प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 ११/१५ pp. २१-२५
  • ‘छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नुहोस्‌’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नुहोस्‌’
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आफ्नो पति वा पत्नीलाई प्रेम गर्नुहोस्‌
  • मण्डलीका दाजुभाइ दिदीबहिनीलाई प्रेम गर्नुहोस्‌
  • “ठूलो भीड”-लाई जम्मा गरिंदै छ
  • प्रचारमा भेटिने मानिसहरूलाई प्रेम गर्नुहोस्‌
  • आफ्नो छिमेकीलाई माया गर्नुको अर्थ के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • “तिमीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • तपाईंको प्रेम कत्तिको व्यापक छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • तपाईंलाई माया गर्ने परमेश्‍वरलाई माया गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 ११/१५ pp. २१-२५
हिलोमा फसेको गाडी निकाल्दै गरेका केही मानिसहरू

‘छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नुहोस्‌’

“तिमीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।”—मत्ती २२:३९.

गीत: ७३, ३६

के तपाईं जवाफ दिन सक्नुहुन्छ?

  • हामीले अरूलाई किन यहोवाले जस्तै प्रेम गर्नुपर्छ?

  • पतिपत्नीबीच प्रेम हुनु किन जरुरी छ?

  • यहोवाका सेवकहरूले मण्डलीका दाजुभाइ दिदीबहिनीलाई र अरूलाई प्रेम गरेको कसरी देखाएका छन्‌?

१, २. अरूलाई प्रेम गर्नुपर्ने विषयमा बाइबलले के भन्छ?

यहोवा परमेश्‍वरको सबैभन्दा मुख्य गुण प्रेम नै हो। (१ यूह. ४:१६) यहोवाको पहिलो सृष्टि येशूले उहाँसित स्वर्गमा युगौंयुग समय बिताउनुभयो र उहाँले जस्तै अरूलाई प्रेम गर्न सिक्नुभयो। (कल. १:१५) स्वर्गमा हुँदा र पृथ्वीमा छँदा येशूले आफ्नो बोली र व्यवहारद्वारा यहोवा मायालु परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरा देखाउनुभयो। भनौं भने उहाँले अरूलाई आफ्नो बुबाले जस्तै माया गर्नुहुन्थ्यो। त्यसकारण यहोवा र येशूको शासनको विशेष पक्ष प्रेम नै हुनेछ भनेर हामी ढुक्क छौं।

२ एक जना शास्त्रीले व्यवस्थाको सबैभन्दा ठूलो आज्ञा कुन हो भनेर सोध्दा येशूले यस्तो जवाफ दिनुभयो: “‘तिमीले यहोवा तिम्रा परमेश्‍वरलाई आफ्नो सारा मनले, आफ्नो सारा ज्यानले र आफ्नो सारा दिमागले प्रेम गर्नू।’ यो नै सबैभन्दा ठूलो र पहिलो आज्ञा हो। दोस्रोचाहिं यही हो: ‘तिमीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।’”—मत्ती २२:३७-३९.

३. हाम्रा “छिमेकी” को हुन्‌?

३ रोचक कुरा के छ भने, येशूले छिमेकीलाई प्रेम गर्नू भन्‍ने आज्ञालाई दोस्रो सबैभन्दा ठूलो आज्ञाको रूपमा उल्लेख गर्नुभयो। त्यसोभए हाम्रा “छिमेकी” को हुन्‌? हामी विवाहित हौं भने, पति वा पत्नी नै हाम्रो सबैभन्दा नजिकको छिमेकी हो। हामीसँगै यहोवाको उपासना गर्ने दाजुभाइ दिदीबहिनी पनि हाम्रा छिमेकी हुन्‌। प्रचारमा भेटिने मानिसहरू पनि छिमेकी नै हुन्‌। त्यसकारण हामीले सबै मानिसलाई प्रेम गर्नुपर्छ। यहोवाको उपासना गर्ने र येशूको शिक्षाअनुसार चल्ने मानिसहरूले छिमेकीलाई कसरी प्रेम गर्छन्‌?

आफ्नो पति वा पत्नीलाई प्रेम गर्नुहोस्‌

४. वैवाहिक जीवनलाई कसरी सुखी बनाउन सकिन्छ?

४ यहोवाले पहिलो मानव आदम र हव्वालाई सृष्टि गर्नुभयो र उनीहरूको मिलन गराइदिनुभयो। मानव इतिहासको पहिलो विवाह त्यही नै हो। तिनीहरू खुसी भएको, तिनीहरूले आपसमा अटुट सम्बन्ध गाँसेको र सन्तान जन्माएर पृथ्वी भरेको यहोवा चाहनुहुन्थ्यो। (उत्प. १:२७, २८) तर तिनीहरूले यहोवाको विरोध गरेकोले तिनीहरूको वैवाहिक जीवनमा कालो बादल मडारियो। तिनीहरूले मानवजातिलाई पाप र मृत्युको दलदलमा धकेले। (रोमी ५:१२) तर खुसीको कुरा, वैवाहिक जीवन अहिले पनि सुखी हुन सक्छ। कसरी? यहोवाले दिनुभएका सल्लाह-सुझावहरू लागू गरेर। बाइबलले वैवाहिक जीवनको लागि सबैभन्दा राम्रो निर्देशन दिन्छ किनकि ती निर्देशन दिने व्यक्‍ति विवाहको सुरुवातकर्ता यहोवा नै हुनुहुन्छ।—२ तिमोथी ३:१६, १७ पढ्‌नुहोस्‌।

५. पतिपत्नीबीच प्रेम हुनु किन जरुरी छ?

५ राम्रो सम्बन्ध गाँस्न आपसमा न्यानो र गहिरो प्रेम नभई हुँदैन। वैवाहिक जीवनको सन्दर्भमा पनि कुरा त्यही हो। प्रेषित पावलले साँचो प्रेमबारे मण्डलीलाई यसो भने: “प्रेम धीरजी र दयालु हुन्छ। प्रेमले डाह गर्दैन, फुर्ती लगाउँदैन, घमन्डले फुल्दैन, अभद्र व्यवहार गर्दैन, आफ्नै फाइदा खोज्दैन, आवेशमा आउँदैन। यसले खराबीको हिसाब राख्दैन। यो कुकर्ममा खुसी हुँदैन तर सत्यमा खुसी हुन्छ। यसले सबै कुरा खप्छ, सबै कुरा पत्यार गर्छ, सबै कुराको आशा गर्छ र सबै कुरा सहन्छ। प्रेम कहिल्यै अन्त हुँदैन।” (१ कोरि. १३:४-८) यो सल्लाह मनन गर्नुका साथै लागू गर्दा वैवाहिक जीवन अवश्‍य सुखमय हुन्छ।

पत्नीलाई लुगा धुन मदत गर्दै एक पति

परमेश्‍वरको वचनले वैवाहिक जीवन सुखमय बनाउन मदत गर्छ (अनुच्छेद ६, ७ हेर्नुहोस्‌)

६, ७. (क) बाइबलले शिरत्वबारे के भनेको छ? (ख) पतिले आफ्नी पत्नीलाई कस्तो व्यवहार गर्नुपर्छ?

६ यहोवाले मानिसजातिलाई शिरत्वको सिद्धान्त पनि दिनुभएको छ। यो सिद्धान्तबारे पावलले यसो भने: “तिमीहरूले यो कुरा बुझ भनी म चाहन्छु, हरेक पुरुषको शिर ख्रीष्ट हुनुहुन्छ; त्यसैगरि स्त्रीको शिर पुरुष अनि ख्रीष्टको शिर परमेश्‍वर हुनुहुन्छ।” (१ कोरि. ११:३) यो सिद्धान्त पालन गर्न प्रेम नभई हुँदैन। शिरको भूमिका निभाउनु भनेको आफ्नो अधीनमा भएको व्यक्‍तिमाथि हैकम चलाउनु होइन। जस्तै: यहोवाले येशूसित दयालु र निःस्वार्थ व्यवहार गर्नुहुन्छ। यसले गर्दा येशूलाई उहाँको अधीनमा बस्न सजिलो लाग्छ। येशू यहोवाको अख्तियारको कदर गर्नुहुन्छ। एकपटक उहाँले यसो भन्‍नुभयो: “बुबालाई म प्रेम गर्छु।” (यूह. १४:३१) यहोवाले रूखो वा कठोर व्यवहार गर्नुभएको भए येशूले आफ्नो बुबाबारे त्यसो भन्‍नुहुन्थ्यो होला र?

७ पत्नीको शिर पति भए तापनि बाइबलले तिनलाई पत्नीको ‘आदर गर्न’ सल्लाह दिएको छ। (१ पत्रु. ३:७) पतिले आफ्नी पत्नीलाई कसरी आदर गर्न सक्छन्‌? एउटा तरिका भनेको, उनको आवश्‍यकता बुझेर त्यसलाई पूरा गर्नु र कुनै-कुनै मामिलामा आफ्नो इच्छालाई भन्दा उनको इच्छालाई प्राथमिकता दिनु हो। हुन पनि बाइबलले यस्तो सल्लाह दिएको छ: “हे पतिहरू हो, आ-आफ्नो पत्नीलाई प्रेम गरिरहो, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसका निम्ति आफैलाई अर्पण गर्नुभयो।” (एफि. ५:२५) हो, येशूले चेलाहरूको लागि आफ्नो जीवनै दिनुभयो। पतिले येशू जस्तै मायालु भएर शिरको भूमिका निभाउँदा पत्नीले तिनलाई माया र आदर गर्नेछिन्‌ अनि तिनको अधीनमा बस्नेछिन्‌।—तीतस २:३-५ पढ्‌नुहोस्‌।

मण्डलीका दाजुभाइ दिदीबहिनीलाई प्रेम गर्नुहोस्‌

८. परमेश्‍वरका उपासकहरूले एकअर्कासित कस्तो व्यवहार गर्नुपर्छ?

८ संसारभरि लाखौं मानिसले यहोवाको उपासना गरिरहेका छन्‌। उनीहरूले यहोवाको नाम र उहाँको उद्देश्‍यको विषयमा मानिसहरूलाई साक्षी दिने सुअवसर पाएका छन्‌। त्यसोभए परमेश्‍वरका प्रत्येक उपासकले एकअर्कासित कस्तो व्यवहार गर्नुपर्छ? परमेश्‍वरको वचनले यस्तो जवाफ दिन्छ: “आओ, हामी सबैको भलाइ गरौं, अझ विशेष गरी एउटै विश्‍वास हुने हाम्रा भाइबहिनीहरूको।” (गला. ६:१०; रोमी १२:१० पढ्‌नुहोस्‌) प्रेषित पत्रुसले पनि यस्तो लेखे: “सत्यको वचन पालन गरेर तिमीहरूले आफूलाई शुद्ध पारेको हुनाले अब निष्कपट भ्रातृस्नेह देखाओ।” तिनले यसो पनि भने: “विशेष गरी आपसमा प्रगाढ प्रेम गर।”—१ पत्रु. १:२२; ४:८.

९, १०. परमेश्‍वरका उपासकहरूबीच एकता हुनुको कारण के हो?

९ संसारमा यहोवाको जस्तो सङ्‌गठन छँदै छैन। हामी किन त्यसो भन्‍न सक्छौं? यो सङ्‌गठनका सदस्यहरू एकअर्कालाई मनैदेखि प्रेम गर्छन्‌। उनीहरू यहोवालाई पनि प्रेम गर्छन्‌ र उहाँका आज्ञाहरू पालन गर्छन्‌। त्यसकारण यहोवाले उनीहरूलाई ब्रह्‍माण्डको सबैभन्दा सक्रिय शक्‍ति अर्थात्‌ पवित्र शक्‍ति दिनुभएको छ। पवित्र शक्‍तिको मदतले गर्दा तिनीहरूले आपसमा एकता कायम गर्न सकेका हुन्‌।—१ यूहन्‍ना ४:२०, २१ पढ्‌नुहोस्‌।

१० ख्रीष्टियनहरूमाझ प्रेम हुनुपर्छ भन्‍ने कुरालाई जोड दिंदै पावलले यस्तो लेखे: “कोमल करुणा, दया, विनम्रता, कोमलता र धीरज धारण गर। यदि कसैसित केही गुनासो छ भने एक-अर्कालाई सहिरहो अनि खुला मनले क्षमा गरिरहो। यहोवाले तिमीहरूलाई खुला मनले क्षमा गर्नुभएजस्तै तिमीहरूले पनि क्षमा गर। तर यी कुराहरू गर्नुको अलावा प्रेम धारण गर, किनकि यो मानिसहरूलाई पूर्ण एकतामा गाँस्ने बन्धन हो।” (कल. ३:१२-१४) हामी जस्तोसुकै रहनसहन वा वातावरणमा हुर्केको भए पनि वा जुनसुकै देशको भए पनि हामी “पूर्ण एकतामा गाँस्ने बन्धन”-मा बाँधिएका छौं; हामीबीच प्रेम छ। यस्तो सङ्‌गठनको भाग हुन पाएकोमा के तपाईं गर्व गर्नुहुन्‍न र?

११. परमेश्‍वरका उपासकहरूबीच भएको साँचो प्रेम र एकताले कुन कुरा प्रस्ट पार्छ?

११ परमेश्‍वरका उपासकहरूबीच भएको साँचो प्रेम र एकताले साँचो धर्म मान्‍ने मानिसहरू तिनीहरू नै हुन्‌ भन्‍ने कुरा प्रस्ट पार्छ। किनकि येशूले यसो भन्‍नुभएको थियो: “तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्‌।” (यूह. १३:३४, ३५) प्रेषित यूहन्‍नाले पनि यसो भनेका थिए: “परमेश्‍वरका सन्तान र दियाबलका सन्तान यसैबाट प्रस्ट हुन्छ: हरेक जसले परमेश्‍वरको स्तरबमोजिम असल काम गरिरहँदैन, ऊ परमेश्‍वरको होइन अनि जसले आफ्नो भाइलाई प्रेम गर्दैन, ऊ पनि परमेश्‍वरको होइन। किनकि तिमीहरूले सुरुदेखि नै सुनेको सन्देश यही हो, कि हामीसित एक-अर्काको निम्ति प्रेम हुनुपर्छ।” (१ यूह. ३:१०, ११) परमेश्‍वरका उपासकहरूले एकअर्कालाई प्रेम गर्ने भएकोले तिनीहरूबीच एकता छ। यसले गर्दा उनीहरू ख्रीष्टका साँचो चेलाहरू हुन्‌ र परमेश्‍वरले उनीहरूलाई नै पृथ्वीभरि सुसमाचार प्रचार गर्न चलाउँदै हुनुहुन्छ भनेर प्रस्ट हुन्छ।—मत्ती २४:१४.

“ठूलो भीड”-लाई जम्मा गरिंदै छ

१२, १३. अहिले “ठूलो भीड”-ले के गर्दै छ? ठूलो भीडका सदस्यहरूले अब चाँडै कुन कुरा अनुभव गर्नेछन्‌?

१२ यूहन्‍नाले दर्शनमा “हरेक राष्ट्र, कुल, जाति अनि भाषा”-बाट छानिएको एउटा “ठूलो भीड” देखे। तिनीहरू परमेश्‍वरको “सिंहासन र थुमाको [येशू ख्रीष्टको] अगाडि उभिरहेका” थिए। तिनीहरू को हुन्‌? तिनीहरू “महासङ्‌कष्ट पार गरेर आएका मानिसहरू हुन्‌ अनि . . . आ-आफ्नो लुगा थुमाको रगतमा धोएर सेता बनाएका छन्‌।” किनकि तिनीहरू येशूको फिरौतीको बलिदानमा विश्‍वास गर्छन्‌। अहिले परमेश्‍वरको अधिकांश सेवकहरू “ठूलो भीड”-का सदस्यहरू हुन्‌। तिनीहरू यहोवा र उहाँको छोरालाई प्रेम गर्छन्‌ र “दिनरात [परमेश्‍वरलाई] पवित्र सेवा चढाइरहेका छन्‌।”—प्रका. ७:९, १४, १५.

१३ अब चाँडै “महासङ्‌कष्ट” सुरु हुनेछ र परमेश्‍वरले दुष्टहरूलाई नाश गर्नुहुनेछ। (मत्ती २४:२१; यर्मिया २५:३२, ३३ पढ्‌नुहोस्‌) तर उहाँले आफ्ना सेवकहरूलाई भने सामूहिक रूपमा जोगाउनुहुनेछ र नयाँ संसारमा पुऱ्‍याउनुहुनेछ किनकि उहाँ तिनीहरूलाई माया गर्नुहुन्छ। लगभग २,००० वर्षअघि बाइबलमा यस्तो भविष्यवाणी गरिएको थियो: “[परमेश्‍वरले] तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ अनि मृत्यु हुनेछैन, न त फेरि कहिल्यै शोक, रुवाइ वा पीडा नै हुनेछ।” नयाँ संसारमा ‘अहिलेका कुराहरू बितिसकेका हुनेछन्‌।’ (प्रका. २१:४) के तपाईं त्यो सुन्दर संसारमा जीवन बिताउन उत्सुक हुनुहुन्‍न र?

१४. ठूलो भीडको वृद्धिबारे बताउनुहोस्‌।

१४ सन्‌ १९१४ मा अन्तको दिन सुरु हुँदा परमेश्‍वरका सेवकहरू केही हजार मात्र थिए। पृथ्वीमा बाँकी भएका ती थोरै अभिषिक्‍त ख्रीष्टियनहरूले पवित्र शक्‍तिको मदत पाएर जोडतोडले सुसमाचार प्रचार गरे। किनकि तिनीहरू छिमेकीलाई प्रेम गर्थे। त्यसरी जोडतोडले प्रचार गर्दा नतिजा कस्तो भयो? पृथ्वीमा अनन्त जीवन पाउने आशा राख्ने ठूलो भीडका सदस्यहरू सङ्‌गठनमा ओइरिन थाले। अहिले संसारभर लगभग ८० लाख साक्षी छन्‌ र तिनीहरूले १ लाख १५ हजार ४ सयभन्दा धेरै मण्डलीमा सङ्‌गत गरिरहेका छन्‌। वृद्धि हुने क्रम जारी नै छ। जस्तै: सन्‌ २०१४ सेवा वर्षमा २ लाख ७५ हजार ५ सय जनाले बप्तिस्मा गरे। यसको अर्थ प्रत्येक हप्ता औसतमा ५ हजार ३ सय जना यहोवाको सङ्‌गठनमा थपिने गर्छन्‌।

१५. राज्यको सुसमाचार व्यापक रूपमा प्रचार गर्न यहोवाको सङ्‌गठनले के गरिरहेको छ?

१५ राज्यको सुसमाचार व्यापक रूपमा प्रचार भइरहेको छ। अहिले बाइबलमा आधारित प्रकाशनहरू ७०० भन्दा धेरै भाषामा प्रकाशित हुन्छन्‌। संसारमा सबैभन्दा धेरै वितरण हुने पत्रिका प्रहरीधरहरा हो। यो पत्रिका हरेक महिना ५ करोड २० लाखभन्दा धेरै प्रति छापिन्छ र यो २४७ भाषामा उपलब्ध छ। बाइबल अध्ययन गर्न प्रयोग गरिने बाइबलले वास्तवमा के सिकाउँछ? किताब २५० भाषामा अनुवाद भएको छ। अहिलेसम्म यो किताब २० करोडभन्दा धेरै प्रति छापिसकेको छ।

१६. हाम्रो सङ्‌गठन झन्‌झनै ठूलो हुँदै जानुको कारण के हो?

१६ हाम्रो सङ्‌गठन झन्‌झनै ठूलो हुँदै जानुको कारण के हो? यहोवा साँचो परमेश्‍वर हुनुहुन्छ भनेर हामी विश्‍वास गर्छौं र बाइबल उहाँकै वचन हो भन्‍ने कुरा स्वीकार्छौं। (१ थिस्स. २:१३) यहोवाका सेवकहरू सङ्‌ख्यामा मात्र नभई आध्यात्मिक रूपमा पनि बढ्‌दै छन्‌। “यस युगको ईश्‍वर” सैतानले जत्ति नै विरोध वा सतावट ल्याए पनि उनीहरूको यो प्रगति रोकिएको छैन।—२ कोरि. ४:४.

प्रचारमा भेटिने मानिसहरूलाई प्रेम गर्नुहोस्‌

१७, १८. परमेश्‍वरको उपासना नगर्नेहरूलाई हामीले कस्तो व्यवहार गर्नुपर्छ?

१७ साँचो परमेश्‍वरको उपासना नगर्ने मानिसहरूलाई हामीले कस्तो व्यवहार गर्नुपर्छ? प्रचारमा हामी थरी-थरीका मानिसहरू भेट्‌छौं। कसैले सुसमाचार स्वीकार्छन्‌ त कसैले हाम्रो विरोध गर्छन्‌। तर मानिसहरूले जस्तोसुकै प्रतिक्रिया देखाए तापनि हामीले के गर्नुपर्छ भन्‍ने विषयमा परमेश्‍वरको वचन यसो भन्छ: “तिमीहरूको बोली सधैं नुनले स्वादिलो पारेको जस्तो दयालु होस्‌। यसो गऱ्‍यौ भने हरेकलाई तिमीहरूले कसरी जवाफ दिनुपर्ने हो, सो जान्‍नेछौ।” (कल. ४:६) कसैले हाम्रो आशाको कारणबारे सोध्यो भने तिनीहरूलाई जवाफ दिंदा हामीले “कोमल भाव र गहिरो आदर” देखाउनुपर्छ। किनकि तिनीहरू हाम्रा छिमेकी हुन्‌ र हामी तिनीहरूलाई प्रेम गर्छौं।—१ पत्रु. ३:१५.

१८ प्रचारमा घरधनीले हाम्रो सन्देश नसुन्लान्‌ अनि रिसको झोकमा हामीलाई गाली समेत गर्लान्‌। तैपनि हामी तिनीहरूलाई प्रेम देखाउन छोड्‌दैनौं। त्यस्तो अवस्थामा पनि हामी येशूको अनुकरण गर्छौं। “अरूले गाली गर्दा उहाँले गाली फर्काउनुभएन। आफूले दुःख भोग्नुपर्दा उहाँले धम्काउनुभएन, बरु उचित ढङ्‌गमा न्याय गर्न सक्नुहुनेको [यहोवाको] हातमा आफूलाई सुम्पनुभयो।” (१ पत्रु. २:२३) मण्डलीका दाजुभाइ दिदीबहिनीसित व्यवहार गर्दा होस्‌ वा अरूसित, हामी सधैं नम्र हुनुपर्छ। हामीले यो सल्लाह पालन गर्नुपर्छ: “खराबीको बदला खराबी नगर, गालीको सट्टा गाली नगर, बरु यसको ठीक विपरीत तिनीहरूलाई आशिष्‌ देओ।”—१ पत्रु. ३:८, ९.

१९. येशूले कुन सिद्धान्त बताउनुभयो?

१९ येशूले बताउनुभएको एउटा महत्त्वपूर्ण सिद्धान्त पालन गरेर परमेश्‍वरका सेवकहरूले आफू नम्र भएको देखाउँछन्‌। उहाँले यसो भन्‍नुभएको थियो: “तिमीहरूले यसो भनिएको सुनेका छौ: ‘तिमीले आफ्नो छिमेकीलाई प्रेम गर्नू र आफ्नो शत्रुलाई घृणा गर्नू।’ तर म तिमीहरूलाई भन्छु: आफ्ना शत्रुहरूलाई प्रेम गरिरहो र तिमीहरूको खेदो गर्नेहरूका लागि प्रार्थना गरिरहो। यसरी तिमीहरू स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाका छोराहरू बन्‍न सक्नेछौ, किनकि उहाँले खराब र असल दुवैमाथि घाम लगाइदिनुहुन्छ अनि भला र दुष्ट दुवैमाथि पानी वर्षाउनुहुन्छ।” (मत्ती ५:४३-४५) मानिसहरूले हामीसित जस्तोसुकै व्यवहार किन नगरून्‌, “शत्रुहरूलाई प्रेम गरिरहो” भनी येशूले दिनुभएको आज्ञा हामीले पालन गर्नै पर्छ।

२०. नयाँ समाजमा यहोवा र छिमेकीलाई प्रेम गर्ने मानिसहरू मात्र हुनेछन्‌ भनेर किन भन्‍न सक्छौं? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌)

२० जीवनको हर क्षेत्रमा यहोवा अनि छिमेकीलाई प्रेम गरेको कुरा हाम्रो सोचाइ र व्यवहारमा देखिएको हुनै पर्छ। जस्तै: कसैले बाइबलको सन्देश स्वीकार्दैनन्‌ भने पनि उनीहरू खाँचोमा पर्दा छिमेकी सम्झेर मदत गर्नुपर्छ। प्रेषित पावलले यस्तो लेखे: “आपसमा प्रेम गर्नुबाहेक तिमीहरू अरू कुनै कुरामा कसैको ऋणी नहोओ; किनकि जसले अरूलाई प्रेम गर्छ, त्यसले व्यवस्था पूरा गरेको हुन्छ। किनकि ‘तिमीले आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध नराख्नू, तिमीले हत्या नगर्नू, तिमीले नचोर्नू, तिमीले लालच नगर्नू’ भन्‍ने नियमलगायत अरू सम्पूर्ण आज्ञाहरूको सार यस वचनमा पाइन्छ, अर्थात्‌ ‘तिमीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।’ प्रेमले छिमेकीको कुभलो हुने काम गर्दैन; त्यसैले प्रेमले व्यवस्था पूरा गर्छ।” (रोमी १३:८-१०) सैतानको अधीनमा रहेको यो दुष्ट संसारका मानिसहरूबीच एकता छैन र उनीहरू एकअर्कासित क्रूर व्यवहार गर्छन्‌। तर हामी यहोवाका साक्षीहरू भने सबैलाई साँचो प्रेम गर्छौं। (१ यूह. ५:१९) सैतान, त्यसका दुष्ट स्वर्गदूतहरू र यहोवाको विद्रोह गर्ने मानिसहरूलाई नाश गरिसकेपछि पृथ्वीमा नयाँ समाजको सुरुवात हुनेछ। त्यो समाजमा यहोवा र छिमेकीलाई प्रेम गर्ने मानिसहरू मात्र हुनेछन्‌। त्यतिबेला पृथ्वीको वातावरण कत्ति रमणीय होला, कल्पना गर्नुहोस्‌ त!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने