प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w19 जुलाई pp. २-७
  • खेदोको सामना गर्न अहिल्यै तयारी गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • खेदोको सामना गर्न अहिल्यै तयारी गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवासितको सम्बन्धलाई तपाईँ कसरी बलियो बनाउन सक्नुहुन्छ?
  • तपाईँ आफ्नो साहस कसरी बढाउन सक्नुहुन्छ?
  • मानिसहरूले घृणा गर्दा हामी के गर्न सक्छौँ?
  • तयारी गर्दा तपाईँलाई फाइदा हुन्छ
  • साहसी हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • “आँटिला होऊ र यो काम गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • ‘बलियो र साहसी हुनुहोस्‌!’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • प्रेमले साहसी बनाउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
w19 जुलाई pp. २-७

अध्ययन लेख २७

खेदोको सामना गर्न अहिल्यै तयारी गर्नुहोस्‌

“ख्रिष्ट येसुको चेलाको नाताले परमेश्‍वरको भक्‍ति गर्दै जीवन बिताउन चाहनेहरूजति सबैमाथि खेदो आइपर्नेछ।”—२ तिमो. ३:१२.

गीत १२९ हामी सहिरहन्छौँ!

परिचयa

१. हामीले किन खेदोको सामना गर्न तयारी गर्नुपर्छ?

हाम्रा प्रभु येसुले उहाँको चेला बन्‍न छनौट गर्ने सबैलाई घृणा गरिनेछ भनेर आफू मारिनुभन्दा अघिल्लो रात भन्‍नुभएको थियो। (युह. १७:१४) अहिले हाम्रो समयसम्म पनि साँचो उपासनाका विरोधीहरूले यहोवाका वफादार साक्षीहरूको खेदो गरिरहेका छन्‌। (२ तिमो. ३:१२) यस युगको अन्त जति नजिकिँदै जान्छ, शत्रुहरूको विरोध पनि त्यति नै बढ्‌दै जानेछ भनेर हामी आशा गर्न सक्छौँ।—मत्ति २४:९.

२-३. (क) डरबारे हामीले कुन कुरा बुझ्नुपर्छ? (ख) यस लेखमा हामी के छलफल गर्नेछौँ?

२ हामी खेदोको सामना गर्न कसरी अहिल्यै तयारी गर्न सक्छौँ? हामीले के-के भोग्नुपर्ने होला भनेर अनेकौँ नराम्रा कुराहरूबारे कल्पना गर्नु आवश्‍यक छैन। त्यसो गऱ्‍यौँ भने हामी डर र चिन्ताको भुमरीमा फस्नेछौँ। हामीमाथि आउन सक्ने खतराहरूबारे नानाथरी कल्पना गर्न थाल्यौँ भने साँच्चै खेदो आइपर्नुअघि नै हामी डरले गर्दा हार मान्‍न सक्छौँ। (हितो. १२:२५; १७:२२) हाम्रो “शत्रु दियाबल”-ले हामीविरुद्ध चलाउने एउटा शक्‍तिशाली हतियार डर हो। (१ पत्रु. ५:८, ९) त्यसोभए आफूलाई बलियो बनाउन हामी अहिल्यै के गर्न सक्छौँ?

३ यस लेखमा हामी यहोवासितको सम्बन्धलाई कसरी बलियो बनाउन सक्छौँ र अहिल्यै त्यसो गर्नु किन अत्यावश्‍यक छ भनेर विचार गर्नेछौँ। साथै हामी कसरी आफ्नो साहस बढाउन सक्छौँ भनेर पनि छलफल गर्नेछौँ। अनि अन्तमा, विरोधीहरूले घृणा गर्दा हामी के गर्न सक्छौँ भनेर केलाउनेछौँ।

यहोवासितको सम्बन्धलाई तपाईँ कसरी बलियो बनाउन सक्नुहुन्छ?

४. हिब्रू १३:५, ६ अनुसार हामी कुन कुरामा विश्‍वस्त हुनुपर्छ र किन?

४ यहोवा तपाईँलाई माया गर्नुहुन्छ र उहाँले तपाईँलाई कहिल्यै त्याग्नुहुनेछैन भनेर विश्‍वस्त हुनुहोस्‌। (हिब्रू १३:५, ६ पढ्‌नुहोस्‌) धेरै वर्षअघि प्रहरीधरहरा-मा (अङ्‌ग्रेजी) यस्तो लेखिएको थियो: “जसले परमेश्‍वरलाई राम्ररी चिनेको छ, उसले परीक्षाको घडीमा उहाँमाथि झन्‌ धेरै भरोसा गर्छ।” यो भनाइ कत्ति सत्य छ! हार नमानी खेदोको सामना गर्न हामीले यहोवालाई प्रेम गर्नुपर्छ र उहाँमाथि पूर्ण भरोसा राख्नुपर्छ अनि उहाँ हामीलाई माया गर्नुहुन्छ भन्‍ने कुरामा कहिल्यै शङ्‌का गर्नु हुँदैन।—मत्ति २२:३६-३८; याकु. ५:११.

५. यहोवाको माया महसुस गर्न तपाईँलाई केले मदत गर्नेछ?

५ यहोवासित अझ नजिक हुने लक्ष्य राखेर दिनहुँ बाइबल पढ्‌नुहोस्‌। (याकु. ४:८) बाइबल पढ्‌दा यहोवाका कोमल गुणहरूमा ध्यान दिनुहोस्‌। उहाँले भन्‍नुभएका र गर्नुभएका कुराहरूमा झल्किने उहाँको माया र स्नेह महसुस गर्नुहोस्‌। (प्रस्थ. ३४:६) कसै-कसैलाई परमेश्‍वरले तिनीहरूलाई माया गर्नुहुन्छ भनेर विश्‍वास गर्न गाह्रो लाग्न सक्छ किनभने तिनीहरूले अरूबाट माया पाएको कहिल्यै महसुस गरेका छैनन्‌। तपाईँलाई पनि त्यस्तै लाग्छ भने यहोवाले तपाईँलाई कुन-कुन तरिकामा कृपा र दया देखाउनुभयो भनेर हरेक दिन एउटा सूची बनाइहेर्नुहोस्‌। (भज. ७८:३८, ३९; रोमी ८:३२) आफैले अनुभव गरेका कुराहरू विचार गर्दा र परमेश्‍वरको वचनमा पढेका कुराहरूबारे मनन गर्दा यहोवाले तपाईँको लागि गर्नुभएका कुराहरूको सायद लामै सूची बन्छ होला। यहोवाले तपाईँको लागि गरिदिनुभएका कुराहरूप्रति जति धेरै कृतज्ञ हुनुहुन्छ, उहाँसितको तपाईँको सम्बन्ध त्यति नै बलियो हुनेछ।—भज. ११६:१, २.

६. भजन ९४:१७-१९ अनुसार मनैदेखि प्रार्थना गर्दा तपाईँले कस्तो महसुस गर्नुहुनेछ?

६ नियमित तवरमा प्रार्थना गर्नुहोस्‌। कल्पना गर्नुहोस्‌, एक जना सानो बाबुलाई उसको बुबाले माया गरेर अङ्‌गालोमा बाँधेका छन्‌। त्यो बच्चाले असाध्यै सुरक्षित महसुस गर्छ र आफ्नो बुबालाई दिनभरि भएको राम्रो-नराम्रो सबै कुरा धक नमानी बताउँछ। दिनदिनै मनैदेखि प्रार्थना गरेर यहोवासित नजिक हुनुभयो भने तपाईँले पनि उहाँसित यस्तै सम्बन्ध गाँस्न सक्नुहुनेछ। (भजन ९४:१७-१९ पढ्‌नुहोस्‌) प्रार्थना गर्दा तपाईँको मायालु बुबा ‘यहोवासामु आफ्नो मनको बह पानीझैँ पोखाउनुहोस्‌’ र उहाँलाई आफ्नो डर-चिन्ता सबै व्यक्‍त गर्नुहोस्‌। (विला. २:१९) यसो गर्दा परिणाम कस्तो हुन्छ? तपाईँले बाइबलमा बताइएको “परमेश्‍वरको शान्ति” महसुस गर्नुहुनेछ, “जुन मानिसको समझभन्दा बाहिरको छ।” (फिलि. ४:६, ७) तपाईँ जति धेरै यसरी प्रार्थना गर्नुहुन्छ, यहोवासित त्यति नै नजिक महसुस गर्नुहुनेछ।—रोमी ८:३८, ३९.

स्टान्ली जोन्स

यहोवा र उहाँको राज्यमाथिको विश्‍वासले हाम्रो साहस बढाउँछ

परमेश्‍वरको राज्यबारे सही ज्ञानले स्टान्ली जोन्सको विश्‍वासलाई बलियो बनायो (अनुच्छेद ७ हेर्नुहोस्‌)

७. परमेश्‍वरले आफ्नो राज्यबारे गर्नुभएका प्रतिज्ञाहरू पक्कै पूरा हुनेछन्‌ भनेर तपाईँ किन विश्‍वस्त हुनुपर्छ?

७ परमेश्‍वरले आफ्नो राज्यबारे गर्नुभएका प्रतिज्ञाहरू पक्कै पूरा हुनेछन्‌ भनेर विश्‍वस्त हुनुहोस्‌। (गन्ती २३:१९) ती प्रतिज्ञाहरू साँच्चै पूरा हुनेछन्‌ भनेर तपाईँलाई पक्का विश्‍वास छैन भने सैतान र त्यसका समर्थकहरूले तपाईँलाई सजिलै तर्साउन सक्छन्‌। (हितो. २४:१०; हिब्रू २:१५) परमेश्‍वरको राज्यमाथिको विश्‍वास तपाईँ कसरी अहिल्यै बलियो बनाउन सक्नुहुन्छ? परमेश्‍वरले आफ्नो राज्यबारे के-कस्ता प्रतिज्ञाहरू गर्नुभएको छ अनि ती साँच्चै पूरा हुनेछन्‌ भनेर पक्का हुन सकिने कारणहरू के हुन्‌, त्यसबारे समय लगाएर गहिरो अनुसन्धान गर्नुहोस्‌। त्यसो गर्दा कस्तो मदत पाउनुहुनेछ? स्टान्ली जोन्सको अनुभव विचार गर्नुहोस्‌, जो आफ्नो विश्‍वासको खातिर सात वर्ष जेलमा थुनिएका थिए।b तिनलाई वफादार रहिरहन केले मदत गऱ्‍यो? तिनले यसो भने: “परमेश्‍वरको राज्यबारे सही ज्ञानले मेरो विश्‍वासलाई बलियो बनायो। उहाँको राज्य पक्कै आउनेछ भनेर विश्‍वस्त भएकोले र त्यसमा एकछेउ पनि शङ्‌का नगरेकोले म कहिल्यै डगमगाइनँ।” परमेश्‍वरका प्रतिज्ञाहरूमाथि तपाईँको विश्‍वास बलियो छ भने तपाईँ उहाँसित अझ नजिक हुनुहुनेछ र डराएर पछि हट्‌नुहुनेछैन।—हितो. ३:२५, २६.

८. सभाहरूको उपस्थितिप्रति हाम्रो दृष्टिकोणले कुन कुराको राम्रो सङ्‌केत दिन्छ? व्याख्या गर्नुहोस्‌।

८ नियमित तवरमा ख्रिष्टियन सभाहरूमा उपस्थित हुनुहोस्‌। सभाहरूले हामीलाई यहोवासित नजिक हुन मदत गर्छ। सभाहरूको उपस्थितिप्रति अहिले हामी जस्तो दृष्टिकोण राख्छौँ, त्यसले भविष्यमा आइपर्ने खेदो सहन हामी कत्तिको सफल हुनेछौँ भन्‍ने कुराको राम्रो सङ्‌केत दिन्छ। (हिब्रू १०:२४, २५) हामी किन त्यसो भन्‍न सक्छौँ? अहिले हामी सानातिना अवरोधहरू आइपर्दा नै सभा छुटाउने गर्छौँ भने भविष्यमा हाम्रा भाइबहिनीसित एकसाथ भेला हुन आफ्नो ज्यानकै खतरा मोल्नुपऱ्‍यो भने के गर्छौँ होला? अर्कोतर्फ, सभाहरूमा उपस्थित हुन दृढ सङ्‌कल्प गरेका छौँ भने विरोधीहरूले हामीलाई एकसाथ भेला हुनदेखि रोक्न खोज्दा हार मान्‍नेछैनौँ। सभाहरूप्रतिको प्रेम विकास गर्ने समय अहिल्यै हो। हामी सभाहरूमा उपस्थित हुन मनैदेखि इच्छुक छौँ भने जस्तोसुकै विरोध आए पनि, सरकारले प्रतिबन्धै लगाए पनि मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा मान्‍न छोड्‌नेछैनौँ।—प्रेषि. ५:२९.

पारिवारिक उपासनाको बेला आमाबुबाले छोराछोरीलाई शास्त्रपदहरू सम्झन मदत गर्न कार्डहरू प्रयोग गर्छन्‌

अहिल्यै शास्त्रपदहरू र राज्यगीतहरू कण्ठ पारेका छौँ भने खेदो आइपर्दा ती सम्झन र त्यसबाट बल पाउन सक्छौँ (अनुच्छेद ९ हेर्नुहोस्‌)e

९. खेदोको सामना गर्न तयारी गर्ने एउटा राम्रो तरिका शास्त्रपदहरू कण्ठ पार्नु हो, किन?

९ आफूलाई मनपर्ने शास्त्रपदहरू कण्ठ पार्नुहोस्‌। (मत्ति १३:५२) तपाईँ आफूले पढेको एक-एक कुरा सम्झन सक्नुहुन्‍न होला तर यहोवाले उहाँको शक्‍तिशाली पवित्र शक्‍ति चलाएर तपाईँलाई पहिला पढेका शास्त्रपदहरू स्मरण गराउन सक्नुहुन्छ। (युह. १४:२६) पूर्वी जर्मनीको झ्यालखानामा एकल कारावासमा राखिएका एक जना भाइले यसो भने: “खुसीको कुरा, मैले त्यस बेलासम्म दुई सयभन्दा धेरै शास्त्रपद कण्ठ पारिसकेको थिएँ! त्यसैले एक्लै बस्नुपर्दा मैले बाइबलका विभिन्‍न विषयहरूमा मनन गरेर समय बिताउन सकेँ।” ती शास्त्रपदहरूले हाम्रो भाइलाई यहोवासित नजिक भइरहन अनि वफादार भई कठिन अवस्था सहन मदत गऱ्‍यो।

सभा जाँदै गर्दा एउटा परिवारले गाडीमा राज्यगीतहरूको अभ्यास गर्छ

(अनुच्छेद १० हेर्नुहोस्‌)f

१०. हामीले किन गीतहरू कण्ठ पार्नुपर्छ?

१० यहोवाको प्रशंसा गर्ने गीतहरू कण्ठ पार्नुहोस्‌ र गाउनुहोस्‌। फिलिप्पिको झ्यालखानामा छँदा पावल र सिलासले आफूले कण्ठ पारेका स्तुतिगानहरू गाए। (प्रेषि. १६:२५) भूतपूर्व सोभियत सङ्‌घका भाइबहिनीहरूले पनि साइबेरियाको निर्वासनमा छँदा आफूलाई कसरी बलियो बनाए? ती दिनहरू सम्झँदै बहिनी मारिया फेडुनले यसो भनिन्‌: “हामीले गीति पुस्तकमा भएका आफूलाई याद भएजति सबै गीत गायौँ।” ती गीतहरूले तिनीहरूलाई बलियो बनाएको र यहोवासित नजिक हुन मदत गरेको ती बहिनीले बताइन्‌। के तपाईँ आफूलाई मनपर्ने स्तुतिगान गाउँदा बल पाएको महसुस गर्नुहुन्छ? त्यसो हो भने अहिल्यै ती गीतहरू कण्ठ पार्नुहोस्‌!—“देऊ न साहस” भन्‍ने पेटी हेर्नुहोस्‌।

“देऊ न साहस”

सन्‌ २०१८ को अधिवेशनको अन्तमा एउटा सशक्‍त गीत गाइएको थियो। त्यसको शीर्षक थियो, “देऊ न साहस।” अधिवेशनपछि आठ वर्षकी लुमियाले यस्तो लेखिन्‌: “यो नयाँ गीतको लागि म धन्यवाद दिन चाहन्छु। यसले मेरो मन छोयो! गीत गाउँदै गर्दा मैले स्कुल लागेपछि साथीहरूलाई आफू यहोवाको साक्षी हुँ भनेर बताउने निर्णय गरेँ। यहोवाले मलाई पक्कै साहस दिनुहुनेछ।”

तपाईँ आफ्नो साहस कसरी बढाउन सक्नुहुन्छ?

११-१२. (क) पहिलो समुएल १७:३७, ४५-४७ अनुसार दाउद साहसी हुन सक्नुको कारण के थियो? (ख) दाउदको उदाहरणबाट हामी कस्तो महत्त्वपूर्ण पाठ सिक्न सक्छौँ?

११ खेदो सहनको लागि तपाईँसित साहस हुनुपर्छ। आफूसित साहसको कमी छ जस्तो लाग्छ भने तपाईँ के गर्न सक्नुहुन्छ? यो कुरा नबिर्सनुहोस्‌, साँचो साहस तपाईँको जीउडाल, बल वा क्षमतामा भर पर्ने कुरा होइन। जवान दाउदको उदाहरण विचार गर्नुहोस्‌, जो गोल्यतसित भिडेका थिए। त्यस अजङ्‌गको योद्धाको तुलनामा दाउद सानो र कमजोर थिए अनि तिनीसित लडाइँ लड्‌न चाहिने हातहतियार पनि थिएन। दाउदसित तरबारसमेत थिएन। तर तिनी असाध्यै साहसी थिए। दाउद निडर भई त्यस अहङ्‌कारी योद्धासित लड्‌न दौडेर गए।

१२ दाउद यत्तिको साहसी हुन सक्नुको कारण के थियो? यहोवा आफ्नो साथमा हुनुहुन्छ भन्‍ने कुरामा तिनीसित बलियो विश्‍वास थियो। (१ समुएल १७:३७, ४५-४७ पढ्‌नुहोस्‌) दाउदले गोल्यत आफ्नो तुलनामा कति ठूलो छ भन्‍ने कुरामा ध्यान दिएनन्‌। बरु यहोवाको तुलनामा गोल्यत केही पनि होइन भन्‍ने कुरा मनमा राखे। यस विवरणबाट हामी के सिक्न सक्छौँ? यहोवा हाम्रो साथमा हुनुहुन्छ र सर्वशक्‍तिमान्‌ परमेश्‍वरको तुलनामा हाम्रा शत्रुहरू केही पनि होइनन्‌ भनेर पक्का छौँ भने हामी साहसी हुन सक्नेछौँ। (२ इति. २०:१५; भज. १६:८) हामी अहिल्यै अर्थात्‌ खेदो आउनुअघि नै कसरी आफ्नो साहस बढाउन सक्छौँ?

१३. हामी कसरी आफ्नो साहस बढाउन सक्छौँ? व्याख्या गर्नुहोस्‌।

१३ अरूलाई परमेश्‍वरको राज्यको सुसमाचार सुनाएर हामी अहिल्यै आफ्नो साहस बढाउन सक्छौँ। कसरी? प्रचारकार्यले हामीलाई यहोवामाथि भरोसा राख्न र मानिसको डरलाई जित्न सिकाउँछ। (हितो. २९:२५) जसरी व्यायाम गर्दा हाम्रो मांसपेशी कसिलो हुन्छ, त्यसरी नै घरघरमा, सार्वजनिक ठाउँमा, अनौपचारिक तवरमा र व्यापारिक इलाकामा प्रचार गर्दा हामी अझ साहसी हुन्छौँ। हामी प्रचार गर्न अहिल्यै साहसी भयौँ भने भविष्यमा हाम्रो काममाथि प्रतिबन्ध लगाइए पनि प्रचार गरिरहन हामी तयार हुनेछौँ।—१ थिस्स. २:१, २.

न्यान्सी युअन

न्यान्सी युअनले सुसमाचार प्रचार गर्न छोडिनन्‌ (अनुच्छेद १४ हेर्नुहोस्‌)

१४-१५. न्यान्सी युअन र भ्यालेन्टिना गर्नोभ्स्कीबाट हामी कस्ता पाठहरू सिक्न सक्छौँ?

१४ असाधारण साहस देखाएका दुई जना वफादार बहिनीको उदाहरणबाट हामी धेरै कुरा सिक्न सक्छौँ। न्यान्सी युअनको उचाइ पाँच फिट मात्र थियो तर उनी मानिसहरूसित डराइनन्‌।c उनले परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्न बन्द गरिनन्‌। त्यसकारण उनलाई चीनमा कम्युनिष्ट शासन चलेको बेला २० वर्षभन्दा लामो समय जेलमा थुनियो। उनलाई केरकार गर्ने अफिसरहरूले उनलाई देशकै “सबैभन्दा अटेरी मानिस” भने।

भ्यालेन्टिना गर्नोभ्स्की

भ्यालेन्टिना गर्नोभ्स्की यहोवा आफ्नो साथमा हुनुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त थिइन्‌ (अनुच्छेद १५ हेर्नुहोस्‌)

१५ अर्की बहिनी, भ्यालेन्टिना गर्नोभ्स्कीलाई भूतपूर्व सोभियत सङ्‌घमा तीन चोटि गरेर २१ वर्षजति झ्यालखानामा हालियो।d किन? किनभने तिनले हरहालतमा प्रचार गरिरहने सङ्‌कल्प गरेकी थिइन्‌ र यसले गर्दा त्यहाँका अफिसरहरूले तिनलाई “असाध्यै खतरनाक अपराधी” भन्‍ने संज्ञा दिए। यी दुवै वफादार स्त्रीहरू यत्तिको साहसी हुन सक्नुको कारण के थियो? तिनीहरू यहोवा आफ्नो साथमा हुनुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त थिए।

१६. साँचो साहसको लागि कुन कुरा नभई हुँदैन?

१६ हामीले छलफल गरेझैँ साहस बढाउन हामीले आफ्नै बल र क्षमतामा ध्यान दिनु हुँदैन। बरु यहोवा हाम्रो साथमा हुनुहुन्छ र हाम्रो तर्फबाट लड्‌नुहुने उहाँ नै हुनुहुन्छ भनेर विश्‍वास गर्नुपर्छ। (व्यव. १:२९, ३०; जक. ४:६) यस्तो विश्‍वास भएमा मात्र हामी साँच्चै साहसी हुन सक्छौँ।

मानिसहरूले घृणा गर्दा हामी के गर्न सक्छौँ?

१७-१८. युहन्‍ना १५:१८-२१ मा येसुले हामीलाई कस्तो चेतावनी दिनुभयो? व्याख्या गर्नुहोस्‌।

१७ हुनत हामीलाई अरूले आदर गरेको मन पर्छ तर अरूले हामीलाई मन पराउँछन्‌ कि पराउँदैनन्‌, त्यसको आधारमा मात्र आफ्नो मूल्याङ्‌कन गर्नु हुँदैन। येसुले यसो भन्‍नुभयो: “आनन्दित हौ तिमीहरू, जब मानिसहरूले तिमीहरूलाई मानिसको छोराको खातिर घृणा गर्छन्‌, बहिष्कार गर्छन्‌, तिमीहरूको बदनाम गर्छन्‌ अनि दुष्ट भनी अपमान गर्छन्‌।” (लुका ६:२२) येसुले यहाँ के भन्‍न खोज्दै हुनुहुन्थ्यो?

१८ ख्रिष्टियनहरूलाई अरूले घृणा गरेको मन पर्छ भनेर येसुले बताउन खोज्नुभएको होइन। बरु उहाँले हामीमाथि आइपर्न सक्ने कुराबारे सजग गराउँदै हुनुहुन्थ्यो। हामी यस संसारका भाग होइनौँ। हामी येसुको शिक्षाअनुसार जीवन बिताउँछौँ अनि उहाँले प्रचार गर्नुभएको सन्देश प्रचार गर्छौँ। त्यसैकारण संसारले हामीलाई घृणा गर्छ। (युहन्‍ना १५:१८-२१ पढ्‌नुहोस्‌) हामी यहोवालाई खुसी बनाउन चाहन्छौँ। हामीले हाम्रो बुबालाई प्रेम गरेकोले मानिसहरू हामीलाई घृणा गर्छन्‌ भने हामी त्यसबारे औधी चिन्ता गर्दैनौँ।

१९. हामी प्रेषितहरूको उदाहरण कसरी अनुकरण गर्न सक्छौँ?

१९ मानिसहरूले भन्‍ने वा गर्ने कुनै पनि कुराले गर्दा आफूलाई यहोवाको साक्षीको रूपमा चिनाउन लाज नमान्‍नुहोस्‌। (मिका ४:५) येसुको मृत्यु भएलगत्तै यरुसलेममा प्रेषितहरूले बसालेको उदाहरण विचार गऱ्‍यौँ भने हामी मानिसको डरमाथि विजयी हुन सिक्न सक्छौँ। यहुदी धर्मगुरुहरूले आफूहरूलाई कत्तिको घृणा गर्छन्‌ भनेर ती प्रेषितहरूलाई थाह थियो। (प्रेषि. ५:१७, १८, २७, २८) तैपनि उनीहरूले हरेक दिन मन्दिरमा जान र आफू येसु ख्रिष्टको चेला हुँ भनी मानिसहरूसामु चिनाउन छोडेनन्‌। (प्रेषि. ५:४२) उनीहरूले मानिसको डरसामु घुँडा टेक्न इन्कार गरे। हामीले पनि आफू यहोवाको साक्षी हुँ भनेर काम गर्ने ठाउँमा, स्कुलमा र टोलछिमेकमा सबैसामु आफ्नो चिनारी दिइरह्‍यौँ भने मानिसको डरमाथि विजयी हुन सक्छौँ।—प्रेषि. ४:२९; रोमी १:१६.

२०. मानिसहरूले घृणा गरे तापनि प्रेषितहरू किन आनन्दित थिए?

२० प्रेषितहरू किन आनन्दित थिए? तिनीहरूलाई मानिसहरूले घृणा गर्नुको कारण थाह थियो र तिनीहरूले यहोवाको इच्छाबमोजिम चलेकोमा दुर्व्यवहार भोग्नुलाई सम्मानको कुरा ठाने। (लुका ६:२३; प्रेषि. ५:४१) पछि प्रेषित पत्रुसले यस्तो लेखे: “असल काम गरेकोले दुःख भोग्छौ भने तिमीहरू आनन्दित हौ।” (१ पत्रु. २:१९-२१; ३:१४) सही काम गरेकोले मानिसहरूले हामीलाई घृणा गरेका हुन्‌ भनेर बुझेका छौँ भने हामी डराएर यहोवाको सेवा गर्न कुनै हालतमा बन्द गर्नेछैनौँ।

तयारी गर्दा तपाईँलाई फाइदा हुन्छ

२१-२२. (क) खेदोको सामना गर्न तपाईँले कस्तो तयारी गर्ने निर्णय गर्नुभएको छ? (ख) यसपछिको लेखमा हामी के छलफल गर्नेछौँ?

२१ यहोवाको उपासनामा बाधा पुऱ्‍याउन मानिसहरूले हामीलाई कहिले खेदो गर्न थाल्ने हुन्‌ वा सरकारले हाम्रो काममा कहिले प्रतिबन्ध लगाउने हो, हामीलाई थाह छैन। तर हामीलाई यो कुरा थाह छ: यहोवासितको आफ्नो सम्बन्धलाई बलियो बनाएर, आफ्नो साहस बढाएर अनि मानिसहरूले घृणा गर्दा आफूले गर्नुपर्ने कुराबारे सिकेर हामी अहिल्यै तयारी गर्न सक्छौँ। अहिले गरेको तयारीले हामीलाई भविष्यमा दृढ रहन मदत गर्नेछ।

२२ तर केही गरी यहोवाको उपासनामा प्रतिबन्ध लगाइयो भने नि? प्रतिबन्ध लागेको बेलामा पनि हामीलाई यहोवाको सेवा गरिरहन मदत गर्ने बाइबल सिद्धान्तहरूबारे यसपछिको लेखमा छलफल गर्नेछौँ।

खेदोको सामना गर्न तयारी गर्नेबारे तपाईँले निम्न पदहरूबाट के सिक्नुभयो?

  • भजन ११६:१, २

  • २ इतिहास २०:१५

  • १ पत्रुस ३:१४

गीत ११८ “हाम्रो विश्‍वास बढाइदिनुहोस्‌”

a हामी घृणाको पात्र बन्‍न चाहँदैनौँ। तर ढिलो होस्‌ या चाँडो, हामी सबैमाथि खेदो आइपर्नेछ। यस लेखले हामीलाई साहसी भई खेदोको सामना गर्न मदत गर्नेछ।

b प्रहरीधरहरा, (अङ्‌ग्रेजी) डिसेम्बर १५, १९६५, पृष्ठ ७५६-७६७ हेर्नुहोस्‌।

c प्रहरीधरहरा, (अङ्‌ग्रेजी) जुलाई १५, १९७९, पृष्ठ ४-७ हेर्नुहोस्‌। JW ब्रोडकास्टिङ-मा भएको यहोवाको नाम प्रकट गरिनेछ (अङ्‌ग्रेजी) भन्‍ने भिडियो पनि हेर्नुहोस्‌। अन्तरवार्ता तथा अनुभव अन्तर्गत हेर्नुहोस्‌।

d प्रहरीधरहरा, अप्रिल १, २००९, पृष्ठ १७-१८, अनुच्छेद १०-११ र यहोवाका साक्षीहरूको वार्षिक पुस्तक २००८ (अङ्‌ग्रेजी) पृष्ठ १९१-१९२ हेर्नुहोस्‌।

e चित्रको व्याख्या: पारिवारिक उपासनाको बेला आमाबुबाले छोराछोरीलाई शास्त्रपदहरू सम्झन मदत गर्न कार्डहरू प्रयोग गर्छन्‌।

f चित्रको व्याख्या: सभा जाँदै गर्दा एउटा परिवारले गाडीमा राज्यगीतहरूको अभ्यास गर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने