३ समस्याहरूसँग जुझ्न मदत गर्छ
केही समस्याहरू चाहेर पनि टार्न सकिंदैन न त त्यसलाई तुरुन्तै समाधान नै गर्न सकिन्छ। उदाहरणका लागि, तपाईंको प्रियजनको मृत्यु भएको हुन सक्छ अथवा तपाईंलाई दीर्घकालीन रोग लाग्न सक्छ। यस्तो अवस्थामा ती समस्याहरूसित जुझ्नुबाहेक तपाईंसँग अरू कुनै विकल्प नहुन सक्छ। के यस्तो कठिन घडीमा बाइबलले मदत गर्न सक्छ?
दीर्घकालीन रोग
रुबी भन्छिन्, “वंशानुगत रोगले गर्दा मलाई असह्य पीडा हुन्छ र यो पीडा लामो समयसम्म रहिरहन्छ। यसले मेरो जीवनै खल्लो बनाइदिएको छ।” कहिलेकाहीं तिनलाई बाइबल अध्ययन गर्न र उपासनासित सम्बन्धित गतिविधिमा ध्यान दिन निकै गाह्रो हुन्थ्यो। यसले तिनलाई असाध्यै चिन्तित बनाएको थियो। तर मत्ती १९:२६ मा रेकर्ड गरिएका येशूका शब्दहरूबाट तिनले निकै मदत पाइन्, जहाँ यस्तो लेखिएको छ: “परमेश्वरको तर्फबाट भने सबै कुरा सम्भव छ।” रुबीले अध्ययन गर्ने थुप्रै तरिका छन् भनेर थाह पाइन्। त्यसैले कहिलेकाहीं दुखाइले गर्दा पढ्नै नसकिने अवस्थामा तिनले बाइबल र बाइबलआधारित साहित्यहरूका श्रव्य रेकर्डिङहरू सुन्न थालिन्।a तिनी भन्छिन्, “यी तरिकाहरू नअपनाएको भए म परमेश्वरसित घनिष्ठ भइरहन सक्दिन थिएँ होला।”
रुबी पहिला गर्न सक्ने कुराहरू अहिले गर्न नसक्दा निराश हुन्छिन्। त्यस्तो बेला २ कोरिन्थी ८:१२ का शब्दहरूबाट तिनी सान्त्वना पाउँछिन्, जहाँ यस्तो लेखिएको छ: “यदि दिने तत्परता छ भने त्यो नै ग्रहणयोग्य हुन्छ, मानिसले आफूसित जे छ, त्यही दिएको आशा गरिन्छ, नभएको कुरा होइन।” यी शब्दहरूबाट तिनको प्रयास देखेर परमेश्वर साँच्चै खुसी हुनुहुन्छ भन्ने कुरा तिनले बुझिन्। किनभने तिनी आफ्नो सीमितताको बाबजुद क्षमताले भ्याएसम्म सबै गर्छिन्।
मानसिक पीडा
अघिल्लो लेखमा उल्लेख गरिएकी सुनिता आफ्नो तीतो अनुभव यसरी सम्झिन्छिन्: “मेरी अठार वर्षीया छोरी बितेपछि मलाई यति असह्य पीडा भयो कि अब म बाँच्नै सक्दिनँ जस्तो लाग्यो। मेरो जीवनै उथलपुथल भयो।” उनले भजन ९४:१९ मा लिपिबद्ध शब्दहरूबाट निकै प्रोत्साहन पाइन्, जसमा भजनरचयिताले परमेश्वरलाई यसो भनेका छन्: “मेरो मनमा ज्यादा फिक्री हुँदा तपाईंका सान्त्वनाहरूले मलाई आनन्दित तुल्याउँछन्।” सुनिता भन्छिन्, “मैले के गरें भने मेरो मनको पीडा कम गर्न सक्छु, बुझ्न मदत गर्नुहोस् भनी यहोवालाई प्रार्थना गरें।”
उनी स्वयंसेवा गर्न व्यस्त भइन्। त्यस दौडान उनले आफू मैन-रङ्गजस्तै भएको महसुस गरिन् किनभने मैन-रङ्ग भाँचिए पनि त्यो अझै पनि चित्रमा रङ्ग लगाउन प्रयोग गर्न सकिन्छ। त्यसैले सुनिताले आफू टुटेको महसुस गरे तापनि अरूलाई मदत गर्न केही न केही त पक्कै गर्न सकिन्छ भन्ने निष्कर्षमा पुगिन्। उनी भन्छिन्: “मैले आफ्ना बाइबल विद्यार्थीहरूलाई बाइबलका सिद्धान्तहरूद्वारा सान्त्वना दिएँ अनि परमेश्वरको जस्तै दृष्टिकोण राखेर प्रोत्साहन दिएँ। यो तरिका अपनाउँदा वास्तवमा मैले पो यहोवाबाट बल र सान्त्वना पाइरहेकी थिएँ।” साथै उनले असह्य पीडा भोगेका बाइबलका पात्रहरूको एउटा सूची बनाइन्। ती सबै पात्र यहोवालाई खुरन्धार प्रार्थना गर्ने व्यक्तिहरू थिए भनेर याद गरिन्। उनी भन्छिन्, “तपाईंले बाइबल खोल्नु नै भएन भने प्रार्थनाको जवाफ कसरी पाउन सक्नुहुन्छ र?”
बाइबल अध्ययन गरेर सुनिताले विगतमा नभई भविष्यमा ध्यान केन्द्रित गर्न सिकिन्। प्रेषित २४:१५ मा दिइएको आशाले उनलाई सान्त्वना दियो: “परमेश्वरको स्तरबमोजिम ज-जसले असल काम गरे अनि ज-जसले गरेनन्, तिनीहरू दुवै पुनर्जीवित हुनेछन्।” यहोवाले छोरीलाई पुनर्जीवित गर्नुहुनेछ भन्ने कुरामा सुनिता कत्तिको ढुक्क थिइन्? उनी भन्छिन्: “भविष्यमा म आफ्नी छोरीलाई पक्कै भेट्नेछु। हाम्रो भेट हुने ‘मिति’ निश्चित भइसकेको छ। हाम्रो बुबा यहोवाले त्यो आफ्नो तालिकामा लेखेर राख्नुभएको जस्तै हो। हामी दुई जना बगैंचामा सँगै बसिरहेको दिनको कल्पना गर्छु। यो दिन मलाई त्यति नै वास्तविक लाग्छ, जुन दिन मैले उसलाई जन्माएकी थिएँ।”
a यस्ता थुप्रै श्रव्य रेकर्डिङ jw.org/ne वेबसाइटमा उपलब्ध छन्।
बाइबलले असाध्यै कठिन घडीमा पनि तपाईंलाई सान्त्वना दिन सक्छ