प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 ४/१ pp. ४-७
  • भगवान्‌लाई किन पुकार्ने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भगवान्‌लाई किन पुकार्ने?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रार्थना गऱ्‍यौं भने भगवान्‌सित नजिक हुनेछौं
  • भगवान्‌ले सबै प्रार्थनाको जवाफ दिनुहुन्छ?
  • भगवान्‌ले प्रार्थनाको जवाफ कसरी दिनुहुन्छ?
  • यहोवाले प्रार्थना सुन्‍नुहुन्छ भनी ढुक्क हुनुहोस्‌
  • तपाईं कसरी परमेश्‍वरको नजीक हुन सक्नुहुन्छ
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
  • प्रार्थना गरेर परमेश्‍वरसित नजिक हुनुहोस्‌
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • “तिमीहरूका माग परमेश्‍वरमा जाहेर होस्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • प्रार्थना द्वारा सहायता कसरी प्राप्त गर्न सकिन्छ
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 ४/१ pp. ४-७
भगवान्‌लाई पुकार्दै गरेको मानिस

आवरण लेख

भगवान्‌लाई किन पुकार्ने?

तपाईंलाई लाग्ला, “भगवान्‌लाई सबै कुरा थाह छ भने किन उहाँलाई पुकारिराख्नु पऱ्‍यो र?” यो तर्क ठीकै देखिन्छ किनभने महान्‌ पुरुष येशूले पनि यसो भन्‍नुभएको थियो: ‘तिमीहरूले माग्नुभन्दा अघिनै तिमीहरूलाई के चाहिन्छ भनेर सृष्टिकर्ता, तिमीहरूका बुबालाई थाह छ।’ (मत्ती ६:८) इस्राएल देशका राजा दाऊदले पनि धेरै वर्ष पहिला यस्तो लेखेका थिए: “मेरो जिब्रोमा कुनै कुरा आउन अघिनै, हे परमप्रभु, तपाईंले त्यो जान्‍नुहुन्छ।” (भजन १३९:४) त्यसोभए प्रश्‍न उठ्‌छ, भगवान्‌लाई किन पुकार्ने त? आउनुहोस्‌, बाइबलले प्रार्थनाको विषयमा के भन्छ, छलफल गरौं।a

‘सृष्टिकर्ता यहोवासित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।’—याकूब ४:८

प्रार्थना गऱ्‍यौं भने भगवान्‌सित नजिक हुनेछौं

सृष्टिकर्ता यहोवालाईb सबै कुरा थाह छ भनेर बाइबलमा लेखिएको छ। उहाँको सम्झना शक्‍ति अथाह छ। (भजन १३९:६; रोमी ११:३३) आफ्ना प्रत्येक जनको उहाँ गहिरो चासो लिनुहुन्छ। उहाँ डाटा स्टोर गर्ने कम्प्युटर जस्तो हुनुहुन्‍न, जसमा कुनै भावनात्मक सम्बन्ध हुँदैन। वास्तवमा भन्‍ने हो भने भगवान्‌ हाम्रो भित्री मनसायमा चासो लिनुहुन्छ। हामी उहाँसित नजिक भएको उहाँ चाहनुहुन्छ। (भजन १३९:२३, २४; याकूब ४:८) त्यसैले त येशूले पनि आफ्ना अनुयायीहरूलाई प्रार्थना गर्न हौसला दिनुभयो। हो, बुबालाई हाम्रो आधारभूत आवश्‍यकता थाह छ, तैपनि उहाँलाई प्रार्थना गर्नुपर्छ भनेर येशूले सिकाउनुभयो। (मत्ती ६:६-८) हामी सृष्टिकर्तासित जति धेरै मनको कुरा गर्छौं, त्यति नै उहाँसित नजिक हुनेछौं।

कहिलेकाहीं हामीलाई कुन विषयमा प्रार्थना गर्ने थाहै नहुन सक्छ। तर यस्तो बेला हामीले के बिर्सनु हुँदैन भने भगवान्‌ हाम्रो मनभित्रको कुरा पनि बुझ्न सक्नुहुन्छ। हामीलाई चाहिएको कुरा थाह पाउने शक्‍ति उहाँसित छ। (रोमी ८:२६, २७; एफिसी ३:२०) हामीले चाल पाउने तरिकामा वा चालै नपाउने तरिकामा उहाँले मदत गर्नुहुन्छ। त्यो बुझ्ने प्रयास गऱ्‍यौं भने हामी उहाँसित घनिष्ठ हुनेछौं।

भगवान्‌ले सबै प्रार्थनाको जवाफ दिनुहुन्छ?

