवारको हेरविचार गर्ने विषयमा सन्तुलित हुनुपर्छ। हरेक व्यक्‍तिको समय र शक्‍ति सीमित हुन्छ। हेरविचार गरिरहेका छोरा वा छोरीको परिस्थिति परिवर्तन भएमा हेरविचार गर्ने प्रबन्धमा केही छाँटकाँट गर्नुपर्ने हुन सक्छ। एकै जनाले थुप्रै जिम्मेवारी सम्हालिरहेका पो छन्‌ कि? अरू छोराछोरीले पनि पालैपालो आमाबुबाको हेरविचार गर्न सक्छन्‌ कि?

१५. के गरेमा आमाबुबाको हेरविचार गरिरहेको व्यक्‍तिलाई सजिलो हुन्छ?

१५ आमाबुबालाई चौबीसै घण्टा हेरविचार गर्नुपर्दा हेरविचार गरिरहेका छोरा वा छोरी थकित हुन सक्छन्‌। (उप. ४:६) आमाबुबालाई माया गर्ने छोराछोरी उनीहरूलाई सक्दो मदत गर्न चाहन्छन्‌। तर कहिलेकाहीं आमाबुबाको हेरविचार गर्न असाध्यै गाह्रो हुन सक्छ। आमाबुबाको हेरविचार गरिरहेका छोरा वा छोरी व्यावहारिक हुनुपर्छ; अरूसित मदत माग्नुपर्ने पनि हुन सक्छ। अरूले पनि बेलाबेलामा मदत गरेमा हेरविचार गरिरहेको व्यक्‍तिलाई सजिलो हुन्छ।

१६, १७. वृद्ध आमाबुबाको हेरविचार गर्दा छोराछोरीले के-कस्ता चुनौतीको सामना गर्नुपर्ने हुन सक्छ र तिनीहरूले आफ्नो भावनालाई कसरी नियन्त्रणमा राख्न सक्छन्‌? (“धन्यवादी हुँदै गरिएको हेरविचार” भन्‍ने पेटी पनि हेर्नुहोस्‌)

१६ वृद्धावस्थाले गर्दा हाम्रा प्यारा आमाबुबालाई गाह्रो भइरहेको देख्दा हामीलाई दुःख लाग्छ। हेरविचार गरिरहेका व्यक्‍तिहरू कहिलेकाहीं चिन्तित र निराश हुन्छन्‌, आफूले केही पनि गर्न नसकेको महसुस गर्छन्‌, आफैमाथि दोष थोपर्छन्‌ वा तिनीहरूलाई आफैदेखि रिस उठ्‌छ। कहिलेकाहीं वृद्ध आमाबुबाले प्याच्च बोल्न सक्छन्‌ वा कृतज्ञता नदेखाउन सक्छन्‌। त्यस्तो भएमा तुरुन्तै चित्त नदुखाउनुहोस्‌। मानसिक-स्वास्थ्यसम्बन्धी अध्ययन गरेका एक व्यक्‍तिले यसो भने: “आफ्नो भावनासित डट्‌ने सबैभन्दा राम्रो तरिका आफूमा त्यस्तो भावना छ भनेर स्वीकार्नु र त्यस्तो भावना आएकोमा आफैलाई नधिक्कार्नु हो।” जीवनसाथी, परिवारका सदस्य वा भरोसायोग्य साथीलाई मनको कुरा बताउनुहोस्‌। यस्तो कुराकानीले आफ्नो भावनालाई नियन्त्रणमा राख्न मदत गर्छ।

१७ वृद्ध आमाबुबालाई घरमै हेरविचार गर्न गाह्रो हुने समय पनि आउन सक्छ। त्यसकारण केही परिवारले उनीहरूलाई स्याहार केन्द्रमा राख्ने निर्णय गर्न सक्छन्‌। एक ख्रीष्टियन बहिनी आफ्नी आमालाई भेट्‌न हरेक दिनजसो नै स्याहार केन्द्रमा जान्थिन्‌। तिनी भन्छिन्‌: “आमालाई चौबीसै घण्टा हेरविचार गर्नुपर्थ्यो। तर त्यसो गर्न सम्भव थिएन। आमालाई स्याहार केन्द्रमा पठाउने निर्णय गर्न एकदमै गाह्रो भयो; मनले मानेकै थिएन। तैपनि आमाको जीवनको अन्तिम घडीतिर त्यो नै उहाँको लागि उपयुक्‍त ठाउँ थियो र उहाँ पनि जान तयार हुनुभयो।”

१८. वृद्ध आमाबुबाको हेरविचार गर्नेहरू कुन कुरामा ढुक्क हुन सक्छन्‌?

१८ वृद्ध आमाबुबाको हेरविचार गर्न सजिलो छैन। भावनात्मक रूपमा पनि असाध्यै गाह्रो हुन सक्छ। वृद्धहरूको हेरविचार गर्ने सन्दर्भमा सबैलाई उपयुक्‍त हुने सल्लाहहरूको सूची छैन। तर होसियार भई योजना बनाउनुभयो, परिवारसितै मिलेर काम गर्नुभयो, खुलस्त कुराकानी गर्नुभयो र सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवालाई प्रार्थना गर्नुभयो भने वृद्ध आमाबुबाको हेरविचार गर्ने जिम्मेवारी पूरा गर्न सक्नुहुनेछ। आमाबुबाको राम्ररी हेरविचार गरेकोमा तपाईंले आफैमा गर्व गर्न सक्नुहुनेछ। (१ कोरिन्थी १३:४-८ पढ्‌नुहोस्‌) सबैभन्दा महत्त्वपूर्ण कुरा, तपाईंले मनोशान्ति अनि यहोवाको आशिष्‌ पाउनुहुनेछ।—फिलि. ४:७.

a केही देशमा आमाबुबा र हुर्किसकेका छोराछोरी एउटै घरमा बस्ने चलन छ। यस्तो चलन भएको ठाउँमा उनीहरूले त्यसै गर्ने छनौट गर्न सक्छन्‌।

b आमाबुबा आफ्नै घरमा बस्छन्‌ भने उनीहरूको हेरविचार गर्ने भरोसायोग्य व्यक्‍तिलाई आपत्कालीन अवस्थाको लागि घरको साँचो दिन नबिर्सनुहोस्‌।

धन्यवादी हुँदै गरिएको हेरविचार

एउटी बहिनी आमाबुबाकहाँ जान चार घण्टा यात्रा गर्छिन्‌। तिनी आफ्ना तीन दिदीबहिनीसित मिलेर वृद्ध आमाबुबाको हेरविचार गर्छिन्‌। तिनकी आमालाई सुद्धी हराउने रोग (अल्जाइमर्स) लागेको छ। तिनी भन्छिन्‌: “येशूको यो भनाइ म सधैं सम्झन्छु, ‘भोलिको चिन्ता कहिल्यै नगर किनभने भोलिको चिन्ता भोलिले नै गर्नेछ। आजको लागि आजकै कष्ट यथेष्ट छ।’ हुन त हामी आमाको रोग निको पार्न सक्दैनौं। तैपनि आमाबुबालाई सजिलो होस्‌ भनेर हरेक दिन आफूले सकेजति गर्छौं। उहाँहरूले हाम्रो लागि धेरै दुःख गर्नुभएको छ र अहिले उहाँहरूको हेरविचार गर्न सकेकोमा म एकदमै खुसी छु।” यस्तो मनोवृत्ति देखाउनेहरूसित यहोवा अति नै प्रसन्‍न हुनुहुन्छ।—मत्ती ६:३४; भज. ६८:१९.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने