प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w16 अप्रिल pp. १८-२२
  • उपासनाको लागि हामी किन एक ठाउँमा भेला हुनुपर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उपासनाको लागि हामी किन एक ठाउँमा भेला हुनुपर्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सभामा उपस्थित हुँदा हाम्रो आफ्नै फाइदा हुन्छ
  • सभामा उपस्थित हुँदा अरूलाई पनि मदत पुग्छ
  • सभामा उपस्थित हुँदा यहोवालाई खुसी पारिरहेका हुन्छौं
  • एकसाथ भेला हुन नछोड्‌नुहोस्‌
  • तपाईँले यहोवाका साक्षीहरूको सभाबाट कस्तो लाभ उठाउन सक्नुहुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • सभामा हाम्रो उपस्थितिले के देखाउँछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • ख्रीष्टियान सभालाई उत्थानदायी बनाउन तपाईंले योगदान दिइरहनुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • यहोवाले हामीलाई कसरी डोऱ्‍याउँदै हुनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
w16 अप्रिल pp. १८-२२
साइबेरियामा छँदा सभा जानको लागि लामो यात्रा गर्दै गरेकी करिना र अर्की बहिनी

उपासनाको लागि हामी किन एक ठाउँमा भेला हुनुपर्छ?

“एकै मनका भएर तिनीहरू दिनहुँ मन्दिरमा भेला हुन्थे।”—प्रेषि. २:४६.

गीत: २०, ११९

“सभा जानुका फाइदाहरू” भन्‍ने पेटीमा लेखिएको कुरा मनमा राख्दै भन्‍नुहोस्‌ . . .

  • सभामा उपस्थित हुँदा हामी आफैलाई कस्तो फाइदा हुन्छ?

  • अरूलाई कस्तो फाइदा हुन्छ?

  • यहोवालाई कस्तो लाग्छ?

१-३. (क) एक ठाउँमा भेला हुन उत्सुक भएको कुरा ख्रीष्टियनहरूले कसरी देखाएका छन्‌? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌) (ख) हामी यस लेखमा के छलफल गर्नेछौं?

करिना १७ वर्षकी मात्र छँदा तिनकी आमालाई गिरफ्तार गरियो र सोभियत श्रम शिविरमा पठाइयो। पछि करिनालाई पनि गिरफ्तार गरेर घरबाट कोसौं टाढा पर्ने साइबेरियामा पठाइयो। तिनलाई त्यहाँ नोकरको जस्तो व्यवहार गरिन्थ्यो। एकसरो लुगाको भरमा कठ्याङ्‌ग्रिने जाडो सहँदै तिनले घरबाहिरको सबै कामकाज भ्याउनुपर्थ्यो। यस्तो गाह्रो अवस्थाको बाबजुद पनि करिना र अर्की एक बहिनी सभा जाने सन्दर्भमा दृढ थिए।

२ तिनी भन्छिन्‌: “साँझ सबै कामकुरा सकेर हामी सभाको लागि निस्कन्थ्यौं। त्यहाँबाट २५ किलोमिटर हिंडेपछि बल्ल रेल-स्टेसन आइपुग्थ्यो। अनि रेल बिहान २ बजे मात्र हिंड्‌थ्यो। छ घण्टा रेल-यात्रा गरेपछि सभा हुने ठाउँसम्म पुग्न अझै १० किलोमिटर हिंड्‌नुपर्थ्यो।” यत्ति धेरै दुःख गरेर सभा जाँदा केही फाइदा भयो त? करिना भन्छिन्‌: “सभामा प्रहरीधरहरा अध्ययन गर्थ्यौं, राज्य गीतहरू गाउँथ्यौं; निकै हौसला मिल्थ्यो अनि हाम्रो विश्‍वास पनि बलियो भयो।” करिना र तिनकी साथी तीन दिनसम्म काम गर्ने ठाउँमा नहुँदा समेत त्यहाँका व्यवस्थापकले तिनीहरू त्यहाँ नभएको सुइँको पाउँदैनथे।

३ यहोवाका सेवकहरूले एक ठाउँमा भेला हुने कुरालाई सधैं अनमोल ठानेका छन्‌। ख्रीष्टियन मण्डलीको स्थापना भएको केही समयपछि नै येशूका चेलाहरू “दिनहुँ मन्दिरमा भेला हुन्थे।” (प्रेषि. २:४६) तिनीहरूजस्तै तपाईं पनि ख्रीष्टियन सभाहरूमा भेला हुन निकै उत्सुक हुनुहुन्छ होला। तर त्यसरी नियमित रूपमा सभा जान कहाँ सजिलो छ र? सबै ख्रीष्टियनलाई नै गाह्रो छ। जागिर, व्यस्तता अनि दैनिक कामकुराको थकाइले गर्दा सभा जान सकस हुन सक्छ। यस्ता बाधा अवरोधलाई हटाएर नियमित रूपमा सभा जाने बानी बसाल्न हामीलाई कुन कुराले मदत गर्छ?[१] सभा जानुको महत्त्व बुझ्न बाइबल विद्यार्थी र अरूलाई कसरी मदत गर्न सक्छौं? यस लेखमा हामी उपासनाको लागि एक ठाउँमा भेला हुनुपर्ने आठवटा कारणबारे विचार गर्नेछौं। हामी यी कारणहरूलाई तीन भागमा विभाजन गर्न सक्छौं। ती हुन्‌: (१) सभामा उपस्थित हुँदा हाम्रो आफ्नै फाइदा हुन्छ, (२) सभामा उपस्थित हुँदा अरूलाई पनि मदत पुग्छ अनि (३) सभा जाँदा यहोवालाई खुसी पारिरहेका हुन्छौं।[२]

सभामा उपस्थित हुँदा हाम्रो आफ्नै फाइदा हुन्छ

४. एक ठाउँमा भेला हुँदा हामी कसरी यहोवाबारे सिक्न सक्छौं?

४ सभामा हामी शिक्षा पाउँछौं। हरेक सभाले हामीलाई हाम्रो परमेश्‍वर यहोवाबारे सिक्न मदत गर्छ। उदाहरणका लागि, केही वर्षअघि हामीले मण्डलीमा “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख” भन्‍ने किताबबाट छलफल गरेका थियौं। मण्डली बाइबल अध्ययनमा छलफल गरिएको त्यस किताबमा हामीले यहोवाका थुप्रै गुणहरू अध्ययन गरेका थियौं। यस्तो अध्ययनले अनि छलफलको दौडान मण्डलीका दाजुभाइ दिदीबहिनीले मनैदेखि दिएको टिप्पणीले गर्दा यहोवाप्रतिको हाम्रो प्रेम अझ बलियो भयो नि, होइन र? त्यतिमात्र होइन विभिन्‍न भाषण, प्रदर्शन अनि बाइबल पढाइको भागमा गहिरो ध्यान दिएको कारण हामीले परमेश्‍वरको वचनबारे अझ धेरै बुझ्न सकेका छौं। (नहे. ८:८) जस्तै: बाइबल विशेषताहरूको भागमा व्यक्‍तिगत तयारी गरेर अनि अरूको टिप्पणी सुनेर हरेक हप्ता तपाईंले कत्ति धेरै आध्यात्मिक खजाना भेटाउनुभयो, सोच्नुहोस्‌ त!

५. बाइबलबाट सिकेका कुराहरू लागू गर्न अनि प्रचारकार्यमा सिपालु हुन ख्रीष्टियन सभाहरूले कसरी मदत गर्छ?

५ जीवनको हरेक पक्षमा बाइबल सिद्धान्तहरू कसरी लागू गर्ने, त्यो कुरा हामीलाई सभाले सिकाउँछ। (१ थिस्स. ४:९, १०) जस्तै: प्रहरीधरहरा अध्ययनले परमेश्‍वरका सेवकहरूलाई थुप्रै छाँटकाँट गर्न मदत गरेको छ। एकछिन सोच्नुहोस्‌ त! के तपाईंलाई यो सभाले आफ्नो लक्ष्यसम्म पुग्न जुरमुराएको छैन र? एकअर्कालाई क्षमा दिन अग्रसर बनाएको छैन र? अनि प्रार्थनाको गुणस्तर बढाउन मदत गरेको छैन र? साथै हप्ताको बीचमा हुने सभाले पनि हामीलाई प्रचारकार्यमा अझै सिपालु हुन मदत गरेको छ; अरूलाई कसरी सुसमाचार सुनाउने अनि बाइबल सिद्धान्तहरू कसरी प्रभावकारी तरिकामा सिकाउने भनेर बुझ्न हामीलाई हप्ताको बीचमा हुने ती सभाहरूले मदत गर्छ।—मत्ती २८:१९, २०.

६. सभामा हुने कस्ता कुराहरूले हामीलाई प्रोत्साहन र बल दिन्छ?

६ सभामा हामी प्रोत्साहन पाउँछौं। सैतानको संसारले हामीलाई मानसिक रूपमा, भावनात्मक रूपमा अनि आध्यात्मिक रूपमा कमजोर बनाउन खोज्छ। तर ख्रीष्टियन सभाहरूले भने हामीलाई प्रोत्साहन दिन्छ र यहोवाको सेवा गरिरहने बल दिन्छ। (प्रेषित १५:३०-३२ पढ्‌नुहोस्‌) धेरैजसो सभामा हामी बाइबलका भविष्यवाणीहरू कसरी पूरा भए, त्यस विषयमा छलफल गर्छौं। यसले गर्दा हामी यहोवाले भविष्यको लागि गर्नुभएका सबै प्रतिज्ञाहरू पूरा हुनेछ भन्‍ने कुरामा पनि विश्‍वस्त हुन सक्छौं। मञ्चमा गएर आफ्नो भाग प्रस्तुत गर्नेले मात्र हामीलाई प्रोत्साहन दिन्छ भन्‍ने छैन। टिप्पणी दिने अनि मनैदेखि गीत गाउने ख्रीष्टियन दाजुभाइ दिदीबहिनीबाट पनि हामी प्रोत्साहन पाउँछौं। (१ कोरि. १४:२६) अनि सभाअघि वा पछि दाजुभाइ दिदीबहिनीसित कुरा गर्दा पनि एकअर्कासित अझै घनिष्ठ हुन्छौं र स्फूर्ति पाउँछौं।—१ कोरि. १६:१७, १८.

७. एक ठाउँमा भेला हुनु किन महत्त्वपूर्ण छ?

७ सभामा हामी पवित्र शक्‍तिको डोऱ्‍याइ पाउँछौं। यहोवाबाट महिमित पारिनुभएका येशू ख्रीष्टले यसो भन्‍नुभयो: “पवित्र शक्‍तिले मण्डलीहरूलाई के भन्छ, जसको कान छ, उसले सुनोस्‌।” (प्रका. २:७) हो, येशूले पवित्र शक्‍तिद्वारा ख्रीष्टियन मण्डलीलाई डोऱ्‍याउनुहुन्छ। प्रलोभनहरूको सफलतासाथ सामना गर्न, प्रचारको लागि पूर्ण रूपमा सुसज्जित हुन अनि सही निर्णय गर्न हामीलाई पवित्र शक्‍तिको मदत चाहिन्छ। त्यसैले पवित्र शक्‍तिको मदत पाउने कुनै पनि मौका हामी गुमाउन चाहँदैनौं, जसमा ख्रीष्टियन सभाहरू नछुटाउनु पनि समावेश छ।

सभामा उपस्थित हुँदा अरूलाई पनि मदत पुग्छ

८. हामी सभामा उपस्थित हुँदा, टिप्पणी दिंदा र गीत गाउँदा अरूले कस्तो लाभ उठाउँछन्‌? (“उहाँले सधैं आनन्दित तुल्याउनुहुन्छ” भन्‍ने पेटी हेर्नुहोस्‌)

८ सभामा हामी ख्रीष्टियन दाजुभाइ दिदीबहिनीलाई प्रेम देखाउने मौका पाउँछौं। आफ्नो मण्डलीका ख्रीष्टियन दाजुभाइ दिदीबहिनीले के-कस्तो चुनौती सामना गरिरहेका छन्‌, एकछिन विचार गर्नुहोस्‌। हो, यही कारण प्रेषित पावलले यस्तो लेखे: ‘आपसमा गहिरो चासो राखौं’। एकअर्कालाई चासो देखाउने तरिकाबारे पावलले त्यसपछि यस्तो लेखे: “हामी एक ठाउँमा भेला हुन नछोडौं।” (हिब्रू १०:२४, २५) तपाईं सभामा उपस्थित हुनुभयो भने मण्डलीका दाजुभाइ दिदीबहिनीलाई समय दिन तयार हुनुहुन्छ, उनीहरूको ख्याल राख्नुहुन्छ र चासो दिनुहुन्छ भन्‍ने देखिन्छ। साथै तपाईंले मनैदेखि दिनुभएको टिप्पणी अनि गाएको गीत सुनेर अरूले प्रोत्साहन पाउन सक्छन्‌।—कल. ३:१६.

९, १०. (क) यूहन्‍ना १०:१६ मा भएका येशूका शब्दहरूले हामीलाई एक ठाउँमा भेला हुने महत्त्वबारे बुझ्न कसरी मदत गर्छ? व्याख्या गर्नुहोस्‌। (ख) हामी नियमित रूपमा सभा जाँदा परिवारबाट त्यागिएका दाजुभाइ दिदीबहिनीले कस्तो मदत पाउन सक्छन्‌?

९ सभाले हाम्रो एकताको बन्धन बलियो बनाउँछ। (यूहन्‍ना १०:१६ पढ्‌नुहोस्‌) येशूले आफूलाई गोठालो अनि आफ्ना चेलाहरूलाई एउटै बगालका भेडाहरू भन्‍नुभयो। एकछिन विचार गर्नुहोस्‌: दुइटा भेडा लेकमा, दुइटा भेडा बेंसीमा अनि अर्को एउटा भेडा अन्तै चरिरहेको छ भने के तपाईं ती भेडाहरूलाई एउटै बगालको भन्‍नुहुन्छ र? एउटै बगालका भेडाहरू त एकै ठाउँमा चर्छन्‌ अनि गोठालोले जताजता लैजान्छन्‌, त्यतै-त्यतै लाग्छन्‌। त्यसैगरि, हामी पनि जानाजानी एक्लिन खोज्छौं भने महान्‌ गोठालोलाई पछ्याउन सक्दैनौं। “एउटै बगालको अनि एकै जना गोठालो”-को हुने हो भने हामी अरू ख्रीष्टियनहरूसित एक ठाउँमा भेला हुनै पर्छ।

१० सभामा उपस्थित हुँदा हाम्रो एकताको बन्धन पनि अझै बलियो हुन्छ। (भज. १३३:१) हाम्रो मण्डलीमा उपस्थित हुने कतिपय दाजुभाइ दिदीबहिनीलाई उनीहरूको परिवार अनि आफन्तले त्यागेका छन्‌। तर येशूले उनीहरूलाई माया गर्ने अनि ख्याल राख्ने आध्यात्मिक परिवार दिनेछु भनेर प्रतिज्ञा गर्नुभएको थियो। (मर्कू. १०:२९, ३०) नियमित रूपमा सभा जानुभयो भने तपाईं ती दाजुभाइ दिदीबहिनीमध्ये कसैको बुबा, आमा, दाजु, भाइ, दिदी वा बहिनी हुन सक्नुहुनेछ। के यो कुराले हामीलाई हरेक सभामा आफ्नो तर्फबाट सक्दो गर्ने हौसला दिंदैन र?

उहाँले सधैं आनन्दित तुल्याउनुहुन्छ

“अहिले मलाई स्वास्थ्य समस्याले साह्रै दुःख दिन्छ। मिटिङ जान पनि गाह्रो छ; जसोतसो गरेर जान्छु। तर त्यहाँ पुगेपछि यहोवाले तयार पार्नुभएको आध्यात्मिक भोजन खाँदा आनन्द लाग्छ। हुन त, मेरो घुँडा कटकटी दुख्छ, मुटुको समस्या पनि छ अनि सुगरले पनि गाह्रो बनाउँछ; तर जेहोस्‌, मिटिङ पुग्न गाह्रो भए पनि फर्कंदा भने रमाई-रमाई फर्कन्छु।

“मण्डलीमा ‘नम्र मानिसको प्रार्थना’ भन्‍ने ६८ नम्बरको गीत पहिलोचोटि सुनेको क्षण अझै याद छ। मैले त्यतिबेला आँसु थाम्नै सकिनँ। कत्ति राम्रो गीत! कानमा लगाएको मेसिनले गर्दा मैले अरूले गाएको सुन्‍न सकें अनि अरू सँगसँगै मैले पनि गाएँ। त्यहाँ हुन पाएकोमा म साह्रै खुसी थिएँ।”—जर्ज, उमेर ५८।

सभामा उपस्थित हुँदा यहोवालाई खुसी पारिरहेका हुन्छौं

११. सभा जाँदा हामीले कसरी यहोवालाई दिनुपर्ने कुरा दिइरहेका हुन्छौं?

११ सभामा उपस्थित हुँदा हामीले यहोवालाई जुन कुरा दिनुपर्ने हो, त्यही दिइरहेका हुन्छौं। यहोवा हाम्रो सृष्टिकर्ता भएकोले उहाँ हाम्रो प्रशंसा, महिमा, धन्यवाद र आदरको योग्य हुनुहुन्छ। (प्रकाश ७:१२ पढ्‌नुहोस्‌) सभामा प्रार्थना गर्दा, गीत गाउँदा अनि यहोवाबारे बोल्दा हामीले उहाँलाई दिनुपर्ने कुरा दिइरहेका हुन्छौं, त्यो हो, हामीले चढाउने उपासना। हाम्रो लागि यति धेरै काम गर्नुहुने परमेश्‍वरको आदर गर्ने यस्तो सुनौलो मौका हामी कदापि गुमाउन चाहँदैनौं।

१२. सभा जाने सन्दर्भमा यहोवाले दिनुभएको आज्ञा पालन गर्दा उहाँलाई कस्तो लाग्छ?

१२ आज्ञाकारी हुँदा पनि हामीले उहाँलाई दिनुपर्ने कुरा दिइरहेका हुन्छौं। उहाँले हामीलाई एक ठाउँमा भेला हुन नछोड, विशेषगरि आखिरी समयमा झनै एकअर्काको साथ नछोड्‌नू भनेर आज्ञा दिनुभएको छ। हामीले राजीखुसीले यो आज्ञा मान्दा उहाँलाई खुसी तुल्याइरहेका हुनेछौं। (१ यूह. ३:२२) एउटै पनि सभा नछुटाउन हामीले गरेको प्रयास उहाँले याद गर्नुहुन्छ र त्यसको कदर गर्नुहुन्छ।—हिब्रू ६:१०.

१३, १४. सभामार्फत्‌ हामी यहोवा र येशूसित कसरी नजिक हुन्छौं?

१३ सभामा उपस्थित हुँदा हामीले यहोवा र उहाँको छोरासित नजिक हुन चाहेको कुरा देखाइरहेका हुन्छौं। सभामा हाम्रा महान्‌ गुरुले हामीलाई आफ्नो वचन बाइबलमार्फत निर्देशनहरू दिनुहुन्छ। (यशै. ३०:२०, २१) यहोवाको सेवा नगर्ने कुनै मानिस सभामा उपस्थित हुँदा तिनले समेत यसो भन्‍न सक्छन्‌: “परमेश्‍वर साँच्चै तपाईंहरू माझ हुनुहुँदो रहेछ।” (१ कोरि. १४:२३-२५) यहोवाले सभाहरूमा आफ्नो पवित्र शक्‍ति खन्याउनुहुन्छ र धर्मशास्त्रबाट आवश्‍यक निर्देशनहरू दिनुहुन्छ। त्यसकारण एक अर्थमा हामीले सभामार्फत्‌ यहोवाको सोर सुनिरहेका हुन्छौं र उहाँको माया अनुभव गरिरहेका हुन्छौं। फलस्वरूप, हामी उहाँसित अझ नजिक हुन्छौं।

१४ येशूले भन्‍नुभयो: “जहाँ मेरो नाममा दुई वा तीन जना भेला हुन्छन्‌, त्यहाँ म तिनीहरूको माझमा हुन्छु।” (मत्ती १८:२०) सिद्धान्तको रूपमा लागू गर्ने हो भने यो कुरा हाम्रो सभाहरूमा पनि लागू हुन्छ। ख्रीष्टियन मण्डलीको शिरको हैसियतमा उहाँ परमेश्‍वरका सेवकहरूको मण्डलीबीच ‘हिंड्‌नुहुन्छ।’ (प्रका. १:२०–२:१) एकछिन सोच्नुहोस्‌! यहोवा र येशू हामीलाई ख्रीष्टियन मण्डलीमार्फत बलियो बनाउन लागिपर्नुभएको छ। त्यसैले यहोवा र उहाँको छोरासित नजिक हुने तीव्र चाहना देखाउँदा उहाँलाई कस्तो लाग्ला, सोच्नुहोस्‌ त!

१५. सभामा उपस्थित हुँदा यहोवाको आज्ञा पालन गर्न चाहेको कुरा कसरी देखाइरहेका हुन्छौं?

१५ सभामा उपस्थित हुँदा हामीले परमेश्‍वरको शासन गर्ने अधिकारलाई समर्थन गरिरहेका हुन्छौं। सभा जाने आज्ञा दिए पनि परमेश्‍वरले हामीलाई जबरजस्ती भने गर्नुहुन्‍न। (यशै. ४३:२३) त्यसैले उहाँलाई कत्तिको माया गर्छौं अनि उहाँको शासनलाई कत्तिको समर्थन गर्छौं, त्यो देखाउने त हाम्रै हातमा छ। (रोमी ६:१७) उदाहरणका लागि, हामीलाई काम गर्ने ठाउँको मालिकले सभा नै नजान दबाब दिन सक्छन्‌। सभा गयौं भने सरकारी मान्छेहरूले जरिबाना तिराउने, झ्यालखानामा हाल्ने वा त्योभन्दा पनि नराम्रो गर्ने धम्की दिन सक्छन्‌। अथवा सभा जानुभन्दा रमाइलो गर्नतिर लागूँ जस्तो लाग्न सक्छ। यी परिस्थितिहरूमा हामीले छनौट गर्नुपर्ने हुन सक्छ। त्यो हो, ‘कसको सेवा गर्ने?’ (प्रेषि. ५:२९) यतिबेला यहोवाको शासन गर्ने अधिकारलाई समर्थन गऱ्‍यौं भने हामीले उहाँको हृदयलाई आनन्दित तुल्याइरहेका हुन्छौं।—हितो. २७:११.

एकसाथ भेला हुन नछोड्‌नुहोस्‌

१६, १७. (क) प्रथम शताब्दीका ख्रीष्टियनहरू सभा जाने कुरालाई निकै महत्त्व दिन्थे भनेर कसरी थाह पाउन सक्छौं? (ख) ख्रीष्टियन सभाबारे जर्ज ग्याङ्‌गसले के भन्‍नुभयो?

१६ प्रथम शताब्दीका ख्रीष्टियनहरू इस्वी संवत्‌ ३३ पेन्तिकोसको चमत्कारपछि केही समयको लागि मात्र एक ठाउँमा भेला भएका थिएनन्‌। त्यसपछि पनि “तिनीहरू प्रेषितहरूको शिक्षा ध्यान दिएर सुन्थे” अनि “दिनहुँ मन्दिरमा भेला हुन्थे”। (प्रेषि. २:४२, ४६) यहाँ “सुन्थे,” “हुन्थे,” भनेर अनुवाद गरिएको ग्रीक शब्दलाई विचार गर्ने हो भने त्यसले कुनै काममा लागिरहनको लागि अथक प्रयास गर्ने कुरालाई सङ्‌केत गर्छ। रोमी शासक अनि यहूदी धर्मगुरुहरूको विरोधको कारण ती ख्रीष्टियनहरूलाई सभा जान सजिलो थिएन। तैपनि तिनीहरू निरन्तर यो काममा लागे।

१७ अहिलेको समयमा पनि यहोवाका थुप्रै सेवकले ख्रीष्टियन सभाप्रति गहिरो कृतज्ञता देखाएका छन्‌। परिचालक निकायको सदस्यको रूपमा २२ वर्षभन्दा लामो समयसम्म सेवा गरेका जर्ज ग्याङ्‌गसले यसो भन्‍नुभयो: “भाइहरूलाई भेट्‌नु भनेको मेरो लागि जीवनमा सबैभन्दा ठूलो आनन्द र प्रोत्साहनको स्रोत हो। सम्भव भएमा राज्य भवनमा सबैभन्दा पहिला पुग्न र फर्किंदा पनि सबैभन्दा अन्तमा निस्किन मलाई मन पर्छ। परमेश्‍वरका जनहरूसित कुरा गर्न पाउँदा म भित्रैदेखि आनन्दित महसुस गर्छु। तिनीहरूको माझमा मलाई आफ्नै परिवारसित बसेझैं लाग्छ। आध्यात्मिक प्रमोदवनमा पुगेको जस्तो लाग्छ।” तिनी अझै यसो भन्छन्‌: “कम्पासको सुइरो सधैं उत्तरतिर फर्केजस्तै मेरो भित्री सोचाइ र चाहना पनि सधैं सभा जाने ध्याउन्‍नमै हुन्छ।”

१८. तपाईंलाई सभा जाने कुरा कस्तो लाग्छ? अनि तपाईंको सङ्‌कल्प कस्तो छ?

१८ के तपाईं पनि यहोवाको सेवाको लागि एक ठाउँमा भेला हुने कुरालाई त्यसरी नै लिनुहुन्छ? त्यसोभए जस्तोसुकै परिस्थिति आइपरे तापनि सभा नछुटाउन यथासक्दो गर्नुहोस्‌। यसो गर्नुभयो भने तपाईंले राजा दाऊदले जस्तै यसो भनिरहनुभएको हुनेछ: “हे परमप्रभु, तपाईंको भवनको बासस्थान[लाई] . . . म प्रेम गर्दछु।”—भज. २६:८.

^ [१] (अनुच्छेद ३) आफ्नो क्षमताभन्दा बाहिरको कुराले गर्दा जस्तै: दीर्घकालीन रोगले गर्दा कोही-कोही ख्रीष्टियन नियमित रूपमा सभामा उपस्थित हुन सक्दैनन्‌। तैपनि यहोवाले तिनीहरूको अवस्था राम्ररी बुझ्नुहुन्छ अनि तिनीहरूले तनमनले चढाएको सेवाको उहाँ मोल गर्नुहुन्छ भनेर तिनीहरू ढुक्क हुन सक्छन्‌। यी अशक्‍तहरूले आध्यात्मिक कार्यक्रमबाट लाभ उठाउन सकोस्‌ भनेर एल्डरहरूले तिनीहरूलाई मदत गर्न सक्छन्‌। जस्तै: टेलिफोनद्वारा वा रेकर्डिङ गरिएको सभाको कार्यक्रम सुनेर लाभ उठाउन मदत गर्न सक्छन्‌।

^ [२] (अनुच्छेद ३) “सभा जानुका फाइदाहरू” भन्‍ने पेटी हेर्नुहोस्‌।

सभा भइरहेको चित्र

सभा जानुका फाइदाहरू:

  1. १. यहोवाबाट शिक्षा पाउँछौं।

  2. २. प्रोत्साहन पाउँछौं।

  3. ३. पवित्र शक्‍तिको डोऱ्‍याइ पाउँछौं।

  4. ४. मण्डलीका दाजुभाइ दिदीबहिनीलाई प्रेम देखाउने मौका पाउँछौं।

  5. ५. दाजुभाइ दिदीबहिनीसितको एकता बलियो बनाउन सक्छौं।

  6. ६. यहोवालाई दिनुपर्ने कुरा दिइरहेका हुन्छौं।

  7. ७. यहोवा र उहाँको छोरासित नजिक हुन चाहन्छौं भनेर देखाइरहेका हुन्छौं।

  8. ८. यहोवाको शासन गर्ने अधिकारलाई समर्थन गर्छौं भनेर देखाइरहेका हुन्छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने