जीवनी
यहोवाको तर्फबाट सबै कुरा सम्भव छ
“मृत्यु हुनेछैन अनि मरेकाहरूलाई फेरि जीवित पारिनेछ।” यी शब्दहरू मेरी श्रीमती मिराम्बुबुले बसमा यात्रा गर्दै गर्दा सुनेकी थिइन्। त्यो सुनेपछि उनलाई एकदम सकसक लाग्यो र अझ धेरै कुरा जान्न चाहिन्। बस रोकिएपछि सबै यात्रु ओर्लिए। मेरी श्रीमती भने त्यो कुरा भन्ने महिलाको पछिपछि लागिन्। त्यस महिलाको नाम आपुन माम्बेत्साडिकोभा थियो। तिनी यहोवाको साक्षी थिइन्। त्यसताका साक्षीहरूसित कुरा गर्दा आफ्नो ज्यान जोखिममा पर्न सक्थ्यो। तर हामीले आपुनबाट जे सिक्यौँ, त्यसले गर्दा हाम्रो जीवनै बदलियो।
बिहानदेखि बेलुकीसम्म काम गर्दै
मेरो जन्म सन् १९३७ मा किर्गिजस्तानको तोक्मोक भन्ने ठाउँ नजिकै भएको थियो। हामी किर्गिज जातिका मानिसहरू हौँ र किर्गिज भाषा बोल्छौँ। मेरो आमाबुबा खेतीकिसानी गर्नुहुन्थ्यो अनि बिहानदेखि बेलुकीसम्म खेतमा काम गर्नुहुन्थ्यो। किसानहरूलाई रासन त सधैँ दिइन्थ्यो तर ज्यालास्वरूप नगद भने वर्षको एक चोटि मात्र दिइन्थ्यो। म र मेरी बहिनीको लालनपालन गर्न आमालाई सजिलो थिएन। त्यसैले म जम्मा पाँच वर्ष मात्र स्कुल जान पाएँ। त्यसपछि मैले पनि आमाबुबासँगै दिनभरि खेतमा काम गर्न थालेँ।
तेस्के आला-तु पर्वतमाला
हाम्रो इलाकामा धेरैजसो मानिस गरिब थिए। त्यसैले हातमुख जोर्न पनि धौधौ पर्थ्यो। जवान छँदा मैले जीवनको उद्देश्य वा भविष्यबारे केही पनि सोचेको थिइनँ। यहोवा परमेश्वर र उहाँको उद्देश्यसम्बन्धी सत्य कुराहरूले मेरो जीवनमा आमूल परिवर्तन ल्याउला भनेर मैले कल्पनासमेत गरेको थिइनँ। परमेश्वरको सन्देश कसरी किर्गिजस्तानसम्म पुग्यो र देशभरि फैलियो भन्ने विवरण एकदम रोचक छ। त्यसको सुरुवात हाम्रै इलाका अर्थात् किर्गिजस्तानको उत्तरी भागबाट भएको थियो।
निर्वासनबाट फर्केकाहरूले किर्गिजस्तानमा सत्य ल्याए
किर्गिजस्तानका मानिसहरूले १९५० दशकतिर यहोवा परमेश्वरबारे साँचो ज्ञान पाए। यहाँ सत्यले जरा गाड्न त्यति सजिलो थिएन। किन? किनभने किर्गिजस्तान भूतपूर्व सोभियत सङ्घको भाग थियो। यहोवाका साक्षीहरू राजनैतिक मामिलामा तटस्थ थिए। (यूह. १८:३६) त्यसैले कम्युनिस्ट सरकार साक्षीहरूलाई आफ्नो शत्रु ठान्थ्यो र खेदो गर्थ्यो। तर सोझो हृदय भएका मानिसहरूको मनसम्म परमेश्वरको वचन पुग्नदेखि कुनै मानवदर्शनले रोक्न सक्दैन। मेरो लामो जीवनकालमा मैले सिकेको सबैभन्दा महत्त्वपूर्ण पाठ यही हो, यहोवाको तर्फबाट “सबै कुरा सम्भव छ।”—मर्कू. १०:२७.
एमिल यान्जेन
यहोवाका साक्षीहरूले भोग्नुपरेको खेदोले गर्दा सत्य किर्गिजस्तानसम्म पनि आइपुग्यो। कसरी? सोभियत सङ्घको इलाकामा साइबेरियाको ठूलो भूभाग पनि पर्छ। अनि कम्युनिस्ट सरकारले आफ्ना शत्रुहरूलाई साइबेरियामा निर्वासित गर्थ्यो। त्यहाँबाट मुक्त भएका धेरै जना किर्गिजस्तान आए। यसरी आएकाहरूमध्ये कोही-कोहीले सत्य पनि ल्याए। त्यस्तै एक व्यक्ति एमिल यान्जेन थिए। तिनी सन् १९१९ मा किर्गिजस्तानमा जन्मिएका थिए। तिनलाई श्रम शिविरमा पठाइएको थियो र त्यहीँ छँदा तिनले साक्षीहरूलाई भेटेका थिए। तिनले सत्य स्विकारे अनि सन् १९५६ मा किर्गिजस्तान फर्किए। तिनी हाम्रो इलाकामा पर्ने जोकुलुकनजिकै बसोबास गरे। किर्गिजस्तानको पहिलो मण्डली सन् १९५८ मा जोकुलुकमै स्थापना भएको थियो।
भिक्टर भिन्टर
त्यसको एक वर्षपछि भिक्टर भिन्टर जोकुलुकमा बसाइँ सरे। यी वफादार भाइले धेरै दुःख खेप्नुपरेको थियो। तटस्थ रहेकोले गर्दा तिनले दुई चोटि तीन-तीन वर्षको जेल सजाय काट्नुपऱ्यो। त्यसपछि फेरि अर्को दस वर्ष जेलमा अनि थप पाँच वर्ष निर्वासनमा बिताउनुपऱ्यो। तर त्यस्तो खेदोले पनि साँचो उपासना फैलनदेखि रोक्न सकेन।
हाम्रो गाउँमा सत्य आइपुग्छ
एड्वार्ड भार्टर
सन् १९६३ सम्ममा किर्गिजस्तानमा यहोवाका साक्षीहरूको सङ्ख्या लगभग १६० पुगिसकेको थियो। तिनीहरूमध्ये धेरैजसो जर्मनी, युक्रेन र रूसबाट आएका थिए। तिनीहरूमध्ये एड्वार्ड भार्टर पनि थिए। तिनले सन् १९२४ मा जर्मनीमा बप्तिस्मा गरेका रहेछन् र पछि साइबेरियामा निर्वासित भएका रहेछन्। सन् १९४० को दशकमा नाजी शासनको बेला तिनलाई यातना शिविरमा पठाइएको रहेछ। अनि त्यसको केही वर्षपछि सोभियत सङ्घका कम्युनिस्टहरूले तिनलाई निर्वासनमा पठाएका रहेछन्। सन् १९६१ मा यी वफादार भाइ कान्ट सहरमा बसाइँ सरे। कान्ट सहर हाम्रो घरबाट नजिकै पर्छ।
एलिजाबेथ फोट; आक्सामाई सल्टानालिभा
एलिजाबेथ फोट पनि यहोवाको वफादार सेवक थिइन्। उनी पनि कान्टमा बस्थिन् र सिलाइको काम गर्थिन्। उनी सिलाइमा असाध्यै निपुण थिइन्। त्यसैले डाक्टर र शिक्षकजस्ता पेशेवरहरू उनीकहाँ लुगा सिउन आउँथे। उनको एउटी ग्राहक आक्सामाई सल्टानालिभा थिइन्। तिनको श्रीमान् वकिलहरूको अफिसमा काम गर्ने अफिसर थिए। आक्सामाई लुगा सिउन एलिजाबेथको पसलमा आउँदा जीवनको उद्देश्य अनि मरेकाहरूको अवस्थाबारे थुप्रै प्रश्न सोध्थिन्। एलिजाबेथले ती सबै प्रश्नको जवाफ बाइबलबाटै दिन्थिन्। पछि आक्सामाई पनि सुसमाचारको जोसिलो प्रचारक भइन्।
निकोलाइ शेम्पोएस
यही समयतिर मोल्डोभाका निकोलाइ शेम्पोएस क्षेत्रीय निरीक्षक नियुक्त भए। तिनले लगभग ३० वर्षसम्म क्षेत्रीय निरीक्षकको रूपमा सेवा गरे। त्यतिबेला निकोलाइले मण्डलीहरूको भ्रमण गर्नुका साथै हाम्रा प्रकाशनहरूको प्रतिलिपि बनाउने र वितरण गर्ने कामलाई पनि व्यवस्थित पारे। तर तिनको गतिविधि सरकारी अख्तियारवालाहरूको नजरबाट लुकेन। त्यसैले एड्वार्ड भार्टरले निकोलाइलाई यस्तो हौसला दिए: “सरकारी अख्तियारवालाहरूले तिमीलाई सोधपुछ गरे भने यी साहित्यहरू हाम्रो मुख्यालय ब्रूक्लिनबाट पाउँछौँ भनेर सीधै भन्नू। डराउनु पर्दैन, केजीबी-काa गुप्तचरहरूसित सीधै आँखामा हेरेर कुरा गर्नू।”—मत्ती १०:१९.
त्यो कुराकानी भएको धेरै समय नबित्दै निकोलाइलाई कान्टस्थित केजीबी मुख्यालयमा बोलाइयो। त्यहाँ भएको कुरा तिनले यसरी बताए: “केजीबी-का एक गुप्तचरले मलाई साहित्यहरू कहाँबाट आउँछ भनेर सोधे। मैले ब्रूक्लिनबाट भनेँ। त्यसपछि ती गुप्तचरले केही भन्नै सकेनन्। तिनले मलाई त्यत्तिकै जान दिए र फेरि कहिल्यै बोलाएनन्।” यस्ता निडर साक्षीहरूले एकदम चनाखो हुँदै हामी बसोबास गर्ने किर्गिजस्तानको उत्तरी भेगमा सुसमाचार सुनाइरहे। त्यसैले सन् १९८० को दशकतिर हाम्रो परिवारले पनि यहोवाबारे सुन्न पायो। सत्य सबैभन्दा पहिले सुन्नेचाहिँ मेरी श्रीमती मिराम्बुबु थिइन्।
मेरी श्रीमतीले ‘सत्य यही हो’ भनेर बुझिहालिन्
मिराम्बुबुको माइती गाउँ किर्गिजस्तानको नारिन क्षेत्रमा पर्छ। उनी सन् १९७४ को अगस्त महिनामा मेरी बहिनीको घरमा आएकी थिइन्। मैले उनलाई पहिलो चोटि भेटेको त्यहीँ हो। पहिलो चोटि देख्नेबित्तिकै मैले उनलाई मन पराइहालेँ। त्यसैले हामीले त्यही दिन विवाह गऱ्यौँ।
आपुन माम्बेत्साडिकोभा
सन् १९८१ को जनवरी महिनामा मिराम्बुबु बजार जान बसमा यात्रा गरिरहेकी बेला उनले सुरुमा उल्लेख गरिएको कुराकानी सुनेकी थिइन्। त्यसबारे मेरी श्रीमती अझ जान्न चाहन्थिन्। त्यसैले ती महिलाको नाम र ठेगाना मागिन्। उनले आफ्नो नाम आपुन हो भनेर बताइन्। तर आफ्नो विषयमा बताउँदा उनी चनाखो थिइन् किनभने १९८० को दशकसम्म पनि साक्षीहरूमाथि लगाइएको प्रतिबन्ध हटिसकेको थिएन। आपुनले मेरी श्रीमतीलाई आफ्नो ठेगाना दिनुको साटो हाम्रो ठेगाना मागिन्। त्यसपछि मेरी श्रीमती एकदम खुसी हुँदै घर फर्किन्।
मिराम्बुबुले यसो भनिन्: “आज मैले कस्तो अचम्मको कुरा सुनेँ! अब चाँडै हामी मर्नु नपर्ने समय आउँदै छ रे। जङ्गली जनावरहरूले पनि हामीलाई केही हानि गर्नेछैनन् रे।” यो कुरा सुन्दा त मलाई दन्त्यकथा जस्तो लाग्यो। त्यसैले मैले भनेँ: “खै, कस्तो कुरा हो! उनी हाम्रो घरमा आएपछि के भन्दी रै’छिन्, सुन्नुपर्ला।”
त्यसको तीन महिनापछि आपुन हाम्रो घर आइन्। त्यसपछि त बारम्बार आउन थालिन्। त्यतिबेला हामीले किर्गिज जातिबाट सुरु-सुरुतिर साक्षी भएकाहरूलाई भेट्न पायौँ। यी बहिनीहरूले हामीलाई यहोवा र मानिसहरूको लागि उहाँको अद्भुत उद्देश्यबारे धेरै कुरा बताए। तिनीहरूले प्रमोदवन गुमेदेखि प्रमोदवन प्राप्त गरुन्जेलसम्मb भन्ने किताबबाट हामीलाई बाइबलको कुराहरू सिकाए। तोक्मोकमा त्यो किताबको एउटा प्रति मात्र भएकोले हामीले हातैले सारेर त्यसको प्रति बनायौँ।
हामीले सुरु-सुरुतिर सिकेका कुरामध्ये एउटा उत्पत्ति ३:१५ को भविष्यवाणी पनि थियो। यो भविष्यवाणी परमेश्वरको मसीही राजा येशूमार्फत पूरा हुनेछ। यो सबैले सुन्नुपर्ने महत्त्वपूर्ण सन्देश हो! त्यसैकारण राज्यको सुसमाचार सुनाउने काममा हामी सबैले भाग लिनै पर्छ। (मत्ती २४:१४) यसरी बाइबलको साँचो ज्ञान लिँदै जाँदा चाँडै नै हाम्रो जीवनमा परिवर्तनहरू आउन थाल्यो।
प्रतिबन्धको बेला सभा र बप्तिस्मा
तोक्मोकको एक जना साक्षी भाइले हामीलाई एउटा विवाहमा निम्तो दिए। त्यहाँ जाँदा म र मेरी श्रीमतीले साक्षीहरू अरूभन्दा बेग्लै छन् भनेर बुझिहाल्यौँ। त्यो समारोहमा रक्सी राखिएको थिएन अनि रमाइलो गर्ने तरिका पनि एकदमै शिष्ट थियो। त्यो विवाह समारोह फरक किसिमको थियो। हामी गएका प्रायजसो विवाहमा पाहुनाहरू रक्सीले मात्तिन्थे, जथाभाबी व्यवहार गर्थे अनि छाडा बोली बोल्थे।
हामी तोक्मोकको मण्डलीका केही सभामा पनि गयौं। मौसमले साथ दिँदा सभाहरू जङ्गलमा गरिन्थ्यो। प्रहरीले हामीमाथि निगरानी राखिरहेका हुन्छन् भनेर भाइबहिनीलाई थाह थियो। त्यसैले पहरा दिन एक जना भाइलाई खटाइएको हुन्थ्यो। जाडो महिनामा चाहिँ घरभित्र सभा गरिन्थ्यो। केही पटक प्रहरीहरू घरमा आए अनि हामी के गर्दै छौँ भनेर सोधपुछ गरे। सन् १९८२ जुलाईमा चुई नदीमा मिराम्बुबु र मैले बप्तिस्मा गऱ्यौँ। त्यतिबेला पनि चनाखो भएर कामकुरा गर्नुपरेको थियो। (मत्ती १०:१६) हाम्रो बप्तिस्माको बेला केही भाइहरू आए र जङ्गलमा भेला भए। हामीले राज्य गीत गायौँ र बप्तिस्मा भाषण सुन्यौँ।
हामीले सेवा विस्तार गर्ने मौकाको सदुपयोग गऱ्यौँ
सन् १९८७ मा एक जना भाइले मलाई बालिक्सी सहरमा बस्ने एक जना मानिसलाई भेट्न जान भन्नुभयो। तिनले बाइबलको कुरामा चासो देखाएका रहेछन्। तिनको घरसम्म पुग्न हाम्रो घरबाट चार घण्टा रेलयात्रा गर्नुपर्थ्यो। हामी बालिक्सीमा धेरै चोटि प्रचार गर्न गयौँ अनि चासो देखाउने थुप्रै मानिस भेट्यौँ। यो हाम्रो लागि सेवा विस्तार गर्ने साँच्चै राम्रो मौका थियो।
मिराम्बुबु र म धेरै चोटि बालिक्सी गयौँ। हामी शनिबार, आइतबार त्यहीँ बसेर प्रचार गर्थ्यौँ अनि सभा सञ्चालन गर्थ्यौँ। हाम्रा प्रकाशनहरूको माग निकै बढ्न थाल्यो। हामीले तोक्मोकबाट प्रकाशनहरू आलुको बोरामा राखेर ल्याउँथ्यौँ। हुनत महिनाको दुई बोरा प्रकाशन ल्याउँथ्यौँ, तैपनि पढ्न चाहने सबैलाई दिन कहाँ पुग्थ्यो र! बालिक्सी जाँदा-आउँदा हामी रेलमा पनि यात्रुहरूलाई प्रचार गर्थ्यौँ।
सन् १९९५ मा बालिक्सीमा मण्डली स्थापना भयो। हामी बालिक्सी जान थालेको आठ वर्षपछि पहिलो मण्डली बन्यो। तोक्मोकदेखि बालिक्सीसम्म ओहोरदोहोर गर्न निकै खर्च लाग्थ्यो। हामीसित धेरै पैसा थिएन। तैपनि कसरी यात्रा गरिरहन सक्यौँ? एक जना साक्षी भाइले हामीलाई खर्च बेहोर्न सधैँ पैसा दिनुहुन्थ्यो। हामीले आफ्नो सेवा विस्तार गर्न चाहेको यहोवाले देख्नुभएको थियो। अनि उहाँले हाम्रो लागि “स्वर्गका झ्यालहरू” उघारिदिनुभयो। (मला. ३:१०) हो, यहोवाको तर्फबाट सबै कुरा सम्भव छ!
परिवारको लालनपालन र प्रचारकार्यमा व्यस्त
सन् १९९२ मा म एल्डर नियुक्त भएँ। म यहाँको पहिलो किर्गिज एल्डर थिएँ। तोक्मोकको हाम्रो मण्डलीमा आफ्नो सेवा विस्तार गर्ने नयाँ ढोकाहरू खुल्न थाल्यो। यहाँ कलेजमा पढ्न आएका थुप्रै जवान किर्गिज विद्यार्थीलाई हामीले अध्ययन गरायौँ। तीमध्ये एक जना अहिले किर्गिजस्तानको शाखा समितिमा सेवा गर्दै छन्। अर्को दुई जनाचाहिँ विशेष अग्रगामीको रूपमा सेवा गर्दै छन्। सभामा आएका अरू व्यक्तिहरूलाई मदत गर्न पनि हामी अग्रसर भयौँ। सन् १९९० दशकको सुरु-सुरुतिर हाम्रा प्रकाशनहरू सबै रूसी भाषामा हुन्थ्यो अनि सभा पनि रूसी भाषामै सञ्चालन गरिन्थ्यो। तर किर्गिज भाषा बोल्ने व्यक्तिहरू मण्डलीमा बढ्न थाले। त्यसैले म रूसी भाषाबाट किर्गिज भाषामा उल्था गरिदिन्थेँ। यसले गर्दा धेरैलाई बाइबलको सत्य बुझ्न सजिलो भयो।
सन् १९८९ मा मेरी श्रीमती र आठ छोराछोरीसँगै
मिराम्बुबु र म छोराछोरी हुर्काउन पनि व्यस्त भयौँ। छोराछोरीलाई हामी प्रचारमा अनि सभामा लैजान्थ्यौँ। हाम्री छोरी गुल्सिरा १२ वर्षकी मात्र थिइन्, तैपनि बाटोमा हिँड्नेहरूलाई बाइबलको कुरा बताउन उनलाई रमाइलो लाग्थ्यो। अनि हाम्रा छोराछोरीलाई बाइबलका पदहरू कण्ठ पार्न मन पर्थ्यो। यसरी हाम्रा छोराछोरी अनि पछि नातिनातिना मण्डलीको गतिविधिमा एकदम व्यस्त रहे। अहिले भएका ९ छोराछोरी अनि ११ नातिनातिनामध्ये १६ जना यहोवाको सेवा गर्दै छन् वा सभा धाउँदै छन्।
ठूलठूला उपलब्धि
सन् १९५० को दशकमा हाम्रो भेगमा यहोवाको काम सुरु गरेका प्यारा भाइबहिनीले अहिले हामीले अनुभव गरेका परिवर्तनहरू देख्न पाएका भए छक्कै पर्थे होलान्। एउटा उल्लेखनीय परिवर्तन सन् १९९० को दशकमा भयो। त्यतिबेलादेखि हामीले सुसमाचार प्रचार गर्न र ठूलठूला जमघट गर्न धेरै स्वतन्त्रता पाएका छौँ।
मेरी श्रीमतीसित प्रचारकार्यमा।
सन् १९९१ मा म र मेरी श्रीमती पहिलो चोटि अधिवेशनमा उपस्थिति भयौँ। त्यो काजकस्तानको आल्मा-आटामा आयोजना गरिएको थियो। त्यो ठाउँलाई अहिले आल्माटी भनिन्छ। सन् १९९३ मा किर्गिजस्तानका भाइहरूले पहिलो चोटि बिश्केकको स्पार्टाक रङ्गशालामा अधिवेशन आयोजना गरे। अधिवेशनअघि प्रकाशकहरूले एक हप्ता लगाएर रङ्गशाला सफा गरे। यसले गर्दा रङ्गशालाका मालिक यति प्रभावित भए कि तिनले हामीलाई रङ्गशाला सित्तैँमा प्रयोग गर्न दिए।
सन् १९९४ मा हामीले अर्को एउटा उपलब्धि हासिल गऱ्यौँ। त्यस वर्ष हाम्रा प्रकाशनहरू किर्गिज भाषामा पहिलो चोटि निस्कियो। अहिले बिश्केकस्थित शाखा कार्यालयमा रहेको अनुवाद टोलीले नियमित रूपमा हाम्रा प्रकाशनहरू किर्गिज भाषामा अनुवाद गर्छ। सन् १९९८ मा किर्गिजस्तानमा यहोवाका साक्षीहरूको कामले कानुनी मान्यता पायो। अहिले साक्षीहरूको सङ्ख्या बढेर ५ हजारभन्दा धेरै भइसक्यो। अहिले चिनियाँ, अङ्ग्रेजी, किर्गिज, रूसी, रूसी साङ्केतिक भाषा, टर्किश, उइगुर र उज्बेक भाषाका ८३ मण्डली र २५ समूह छन्। आफ्नो पृष्ठभूमि फरक-फरक भए तापनि यी प्यारा भाइबहिनीहरू एकजुट भई यहोवाको सेवा गर्दै छन्। यहोवाले गर्दा नै यस्ता उल्लेखनीय परिवर्तनहरू सम्भव भएको हो।
यहोवाले मेरो जीवन पनि परिवर्तन गर्नुभयो। म साधारण किसान परिवारमा हुर्किएँ र जम्मा पाँच वर्ष मात्र स्कुल गएँ। तैपनि यहोवाले मलाई एल्डरको रूपमा सेवा गर्न र मभन्दा धेरै शिक्षा हासिल गरेका मानिसहरूलाई बाइबलको कुरा सिकाउन चलाउनुभयो। यहोवाले असम्भव कुरालाई सम्भव बनाउनुहुन्छ। यहोवाको तर्फबाट “सबै कुरा सम्भव छ” भनी अरूलाई बताउन मेरो आफ्नै अनुभवले मलाई झकझकाइरहन्छ।—मत्ती १९:२६
a केजीबी भनेको सोभियत सरकारको सुरक्षा निकाय हो।
b यहोवाका साक्षीहरूद्वारा प्रकाशित तर अहिले छापिँदैन।