सृष्टिकर्ता यहोवा आफ्ना जनहरूको पुकारा सुन्‍नुहुन्छ भनेर बाइबलमा बताइएको छ। साथै उहाँ कुनै-कुनै प्रार्थना किन सुन्‍नुहुन्‍न, त्यो पनि बताइएको छ। एउटा उदाहरण विचार गरौं। धेरै समय पहिलाको कुरा हो, इस्राएल देशमा हिंसा मच्चिरहेको थियो। त्यतिबेला यहोवाले भविष्यवक्‍ता यशैयामार्फत ती मानिसहरूलाई यसो भन्‍नुभयो: “तिमीहरूले ज्यादै प्रार्थना गर्दा पनि म सुन्‍नेछैनँ। तिमीहरूका हात रगतले भरिएका छन्‌।” (यशैया १:१५) कुरा स्पष्ट छ, जसले सृष्टिकर्ता यहोवाको स्तर बेवास्ता गर्छ, जसको मनसाय राम्रो छैन, तिनीहरूको पुकारा उहाँ सुन्‍नुहुन्‍न।—हितोपदेश २८:९; याकूब ४:३.

तर बाइबलमा यस्तो पनि लेखिएको छ: “[यहोवाको] इच्छाबमोजिम हामीले जेसुकै मागे पनि उहाँले हाम्रो बिन्ती सुन्‍नुहुन्छ।” (१ यूहन्‍ना ५:१४) यसको मतलब यहोवाले आफ्ना जनहरूले जे मागे पनि पुऱ्‍याइदिनुहुन्छ भन्‍न खोजेको हो त? त्यसो त होइन। बाइबल पात्र पावललाई विचार गर्नुहोस्‌। तिनले आफ्नो ‘शरीरको छेस्को’ हटाइदिनुस्‌ भनेर यहोवालाई तीन-तीन पटक बिन्ती चढाएका थिए। (२ कोरिन्थी १२:७, ८) सायद तिनको त्यो छेस्को भनेको आँखाको दीर्घकालीन रोग थियो। पावललाई कत्ति गाह्रो भयो होला, सोच्नुहोस्‌ त! हुन त पावलले अरूलाई निको पार्ने अनि पुनर्जीवन दिने शक्‍ति पाएका थिए तैपनि तिनले आफूले पाएको छेस्को सहनुपऱ्‍यो। (प्रेषित १९:११, १२; २०:९, १०) हो, पावलले चाहेकै तरिकामा प्रार्थनाको सुनुवाइ भएन तैपनि यहोवाले उसको लागि जे-जति गर्नुभयो, त्यसप्रति तिनी कृतज्ञ भए।—२ कोरिन्थी १२:९, १०.

‘हामी यो कुरामा ढुक्क छौं, कि सृष्टिकर्ता यहोवाको इच्छाबमोजिम हामीले जेसुकै मागे पनि उहाँले हाम्रो बिन्ती सुन्‍नुहुन्छ।’ —१ यूहन्‍ना ५:१४.

बाइबलमा उल्लेख गरिएका कतिपय व्यक्‍तिले आफ्नो प्रार्थनाको जवाफ चमत्कारद्वारा पाएका थिए। (२ राजा २०:१-७) तर सधैं यस्तो हुँदैनथ्यो। कतिलाई भने भगवान्‌ले ‘मेरो पुकारा किन नसुनेको होला’ जस्तो लाग्थ्यो। राजा दाऊदले यसरी सोधेका थिए, “कहिलेसम्म हे परमप्रभु, तपाईंले सधैंभरि मलाई बिर्सनुहोला?” (भजन १३:१) तर यहोवाले पटक-पटक बचाउनुभएको कुरा सम्झेपछि दाऊदले फेरि उहाँमा भरोसा गर्न सके। त्यसैले माथिको प्रश्‍न सोधेपछि तिनले यसो भनेका थिए: “तर मैले ता तपाईंको करुणामा भरोसा गरेको छु।” (भजन १३:५) दाऊदले जस्तै आज हामीले पनि भगवान्‌ले जवाफ नदिनुभएसम्म प्रार्थना गर्नुपर्ने हुन सक्छ।—रोमी १२:१२.

भगवान्‌ले प्रार्थनाको जवाफ कसरी दिनुहुन्छ?

साँच्चै चाहिएको कुरा दिएर

असल आमाबाबुले आफ्ना छोराछोरीलाई माया त गर्छन्‌, तर तिनीहरूले जे माग्यो त्यही वा जहिले माग्यो तहिले तिनीहरूको माग पूरा गरिदिंदैनन्‌। त्यस्तैगरि भगवान्‌ले पनि हामीले जे माग्छौं त्यही वा जहिले माग्छौं तहिल्यै सबै कुरा पुऱ्‍याइदिनुहुन्‍न। बरु मायालु बुबाले जस्तै हामीलाई साँच्चै के चाहिएको छ, त्यसमा ध्यान दिनुहुन्छ र सही समयमा अनि सही तरिकाले, त्यो कुरा पुऱ्‍याइदिनुहुन्छ।—लूका ११:११-१३.

आफूलाई चाहिएको जवाफ बाइबलमा खोज्दै गरेको मानिस

हाम्रो बिन्तीको जवाफ यहोवाले बाइबलका पानाहरूमार्फत पनि दिन सक्नुहुन्छ

चालै नपाउने तरिकामा जवाफ दिएर

मानौं, समस्याबाट उम्कन हामीले प्रार्थना गऱ्‍यौं। तर चमत्कारद्वारा केही जवाफ पाएनौं। अब के यहोवाले प्रार्थनाको जवाफै दिनुभएन भन्‍न मिल्छ? अहँ मिल्दैन। हामीले चालै नपाउने तरिकामा उहाँले जवाफ दिनुभएको पनि हुन सक्छ। जस्तै, समस्या परेको बेला माया गर्ने साथीले मदत गरेको हुन सक्छ। (हितोपदेश १७:१७) कतै त्यो मदत यहोवाबाटै आएको हो कि? त्यत्ति मात्र होइन, कहिलेकाहीं उहाँले बाइबलका पानाहरूमार्फत पनि जवाफ दिनुहुन्छ। यस्तो जवाफले हामीलाई गाह्रो अवस्था सामना गर्ने बल अनि बुद्धि दिन्छ।—२ तिमोथी ३:१६, १७.

घरमा एक्लै बसिरहेकी बिरामी साथीलाई फूलको गुच्छा र कार्ड ल्याइदिंदै गरेका श्रीमान्‌-श्रीमती

चाहिएको समयमै मायालु साथी पठाएर यहोवाले मदत गरेको पनि हुन सक्छ

प्रायजसो अवस्थामा, भगवान्‌ले हाम्रो समस्या हटाइदिनुको सट्टा त्यो समस्या सामना गर्ने बल दिनुहुन्छ। (२ कोरिन्थी ४:७) उदाहरणको लागि, आफूमाथि आउन लागेको ठूलो परीक्षाले बुबाको नाम बदनाम गर्ला कि भनेर येशूले त्यो परीक्षा हटाइदिनुहोस्‌ भनेर बिन्ती गर्नुभयो। यतिबेला यहोवाले आफ्नो छोरालाई बल दिन स्वर्गदूत पठाउनुभयो। (लूका २२:४२, ४३) त्यसैगरि हामीलाई पनि मायालु साथी चलाएर उहाँले चाहिएको बेला सान्त्वना दिनुहुन्छ। (हितोपदेश १२:२५) हुन त यसरी दिएको जवाफ चाल पाउन गाह्रो हुन सक्छ तर चनाखो भयौं भने यस्तो जवाफ बुझ्नै नसकिने भने होइन।

उपयुक्‍त समयमा जवाफ दिएर

सृष्टिकर्ता यहोवाले “आफ्नो समयमा” नम्र मानिसहरूलाई जवाफ दिनुहुन्छ भनी बाइबल बताउँछ। (१ पत्रुस ५:६) त्यसैले कहिलेकाहीं भगवान्‌बाट जवाफ पाउन ढिलो भएजस्तो लाग्दा ‘यहोवालाई हाम्रो वास्तै छैन’ भनी सोच्नु हुँदैन। उहाँलाई हामीलाई भन्दा धेरै कुरा थाह छ। त्यसैले हाम्रो लागि कुन कुरा सबैभन्दा राम्रो हुन्छ, त्यो विचार गरेर मात्र उहाँले हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्छ।

‘यहोवाको बलवान्‌ बाहुलीमुनि आफूलाई नम्र बनाओ, ताकि उहाँले आफ्नो समयमा तिमीहरूलाई उच्च पारून्‌।’—१ पत्रुस ५:६.

कल्पना गर्नुहोस्‌, तपाईंको सानो छोराले तपाईंलाई साइकल किनिदिन कर गर्छ। के तपाईं तुरुन्तै साइकल किनिदिनुहुन्छ? उसले साइकल चलाउन सक्दैन जस्तो लागेर तपाईं ‘पछि किन्दिन्छु नि बाबा’ भन्‍नुहुन्छ होला। तर अलि ठूलो भएपछि चाहिं किनिदिनुहुन्छ नि, होइन र? त्यसैगरि हामीले प्रार्थना गरिरह्‍यौं भने भगवान्‌ले उपयुक्‍त समयमा हाम्रो उचित “मनोरथ पूर्ण” गरिदिनुहुनेछ।—भजन ३७:४.

यहोवाले प्रार्थना सुन्‍नुहुन्छ भनी ढुक्क हुनुहोस्‌

बाइबलले साँचो ख्रीष्टियनहरूलाई प्रार्थनामा लागिरहन आग्रह गर्छ। तर कसै-कसैले भन्लान्‌ ‘भन्‍नु त सजिलो छ, गर्न त गाह्रो नि।’ यदि हामीले कुनै समस्या वा अन्याय भोगिरहेको लामो समय भइसकेको छ भने त प्रार्थनाको जवाफ कुर्न झनै गाह्रो हुन सक्छ। तर प्रार्थनामा लागिरहनुपर्छ भनी येशूले सिकाउनुभएको कुरा हामीले सम्झनुपर्छ।

येशूले गरिब विधवाको उदाहरण दिनुभयो। ती विधवा भगवान्‌को डर नराख्ने न्यायाधीशकहाँ घरीघरी न्याय माग्न जान्थिन्‌। (लूका १८:१-३) त्यस न्यायाधीशले सुरुमा विधवाको कुरा सुन्‍न नमाने तापनि पछि तिनले यसो भने, “म त्यसको न्याय गरिदिनेछु, नत्रता मकहाँ धाएको धायै गरेर त्यसले मलाई बसीखान दिनेछैन।” (लूका १८:४, ५) मूल भाषामा चलाइएको यो पद हेर्ने हो भने त्यस न्यायाधीशले विधवाले आफ्नो “आँखामनि नहानोस्‌” अर्थात्‌ आफ्नो “बेइज्जत” नगरोस्‌ भनेर न्याय गरिदिएका थिए भनेर लेखिएको पाउँछौं।c यस्तो ढुङ्‌गाको जस्तो मन भएको न्यायाधीशले त अरूले के सोच्लान्‌ भनेर गरिब विधवालाई मदत गरे भने मायालु भगवान्‌ले मदत गर्नुहुन्‍न होला र? हो, उहाँले “दिनरात पुकार्ने”-हरूको बिन्ती सुन्‍नुहुन्छ। भगवान्‌ले ‘तुरुन्तै न्याय गरिदिनुहुनेछ’ भनी येशूले पनि बताउनुभएको छ।—लूका १८:६-८.

“मागिरहो अनि तिमीहरूलाई दिइनेछ।”—लूका ११:९.

यहोवासित मदत माग्दा-माग्दा कहिलेकाहीं हामी थाक्न सक्छौं तर लत्तो छोड्‌नु हुँदैन। निरन्तर प्रार्थना गरेर हामी भगवान्‌को मदत पाउन साँच्चै इच्छुक छौं भनेर देखाउन सक्छौं। त्यतिमात्र होइन यहोवाले कसरी हाम्रो प्रार्थनाको जवाफ दिनुभएको छ, त्यो बुझ्ने प्रयास पनि हामीले गर्नुपर्छ। यसो गऱ्‍यौं भने हामी उहाँसित घनिष्ठ हुन सक्नेछौं। हो, हामीले विश्‍वाससहित उचित कुराको लागि प्रार्थना गरेका छौं भने यहोवाले पक्कै पनि त्यसको जवाफ दिनुहुनेछ।—लूका ११:९.

a भगवान्‌ले हाम्रो पुकारा सुनेको चाहन्छौं भने उहाँलाई मनपर्ने तरिकामा प्रार्थना गरेको हुनै पर्छ। यसरी प्रार्थना गरेका छौं भने प्रार्थनामा कति शक्‍ति हुन्छ भनेर देख्नेछौं। यो कुरा हामी यस लेखमा पनि चर्चा गर्नेछौं। यससम्बन्धी थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय १७ हेर्नुहोस्‌।

b बाइबलमा भगवान्‌को नाम यहोवा हो भनेर बताइएको छ।

c बाइबल लेखिएको समयमा, इस्राएलका न्यायाधीशहरूले विधवा र अनाथहरूलाई विशेष ध्यान देओस्‌ भनी भगवान्‌ चाहनुहुन्थ्यो।—व्यवस्था १:१६, १७; २४:१७; भजन ६८:५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने