प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp19 No. १ pp. ६-९
  • साँचो ईश्‍वर कस्तो हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • साँचो ईश्‍वर कस्तो हुनुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • साँचो ईश्‍वर शक्‍तिशाली हुनुहुन्छ
  • साँचो ईश्‍वर बुद्धिमान्‌ हुनुहुन्छ
  • साँचो ईश्‍वर न्यायी हुनुहुन्छ
  • साँचो ईश्‍वर प्रेम हुनुहुन्छ
  • “हेर, हाम्रा परमेश्‍वर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • “उहाँका सबै काम न्यायसङ्‌गत छन्‌”
    यहोवासित नजिक हुनुहोस्‌
  • ‘परमेश्‍वरको बुद्धिको गहिराइ कत्ति अथाह छ!’
    यहोवासित नजिक हुनुहोस्‌
  • एक मात्र साँचो परमेश्‍वरको रूपमा यहोवाको महिमा गर्नुहोस्‌
    एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
wp19 No. १ pp. ६-९
ताराले भरिएको आकाश

साँचो ईश्‍वर कस्तो हुनुहुन्छ?

कोही व्यक्‍तिमा कस्ता गुणहरू छन्‌ भनेर थाह पाउँदै जाँदा तिनलाई राम्ररी चिन्‍न सक्छौँ र तिनीसितको मित्रता पनि बलियो हुँदै जान्छ। त्यसैगरि, यहोवाका गुणहरूबारे सिक्दै जाँदा उहाँ कस्तो व्यक्‍ति हुनुहुन्छ भनेर बुझ्छौँ अनि उहाँसितको मित्रता पनि बलियो हुँदै जान्छ। ईश्‍वरका मुख्य चारवटा गुण हुन्‌: शक्‍ति, बुद्धि, न्याय र प्रेम।

साँचो ईश्‍वर शक्‍तिशाली हुनुहुन्छ

‘हे ब्रह्‍माण्डका मालिक यहोवा! तपाईँले आफ्नो अपार शक्‍तिले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।’—यर्मिया ३२:१७.

ईश्‍वरको शक्‍तिको प्रमाण उहाँको सृष्टिमा देखिन्छ। उदाहरणको लागि, जाडो यामको घमाइलो दिनमा घामको न्यानो स्पर्श महसुस हुन्छ। वास्तवमा त्यतिबेला हामीले यहोवाको सृजनात्मक शक्‍ति महसुस गरिरहेका हुन्छौँ। उहाँले सृष्टि गर्नुभएको सूर्य कति शक्‍तिशाली छ? भनिन्छ, यसको केन्द्रको तापक्रम लगभग १ करोड ५० लाख डिग्री सेल्सियस हुन्छ। लाखौँलाख आणविक बम विष्फोटन हुँदा जति शक्‍ति उत्पादन हुन्छ, सूर्यले प्रति सेकेन्ड त्यति नै शक्‍ति उत्पादन गर्छ।

तैपनि ब्रह्‍माण्डमा भएको अनगिन्ती ताराको तुलनामा सूर्य एकदमै सानो छ। सबैभन्दा ठूला ताराहरूमध्ये वि-स्कुटि (UY Scuti) नामक ताराको व्यास सूर्यको भन्दा लगभग १ हजार ७ सय गुणा ठूलो छ भनी वैज्ञानिकहरू अनुमान लगाउँछन्‌। यदि सूर्यको ठाउँमा यो तारा भएको भए यसले वृहस्पति ग्रहको कक्षसम्मको ठाउँ ओगट्‌ने थियो। पृथ्वीको लागि त कुनै ठाउँ नै रहने थिएन। यसले हामीलाई माथि उल्लिखित यर्मियाका शब्दहरूको अर्थ अझ स्पष्टसित बुझ्न मदत गर्छ: आकाश, पृथ्वी र ब्रह्‍माण्डका सबै थोक यहोवाले आफ्नो अपार शक्‍तिले सृष्टि गर्नुभयो।

ताराले भरिएको आकाश

ईश्‍वरको शक्‍तिबाट कस्तो लाभ उठाउन सक्छौँ? हाम्रो जीवन ईश्‍वरको भौतिक सृष्टिमा निर्भर छ। जस्तै: सूर्य र पृथ्वीमा भएका सबै स्रोतसाधनहरू। साथै ईश्‍वरले हामीलाई व्यक्‍तिगत रूपमा मदत गर्न आफ्नो शक्‍ति चलाउनुहुन्छ। कसरी? प्रथम शताब्दीमा उहाँले आफ्नो छोरा येसुलाई आश्‍चर्यपूर्ण काम गर्न शक्‍ति दिनुभयो। त्यसबारे यस्तो लेखिएको छ: “अन्धाहरूले देख्न थालेका छन्‌, लङ्‌गडाहरू हिँड्‌न थालेका छन्‌, कुष्ठरोगीहरू शुद्ध पारिएका छन्‌, बहिराहरूले सुन्‍न थालेका छन्‌, मरेकाहरू जीवित भएका छन्‌।” (मत्ति ११:५) आज नि? बाइबल भन्छ: “उहाँ थकितहरूलाई बल दिनुहुन्छ” अनि “यहोवामा आशा राख्नेहरूले भने फेरि बल पाउनेछन्‌।” (यसैया ४०:२९, ३१) उहाँले हामीलाई “असाधारण शक्‍ति” दिन सक्नुहुन्छ, जसले गर्दा हामीले जीवनमा भोग्ने सङ्‌कट र कठिनाइको सामना गर्न सक्छौँ। (२ कोरिन्थी ४:७) हामीलाई अपार प्रेम गर्नुहुने र मदत गर्न आफ्नो असीमित शक्‍ति प्रयोग गर्नुहुने साँचो ईश्‍वरसित के तपाईँ घनिष्ठ हुन चाहनुहुन्‍न र?

साँचो ईश्‍वर बुद्धिमान्‌ हुनुहुन्छ

“हे यहोवा, तपाईँका कामहरू अनगिन्ती छन्‌! ती सबै तपाईँले आफ्नो बुद्धिले बनाउनुभयो।”—भजन १०४:२४.

ईश्‍वरले बनाउनुभएको कुराहरूबारे थाह पाउँदै जाँदा उहाँ कत्ति बुद्धिमान्‌ हुनुहुन्छ भनेर देखिन्छ। वास्तवमा वैज्ञानिकहरूले यहोवाको सृष्टिबारे अध्ययन गरेर अनि त्यसको नकल गरेर नै आफ्नो डिजाइनमा सुधार ल्याउँछन्‌। अध्ययनको यस क्षेत्रलाई अङ्‌ग्रेजीमा बायोमिमेटिक्स वा बायोमिमिक्री भनिन्छ। क्यामेराको लेन्सदेखि हवाइजहाजसम्मको डिजाइन यसरी नै तयार पारिएको हो।

मानिसको आँखा

मानिसको आँखा अद्‌भुत सृष्टि हो

ईश्‍वरको बुद्धि झल्किने उत्कृष्ट उदाहरण मानव शरीर हो। गर्भमा शिशुको विकास कसरी हुन्छ, विचार गरौँ। सुरुमा आवश्‍यक सबै जानकारी भएको एउटा निषेचित कोषबाट विकासको प्रक्रिया सुरु हुन्छ। त्यो कोष उस्तै कोषहरूमा विभाजन हुन्छ। तर निश्‍चित समय पुगेपछि ती कोषहरू अन्य विभिन्‍न कोषहरूमा विभाजन हुन थाल्छन्‌। जस्तै: रक्‍त कोष, स्नायु कोष र हाड कोष। छिट्टै विभिन्‍न अङ्‌गहरू विकास भएर काम गर्न थाल्छन्‌। नौ महिनामै एउटा सिङ्‌गो कोष विकसित शिशु बन्छ। यस्तो जटिल प्रक्रियामा झल्किने ईश्‍वरको बुद्धि देखेर मानिसहरू बाइबलको एक जना लेखकको यो भनाइसित सहमत हुन्छन्‌: “म तपाईँको प्रशंसा गर्छु किनकि म अचम्मलाग्दो तरिकामा बनिएको छु।”—भजन १३९:१४.

ईश्‍वरको बुद्धिबाट कस्तो लाभ उठाउन सक्छौँ? आनन्दित हुन हामीलाई के चाहिन्छ भनेर सृष्टिकर्तालाई थाह छ। उहाँले आफ्नो ज्ञान र समझले भरिएको किताब बाइबलमार्फत हामीलाई राम्रो सल्लाह दिनुहुन्छ। उदाहरणको लागि, बाइबलमा यस्तो सल्लाह पाउँछौँ: “एकअर्कालाई . . . खुला मनले क्षमा गरिरहो।” (कलस्सी ३:१३) यो साँच्चै बुद्धिले भरिएको सल्लाह हो। अनुसन्धानले देखाएअनुसार क्षमाशील हुँदा मीठो निद्रा लाग्छ र रक्‍तचाप कम हुन्छ। साथै डिप्रेसनजस्ता अरू स्वास्थ्य समस्या हुने सम्भावना पनि कम हुन्छ। ईश्‍वर बुद्धिमान्‌ र मायालु साथीजस्तै हुनुहुन्छ, जसले हामीलाई मदतकारी र उपयोगी सल्लाह दिनुहुन्छ। (२ तिमोथि ३:१६, १७) के तपाईँ यस्तो बुद्धिमान्‌ व्यक्‍तिलाई साथी बनाउन चाहनुहुन्‍न र?

साँचो ईश्‍वर न्यायी हुनुहुन्छ

“यहोवा न्याय मन पराउनुहुन्छ।”—भजन ३७:२८.

ईश्‍वर सधैँ जे सही छ, त्यही गर्नुहुन्छ। वास्तवमा “साँचो परमेश्‍वरले कहिल्यै कसैलाई दुःख दिनुहुन्‍न, सर्वशक्‍तिमान्‌ परमेश्‍वरले कसैको हानि गर्नुहोला भनेर सोच्न समेत सकिँदैन।” (अय्युब ३४:१०) यहोवाले उचित न्याय गर्नुहुन्छ भनेर भजनरचयिताले बताए। तिनले यसो भने: “तपाईँले निष्पक्ष भई मानिसहरूको न्याय गर्नुहुनेछ।” (भजन ६७:४) “यहोवा परमेश्‍वरले मानिसको हृदय हेर्नुहुन्छ”, त्यसैले छलकपट गरेर उहाँलाई धोका दिन सकिँदैन। उहाँले साँचो कुरा थाह पाउनुहुन्छ र उचित न्याय गर्नुहुन्छ। (१ समुएल १६:७) साथै अहिले संसारमा भइरहेको अन्याय र भ्रष्टाचार उहाँको नजरबाट लुकेको छैन। चाँडै “दुष्टहरूचाहिँ पृथ्वीबाट हटाइनेछन्‌” भनेर उहाँले वाचा गर्नुभएको छ।—हितोपदेश २:२२.

ईश्‍वर सजाय दिइहाल्ने कठोर न्यायकर्ता हुनुहुन्‍न। कृपा देखाउनुपर्ने अवस्था आयो भने उहाँ कृपा पनि देखाउनुहुन्छ। बाइबल भन्छ: “यहोवा कृपालु र दयालु हुनुहुन्छ।” त्यसैले दुष्टहरूले साँचो पश्‍चात्ताप गरेमा उहाँ तिनीहरूलाई कृपा र दया देखाउनुहुन्छ। यो नै उचित न्याय होइन र?—भजन १०३:८; २ पत्रुस ३:९.

ईश्‍वरको न्यायबाट कस्तो लाभ उठाउन सक्छौँ? येसुको चेला पत्रुसले यसो भने: “परमेश्‍वर पक्षपाती हुनुहुन्‍न। बरु जुनसुकै जातिको भए तापनि जसले उहाँको डर मान्छ र सही काम गर्छ, उसलाई उहाँ स्विकार्नुहुन्छ।” (प्रेषित १०:३४, ३५) हामी ईश्‍वरको न्यायबाट लाभ उठाउन सक्छौँ किनभने उहाँ कसैलाई काखा, कसैलाई पाखा गर्नुहुन्‍न। हामी जुनसुकै जात, राष्ट्र, शैक्षिक वा सामाजिक स्तरका भए तापनि उहाँ हामीलाई स्विकार्नुहुन्छ र हामी उहाँको उपासक हुन सक्छौँ।

फरक-फरक वर्णका साथीहरू खाना खाँदै

ईश्‍वर पक्षपात गर्नुहुन्‍न, त्यसैले हामी जुनसुकै जात वा सामाजिक स्तरका भए पनि उहाँले मदत गर्नुहुन्छ

उहाँको न्याय गर्ने तरिका बुझोस्‌ र त्यसबाट लाभ उठाओस्‌ भनेर उहाँले हामीलाई अन्तस्करण दिनुभएको छ। धर्मशास्त्रले बताएअनुसार अन्तस्करण हाम्रो “हृदयमा” लेखिएको व्यवस्था हो, जसले हाम्रो आचरण सही छ कि छैन भनेर “साक्षी दिन्छ।” (रोमी २:१५) त्यसबाट हामी कस्तो लाभ उठाउन सक्छौँ? अन्तस्करणलाई राम्रो तालिम दियौँ भने त्यसले हामीलाई अरूलाई हानि पुऱ्‍याउने काम गर्नदेखि टाढै रहन मदत गर्छ। अनि हामीले गल्ती गरिहाल्यौँ भने पनि त्यसले हामीलाई पश्‍चात्ताप गर्न र गलत मार्ग त्याग्न झकझकाउँछ। वास्तवमा ईश्‍वरको न्याय गर्ने तरिका बुझ्दा हामीलाई फाइदा हुन्छ र उहाँसित घनिष्ठ हुन सक्छौँ।

साँचो ईश्‍वर प्रेम हुनुहुन्छ

“परमेश्‍वर प्रेम हुनुहुन्छ।”—१ युहन्‍ना ४:८.

ईश्‍वरले शक्‍ति, बुद्धि र न्याय प्रकट गर्नुहुन्छ तर बाइबलले उहाँ शक्‍ति, बुद्धि र न्याय हुनुहुन्छ भनेर बताउँदैन। बरु उहाँ प्रेम हुनुहुन्छ भनेर बताउँछ। किन? किनभने ईश्‍वरले आफ्नो शक्‍ति प्रयोग गरेर आफ्नो काम पूरा गर्नुहुन्छ। उहाँ न्याय र बुद्धि जस्ता गुण प्रयोग गरेर निर्णय गर्नुहुन्छ। तर प्रेमले भने उहाँलाई अरूको हित हुने कदम चाल्न उत्प्रेरित गर्छ। उहाँ जे गर्नुहुन्छ, प्रेमले उत्प्रेरित भएर गर्नुहुन्छ।

हुनत यहोवालाई कुनै कुराको आवश्‍यकता थिएन तैपनि उहाँले प्रेमले उत्प्रेरित भएर स्वर्ग र पृथ्वीमा बौद्धिक जीवहरू सृष्टि गर्नुभयो। तिनीहरूले उहाँको प्रेम र हेरचाहबाट लाभ उठाउन सक्छन्‌ अनि आनन्दित हुन सक्छन्‌। उहाँले निःस्वार्थ भई मानिसको लागि पृथ्वी बनाइदिनुभयो र तिनीहरूलाई बास गर्न दिनुभयो। अहिले पनि उहाँले सबै मानिसलाई प्रेम देखाइरहनुभएको छ। कसरी? “उहाँले दुष्ट र सज्जन दुवैमाथि घाम लगाइदिनुहुन्छ अनि धर्मी र अधर्मी दुवैमाथि पानी बर्साउनुहुन्छ।”—मत्ति ५:४५.

यति मात्र होइन, “यहोवा परमेश्‍वर कोमल स्नेहले भरिपूर्ण अनि कृपालु हुनुहुन्छ।” (याकुब ५:११) उहाँलाई चिन्‍न र उहाँसित घनिष्ठ हुन प्रयास गर्नेहरूलाई माया गर्नुहुन्छ। उहाँले तिनीहरूलाई व्यक्‍तिगत रूपमा चिन्‍नुहुन्छ। वास्तवमा उहाँ तपाईँको “ख्याल राख्नुहुन्छ।”—१ पत्रुस ५:७.

एक जना आमा आफ्नो बच्चालाई बोक्छिन्‌

ईश्‍वरको प्रेमबाट कस्तो लाभ उठाउन सक्छौँ? हामी सूर्यास्तको मनोरम दृश्‍य देखेर दङ्‌ग पर्छौँ। बच्चाहरू खितित्त हाँसेको सुन्दा रमाउँछौँ। परिवारको माया पाउँदा हाम्रो मन न्यानो हुन्छ। जीवन धान्‍न यस्ता कुराहरू आवश्‍यक त छैन तर हाम्रो जीवनलाई सुखमय बनाउन भने पक्कै मदत गर्छ।

ईश्‍वर हामीलाई माया गर्नुहुन्छ, त्यसैले उहाँ हाम्रो प्रार्थना सुन्‍नुहुन्छ। बाइबलले हामीलाई यस्तो आग्रह गर्छ: “कुनै कुराको विषयमा चिन्तित नहोओ तर हरेक कुरामा प्रार्थना, उत्कट बिन्ती र धन्यवादका साथ आफ्नो निवेदन परमेश्‍वरसमक्ष जाहेर गर।” उहाँ मायालु बुबाजस्तै हुनुहुन्छ। त्यसैले आवश्‍यक परेको बेला हामीले उहाँसित मदत मागेको र आफ्नो मनभित्र दबाएर राखेको पीडा पोखेको उहाँ चाहनुहुन्छ। उहाँले हामीलाई शान्ति दिने वाचा गर्नुभएको छ, “जुन मानिसको समझभन्दा बाहिरको छ।”—फिलिप्पी ४:६, ७.

ईश्‍वरको मुख्य गुणहरू—शक्‍ति, बुद्धि, न्याय र प्रेमबारे छोटकरीमा छलफल गरेपछि उहाँ कस्तो व्यक्‍ति हुनुहुन्छ जस्तो तपाईँलाई लाग्यो? उहाँलाई अझै राम्ररी चिन्‍न उहाँले तपाईँको लागि के गर्नुभएको छ र के गर्नुहुनेछ, त्यो बुझ्न आग्रह गर्छौँ।

साँचो ईश्‍वर कस्तो हुनुहुन्छ? यहोवा सबैभन्दा शक्‍तिशाली, बुद्धिमानी र न्यायी हुनुहुन्छ। तर उहाँको मुख्य गुण प्रेम हो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने