प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w16 जनवरी pp. २८-३२
  • परमेश्‍वरसँगै काम गर्दा हामी आनन्दित हुन सक्छौं

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरसँगै काम गर्दा हामी आनन्दित हुन सक्छौं
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरसँग काम गर्दा हामी आनन्दित हुन्छौं
  • परमेश्‍वरसँग काम गर्दा उहाँसित र अरूसित नजिक हुन्छौं
  • परमेश्‍वरसँग काम गर्दा हामी सुरक्षित हुन्छौं
  • परमेश्‍वरसँग काम गर्दा उहाँलाई र अरूलाई प्रेम देखाइरहेका हुन्छौं
  • वफादारी साथ यहोवासँग काम गर्ने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • १५. आफ्नो कामबाट सन्तुष्टि पाउनुहोस्‌
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • यहोवा परमेश्‍वरसित नजिक हुनुहोस्‌
    बाइबलले हामीलाई के सिकाउँछ?
  • यहोवाको नजिक हुन मानिसहरूलाई मदत गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
w16 जनवरी pp. २८-३२
प्रार्थना गरिरहेको मानिसको घरमा जान लागेका दुई साक्षीहरूमाथि उड्‌दै गरेका स्वर्गदूत

परमेश्‍वरसँगै काम गर्दा हामी आनन्दित हुन सक्छौं

“परमेश्‍वरसँग काम गर्दै हामी तिमीहरूलाई यो पनि बिन्ती गर्छौं कि परमेश्‍वरको असीम अनुग्रह स्वीकारेपछि यसको उद्देश्‍यलाई नबिर्स।”—२ कोरि. ६:१.

गीत: ७५, ७४

प्रचारकार्यले हामीलाई निम्न कुराहरू दिन्छ भनेर हामी किन भन्‍न सक्छौं:

  • आनन्द

  • परमेश्‍वर र अरू मानिसहरूसित नजिक हुन मदत

  • सुरक्षा

१. यहोवा सर्वशक्‍तिमान्‌ परमेश्‍वर हुनुभए तापनि उहाँले अरूलाई कस्तो निम्तो दिंदै आउनुभएको छ?

यहोवा सर्वशक्‍तिमान्‌ परमेश्‍वर हुनुहुन्छ। उहाँले नै ब्रह्‍माण्डमा भएका सबै थोक बनाउनुभयो। हो, उहाँ अथाह बुद्धि र शक्‍तिको स्रोत हुनुहुन्छ। अनि अय्यूबले पनि यो कुरा बुझे। यहोवाले अय्यूबलाई आफूले सृष्टि गरेका कुराहरूबारे प्रश्‍न गर्दा तिनले यसो भनेका थिए: “तपाईं सबै कुरा गर्न सक्नुहुन्छ भनी म जान्दछु, औ कुनै काम पनि तपाईंको शक्‍तिको बाहिर छैन।” (अय्यू. ४२:२) हुन त यहोवाले अरूको मदतविना नै आफूले चाहेको सबथोक गर्न सक्नुहुन्छ तर उहाँले सृष्टिको सुरुदेखि नै आफ्नो उद्देश्‍य पूरा गर्न अरूलाई पनि आफ्नो काममा सहभागी हुने निम्तो दिंदै आउनुभएको छ।

२. परमेश्‍वरले येशूलाई कस्तो महत्त्वपूर्ण काम गर्न निम्तो दिनुभयो?

२ यहोवाले सबैभन्दा पहिला आफ्नो एक मात्र छोरा येशूलाई सृष्टि गर्नुभएको थियो। उहाँले बाँकी सबै कुरा सृष्टि गर्न येशूलाई चलाउनुभयो। उहाँले येशूसँगै मिलेर अरू स्वर्गदूतहरू अनि भौतिक चीजबीज बनाउनुभयो। (यूह. १:१-३, १८) येशूको बारेमा प्रेषित पावलले यस्तो लेखे: “उहाँद्वारै स्वर्ग अनि पृथ्वीका अरू सबै थोक सृष्टि भए, चाहे ती थोकहरू दृश्‍य हुन्‌ वा अदृश्‍य, अथवा चाहे ती सिंहासनहरू, प्रभुत्वहरू, सरकारहरू वा अख्तियारहरू नै किन नहोऊन्‌। अरू सबै थोक उहाँद्वारै अनि उहाँकै निम्ति सृष्टि भएका हुन्‌।” (कल. १:१५-१७) यहोवाले विभिन्‍न कुराहरू सृष्टि गर्न येशूलाई चलाएर अनि मानिसहरूलाई उहाँको महत्त्वपूर्ण भूमिकाबारे बताएर येशूको कदर गरेको देखाउनुभयो।

३. यहोवाले आदमलाई कस्तो निम्तो दिनुभयो? किन?

३ यहोवाले आफूसँगै काम गर्न मानिसहरूलाई पनि निम्तो दिनुभयो। आदमलाई विचार गर्नुहोस्‌। यहोवाले तिनलाई जनावरहरूको नाम राख्ने काम दिनुभयो। (उत्प. २:१९, २०) कल्पना गर्नुहोस्‌ त, विभिन्‍न जनावरहरू हेर्दा, तिनीहरूको स्वभाव नियाल्दा अनि तिनीहरू प्रत्येकलाई सुहाउँदो नाम दिंदा आदम कत्ति खुसी भएको हुनुपर्छ! हुन त यहोवा आफैले यो काम गर्न सक्नुहुन्थ्यो। किनभने तिनीहरूलाई सृष्टि गर्ने उहाँ नै हुनुहुन्थ्यो। तर उहाँले मायालु हुँदै यो काम आदमलाई सुम्पनुभयो। उहाँले तिनलाई अदनको बगैंचा अझ फैलाउने अवसर पनि दिनुभयो। (उत्प. १:२७, २८) तर दुःखको कुरा, पछि आदमले यहोवासँगै काम गर्न इन्कार गरे अनि आफैमाथि र सबै मानिसमाथि ठूलो विपत्ति निम्त्याए।—उत्प. ३:१७-१९, २३.

४. यहोवाको उद्देश्‍य पूरा गर्न अरू मानिसहरूले के-कस्ता काम गरे?

४ यहोवाले पछि अरू मानिसलाई पनि आफ्नो उद्देश्‍य पूरा गर्ने कामको लागि निम्तो दिनुभयो। उहाँले नूहलाई जहाज बनाउन लगाउनुभयो, जसले गर्दा उसको परिवार महाप्रलयबाट बच्न सक्यो। मोशाले इस्राएलीहरूलाई मिश्रबाट छुटाए। यहोशूले ती इस्राएलीहरूलाई प्रतिज्ञा गरेको देशसम्म पुऱ्‍याउने काम गरे। सुलेमानले यरूशलेमको मन्दिर बनाए। मरियम येशूकी आमा बन्‍न राजी भइन्‌। यी सबै विश्‍वासी पुरुष तथा स्त्रीलगायत अरू थुप्रैले पनि यहोवाको इच्छा पूरा गर्न उहाँसँगसँगै काम गरे।

५. हामी कस्तो काममा भाग लिन सक्छौं? यो काममा भाग लिन यहोवाले हामीलाई चलाउनु आवश्‍यक थियो र? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

५ अहिले हामीलाई पनि यहोवाले मसीही राज्यसित सम्बन्धित कामकुरालाई सकेजति साथ दिन निम्तो दिनुभएको छ। हामीले विभिन्‍न तरिकामा उहाँको सेवा गर्न सक्छौं। सबै ख्रीष्टियनले एउटै तरिकाले उहाँको सेवा गर्न त सक्दैनन्‌, तर उहाँको राज्यको सुसमाचार अरूलाई बाँड्‌ने काममा भने सबै जनाले भाग लिन सक्छन्‌। यो कामको लागि यहोवाले हामीलाई चलाउनु आवश्‍यक थिएन। उहाँ आफैले स्वर्गबाट मानिसहरूसित कुरा गर्ने प्रबन्ध मिलाउन सक्नुहुन्थ्यो। साथै यहोवाले चाहनुभएको भए मसीही राज्यबारे अरूलाई बताउन ढुङ्‌गाहरूलाई समेत बोल्न लगाउन सक्नुहुन्थ्यो भनेर येशूले बताउनुभयो। (लूका १९:३७-४०) तर यहोवाले हामी मानिसहरूलाई उहाँको “सहकर्मी” बन्‍न रोज्नुभयो। (१ कोरि. ३:९) प्रेषित पावलले यस्तो लेखे: “परमेश्‍वरसँग काम गर्दै हामी तिमीहरूलाई यो पनि बिन्ती गर्छौं कि परमेश्‍वरको असीम अनुग्रह स्वीकारेपछि यसको उद्देश्‍यलाई नबिर्स।” (२ कोरि. ६:१) यहोवासँग काम गर्न पाउनु भनेको ठूलो सुअवसर हो अनि यसले हामीलाई अपार आनन्द पनि दिन्छ। यसरी आनन्दित हुन सक्नुको कारण के-के हो, अब हामी विचार गरौं।

परमेश्‍वरसँग काम गर्दा हामी आनन्दित हुन्छौं

६. यहोवासँगै मिलेर काम गर्दा येशूलाई कस्तो लाग्यो?

६ यहोवाका सेवकहरूले उहाँसँग काम गर्दा सधैं नै आनन्द उठाउन सकेका छन्‌। परमेश्‍वरका जेठा छोरा येशूले पृथ्वीमा आउनुअघि यसो भन्‍नुभएको थियो: “परमप्रभुले सृष्टिको प्रारम्भमा नै मलाई सृजनुभयो, . . . म एक कारीगरझैं उहाँको छेउमा थिएँ। म दिनहुँ हर्षले विभोर हुन्थें, उहाँको उपस्थितिमा निरन्तर आनन्दित भइरहन्थें।” (हितो. ८:२२, ३०, NRV) यहोवासँगै मिलेर थुप्रै काम गर्न सकेकोले र उहाँले आफूलाई निकै माया गर्नुहुन्छ भन्‍ने कुरा थाह पाएकोले येशू आनन्दित हुन सक्नुभयो। के हामी पनि यसरी नै आनन्दित हुन सक्छौं?

एक जना मानिससित बाइबल अध्ययन गरिरहेका यहोवाका साक्षी

मानिसहरूलाई सत्य सिकाउनु जस्तो सन्तोषजनक काम अरू के नै होला र? (अनुच्छेद ७ हेर्नुहोस्‌)

७. प्रचारकार्यमा भाग लिंदा हामी किन आनन्दित हुन सक्छौं?

७ अरूलाई कुनै कुरा दिंदा वा आफूले कुनै कुरा पाउँदा हामी आनन्दित हुन्छौं भनेर येशूले बताउनुभयो। (प्रेषि. २०:३५) बाइबलबाट सत्य कुरा सिक्दा हामी आनन्दित भएका थियौं अनि यो कुरा अरूलाई बताउँदा पनि हामी उत्तिकै खुसी हुन्छौं। आध्यात्मिक रूपमा भोकाइरहेकाहरूलाई बाइबलको सत्य कुरा सिकाउँदा उनीहरूले बिस्तारै-बिस्तारै परमेश्‍वरलाई चिन्छन्‌ अनि बाइबलको अनमोल सत्य बुझ्न थाल्छन्‌। यस्तो कुरा बुझेपछि उनीहरूको अनुहारमा एक किसिमको चमक देखिन थाल्छ। बाइबलको कुराले उनीहरूको विचार मात्र होइन तर जीवनशैली नै बदलिदिन्छ। अनि यस्तो कुरा देख्दा हाम्रो मन पनि गद्‌गद हुन्छ। हो, अरूलाई सुसमाचार बाँड्‌ने काम एकदमै महत्त्वपूर्ण छ भनेर हामीले बुझेका छौं। यो कामले मानिसहरूलाई परमेश्‍वरसित मिलाप गर्न मदत गर्छ र अनन्त जीवनको बाटो खोलिदिन्छ। (२ कोरि. ५:२०) मानिसहरूलाई अनन्त जीवनको बाटोतर्फ डोऱ्‍याउनु जस्तो आनन्ददायी अनि सन्तोषजनक काम अरू के नै होला र?

८. यहोवासँग काम गर्दा कस्तो महसुस हुन्छ भन्‍ने विषयमा कसै-कसैले के भनेका छन्‌?

८ हामीले अरूलाई सुसमाचार सुनाउँदा यहोवा परमेश्‍वर पनि खुसी हुनुहुन्छ अनि सुसमाचार सुनाउन हामीले जे-जति प्रयास गरेका छौं, त्यसको उहाँ कदर गर्नुहुन्छ। यो कुराले पनि हामीलाई आनन्द दिन्छ। (१ कोरिन्थी १५:५८ पढ्‌नुहोस्‌) इटालीमा बस्ने मार्को यसो भन्छन्‌: “मेरो कामको कदरै नगर्ने मान्छेको लागि होइन बरु यहोवाको लागि सकेजति गर्दै छु भन्‍ने कुराले मलाई आनन्द दिन्छ।” साथै इटालीकै अर्का भाइ फ्रान्को भन्छन्‌: “कहिलेकाहीं हामीलाई आफूले गरेको काम केही पनि होइन जस्तो लाग्न सक्छ। तर यहोवाले भने हामीलाई माया गरेको र हाम्रो कामको कदर गरेको कुरा हरेक दिन सम्झाउनुहुन्छ। यसका लागि उहाँ आफ्नो वचन अनि आध्यात्मिक प्रबन्धहरू चलाउनुहुन्छ। त्यसैले परमेश्‍वरसँगै काम गर्दा मलाई खुसी लाग्छ अनि यस कामले मेरो जीवनलाई अर्थपूर्ण बनाएको छ।”

परमेश्‍वरसँग काम गर्दा उहाँसित र अरूसित नजिक हुन्छौं

९. यहोवा र येशूको सम्बन्ध कस्तो थियो? यसको कारण के हो?

९ आफूले माया गरेको मान्छेसँगै मिलेर काम गर्दा हामी ऊसित नजिक हुन्छौं र उसको व्यक्‍तित्व र गुणसित अझै परिचित हुन्छौं। उसको लक्ष्य के हो, त्यो मात्र होइन, त्यो लक्ष्यसम्म पुग्न उसले के-के गर्छ, त्यो पनि बुझ्छौं। येशूले यहोवासित अरबौं वर्ष सँगै काम गर्नुभयो। यसले गर्दा उहाँहरूको सम्बन्ध नङ र मासुको जस्तै भयो। उहाँहरूको मायालाई संसारको कुनै पनि कुराले छुटाउन सक्दैन। यहोवासित आफ्नो सम्बन्ध कत्तिको घनिष्ठ छ भनेर बुझाउन येशूले यसो भन्‍नुभयो: “म र बुबा एक हौं।” (यूह. १०:३०) उहाँहरूले हरेक काम हातेमालो गर्दै गर्नुभयो। उहाँहरूबीचको एकता गजबको थियो।

१०. प्रचारकार्यले हामीलाई यहोवासित र अरूसित कसरी नजिक बनाउँछ?

१० आफ्ना चेलाहरूको रक्षा गरिदिनुहोस्‌ भनेर येशूले यहोवालाई प्रार्थना गर्नुभयो। उहाँले यसरी प्रार्थना गर्नुको कारण के थियो? उहाँ भन्‍नुहुन्छ: “ताकि हामी एक भएजस्तै तिनीहरू पनि एक होऊन्‌।” (यूह. १७:११) परमेश्‍वरको स्तरअनुसार चल्यौं र प्रचारकार्यमा भाग लियौं भने उहाँका मनमोहक गुणहरूबारे हामीले अझ धेरै बुझ्नेछौं। उहाँमा भर पर्नु र उहाँको निर्देशनअनुसार चल्नु किन बुद्धिमानी हो भनेर पनि बुझ्नेछौं। हामी परमेश्‍वरसित नजिक भयौं भने उहाँ पनि हामीसित नजिक हुनुहुनेछ। (याकूब ४:८ पढ्‌नुहोस्‌) हामी संसारभरका दाजुभाइ दिदीबहिनी एउटै लक्ष्यतिर अघि बढ्‌दै छौं। हामीले भोग्ने चुनौती र हामीले अनुभव गर्ने आनन्द एकै किसिमको छ। त्यसैले काँधमा काँध मिलाएर यो लक्ष्यतिर अघि बढ्‌दा हामी एक-अर्कासित पनि नजिक हुनेछौं। हामी सबै जना सँगै काम गर्छौं, सँगै रमाउँछौं र अटल रहन एकअर्कालाई साथ दिन्छौं। बेलायतमा बस्ने अक्टाभिया भन्छिन्‌: “यहोवासँगै काम गर्दा म अरूसँग पनि नजिक हुन सकेकी छु। सामान्य चिनजानको भरमा हामीले यस्तो मित्रता गाँस्न सकेका होइनौं। बरु हामी सबैको एउटै लक्ष्य भएकोले अनि हामी सबैले एउटै निर्देशन पाएकोले नै यस्तो सम्बन्ध गाँस्न सकेका हौं।” तपाईंलाई चाहिं कस्तो लाग्छ? अरूले यहोवालाई खुसी पार्न अथक प्रयास गरेको देख्दा के तपाईं उनीहरूसित नजिक महसुस गर्नुहुन्‍न र?

११. नयाँ संसारमा हामी यहोवासित अनि अरूसित किन अझै घनिष्ठ हुनेछौं?

११ मण्डलीका दाजुभाइ दिदीबहिनीसित अहिले हाम्रो सम्बन्ध बलियो छ होला तर नयाँ संसारमा यो सम्बन्ध अझै बलियो हुनेछ। त्यतिबेला गर्नुपर्ने कामहरूबारे सोच्नुहोस्‌! पुनर्जीवित भएर आएकाहरूलाई स्वागत गर्नुपर्नेछ; उनीहरूलाई यहोवाबारे सिकाउनुपर्नेछ। यो पूरै पृथ्वीलाई सुन्दर बगैंचा बनाउनुपर्नेछ। यी सबै गर्नु चानचुने काम होइन। तर मसीही राज्यमा सबै जनाले काँधमा काँध मिलाएर काम गर्दा अनि त्रुटिरहित अवस्थातर्फ अघि बढ्‌दा कत्ति रमाइलो हुनेछ, सोच्नुहोस्‌ त! त्यतिबेला सबै जना एक-अर्कासित अनि “सबै जीवित प्राणीहरूको इच्छालाई सन्तुष्ट” पार्नुहुने परमेश्‍वरसित झन्‌ धेरै घनिष्ठ हुनेछन्‌।—भज. १४५:१६.

परमेश्‍वरसँग काम गर्दा हामी सुरक्षित हुन्छौं

१२. प्रचारकार्यले हामीलाई कसरी सुरक्षा दिन्छ?

१२ हामीले यहोवासितको सम्बन्ध जोगाउनु आवश्‍यक छ। त्रुटिपूर्ण भएकोले अनि दियाबल अर्थात्‌ सैतानको संसारमा बसेकोले हामी सजिलै यस संसारको गलत सोचाइ र चालचलन अपनाउने हदसम्म पुग्न सक्छौं। यसको लागि एउटा उदाहरण विचार गर्नुहोस्‌। नदीको बहाबको उल्टो दिशातिर पौडन जति गाह्रो हुन्छ, यो संसारको मनोवृत्तिविरुद्ध चल्न पनि हामीलाई त्यति नै गाह्रो हुन सक्छ। उल्टो दिशातिर पौडन हामीले भएभरको बल लगाउनुपरेजस्तै सैतानको संसारको मनोवृत्ति विपरीत चल्न पनि निकै प्रयास गर्नुपर्छ। अरूलाई बाइबलबारे बताउने काममा भाग लिंदा हामीले आफ्नो मनमा राम्रा कुराहरू खेलाइरहन सक्छौं अनि आध्यात्मिक कुराहरूमा ध्यान दिन सक्छौं। यसले गर्दा हाम्रो विश्‍वासलाई तहसनहस गर्ने सोचाइहरू हाम्रो मनमा घुस्न पाउँदैन। (फिलि. ४:८) प्रचारकार्यले हाम्रो विश्‍वासलाई बलियो बनाउँछ, परमेश्‍वरका प्रतिज्ञाहरू र उहाँका मायालु स्तरहरू सम्झिरहन मदत गर्छ। अनि आध्यात्मिक हातहतियार सही अवस्थामा राख्न पनि मदत गर्छ।—एफिसी ६:१४-१७ पढ्‌नुहोस्‌।

१३. अस्ट्रेलियामा बस्ने एक जना भाइ प्रचारकार्यलाई कस्तो ठान्छन्‌?

१३ प्रचारमा अनि अरू आध्यात्मिक गतिविधिमा व्यस्त रहँदा हामीले आफ्नो समस्याहरूबारे सोच्ने मौका नै पाउँदैनौं। यसले गर्दा हामी सुरक्षित रहन सक्छौं। अस्ट्रेलियामा बस्ने जोयललाई विचार गर्नुहोस्‌। तिनी भन्छन्‌: “प्रचारकार्यले मलाई जीवनका वास्तविक कुराहरूलाई अझै राम्रोसँग नियाल्न मदत गर्छ। अहिले मानिसहरूले के-कस्ता चुनौती भोगिरहेका छन्‌ अनि बाइबलका सिद्धान्तहरू लागू गर्दा मैले कस्ता लाभहरू उठाउन सकें, त्यो कुरामा ध्यान दिन सकेको छु। साथै, यसले मलाई नम्र रहन पनि मदत गरेको छ। यहोवामा अनि मण्डलीका दाजुभाइ दिदीबहिनीमा भरोसा राख्न पनि यसले मलाई मदत गरेको छ।”

१४. प्रचारकार्यमा लागिरहँदा परमेश्‍वरको पवित्र शक्‍तिले हामीमा काम गरिरहेको हुन्छ भनेर किन भन्‍न सक्छौं?

१४ प्रचारकार्यमा भाग लियौं भने परमेश्‍वरको पवित्र शक्‍तिले हामीमा काम गरिरहेको छ भनेर ढुक्क हुन सक्छौं। यो कुरा बुझ्न एउटा उदाहरण विचार गर्नुहोस्‌। तपाईं मानिसहरूलाई पौष्टिक आहार वितरण गर्ने काममा भाग लिंदै हुनुहुन्छ। यो कामको लागि तपाईंलाई कुनै पैसा दिइँदैन। बरु उल्टै तपाईंले आफ्नै खल्तीबाट खर्च गर्नुपर्छ। तर दुःखको कुरा, मानिसहरू त्यो खानेकुरा मनै पराउँदैनन्‌ अनि तपाईंले त्यसरी खानेकुरा बाँडेको पनि चाहँदैनन्‌। यो कुरा थाह पाएपछि तपाईं कतिन्जेल यो काममा टिक्न सक्नुहुन्छ? मानिसहरूको प्रतिक्रिया देखेर तपाईंको मनै मर्छ होला अनि यो काममा लागिरहन तपाईंलाई आँट पनि आउँदैन होला। केही हदसम्म हामीले गर्ने प्रचारकार्य पनि यस्तै छ। यसको लागि हामीले आफ्नो समय-शक्‍ति खर्चेका छौं तर मानिसहरूले भने हामीविरुद्ध नानाथरी कुरा गरेका छन्‌ अनि हाम्रो खिल्ली उडाएका छन्‌। त्यसको बाबजुद हामी यो काममा लागिरहन सकेका छौं। के यो कुराले परमेश्‍वरको पवित्र शक्‍तिले हामीमा काम गरिरहेको छ भन्‍ने प्रमाण दिंदैन र?

परमेश्‍वरसँग काम गर्दा उहाँलाई र अरूलाई प्रेम देखाइरहेका हुन्छौं

१५. सुसमाचार सुनाउने काम यहोवाले मानिसजातिको लागि राख्नुभएको मायालु उद्देश्‍यसित कसरी मेल खान्छ?

१५ सुसमाचार सुनाउने काम यहोवाले मानिसजातिको लागि राख्नुभएको मायालु उद्देश्‍यसित कसरी मेल खान्छ? मानिसजाति सधैंभरि यसै पृथ्वीमा बाँचेको उहाँ चाहनुहुन्थ्यो। आदमले पाप गरिसकेपछि पनि उहाँले आफ्नो विचार बदल्नुभएन। (यशै. ५५:११) बरु उहाँले सबै मानिसलाई पाप र मृत्युबाट छुटाउने प्रबन्ध मिलाउनुभयो। त्यही उद्देश्‍य बोकेर येशू पनि पृथ्वीमा आउनुभयो र आज्ञाकारी मानिसहरूको लागि आफ्नो ज्यान दिनुभयो। यदि हामी उहाँको बलिदानबाट लाभ उठाउन चाहन्छौं भने परमेश्‍वरप्रति आज्ञाकारी हुनै पर्छ। अनि हामी कसरी परमेश्‍वरप्रति आज्ञाकारी हुन सक्छौं, त्यो कुरा येशूले सिकाउनुभयो र आफ्ना चेलाहरूलाई त्यसै गर्ने आज्ञा दिनुभयो। मानिसहरूलाई परमेश्‍वरसँग मिलाप गर्न मदत दियौं भने उनीहरूलाई पाप र मृत्युबाट छुटाउने परमेश्‍वरको मायालु प्रबन्धलाई साथ दिइरहेका हुन्छौं।

१६. परमेश्‍वरको सबैभन्दा ठूलो आज्ञासित हाम्रो प्रचारकार्य कसरी सम्बन्धित छ?

१६ अरूलाई अनन्त जीवनको बाटोमा हिंड्‌न मदत गऱ्‍यौं भने हामीले मानिसहरूलाई मात्र होइन तर “सबै किसिमका मानिसहरूले उद्धार पाऊन्‌ र सत्यको सही ज्ञान लिऊन्‌ भन्‍ने” चाहनुहुने यहोवालाई पनि प्रेम देखाइरहेका हुन्छौं। (१ तिमो. २:४) इस्राएल राष्ट्रलाई दिइएको सबैभन्दा ठूलो आज्ञा के हो भनेर सोधिंदा येशूले यसो भन्‍नुभएको थियो: “‘तिमीले यहोवा तिम्रा परमेश्‍वरलाई आफ्नो सारा मनले, आफ्नो सारा ज्यानले र आफ्नो सारा दिमागले प्रेम गर्नू।’ यो नै सबैभन्दा ठूलो र पहिलो आज्ञा हो। दोस्रोचाहिं यही हो: ‘तिमीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।’” (मत्ती २२:३७-३९) प्रचारकार्यमा भाग लिंदा हामीले यी आज्ञाहरू पालन गरिरहेका हुनेछौं।—प्रेषित १०:४२ पढ्‌नुहोस्‌।

१७. अरूलाई सुसमाचार सुनाउने सुअवसर पाएकोमा तपाईं कस्तो महसुस गर्नुहुन्छ?

१७ यस्तो काममा भाग लिन पाउनु कत्ति खुसीको कुरा हो नि, होइन र? यो कामले हामीलाई आनन्द दिन्छ, परमेश्‍वरसित र अरूसित नजिक हुन अनि आध्यात्मिक तवरमा सुरक्षित रहन मदत गर्छ। साथै परमेश्‍वर र अरू मानिसप्रति प्रेम प्रकट गर्ने मौका पनि दिन्छ। संसारभर छरिएर रहेका परमेश्‍वरका सेवकहरूको अवस्था फरक-फरक छ तर जवान-वृद्ध, धनी-गरिब, बलियो-कमजोर जस्तोसुकै भए पनि लाखौं मानिसले अरूलाई आफ्नो विश्‍वासबारे बताउन यथाशक्य गरिरहेका छन्‌। फ्रान्समा बस्ने स्यान्टलको कुरासित तपाईं पनि सहमत हुनुहुन्छ होला। तिनी भन्छिन्‌: “ब्रह्‍माण्डकै शक्‍तिशाली व्यक्‍ति, सबथोक सृष्टि गर्नुहुने आनन्दित परमेश्‍वर मलाई यसो भन्‍नुहुन्छ: ‘जाऊ! मानिसहरूलाई मेरो बारेमा बताऊ! मनदेखि नै यो कुरा अरूलाई भन! म तिमीलाई साथ दिनेछु। मेरो वचन बाइबल, स्वर्गदूतहरू, पृथ्वीमा भएका तिम्रा साथीहरू चलाएर अनि विभिन्‍न तालिम र आवश्‍यक निर्देशनहरू दिएर म तिमीलाई चाहिएकै समयमा मदत गर्नेछु।’ यहोवाले भनेअनुसारै गर्न पाउनु अनि उहाँसँगै काम गर्न पाउनु हाम्रो लागि साँच्चै ठूलो सुअवसर हो!”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने