प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w17 फेब्रुअरी p. २९-p. ३० par. ६
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा हामीलाई परीक्षाहरू सहन मदत गर्नुहुन्छ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • परीक्षाहरूलाई हामीले कुन दृष्टिले हेर्नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • परीक्षाको बावजूद विश्‍वासलाई पक्रिराख्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • परीक्षाहरूको बाबजुद आनन्द कायम राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
w17 फेब्रुअरी p. २९-p. ३० par. ६

पाठकहरूको प्रश्‍न

“तिमीहरूले सहनसक्नेभन्दा बाहिरको परीक्षामा [यहोवाले] तिमीहरूलाई पर्न दिनुहुनेछैन” भनेर प्रेषित पावलले लेखे। (१ कोरि. १०:१३) के यसको मतलब हामीले कस्तो परीक्षा सहन सक्छौं भन्‍ने कुरा यहोवाले पहिल्यै निर्धारण गर्नुहुन्छ र त्यसपछि हामीलाई कुन परीक्षामा पर्न दिने भनेर छनौट गर्नुहुन्छ भनेको हो?

यस्तो धारणाले हाम्रो जीवनमा कस्तो असर पार्छ, विचार गर्नुहोस्‌। छोराले आत्महत्या गरेपछि साक्षी बुबाले यस्तो प्रश्‍न सोधे: ‘म र मेरी श्रीमतीले छोराको मृत्युको पीडा सहन सक्छौं भनेर के यहोवाले पहिल्यै निर्धारण गर्नुभएको थियो? हामीले सहन सक्छौं भनेर परमेश्‍वरले पहिल्यै निर्धारण गरिसक्नुभएकोले यस्तो घटना भएको हो?’ यहोवाले हाम्रो जीवनमा आइपर्ने घटनाहरूलाई आफूले चाहेअनुसार मोड्‌नुहुन्छ भनेर विश्‍वास गर्ने ठोस कारण छ?

पहिलो कोरिन्थी १०:१३ मा पावलका शब्दहरूलाई अझ राम्ररी विचार गर्दा हामी यो निष्कर्षमा पुग्छौं: हामीले कस्तो परीक्षा सहन सक्छौं भन्‍ने कुरा यहोवाले पहिल्यै निर्धारण गर्नुहुन्छ र त्यसपछि हामीलाई कुन परीक्षामा पर्न दिने भनेर छनौट गर्नुहुन्छ भनी विश्‍वास गर्नुको कुनै धर्मशास्त्रीय आधार छैन। हामी किन यसो भन्‍न सक्छौं? यसका चार वटा कारण केलाऔं।

पहिलो, यहोवाले मानिसहरूलाई छनौट गर्ने स्वतन्त्रता दिनुभएको छ। हामीले आफ्नो निर्णय आफैले गरेको उहाँ चाहनुहुन्छ। (व्यव. ३०:१९, २०; यहो. २४:१५) हामीले सही मार्ग रोज्यौं भने डोऱ्‍याइको लागि यहोवाको मदत माग्न सक्छौं। (हितो. १६:९) तर गलत मार्ग रोज्यौं भने हामीले त्यसको नतिजा भोग्नुपर्नेछ। (गला. ६:७) हामीमाथि कस्ता परीक्षाहरू आइपर्न दिने भनेर यहोवाले पहिल्यै छनौट गर्नुभयो भने उहाँले हामीलाई छनौट गर्ने स्वतन्त्रता दिनुको कुनै अर्थ रहन्छ र?

दोस्रो, “समय र अवसरले” गर्दा हुने घटनाहरूबाट यहोवा हामीलाई जोगाउनुहुन्‍न। (उप. ९:११) हामी गलत समयमा गलत ठाउँमा भएकोले कुनै अप्रिय घटनामा पर्न र त्यसले गर्दा दुःखद परिणाम भोग्न सक्छौं। येशूले एक चोटि एउटा धरहरा ढल्दा १८ जना मानिसको ज्यान गएको घटनाबारे बताउनुभयो। तर ती मानिसहरू मरोस्‌ भन्‍ने परमेश्‍वरले चाहनुभएको थिएन भनेर येशूले सङ्‌केत गर्नुभयो। (लूका १३:१-५) अकस्मात्‌ हुने घटनाहरूमा को बाँच्छ र को मर्छ भनेर यहोवाले पहिल्यै निर्धारण गर्नुहुन्छ भनेर सोच्नु तर्कसङ्‌गत छ र?

तेस्रो, हामी प्रत्येक सत्यनिष्ठासम्बन्धी विवादमा मुछिएका छौं। नबिर्सनुहोस्‌, परीक्षा आइपर्दा यहोवाको कुनै पनि सेवक सत्यनिष्ठ रहनेछैनन्‌ भनेर सैतानले चुनौती दिएको छ। (अय्यू. १:९-११; २:४; प्रका. १२:१०) कुनै-कुनै परीक्षा हामीले सहन सक्दैनौं होला भन्ठानेर यहोवाले हामीलाई त्यस्ता परीक्षाहरू भोग्न दिनुभएन भने हामी आफ्नै स्वार्थको लागि मात्र परमेश्‍वरको सेवा गर्छौं भन्‍ने सैतानको आरोप सही साबित हुँदैन र?

चौथो, यहोवाले हाम्रो जीवनमा हुने एक-एक कुरा पहिल्यै थाह पाउने छनौट गर्नुहुन्‍न। हामीले कस्ता परीक्षाहरू भोग्नेछौं भनेर परमेश्‍वरले पहिल्यै छनौट गर्नुहुन्छ भन्‍ने धारणाले उहाँलाई हाम्रो भविष्यबारे एक-एक कुरा थाह हुनुपर्छ भन्‍ने अर्थ दिन्छ। तर यस्तो धारणा बाइबलसित मेल खाँदैन। हुन त परमेश्‍वरले भविष्यमा हुने सबै कुरा पहिल्यै थाह पाउन सक्नुहुन्छ। (यशै. ४६:१०) तर उहाँले कुन घटना थाह पाउने र कुन थाह नपाउने भनेर छनौट गर्नुहुन्छ भनी बाइबल बताउँछ। (उत्प. १८:२०, २१; २२:१२) छनौट गर्ने हाम्रो स्वतन्त्रताको आदर गर्दै उहाँले भविष्यको कुरा थाह पाउने आफ्नो क्षमताको प्रयोग गर्नुहुन्छ। हाम्रो स्वतन्त्रताको मोल गर्नुहुने अनि आफ्ना गुणहरू सन्तुलित ढङ्‌गमा प्रयोग गर्नुहुने परमेश्‍वरबाट के हामी यस्तै आशा गर्दैनौं र?—व्यव. ३२:४; २ कोरि. ३:१७.

त्यसोभए पावलले ‘तिमीहरूले सहनसक्नेभन्दा बाहिरको परीक्षामा परमेश्‍वरले तिमीहरूलाई पर्न दिनुहुनेछैन’ भन्‍नुको अर्थ के हो? पावलले यहाँ परीक्षा आउनुभन्दा अघि होइन, परीक्षाको दौडान यहोवा के गर्नुहुन्छ भनेर बताउँदै छन्‌। यहोवामाथि भरोसा राखेमा उहाँले हामीलाई जस्तोसुकै परीक्षामा सँभाल्नुहुनेछ भनेर पावलका शब्दहरूले आश्‍वासन दिन्छ। (भज. ५५:२२) पावलका यी आश्‍वासनदायी शब्दहरू दुइटा आधारभूत सत्यमा आधारित छन्‌।

पहिलो, हामी “साधारणतया सबै मानिसहरूलाई” आइपर्ने परीक्षाहरू भोग्छौं। त्यसैले अरू मानिसहरूले जस्ता परीक्षाहरू भोग्छन्‌, हामी पनि त्यस्तै परीक्षाहरू भोग्छौं। परमेश्‍वरमाथि भरोसा राख्यौं भने हामी जस्तोसुकै परीक्षा पनि सहन सक्छौं। (१ पत्रु. ५:८, ९) पहिलो कोरिन्थी १०:१३ को सन्दर्भ हेर्ने हो भने पावलले इस्राएलीहरूले उजाडस्थानमा भोगेका परीक्षाहरूबारे बताउँदै थिए। (१ कोरि. १०:६-११) ती परीक्षाहरू मानिसहरूले साधारणतया नभोग्ने वा वफादार इस्राएलीहरूले सहनै नसक्ने किसिमका थिएनन्‌। त्यतिबेला “कोही-कोही” अनाज्ञाकारी भए भनी पावलले चार चोटि दोहोऱ्‍याएका छन्‌। दुःखको कुरा, कोही-कोहीले परमेश्‍वरमाथि भरोसा राखेनन्‌; तिनीहरू आफ्नो लालसा पूरा गर्नतिर लागे।

दोस्रो, “परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ।” परमेश्‍वरले आफ्ना जनहरूसित गर्नुभएको व्यवहारसम्बन्धी विवरणले “उहाँलाई प्रेम गर्ने र उहाँका आज्ञा पालन गर्ने” मानिसहरूलाई उहाँ वफादार प्रेम गर्नुहुन्छ भनी देखाउँछ। (व्यव. ७:९) त्यस विवरणअनुसार परमेश्‍वरले आफ्ना प्रतिज्ञाहरू सधैं पूरा गर्नुहुन्छ। (यहो. २३:१४) उहाँ सधैं वफादार हुनुहुन्छ। त्यसैले उहाँलाई प्रेम गर्ने र उहाँको आज्ञा पालन गर्नेहरूले परीक्षा भोग्दा यी दुइटा कुरामा ढुक्क हुन सक्छन्‌: (१) उहाँले कुनै पनि परीक्षालाई हामीले सहनै नसक्ने हदसम्म चर्किन दिनुहुनेछैन। (२) उहाँले हाम्रो लागि “उम्कने बाटो” खोलिदिनुहुनेछ।

एउटी बहिनी बाइबल पढ्‌छिन्‌, प्रार्थना गर्छिन्‌ अनि दुई जना एल्डरलाई भेट्‌छिन्‌

यहोवाले “हाम्रा सबै सङ्‌कष्टहरूमा सान्त्वना दिनुहुन्छ”

परीक्षाहरू आइपर्दा यहोवामाथि भरोसा राख्नेहरूलाई उहाँ कसरी उम्कने बाटो खोलिदिनुहुन्छ? हुन त उहाँले चाहनुभएमा जस्तोसुकै परीक्षा पनि हटाइदिन सक्नुहुन्छ। तर पावलका यी शब्दहरू सम्झनुहोस्‌: “तिमीहरूले त्यो सहन सकोस्‌ भनेर परीक्षाका साथसाथै त्यसबाट उम्कने बाटो पनि [यहोवाले] खोलिदिनुहुनेछ।” त्यसैले प्रायजसो अवस्थामा अन्तसम्मै परीक्षाहरू सहन हामीलाई जे चाहिन्छ, उहाँले त्यो दिनुहुन्छ। यहोवाले हाम्रो लागि उम्कने बाटो खोलिदिनुहुने केही तरिका विचार गर्नुहोस्‌:

  • “उहाँले हाम्रा सबै सङ्‌कष्टहरूमा सान्त्वना दिनुहुन्छ।” (२ कोरि. १:३, ४) यहोवाले आफ्नो वचन, पवित्र शक्‍ति र विश्‍वासी दासले दिने आध्यात्मिक भोजनद्वारा हाम्रो दिमाग, मन र भावनालाई शान्त पार्न सक्नुहुन्छ।—मत्ती २४:४५; यूह. १४:१६; रोमी १५:४.

  • उहाँले हामीलाई पवित्र शक्‍तिद्वारा डोऱ्‍याउन सक्नुहुन्छ। (यूह. १४:२६) परीक्षाहरू आइपर्दा पवित्र शक्‍तिले हामीलाई बाइबलका विवरण तथा सिद्धान्तहरू सम्झन र त्यसपछि सही निर्णय गर्न मदत गर्न सक्छ।

  • उहाँले हामीलाई मदत गर्न स्वर्गदूतहरू चलाउन सक्नुहुन्छ।—हिब्रू १:१४.

  • सङ्‌गी उपासकहरूको बोली र व्यवहारद्वारा उहाँ हामीलाई ‘बल दिन’ सक्नुहुन्छ।—कल. ४:११.

त्यसोभए १ कोरिन्थी १०:१३ का शब्दहरूको अर्थबारे हामी कस्तो निष्कर्षमा पुग्न सक्छौं? हामीलाई कुन-कुन परीक्षा भोग्न दिने भनेर यहोवाले पहिल्यै छनौट गर्नुहुन्‍न। तर परीक्षाहरू भोग्नुपर्दा हामी यो कुरामा ढुक्क हुन सक्छौं: यहोवामा पूरा भरोसा राख्यौं भने हामीले सहनै नसक्ने हदसम्म उहाँले परीक्षाहरू चर्किन दिनुहुनेछैन; परीक्षाहरू सहन सकोस्‌ भनेर उहाँले सधैं हाम्रो लागि उम्कने बाटो खोलिदिनुहुनेछ। कस्तो सान्त्वनादायी!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने