प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 ७/१५ pp. १२-१६
  • यहोवाका सेवकहरू ‘कुकर्म त्याग्छन्‌’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाका सेवकहरू ‘कुकर्म त्याग्छन्‌’
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • खराबीबाट ‘पर हट्‌नुहोस्‌’
  • “मूर्खता अनि अज्ञानताले भरिएका सवालजबाफमा नमुछिऊ”
  • नराम्रो सङ्‌गतबाट टाढै बस्नुहोस्‌!
  • कुकर्म त्याग्नेलाई यहोवा आशिष्‌ दिनुहुन्छ
  • “आफ्ना जतिलाई यहोवा चिन्‍नुहुन्छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • प्रेम साँचो ख्रिष्टियनहरूको चिनारी हो—सत्यमा खुसी हुनुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • तिनीहरूले यहोवा परमेश्‍वरको विरोध गरे
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • “प्रेम . . . कुकर्ममा खुसी हुँदैन”
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 ७/१५ pp. १२-१६
धर्ती फाटेर दातान, अबिराम र तिनीहरूका परिवार पुरिंदै

यहोवाका सेवकहरू ‘कुकर्म त्याग्छन्‌’

“यहोवाको नाम लिने जति सबैले कुकर्म त्यागून्‌।”—२ तिमो. २:१९.

तपाईं कसरी जवाफ दिनुहुन्छ?

  • कुन कुराले ‘मूर्खताले भरिएका सवालजबाफ’ गर्ने हदसम्म पुऱ्‍याउन सक्छ अनि हामी कसरी त्यसबाट जोगिन सक्छौं?

  • नराम्रो सङ्‌गतको विषयमा हामी कसरी ‘कुकर्म त्याग्न’ सक्छौं?

  • ‘कुकर्मलाई त्याग्ने’ विषयमा हामी कसरी दृढ कदम चाल्न सक्छौं?

१. हाम्रो उपासनामा कुन कुराले विशेष ठाउँ ओगटेको छ?

संसारका विभिन्‍न ठाउँका भवनहरूमा र सङ्‌ग्रहालयमा राखिएका थुप्रै सरसामानमा यहोवा नाम कुँदिएको छ। तपाईंले पनि त्यस्ता ठाउँमा यहोवा नाम देख्नुभएको थियो कि? देख्नुभएको थियो भने एकदमै खुसी हुनुभयो होला। हुन पनि परमेश्‍वरको व्यक्‍तिगत नामले हाम्रो उपासनामा विशेष ठाउँ ओगटेको छ। हामी यहोवाका साक्षीहरू हौं। संसारको कुनै पनि समूहले परमेश्‍वरको नामले चिनिने सुअवसर पाएका छैनन्‌। तर यहोवाको नामले चिनिने सुअवसरका साथै जिम्मेवारी पनि आइपर्छ।

२. यहोवाको नामले चिनिने सुअवसरका साथै कस्तो जिम्मेवारी आइपर्छ?

२ परमेश्‍वरको नाम प्रयोग गर्दैमा उहाँको अनुमोदन पाउँछौं भन्‍ने त छैन। हामी यहोवाको नैतिक स्तरअनुरूप चल्नै पर्छ। बाइबलले पनि परमेश्‍वरका सेवकहरू ‘खराबीबाट हट्‌नै पर्छ’ भनेको छ। (भज. ३४:१४) हाम्रो यो जिम्मेवारी पावलले यी शब्दहरूद्वारा स्पष्ट पारे, “यहोवाको नाम लिने जति सबैले कुकर्म त्यागून्‌।” (२ तिमोथी २:१९ पढ्‌नुहोस्‌) हामी यहोवाको साक्षी भएकोले उहाँको नाम लिने व्यक्‍तिको रूपमा चिनिएका छौं। तर हामी कसरी कुकर्म त्याग्न सक्छौं?

खराबीबाट ‘पर हट्‌नुहोस्‌’

३, ४. कसै-कसैलाई कुन शब्दहरू बुझ्न गाह्रो भएको छ र किन?

३ दोस्रो तिमोथी २:१९ मा पावलले लेखेका शब्दहरूको सन्दर्भ विचार गरौं। उक्‍त पदमा “परमेश्‍वरको बलियो जग”-बारे चर्चा गरिएको छ, त्यसपछि त्यसमा कुँदिएका दुइटा वचनबारे बताइएको छ। पहिलो, “आफ्ना जतिलाई यहोवा चिन्‍नुहुन्छ।” यो वचन गन्ती १६:५ बाट उद्धृत गरिएको हो। (अघिल्लो लेख हेर्नुहोस्‌) दोस्रो, “यहोवाको नाम लिने जति सबैले कुकर्म त्यागून्‌।” कसै-कसैलाई यो दोस्रो भाग बुझ्न गाह्रो भएको छ। किन?

४ पावलले प्रयोग गरेका शब्दहरू विचार गर्दा तिनले ती शब्दहरू हिब्रू धर्मशास्त्रको अर्कै भागबाट लिएका हुन्‌ कि जस्तो देखिन्छ। तर ती शब्दहरू हिब्रू धर्मशास्त्रको कुनै पनि पदसित मेल खाँदैन जस्तो छ। त्यसोभए तिनले “यहोवाको नाम लिने जति सबैले कुकर्म त्यागून्‌” भन्दा के भन्‍न खोज्दै थिए? पावलले यसअघि भनेका शब्दहरू गन्ती १६ अध्यायबाट लिएका हुन्‌। त्यसमा कोरहको विद्रोहबारे उल्लेख गरिएको छ। के दोस्रो वाक्य पनि त्यही घटनासित सम्बन्धित छ त?

५-७. पावलले २ तिमोथी २:१९ मा मोशाको समयको कुन घटनाबारे बताउन खोज्दै थिए? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

५ एलीआबका छोराहरू दातान र अबिरामले कोरहलाई साथ दिए अनि मोशा र हारून विरुद्ध उठे। (गन्ती १६:१-५) उनीहरूले मोशाको खुलेआम विरोध गरे र तिनले परमेश्‍वरबाट पाएको अख्तियारलाई तिरस्कार गरे। उनीहरूको कारणले गर्दा इस्राएलीहरूको आध्यात्मिक अवस्था पनि खतरामा पर्न सक्थ्यो। किनकि उनीहरू इस्राएलीहरूमाझ बस्दै थिए। आफ्ना वफादार उपासकहरू को हुन्‌ भनेर चिनाउनुअघि यहोवाले एउटा स्पष्ट आज्ञा दिनुभयो।

६ विवरण यस्तो छ, “परमप्रभुले मोशालाई भन्‍नुभयो, ‘यस समुदायलाई यसो भन्‌, “कोरह, दातान र अबीरामका पालको छेउ-छाउबाट पर हट।”’ तब मोशा उठेर कोरह, दातान र अबीरामका पालमा गए, औ इस्राएलका बूढा-प्रधानहरू पनि तिनका पछि लागे। अनि समुदायलाई तिनले भने, ‘कृपागरी यी दुष्ट मानिसहरूका पालबाट दूर हट, र तिनीहरूका केही कुरा पनि नछोओ, नत्रता यिनीहरूका सब पापमा तिमीहरू पनि भस्म हुनेछौ।’ यसैले कोहर, दातान र अबीरामका छेउछाउबाट तिनीहरू निस्के।” (गन्ती १६:२३-२७) त्यसपछि सबै विद्रोहीलाई यहोवाले नाश गर्नुभयो। तर उहाँप्रति वफादार व्यक्‍तिहरूले विद्रोहीहरूबाट पर हटेर ‘कुकर्म त्यागे’ र तिनीहरू बचाइए।

७ पावलले २ तिमोथी २:१९ मा “आफ्ना जतिलाई यहोवा चिन्‍नुहुन्छ” भन्दा गन्ती १६:५ उल्लेख गर्दै थिए। अनि तिनले “यहोवाको नाम लिने जति सबैले कुकर्म त्यागून्‌” भन्दा गन्ती १६:२३-२७ मा उल्लेख गरिएको घटनाबारे बताउन खोज्दै थिए। त्यसैले यी दुवै वाक्यले एउटै घटनालाई सङ्‌केत गर्दै थियो भन्‍नु तार्किक देखिन्छ। यी वाक्यहरूबाट हामी के सिक्न सक्छौं? यहोवा मानिसको मन पढ्‌न सक्नुहुन्छ। यहोवा आफ्ना वफादार जनहरूलाई चिन्‍नुहुन्छ र उनीहरूले कुकर्म त्यागेको चाहनुहुन्छ।—२ तिमो. २:१९.

“मूर्खता अनि अज्ञानताले भरिएका सवालजबाफमा नमुछिऊ”

८. यहोवाको नाम लिनु वा ख्रीष्टियन मण्डलीको भाग हुनुका साथै अरू के गर्नुपर्छ?

८ पावलले मोशाको समयको घटनाबारे उल्लेख गर्दै तिमोथीलाई यहोवासितको सम्बन्ध बलियो बनाउन सल्लाह दिंदै थिए। मोशाको समयमा यहोवाको नाम लिएर मात्र पुग्दैनथ्यो। त्यसैगरि हामी ख्रीष्टियन मण्डलीको सदस्य भएर मात्र पुग्दैन। वफादार उपासकहरूले कुकर्म त्याग्नुपर्छ। यसले तिमोथीको लागि कस्तो अर्थ राख्थ्यो? अनि पावलको सल्लाहबाट आज हामीले कस्तो पाठ सिक्न सक्छौं?

९. “अज्ञानताले भरिएका सवालजबाफ”-ले प्रथम शताब्दीका ख्रीष्टियन मण्डलीलाई कसरी असर गऱ्‍यो?

९ तिमोथीलाई लेखेको पत्रमा पावलले कुकर्म त्याग्न बुद्धिमानी सल्लाह दिए। उदाहरणको लागि, पावलले तिमोथीलाई ‘शब्दहरूको विषयमा झगडा गर्नु’ गलत हो भने अनि ‘खोक्रा बोलीहरूबाट टाढै बस्न’ सल्लाह दिए। (२ तिमोथी २: १४, १६, २३ पढ्‌नुहोस्‌) यी शब्दहरूको अर्थ के हो? मण्डलीका केही सदस्यले धर्मत्यागी शिक्षाहरू सिकाउँदै थिए। अरू कतिले भने विवादास्पद शिक्षा फैलाइरहेका थिए। यस्ता विवादास्पद शिक्षा बाइबलसित सीधै नबाझिए तापनि यसले मण्डलीको एकतामा असर गऱ्‍यो। त्यसैले पावलले तिमोथीलाई “मूर्खता अनि अज्ञानताले भरिएका सवालजबाफमा नमुछिऊ” भनी सल्लाह दिए।

१०. धर्मत्यागी शिक्षालाई हामीले के गर्नुपर्छ?

१० मण्डलीमा धर्मत्यागीहरू हुन्छन्‌ नै भन्‍ने त छैन। तर धर्मशास्त्रसित मेल नखाने शिक्षाहरू सुन्दा त्यसलाई इन्कार गर्न कदम चाल्नुपर्छ, चाहे त्यस्तो शिक्षा जुनसुकै माध्यमबाट आएको किन नहोस्‌। धर्मत्यागी शिक्षा मानिसबाट आएको होस्‌ वा कुनै सञ्चार माध्यमबाट, ती कुराहरू सुन्‍नु बुद्धिमानी होइन। हुन त हामी मदत गर्ने उद्देश्‍यले त्यस्ता मानिसहरूसित कुरा गर्छौं होला। तर यसो गर्दा हामी परमेश्‍वरप्रति अनाज्ञाकारी भइरहेका हुन्छौं। हो, उहाँले धर्मत्यागलाई इन्कार गर्ने आज्ञा दिनुभएको छ।

यहोवाका साक्षीहरूलाई विवादमा मुछिन प्रलोभन दिंदै धर्मत्यागीहरू

धर्मत्यागीहरूसित वाद विवाद नगर्नुहोस्‌ (अनुच्छेद १० हेर्नुहोस्‌)

११. कुन कुराले गर्दा ‘मूर्खताले भरिएका सवालजबाफ’ उठ्‌न सक्छ अनि एल्डरहरूले कसरी राम्रो उदाहरण बसाल्न सक्छन्‌?

११ धर्मत्यागबाहेक मण्डलीको शान्ति खलबल्याउने अरू कुराहरू पनि छन्‌। उदाहरणको लागि, मनोरञ्जनसम्बन्धी विभिन्‍न धारणाले गर्दा “मूर्खता अनि अज्ञानताले भरिएका सवालजबाफ” उठ्‌न सक्छ। कसैले यहोवाको नैतिक स्तरसित मेल नखाने मनोरञ्जनमा भाग लिइरहेका छन्‌ भने ख्रीष्टियन एल्डरले ‘वाद विवाद नगरौं होला’ भनी यस्ता कुरा सहेर बस्दैनन्‌। (भज. ११:५; एफि. ५:३-५) तर एल्डरहरू आफ्नै विचार नलाद्‌न पनि होसियार हुन्छन्‌। तिनीहरू ख्रीष्टियन निरीक्षकलाई दिइएको यो सल्लाह वफादार भई पालन गर्छन्‌, “तिमीहरूको जिम्मामा सुम्पिइएको परमेश्‍वरको बगाललाई गोठालोले झैं हेरविचार गर, . . . परमेश्‍वरको सम्पत्तिमाथि हैकम जमाएर होइन तर बगालको उदाहरण भएर।”—१ पत्रु. ५:२, ३; २ कोरिन्थी १:२४ पढ्‌नुहोस्‌।

१२, १३. (क) यहोवाका साक्षीहरूले मनोरञ्जन छान्‍ने विषयमा कसरी निर्णय गर्न सक्छन्‌ अनि कस्ता बाइबल सिद्धान्तहरू लागू गर्न सक्छन्‌? (ख) अनुच्छेद १२ मा उल्लेख गरिएका सिद्धान्तहरू कस्ता व्यक्‍तिगत कुरामा पनि लागू गर्न सकिन्छ?

१२ कस्तो चलचित्र हेर्ने, कस्तो किताब पढ्‌ने अनि कस्तो गीत सुन्‍ने, त्यसबारे हाम्रो सङ्‌गठनले तोकेरै निर्देशन दिंदैन। किन? बाइबलले प्रत्येक व्यक्‍तिलाई ‘सही र गलत छुट्ट्याउन’ आफ्नो अन्तस्करणलाई तालिम दिन प्रोत्साहन दिन्छ। (हिब्रू ५:१४) मनोरञ्जन छान्दा ख्रीष्टियनहरूले विचार गर्नुपर्ने केही सिद्धान्तहरू बाइबलमा पाइन्छ। जीवनको हरेक क्षेत्रमा “प्रभुलाई के स्वीकार्य छ, त्यो पक्का” गर्नु आवश्‍यक छ। (एफि. ५:१०) बाइबलले परिवारको शिरसँग केही मात्रामा अख्तियार हुन्छ भनेर बताएको छ। त्यसैले परिवारको शिरको हैसियतमा आफ्नो परिवारलाई कुनै खास प्रकारको मनोरञ्जन गर्न रोक लगाउने निर्णय तिनले गर्न सक्छन्‌।a—१ कोरि. ११:३; एफि. ६:१-४

१३ माथि उल्लेख गरिएका बाइबल सिद्धान्तहरू मनोरञ्जन छान्‍ने सन्दर्भमा मात्र लागू हुँदैन। उदाहरणको लागि पहिरन र कोरीबाटी, स्वास्थ्य र पोषण अनि अन्य व्यक्‍तिगत कामकुराबारे प्रत्येकको विचार फरक-फरक हुन सक्छ। कसै-कसैले अरूमाथि आफ्नो विचार थोपर्न खोज्छन्‌ र यसले मतभिन्‍नता ल्याउन सक्छ। तर बाइबल सिद्धान्त उल्लङ्‌घन हुँदैन भने ख्रीष्टियनहरूले विवाद गरिरहनुपर्ने कुनै कारण छैन। बाइबल भन्छ, “प्रभुको दासले झगडा गर्नुहुँदैन, बरु ऊ यस्तो मानिस हुनुपर्छ, जसले सबैसित कोमल व्यवहार गर्छ।”—२ तिमो. २:२४.

नराम्रो सङ्‌गतबाट टाढै बस्नुहोस्‌!

१४. नराम्रो सङ्‌गतबाट टाढै बस्न पावलले कस्तो उदाहरण दिए?

१४ ‘यहोवाको नाम लिने जतिले’ अरू कुन तरिकामा ‘कुकर्म त्याग्न’ सक्छन्‌? नराम्रो सङ्‌गतबाट टाढै बसेर। पावलले यो कुरालाई कसरी बुझाए? “परमेश्‍वरको बलियो जग”-बारे बताएपछि तिनले “ठूलो घर”-बारे बताए। त्यहाँ “सुन र चाँदीका भाँडाहरू मात्र होइन, काठ र माटोका भाँडाहरू पनि हुन्छन्‌, कुनै आदरणीय प्रयोगका लागि त कुनै मामुली कामका लागि।” (२ तिमो. २:२०, २१) पावलले ख्रीष्टियनहरूलाई “मामुली” कामका लागि छुट्ट्याइएका “भाँडा”-बाट टाढै बस्न सल्लाह दिए।

१५, १६. “ठूलो घर”-को उदाहरणबाट हामी के सिक्न सक्छौं?

१५ यो उदाहरणमा के भन्‍न खोजिएको हो? पावलले ख्रीष्टियन मण्डलीलाई “ठूलो घर”-सित अनि मण्डलीका प्रत्येक सदस्यलाई “भाँडाहरू”-सित तुलना गरे। फोहोर भाँडाहरूलाई कसैले पनि सफा भाँडासँग खप्टाएर राख्दैन। फोहोर भाँडालाई अलग्गै राखिन्छ।

१६ त्यसैगरि यहोवाका साक्षीहरू जीवनको हरेक पक्षमा स्वच्छ हुने प्रयास गर्छन्‌। मण्डली भित्रै पनि यहोवाको सिद्धान्तलाई जानाजानी बेवास्ता गर्ने व्यक्‍तिहरू हुन सक्छन्‌। त्यस्ता व्यक्‍तिहरूसित हामी अत्यन्तै घनिष्ठ हुनु हुँदैन। (१ कोरिन्थी १५:३३ पढ्‌नुहोस्‌) मण्डली भित्रै त सङ्‌गत छान्‍ने विषयमा होसियार हुनुपर्छ भने मण्डली बाहिरका व्यक्‍तिहरूसित ‘अलग बस्नु’ झन्‌ कत्ति आवश्‍यक छ! मण्डली बाहिरका थुप्रैले ‘पैसालाई प्रेम गर्ने, आमाबाबुको आज्ञा पालन नगर्ने, विश्‍वासघाती, निन्दक, निष्ठुर, भलाइलाई प्रेम नगर्ने, धोकेबाज परमेश्‍वरलाई भन्दा सुखविलासलाई प्रेम गर्ने’ गर्छन्‌।—२ तिमो. ३:१-५

कुकर्म त्याग्नेलाई यहोवा आशिष्‌ दिनुहुन्छ

१७. कुकर्म त्याग्ने विषयमा इस्राएलीहरूले कस्तो कदम चाले?

१७ “कोरह, दातान र अबीरामका पालको छेउ-छाउबाट पर हट” भनिंदा विश्‍वासी ‘इस्राएलीहरू [“तुरुन्तै,” NW] निस्के।’ (गन्ती १६:२४, २७) तिनीहरू हिचकिचाएनन्‌ अनि आलेटाले पनि गरेनन्‌। तिनीहरू “छेउछाउबाट” पनि निस्के। ती वफादार व्यक्‍तिहरूले कुनै खतरा मोल्न चाहेनन्‌। तिनीहरू मनैदेखि आज्ञाकारी भए। तिनीहरू यहोवाको पक्षमा खडा भए र कुकर्म त्यागे। यस उदाहरणबाट हामी के सिक्न सक्छौं?

१८. पावलले तिमोथीलाई “युवावस्थामा उत्पन्‍न हुने इच्छाहरूदेखि भाग” भनेर के भन्‍न खोज्दै थिए?

१८ यहोवासितको हाम्रो मित्रता जोगाउने विषयमा पनि यसरी नै तुरुन्तै कदम चाल्नुपर्छ। पावलले तिमोथीलाई “युवावस्थामा उत्पन्‍न हुने इच्छाहरूदेखि भाग” भन्दा यसै भन्‍न खोज्दै थिए। (२ तिमो. २:२२) यतिबेला तिमोथी सायद ३० वर्ष नाघिसकेका थिए। तर “युवावस्थामा उत्पन्‍न हुने इच्छाहरू”-लाई उमेरले छेक्दैन। त्यसैले तिमोथी त्यस्ता इच्छाहरूबाट ‘भाग्नुपर्थ्यो।’ अर्को शब्दमा भन्‍नुपर्दा तिमोथीले ‘कुकर्म त्याग्नुपर्थ्यो।’ येशूले पनि यसो भन्‍नुभयो, “यदि तिम्रो आँखाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई निकालेर फालिदेऊ।” (मत्ती १८:९) यो आज्ञा पालन गर्न चाहने र यहोवासितको सम्बन्ध जोगाउन चाहने ख्रीष्टियनले तुरुन्तै कदम चाल्नुपर्छ।

१९. कसै-कसैले यहोवासितको आफ्नो सम्बन्धलाई कसरी जोगाएका छन्‌?

१९ पहिला पिउने बानी भएका कसै-कसैले साक्षी भएपछि पिउँदै नपिउने निर्णय गरेका छन्‌। कतिले भने गलत चाहनालाई बढावा दिने मनोरञ्जनमा भाग नलिने छनौट गरेका छन्‌। (भज. १०१:३) उदाहरणको लागि, साक्षी हुनुअघि एक भाइ नाचगान हुने ठाउँमा गइरहन्थे। त्यहाँको वातावरण अनैतिक हुन्थ्यो। सत्य सिकिसकेपछि तिनले साक्षीहरूको जमघटमा समेत ननाँच्ने निर्णय गरे। तिनलाई अनुचित चाहना उर्लेर आउने हो कि भन्‍ने डर थियो। यसको अर्थ ख्रीष्टियनहरूले रक्सी छुनै हुँदैन, नाँच्नै हुँदैन भन्‍ने त होइन। अथवा केही कुरा आफैमा गलत छैन भने त्यसलाई त्याग्नै पर्छ भन्‍ने पनि होइन। तर हामी सबै होसियार हुनुपर्छ अनि यहोवासितको सम्बन्धलाई जोगाइराख्नुपर्छ।

२०. ‘कुकर्म त्याग्न’ सजिलो नभए पनि हामीलाई कुन कुराले सान्त्वना दिन्छ?

२० परमेश्‍वरको नामले चिनिने सुअवसरसँगै जिम्मेवारी पनि आउँछ। हामीले ‘कुकर्म त्याग्नुपर्छ’ र ‘खराबीबाट हट्‌नुपर्छ।’ (भज. ३४:१४) हुन त यसो गर्नु सधैं सजिलो हुँदैन। तर यहोवा “आफ्ना जतिलाई” अर्थात्‌ उहाँको आज्ञा मान्‍नेहरूलाई प्रेम गर्नुहुन्छ भन्‍ने कुराले हामीलाई सान्त्वना दिन्छ।—२ तिमो. २:१९; २ इतिहास १६:९क पढ्‌नुहोस्‌।

a हाम्रो वेब साइटबाट हाम्रो बारेमा > अक्सर सोधिने प्रश्‍नहरू अन्तर्गत “तपाईंहरू कुनै खास चलचित्र, किताब र गीतमाथि प्रतिबन्ध लगाउनुहुन्छ रे, हो?” भन्‍ने लेख हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने