प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w17 नोभेम्बर pp. ८-१२
  • के तपाईं यहोवामा शरण लिंदै हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईं यहोवामा शरण लिंदै हुनुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “तिमीहरूले शरण-नगरहरू नियुक्‍त गर”
  • “बूढा-प्रधानहरूलाई आफ्नो कुरा सुनाओस्‌”
  • “ती शहरहरूमध्ये एउटामा त्यो भागेर जाओस्‌”
  • “ती शहरहरू . . . शरणस्थान हुनेछन्‌”
  • शरण-नगरहरू —परमेश्‍वरको दयालु प्रबन्ध
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • “शरण-नगर[मा]” बस्नुहोस्‌ र बाँच्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • यहोवाको न्याय र कृपा अनुकरण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • “यहोवाको नाममा शरण लिनुहोस्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
w17 नोभेम्बर pp. ८-१२
अनजानमा हत्या गर्ने व्यक्‍ति शरण-नगरमा आइपुग्छन्‌

के तपाईं यहोवामा शरण लिंदै हुनुहुन्छ?

“परमप्रभुले आफ्ना दासहरूका जीवन उद्धार गरिदिनुहुन्छ, उहाँमा शरण लिने कोही पनि दोषी ठहरिनेछैन।”—भज. ३४:२२, NRV.

गीत: ८, ५४

शरण-नगरको प्रबन्धबाट तपाईं निम्न कुराबारे के सिक्न सक्नुहुन्छ . . .

  • गम्भीर पाप गर्ने व्यक्‍तिलाई मदत गर्न एल्डरहरूको भूमिकाबारे?

  • परमेश्‍वरको कृपा पाउन ठोस कदम चाल्नेबारे?

  • यहोवाले पूर्ण रूपमा क्षमा दिनुहुन्छ भन्‍नेबारे?

१. पापले गर्दा परमेश्‍वरका थुप्रै वफादार सेवकले कस्तो महसुस गरेका छन्‌?

“हाय, म कस्तो लाचार मानिस!” (रोमी ७:२४) प्रेषित पावलले जस्तै परमेश्‍वरका थुप्रै वफादार सेवकले पनि यस्तै महसुस गरेका छन्‌। हामी जन्मजात पापी छौं। त्यसैले यहोवालाई खुसी पार्ने इच्छा हुँदा हुँदै पनि हामी कहिलेकाहीं गल्ती गर्न पुग्छौं। अनि त्यसले गर्दा साह्रै दुःखी अर्थात्‌ लाचार महसुस गर्छौं। गम्भीर पाप गरेका केही ख्रीष्टियनले परमेश्‍वरबाट कहिल्यै क्षमा पाउन सकिंदैन जस्तो समेत महसुस गरेका छन्‌।

२. (क) भजन ३४:२२ ले परमेश्‍वरका सेवकहरू दोषी भावनाले पिरोलिनु पर्दैन भनेर कसरी देखाउँछ? (ख) यस लेखमा के छलफल गर्नेछौं? (“पाठ वा प्रतीकात्मक अर्थ?” भन्‍ने पेटी हेर्नुहोस्‌)

२ तर यहोवामा शरण लिनेहरू दोषी भावनाले पिरोलिनु पर्दैन भनी बाइबल हामीलाई आश्‍वासन दिन्छ। (भजन ३४:२२, NRV पढ्‌नुहोस्‌) यहोवामा शरण लिनुको अर्थ के हो? यहोवाको कृपा र क्षमा पाउन हामीले के गर्नुपर्छ? यी प्रश्‍नहरूको जवाफ पाउन पुरातन इस्राएलमा गरिएको शरण-नगरको प्रबन्धबारे विचार गरौं। शरण-नगरको प्रबन्ध व्यवस्थाको करारअनुसार गरिएको थियो र त्यो करारलाई इस्वी संवत्‌ ३३ पेन्तिकोसमा नयाँ करारले रद्द गऱ्‍यो। तर यो कुरा नबिर्सनुहोस्‌, यहोवाले नै व्यवस्था दिनुभएको थियो। त्यसैले शरण-नगरको प्रबन्धबाट पाप, पापीहरू र पश्‍चात्तापप्रति यहोवा कस्तो दृष्टिकोण राख्नुहुन्छ, सो राम्ररी बुझ्न सक्नेछौं। सर्वप्रथम, ती शरण-नगरहरू किन राखिएका थिए अनि त्यसको काम के थियो, हेरौं।

“तिमीहरूले शरण-नगरहरू नियुक्‍त गर”

३. जानाजानी कसैको हत्या गर्ने व्यक्‍तिलाई इस्राएलीहरू के गर्थे?

३ पुरातन इस्राएलमा कसैको हत्या भएमा यहोवा त्यसलाई एकदम गम्भीर कुरा ठान्‍नुहुन्थ्यो। कुनै इस्राएलीले जानाजानी कसैको हत्या गऱ्‍यो भने मारिने व्यक्‍तिको नजिकको पुरुष नातेदारले त्यस हत्यारालाई मार्नुपर्थ्यो। त्यस नातेदारलाई “रगतको साटो फेर्न चाहने व्यक्‍ति” भनिन्थ्यो। (गन्ती ३५:१९, NRV) यसो गर्दा, निर्दोष व्यक्‍तिको रगत बगाउने हत्याराले पनि आफ्नो ज्यान गुमाउनुपर्थ्यो। यसरी तुरुन्तै कदम चालिहाल्दा प्रतिज्ञा गरिएको देश अशुद्ध हुनेथिएन। किनभने यहोवाले यस्तो आज्ञा दिनुभएको थियो: “तिमीहरूले आफू बसेका ठाउँहरू अशुद्ध नपार्नू, किनकि [निर्दोष रगत बगाइँदा त्यसले] देश अशुद्ध पार्छ।”—गन्ती ३५:३३, ३४.

४. कसैले अनजानमा हत्या गऱ्‍यो भने इस्राएलीहरू के गर्थे?

४ तर कसैले अनजानमा हत्या गऱ्‍यो भने इस्राएलीहरू के गर्थे? तिनले अनजानमा हत्या गरेको भए तापनि निर्दोष मानिसको रगत बगाएकोमा तिनी दोषी हुन्थे। (उत्प. ९:५) त्यस्तो अवस्थामा तिनी रगतको साटो फेर्न चाहने व्यक्‍तिदेखि भागेर कुनै एउटा शरण-नगरमा गएको खण्डमा तिनीमाथि दया देखाउन सकिन्थ्यो। पुरातन इस्राएलमा छ वटा शरण-नगर थिए। त्यस्ता शरण-नगरमा तिनी सुरक्षित हुन्थे। अनजानमा कसैको हत्या गर्ने व्यक्‍ति प्रधान पुजारीको मृत्यु नहोउन्जेल त्यहीं रहनुपर्थ्यो।—गन्ती ३५:१५, २८.

५. यहोवालाई अझ राम्ररी चिन्‍न शरण-नगरको प्रबन्धले कसरी मदत गर्छ?

५ कुनै मानिसले नभई यहोवा स्वयम्‌ले शरण-नगरहरूको प्रबन्ध मिलाउनुभएको थियो। उहाँले यहोशूलाई यस्तो आज्ञा दिनुभयो: “इस्राएलीहरूलाई भनिदे, . . . ‘तिमीहरूले शरण-नगरहरू नियुक्‍त गर।’” यी शरण-नगरहरू “अर्पण” गरिएका अर्थात्‌ छुट्ट्याइएका थिए। (यहो. २०:१, २, ७, ८) यहोवाले नै एउटा खास उद्देश्‍यको लागि यी शरण-नगरहरू अलग्गै छुट्ट्याउनुभएको थियो। त्यसैले हाम्रो मनमा यस्ता प्रश्‍नहरू आउन सक्छन्‌: यहोवाले देखाउनुहुने कृपाबारे अझ राम्ररी बुझ्न शरण-नगरको प्रबन्धबाट कस्तो मदत पाउँछौं? अनि आज यहोवामा कसरी शरण लिने भन्‍नेबारे के सिक्न सक्छौं?

“बूढा-प्रधानहरूलाई आफ्नो कुरा सुनाओस्‌”

६, ७. (क) अनजानमा हत्या गर्ने व्यक्‍तिको न्याय गर्ने सन्दर्भमा बूढा-प्रधानहरूको भूमिका बताउनुहोस्‌। (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌) (ख) हत्याराले बूढा-प्रधानहरूलाई भेट्‌नु किन बुद्धिमानी थियो?

६ अनजानमा हत्या गर्ने व्यक्‍ति भागेर जुन शरण-नगरमा गए, तिनले त्यस सहरको ढोकाभित्र पस्ने ठाउँनेर ‘बूढा-प्रधानहरूलाई आफ्नो कुरा सुनाउनुपर्थ्यो।’ उनीहरूले त्यस हत्यारालाई सहरमा बस्न दिनुपर्थ्यो। (यहो. २०:४) केही समयपछि, त्यस हत्याराले जुन सहरमा हत्या गरेका थिए, त्यहाँका बूढा-प्रधानहरूकहाँ तिनलाई फर्काइन्थ्यो र ती बूढा-प्रधानहरूले न्याय गर्नुपर्थ्यो। (गन्ती ३५:२४, २५, NRV पढ्‌नुहोस्‌) ती बूढा-प्रधानहरूले अनजानमा हत्या भएको ठहराएमा मात्र त्यस हत्यारालाई फेरि शरण-नगरमा पठाइन्थ्यो।

७ हत्याराले किन बूढा-प्रधानहरूलाई भेट्‌नुपर्थ्यो? किनभने बूढा-प्रधानहरूले इस्राएलको समुदायलाई शुद्ध राख्नुपर्थ्यो र अनजानमा हत्या गर्ने व्यक्‍तिलाई यहोवाको कृपा पाउन मदत गर्नुपर्थ्यो। एक बाइबलविद्‌अनुसार हत्याराले बूढा-प्रधानहरूलाई नभेटेमा “तिनको ज्यान जान सक्थ्यो।” उनले यसो पनि लेखे: “आफ्नो मृत्युको दोषी तिनी स्वयम्‌ हुन्थे किनभने सुरक्षा दिन परमेश्‍वरले मिलाउनुभएको प्रबन्धको तिनले सदुपयोग गरेनन्‌।” अनजानमा हत्या गर्नेले मदत पाउन सक्थे तर त्यसको लागि तिनले कदम चाल्नुपर्थ्यो र त्यो मदत स्विकार्नुपर्थ्यो। तिनले यहोवाले अलग्गै छुट्ट्याउनुभएको कुनै एउटा सहरमा शरण नलिएको खण्डमा मर्ने व्यक्‍तिको नजिकको नातेदारले तिनलाई मार्न पाउँथ्यो।

८, ९. गम्भीर पाप गरेका व्यक्‍तिले किन एल्डरहरूसित मदत माग्नुपर्छ?

८ आज, गम्भीर पाप गरेका ख्रीष्टियनले यहोवासितको आफ्नो सम्बन्धलाई फेरि सुमधुर बनाउन एल्डरहरूको मदत लिनुपर्छ। यसो गर्नु किन महत्त्वपूर्ण छ? पहिलो, गम्भीर पाप गर्ने व्यक्‍तिलाई मदत दिन यहोवाले नै एल्डरहरूको प्रबन्ध मिलाउनुभएको हो भनेर बाइबल बताउँछ। (याकू. ५:१४-१६) दोस्रो, यस प्रबन्धले पश्‍चात्तापी व्यक्‍तिलाई फेरि यहोवाको अनुमोदन पाउन र पाप नदोहोऱ्‍याउन मदत गर्छ। (गला. ६:१; हिब्रू १२:११) तेस्रो, पश्‍चात्तापी व्यक्‍तिहरूलाई आश्‍वासन दिन अनि उनीहरूको मनको बोझ र दोषी भावना कम गर्न एल्डरहरूलाई आज्ञा दिइएको छ। त्यसो गर्न तिनीहरूले तालिम पनि पाएका छन्‌। यहोवाले ती एल्डरहरूलाई “बतासबाट लुक्ने ठाउँ” अर्थात्‌ शरणस्थान भन्‍नुभएको छ। (यशै. ३२:१, २) यस प्रबन्धले परमेश्‍वरको कृपा प्रकट गर्छ भन्‍ने कुरामा के तपाईं सहमत हुनुहुन्‍न र?

९ परमेश्‍वरका थुप्रै सेवकले एल्डरहरूकहाँ जाँदा र तिनीहरूबाट मदत पाउँदा मनको बोझ हल्का भएको महसुस गरेका छन्‌। डानियल नाम गरेका भाइको अनुभव विचार गर्नुहोस्‌। तिनले गम्भीर पाप गरे तर महिनौंसम्म एल्डरहरूकहाँ गएनन्‌। तिनी यसो भन्छन्‌: “धेरै समय बितिसकेकोले अब त एल्डरहरूले मलाई केही मदत दिन सक्दैनन्‌ जस्तो लागेको थियो। तैपनि कसै न कसैले मेरो पापबारे थाह पाऊला र मैले सजाय भोग्नुपर्ला भनेर डर लागिरहन्थ्यो। अनि प्रार्थना गर्दा सुरुमा जहिले पनि आफ्नो पापको लागि माफी माग्थें। त्यसो नगरी प्रार्थनामा अरू केही कुरा भन्‍नै सक्दिनथें।” पछि बल्ल डानियलले एल्डरहरूको मदत मागे। त्यो समयलाई फर्केर हेर्दा तिनी यसो भन्छन्‌: “एल्डरहरूकहाँ जान मलाई साँच्चै डर लागेको थियो। तर उहाँहरूसित कुरा गरेपछि भने मेरो मन साह्रै हल्का भएको महसुस गरें। अब म निश्‍चिन्त भई यहोवालाई प्रार्थना गर्न सक्छु।” अहिले डानियलले सफा अन्तस्करण राख्न सकेका छन्‌ र तिनी हालै सहायक सेवकको रूपमा पनि नियुक्‍त भए।

“ती शहरहरूमध्ये एउटामा त्यो भागेर जाओस्‌”

१०. अनजानमा हत्या गर्ने व्यक्‍तिले कृपा पाउन कस्तो ठोस कदम चाल्नुपर्थ्यो?

१० अनजानमा हत्या गर्ने व्यक्‍तिले कृपा पाउन ठोस कदम चाल्नुपर्थ्यो। तिनी भागेर नजिकैको शरण-नगरमा जानुपर्थ्यो। (यहोशू २०:४ पढ्‌नुहोस्‌) त्यसो नगरेको खण्डमा तिनको ज्यानै जान सक्थ्यो। त्यसैले तिनी कुनै कदम नचाली यत्तिकै बसिरहेको हामी कल्पना गर्न सक्दैनौं। हत्यारा जतिसक्दो चाँडो भागेर शरण-नगरमा जानुपर्थ्यो र त्यहीं बस्नुपर्थ्यो। यसको मतलब तिनले केही कुरा त्याग्नुपर्ने हुन्थ्यो। तिनले आफ्नो पहिलाको काम र आरामदायी घर त्याग्नुपर्थ्यो अनि तिनी खुलेआम यताउता जान सक्दैनथे। प्रधान पुजारीको मृत्यु नहोउन्जेल तिनी त्यहीं बस्नुपर्थ्यो।a (गन्ती ३५:२५) यस्ता असुविधाहरू भए तापनि तिनको त्याग खेर जाने थिएन। शरण-नगर छोडेर गएका भए तिनले अरूको ज्यान लिएकोमा कुनै अफसोस नमानेको देखाइरहेका हुन्थे अनि आफ्नो ज्यान पनि खतरामा पारिरहेका हुन्थे।

११. परमेश्‍वरको कृपालाई हल्कासित नलिएको कुरा पश्‍चात्तापी व्यक्‍तिले कसरी देखाउँछन्‌?

११ परमेश्‍वरबाट क्षमा पाउन पश्‍चात्तापी व्यक्‍तिहरूले अहिले पनि ठोस कदम चाल्नुपर्छ। तिनीहरूले पापी मार्गलाई चटक्कै छोड्‌नुपर्छ। यसको मतलब गम्भीर पाप मात्र होइन तर अक्सर त्यस्तो पाप गर्नतर्फ डोऱ्‍याउन सक्ने सानातिना पापहरू पनि गर्न छोड्‌नुपर्छ। कोरिन्थका पश्‍चात्तापी ख्रीष्टियनहरूले के-के गरे भनेर प्रेषित पावलले बताए। परमेश्‍वरको प्रेरणा पाएर तिनले यस्तो लेखे: “तिमीहरू परमेश्‍वरको इच्छाअनुसार दुःखी भएको हुँदा यसले तिमीहरूमा कत्ति धेरै उत्सुकता उत्पन्‍न गऱ्‍यो; हो, आफूलाई दोषमुक्‍त गर्ने कत्ति धेरै इच्छा, कत्ति धेरै आक्रोश, कत्ति धेरै डर, कत्ति धेरै तिर्सना, कत्ति धेरै जोस; हो, तिमीहरूले आफ्नो गल्ती सच्यायौ!” (२ कोरि. ७:१०, ११) पापी मार्ग त्याग्न तुरुन्तै ठोस कदम चाल्यौं भने हामी आफ्नो अवस्थाबारे चिन्तित छौं र यहोवाको कृपालाई हल्कासित लिएका छैनौं भनेर देखाइरहेका हुन्छौं।

१२. परमेश्‍वरको कृपा पाइरहन ख्रीष्टियनहरूले के-कस्ता कुराहरू त्याग्नुपर्ने हुन सक्छ?

१२ परमेश्‍वरको कृपा पाइरहन ख्रीष्टियनहरूले के-कस्ता कुराहरू त्याग्नुपर्ने हुन सक्छ? चाहे आफूलाई असाध्यै मन पर्ने कुरा नै किन नहोस्‌, त्यसले पाप गर्नतर्फ डोऱ्‍याउन सक्छ भने तिनी त्यो त्याग्न तयार हुनुपर्छ। (मत्ती १८:८, ९) केही साथीले तपाईंलाई यहोवालाई मन नपर्ने कुरा गर्न उक्साउँछन्‌ भने के तपाईं तिनीहरूसित सङ्‌गत गर्न छोड्‌नुहुन्छ? मादक पेयपदार्थ पिउने सन्दर्भमा संयमित हुन गाह्रो भइरहेको छ भने के तपाईं धेरै रक्सी पिउने प्रलोभनमा पार्न सक्ने अवस्थाबाट टाढै बस्न तयार हुनुहुन्छ? अनुचित यौनइच्छालाई वशमा राख्न सङ्‌घर्ष गर्दै हुनुहुन्छ भने के तपाईं पतित सोचाइ जगाउने चलचित्र, वेबसाइट वा गतिविधिबाट टाढै बस्नुहुन्छ? यो कुरा नबिर्सनुहोस्‌, यहोवाप्रति निष्ठावान्‌ रहिरहन हामीले गर्ने कुनै पनि त्याग खेर जानेछैन। यहोवाबाट तिरस्कृत महसुस गर्नुभन्दा पीडादायी कुरा अरू कुनै छैन। अर्कोतर्फ, यहोवाको “अनन्त प्रेम” महसुस गर्नुभन्दा सन्तोषजनक कुरा अरू कुनै छैन।—यशै. ५४:७, ८.

“ती शहरहरू . . . शरणस्थान हुनेछन्‌”

१३. शरण-नगरमा हत्यारा किन सुरक्षित अनि आनन्दित हुन सक्थे?

१३ शरण-नगरमा छिरिसकेपछि हत्यारा सुरक्षित हुन्थे। ती सहरहरूबारे यहोवाले यसो भन्‍नुभयो: “ती शहरहरू . . . शरणस्थान हुनेछन्‌।” (यहो. २०:२, ३) एकचोटि फैसला भइसकेको मुद्दाको लागि हत्यारामाथि फेरि मुद्दा चलाउनु यहोवा आवश्‍यक ठान्‍नुहुन्‍नथ्यो। साथै रगतको साटो लिने व्यक्‍तिले शरण-नगरभित्र छिरेर हत्यारालाई मार्न पाउँदैनथे। कसैले बदला लेला भनेर हत्यारा डराएर बस्नु पर्दैनथ्यो। शरण-नगरभित्र तिनी यहोवाको छत्रछायामा सुरक्षित रहन्थे। शरण-नगर तिनको लागि झ्यालखाना थिएन। यहाँ तिनले काम गर्न, अरूलाई मदत गर्न अनि शान्तिमय अवस्थामा यहोवाको सेवा गर्न पाउँथे। हो, तिनले आनन्दित अनि सन्तोषजनक जीवन बिताउन सक्थे!

एउटी बहिनी प्रार्थना गर्छिन्‌, ढुक्क महसुस गर्छिन्‌ अनि अर्की बहिनीसित प्रचार जान्छिन्‌

यहोवाले क्षमा गर्नुहुन्छ भनेर ढुक्क हुनुहोस्‌ (अनुच्छेद १४-१६ हेर्नुहोस्‌)

१४. पश्‍चात्तापी ख्रीष्टियन कुन कुरामा ढुक्क हुन सक्छन्‌?

१४ गम्भीर पापको लागि पश्‍चात्ताप गरिसकेपछि पनि परमेश्‍वरका कोही-कोही सेवक दोषी भावनाले पिरोलिएका छन्‌। आफ्नो गम्भीर पापको दाग यहोवाको नजरबाट कहिल्यै हट्‌नेछैन जस्तो पनि तिनीहरूलाई लाग्न सक्छ। तपाईंलाई पनि त्यस्तो लाग्छ भने यहोवाले क्षमा गर्नुहुँदा उहाँले पूर्ण रूपमा क्षमा गर्नुहुन्छ भनेर ढुक्क हुनुहोस्‌। यसअघि उल्लेख गरिएका डानियलले यस्तै महसुस गरे। एल्डरहरूले तिनलाई सच्याएर सफा अन्तस्करण राख्न मदत गरिसकेपछि तिनले साह्रै हलुका महसुस गरे। तिनले यसो भने: “बल्ल चैनको सास फेर्न सकें जस्तो लाग्यो। क्षमा पाइसकेपछि मैले फेरि दोषी महसुस गरिनँ। एक चोटि पाप मेटिसकेपछि त्यो सदाको लागि मेटिन्छ। यहोवाले भन्‍नुभएझैं उहाँले तपाईंको बोझ उठाउनुहुन्छ र त्यसलाई धेरै टाढा पुऱ्‍याइदिनुहुन्छ। तपाईंले त्यो फेरि कहिल्यै देख्नुहुनेछैन।” हत्यारा शरण-नगरमा छिरिसकेपछि रगतको साटो फेर्ने व्यक्‍तिले मार्न आऊला कि भनेर तिनी अझै पनि डराएर बस्नु पर्दैनथ्यो। त्यसरी नै, यहोवाले एक चोटि हाम्रो पाप क्षमा गरिसक्नुभएपछि उहाँले फेरि त्यो पाप कोट्ट्याउनुहोला वा हामीलाई सजाय दिनुहोला भनेर डराउनु पर्दैन।—भजन १०३:८-१२ पढ्‌नुहोस्‌।

१५, १६. फिरौतीको बलिदान चढाउने र प्रधान पुजारीको भूमिका निर्वाह गर्ने व्यक्‍ति येशू हुनुहुन्छ भनेर बुझ्दा परमेश्‍वरको कृपामा तपाईं कसरी अझ विश्‍वस्त हुन सक्नुहुन्छ?

१५ साँच्चै भन्‍ने हो भने, यहोवाले कृपा देखाउनुहुने कुरामा विश्‍वस्त हुन हामीले पुरातन समयका इस्राएलीहरूले भन्दा अझ ठूलो कारण पाएका छौं। प्रेषित पावलले पूर्ण रूपमा यहोवाको आज्ञा पालन गर्न नसक्दा लाचार महसुस गरेका थिए। तर त्यसपछि तिनले यसो भने: “हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्‍वरलाई धन्यवाद होस्‌!” (रोमी ७:२५) पावलले पापी इच्छाहरूविरुद्ध सङ्‌घर्ष गरिरहेका थिए र विगतमा गरेको पापको लागि पश्‍चात्ताप गरेका थिए। त्यसैले परमेश्‍वरले येशूमार्फत तिनको पाप क्षमा गर्नुभएको कुरामा तिनी ढुक्क थिए। येशूले हाम्रो लागि पनि फिरौतीको बलिदान चढाउनुभएको हुँदा हामी सफा अन्तस्करण राख्न र मनोशान्ति पाउन सक्छौं। (हिब्रू ९:१३, १४) येशू हाम्रो प्रधान पुजारी हुनुभएकोले “उहाँमार्फत परमेश्‍वरको नजिक आउनेहरूलाई उहाँले पूरै उद्धार गर्न सक्नुहुन्छ किनभने उनीहरूको निम्ति बिन्ती गर्न उहाँ सधैं जीवित हुनुहुन्छ।” (हिब्रू ७:२४, २५) पुरातन समयमा प्रधान पुजारीको भूमिकाले गर्दा इस्राएलीहरू आफ्नो पाप क्षमा हुने कुरामा ढुक्क हुन सक्थे। हाम्रो लागि पनि येशूले प्रधान पुजारीको भूमिका निर्वाह गर्नुहुने भएकोले “चाहिएकै बेला मदत पाउन हामीले उहाँको कृपा र असीम अनुग्रह हासिल गर्न” सक्छौं भनेर अझ विश्‍वस्त हुन सक्छौं।—हिब्रू ४:१५, १६.

१६ त्यसैले यहोवामा शरण लिन हामीले येशूले चढाउनुभएको बलिदानमा विश्‍वास गर्नुपर्छ। उहाँले चढाउनुभएको फिरौतीको बलिदान सबै मानिसको लागि हो भन्‍ने मात्र नसम्झनुहोस्‌। बरु फिरौतीको बलिदान तपाईंकै लागि हो भनेर विश्‍वस्त हुनुहोस्‌। (गला. २:२०, २१) फिरौतीको बलिदानले गर्दा तपाईंका पापहरू क्षमा हुन सम्भव भएको छ भनेर विश्‍वास गर्नुहोस्‌। अनि फिरौतीको बलिदानले गर्दा तपाईंले अनन्त जीवनको आशा पाउनुभएको छ भनेर विश्‍वास गर्नुहोस्‌। येशूको बलिदान यहोवाले तपाईंकै लागि दिनुभएको उपहार हो।

१७. तपाईं किन यहोवामा शरण लिन चाहनुहुन्छ?

१७ शरण-नगरको प्रबन्धले हामीलाई यहोवाको कृपाबारे अझ राम्ररी बुझ्न मदत गर्छ। परमेश्‍वर जीवनलाई पवित्र ठान्‍नुहुन्छ भनेर यस प्रबन्धले प्रस्ट पार्छ। साथै, एल्डरहरू हामीलाई कसरी मदत गर्छन्‌, साँचो पश्‍चात्ताप भनेको के हो अनि यहोवाले पूर्ण रूपमा क्षमा गर्नुहुन्छ भनेर हामी किन ढुक्क हुन सक्छौं, त्यो बुझ्न पनि मदत गर्छ। के तपाईं यहोवामा शरण लिंदै हुनुहुन्छ? यो भन्दा सुरक्षित ठाउँ अरू कुनै छैन! (भज. ९१:१, २) शरण-नगरको प्रबन्धले हामीलाई न्याय र कृपा देखाउने सन्दर्भमा यहोवाको उत्कृष्ट उदाहरण अनुकरण गर्न कसरी मदत गर्छ, अर्को लेखमा बुझ्नेछौं।

a यहूदी शास्त्रविद्‌हरूअनुसार अनजानमा हत्या गर्ने व्यक्‍तिको परिवार सम्भवत: पछि तिनीसँगै शरण-नगरमा बस्न आउँथे।

पाठ वा प्रतीकात्मक अर्थ?

सेप्टेम्बर १, १८९५ को द वाच टावर-ले शरण-नगरको प्रतीकात्मक अर्थ छ भनेर बतायो। त्यस अङ्‌कमा यस्तो बताइएको थियो: “मोशाको व्यवस्थाअन्तर्गत गरिएको यस प्रबन्धले पापी व्यक्‍तिले ख्रीष्टमा पाउने शरणलाई सङ्‌केत गर्छ। उहाँमा विश्‍वास गरेर शरण लिएमा तिनी सुरक्षित रहनेछन्‌।” त्यसको सय वर्षपछि प्रहरीधरहरा-ले शरण-नगरको प्रतीकात्मक अर्थबारे यसरी बतायो: “यो हामीले जीवनको पवित्रतासम्बन्धी परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गरेको हुँदा मृत्युबाट बचाउन उहाँले गर्नुभएको प्रबन्ध हो।”

तर मार्च १५, २०१५ को प्रहरीधरहरा-ले हाल हाम्रा प्रकाशनहरूमा बाइबलका केही विवरणको भविष्यसूचक अर्थबारे त्यति उल्लेख नगर्नुको कारण यसरी बतायो: “धर्मशास्त्रले नै कुनै व्यक्‍ति, घटना वा वस्तुले कुनै कुरालाई सङ्‌केत गर्छ भनेर बताउँछ भने हामीले त्यो कुरा स्वीकार्नुपर्छ। तर कुनै धर्मशास्त्रीय आधार छैन भने कुनै व्यक्‍ति वा विवरणको लाक्षणिक अर्थ लगाउनु हुँदैन।” शरण-नगरको प्रतीकात्मक अर्थबारे बाइबलमा केही उल्लेख गरिएको छैन। त्यसैले यो र यसपछिको लेखले शरण-नगरको प्रतीकात्मक अर्थलाई होइन, साँचो ख्रीष्टियनहरूले सिक्न सक्ने पाठलाई जोड दिन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने