प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w19 डिसेम्बर pp. १६-२१
  • तपाईँ यहोवालाई कत्तिको राम्ररी चिन्‍नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईँ यहोवालाई कत्तिको राम्ररी चिन्‍नुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मोसाले “अदृश्‍य परमेश्‍वरलाई देखे”
  • यहोवालाई मन पर्ने मानिस
  • यहोवाबारे अझ धेरै सिक्नुहोस्‌
  • यहोवाको मार्ग सिक्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • मोशाको विश्‍वास अनुकरण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • के तपाईं “अदृश्‍य परमेश्‍वरलाई” देख्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • तपाईँको आँखाले कसलाई हेर्दै छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
w19 डिसेम्बर pp. १६-२१

अध्ययन लेख ५१

तपाईँ यहोवालाई कत्तिको राम्ररी चिन्‍नुहुन्छ?

“तपाईँको नाम थाह पाउनेहरूले तपाईँमै भरोसा गर्नेछन्‌; हे यहोवा, तपाईँलाई खोज्नेहरूलाई तपाईँ कहिल्यै त्याग्नुहुन्‍न।”—भज. ९:१०.

गीत ५६ सत्यमै जिउनू

परिचयa

१-२. एङ्‌हेलिटोको अनुभवले देखाएअनुसार हामी हरेकले के गर्नुपर्छ?

के तपाईँका आमाबुबा यहोवाका साक्षी हुनुहुन्छ? यदि हुनुहुन्छ भने पनि यहोवासित तपाईँको सम्बन्ध स्वतः गाँसिन्छ भन्‍ने नठान्‍नुहोस्‌। हाम्रा आमाबुबा परमेश्‍वरका सेवक होऊन्‌ या नहोऊन्‌, हामी आफैले यहोवासित घनिष्ठ सम्बन्ध गाँस्नुपर्छ।

२ एङ्‌हेलिटो नाम गरेको भाइको अनुभव विचार गर्नुहोस्‌। तिनी साक्षी परिवारमा हुर्केका थिए। तर युवावस्थामा छँदा तिनी यहोवासित त्यति घनिष्ठ महसुस गर्दैन थिए। तिनी भन्छन्‌: “मेरो परिवारले जे गरिरहेको थियो, त्यही गर्न चाहेकोले मात्र म यहोवाको सेवा गरिरहेको थिएँ।” तर तिनले बाइबल पढ्‌न र मनन गर्न अझ समय बिताउने निर्णय गरे। तिनले यहोवालाई पहिलाभन्दा अझ धेरै प्रार्थना गर्न थाले। परिणाम कस्तो भयो? तिनी भन्छन्‌: “मेरो मायालु बुबा यहोवासित नजिक हुने एक मात्र तरिका भनेको आफैले उहाँलाई राम्ररी चिन्‍नु हो भनेर मैले सिकेँ।” एङ्‌हेलिटोको अनुभवले हामीलाई केही महत्त्वपूर्ण कुरा सोच्न बाध्य बनाउँछ: यहोवाबारे थाह हुनु र उहाँलाई राम्ररी चिन्‍नुमा के भिन्‍नता छ? अनि हामी कसरी यहोवालाई राम्ररी चिन्‍न सक्छौँ?

३. यहोवालाई चिन्‍नु र उहाँलाई राम्ररी चिन्‍नुमा के भिन्‍नता छ?

३ हामीलाई परमेश्‍वरको नाम अथवा उहाँले भन्‍नुभएको वा गर्नुभएको केही कुरा थाह छ भने हामीले उहाँलाई चिनेका छौँ भन्‍न त मिल्छ। तर त्यसो भन्दैमा यहोवालाई राम्ररी चिनेका छौँ भन्‍न चाहिँ मिल्दैन। त्यसको लागि हामीले यहोवा र उहाँका अद्‌भुत गुणहरूबारे सिक्न समय निकाल्नुपर्छ। त्यसपछि मात्र उहाँले कुनै कुरा भन्‍नु र गर्नुको कारण बुझ्न थाल्नेछौँ। यसो गर्दा हाम्रो विचार, निर्णय र काम उहाँलाई कस्तो लाग्छ भनेर बुझ्न मदत पाउनेछौँ। हामीले के गरेको यहोवा चाहनुहुन्छ भनेर बुझेपछि त्यसअनुसार कदम चाल्नुपर्छ।

४. बाइबलमा पाइने उदाहरणहरूबारे विचार गर्दा कस्तो मदत पाउन सक्छौँ?

४ हामीले यहोवाको सेवा गर्न चाहेकोले कसै-कसैले हाम्रो खिल्ली उडाउन सक्छन्‌। यहोवाका सेवकहरूसित सङ्‌गत गर्न थालेपछि तिनीहरूले झनै विरोध गर्न सक्छन्‌। तैपनि यहोवामाथि भरोसा राख्यौँ भने उहाँले हामीलाई कहिल्यै त्याग्नुहुनेछैन। त्यसो गर्दा हामीले परमेश्‍वरसित मित्रता गाँस्न जग बसालिरहेका हुन्छौँ, जुन जीवनभर रहन्छ। के हामी यहोवालाई त्यो हदसम्म चिन्‍न सक्छौँ? पक्कै सक्छौँ! यसो गर्न सम्भव छ भनेर मोसा र राजा दाउदजस्ता त्रुटिपूर्ण मानिसहरूले बसालेको उदाहरणले प्रमाणित गर्छ। तिनीहरूले गरेका कामहरू विचार गर्दा हामी यी दुई प्रश्‍नको जवाफ पाउनेछौँ: तिनीहरूले कसरी यहोवालाई चिन्‍न सके? तिनीहरूको उदाहरणबाट के-कस्ता पाठहरू सिक्न सक्छौँ?

मोसाले “अदृश्‍य परमेश्‍वरलाई देखे”

५. मोसाले कस्तो छनौट गरे?

५ मोसाले परमेश्‍वरको सेवा गर्ने छनौट गरे। लगभग ४० वर्षको हुँदा मोसाले “फारोकी छोरीको छोरा” भनेर चिनिनुको साटो परमेश्‍वरका जनहरू अर्थात्‌ हिब्रूहरूसित सङ्‌गत गर्ने छनौट गरे। (हिब्रू ११:२४) तिनले सम्माननीय ओहदा त्यागे। फारो शक्‍तिशाली शासक थिए अनि मिश्रीहरूले उनलाई ईश्‍वर मान्थे। त्यसैले मिश्रमा दासको रूपमा काम गरिरहेका हिब्रूहरूको पक्षमा खडा हुँदा फारो क्रुद्ध हुनेछन्‌ भनेर मोसालाई थाह थियो। हो, मोसाले उल्लेखनीय विश्‍वास देखाए। तिनले यहोवामाथि भरोसा राखे। यस्तो भरोसा जीवनभर टिकिरहने सम्बन्धको बलियो जग हो!—हितो. ३:५.

६. मोसाको उदाहरणबाट कस्तो पाठ सिक्न सक्छौँ?

६ यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? मोसाले जस्तै हामी सबैले एउटा निर्णय गर्नुपर्छ: के हामी परमेश्‍वरको सेवा गर्न र उहाँका सेवकहरूसित सङ्‌गत गर्न रुचाउनेछौँ? परमेश्‍वरको सेवा गर्न हामीले केही काँटछाँट गर्नुपर्ने हुन सक्छ। साथै यहोवालाई नचिन्‍ने मानिसहरूले हाम्रो विरोध गर्न सक्छन्‌। तर स्वर्गमा बस्नुहुने हाम्रो बुबामाथि भरोसा राख्यौँ भने उहाँले हामीलाई साथ दिनुहुनेछ भनेर ढुक्क हुन सक्छौँ।

७-८. मोसाले केबारे निरन्तर सिके?

७ मोसाले निरन्तर यहोवाका गुणहरूबारे सिके र उहाँको इच्छाअनुसार चले। उदाहरणको लागि, यहोवाले इस्राएल राष्ट्रलाई कैदबाट छुटाएर ल्याउने जिम्मा दिनुहुँदा मोसामा आत्मविश्‍वासको कमी थियो। आफूले अयोग्य महसुस गरेको कुरा तिनले यहोवालाई बारम्बार बताए। यहोवाले दिनुभएको जवाफमा मोसाप्रतिको साँचो दया देखिन्थ्यो अर्थात्‌ उहाँले मोसाको भावना बुझेर तिनलाई मदत गर्नुभयो। (प्रस्थ. ४:१०-१६) फलस्वरूप मोसाले फारोलाई न्यायको कडा सन्देश सुनाउन सके। यहोवाले इस्राएलीहरूलाई बचाउनुहुँदा अनि मिश्रको शासक फारो र तिनको सेनालाई लाल समुद्रमा विनाश गर्नुहुँदा मोसाले उहाँको अथाह शक्‍ति देखे।—प्रस्थ. १४:२६-३१; भज. १३६:१५.

८ मोसाले इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याएपछि तिनीहरूले विभिन्‍न कुराको निहुँ निकालेर गनगन गरिरहे। तैपनि यहोवाले दासत्वबाट छुटकारा दिनुभएको आफ्ना जनहरूसित व्यवहार गर्नुहुँदा अपार धीरज देखाउनुभएको मोसाले देखे। (भज. ७८:४०-४३) साथै मोसाले इस्राएलीहरूलाई नाश नगर्न यहोवालाई बिन्ती गरेपछि उहाँले आफ्नो मन परिवर्तन गर्नुभयो अनि त्यतिबेला उहाँले उल्लेखनीय नम्रता देखाउनुभएको तिनले याद गरे।—प्रस्थ. ३२:९-१४.

९. हिब्रू ११:२७ अनुसार यहोवासित मोसाको कति घनिष्ठ सम्बन्ध थियो?

९ मिश्रबाट छुटकारा पाइसकेपछि यहोवासितको मोसाको सम्बन्ध यत्ति घनिष्ठ भइसकेको थियो कि तिनले स्वर्गमा बस्नुहुने बुबालाई देखेसरह थियो। (हिब्रू ११:२७ पढ्‌नुहोस्‌) यहोवासित मोसाको सम्बन्ध कत्तिको घनिष्ठ थियो भन्‍नेबारे बाइबल यसो भन्छ: “मानिसहरू आपसमा कुरा गरेझैँ यहोवा परमेश्‍वर मोसासित आमनेसामने कुरा गर्नुहुन्थ्यो।”—प्रस्थ. ३३:११.

१०. यहोवालाई राम्ररी चिन्‍न हामीले के गर्नुपर्छ?

१० यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? यहोवा लाई राम्ररी चिन्‍न उहाँका गुणहरूबारे थाह पाएर मात्र पुग्दैन, उहाँको इच्छाअनुसार चल्नु पनि पर्छ। यहोवाको इच्छा “सबै किसिमका मानिसले उद्धार पाऊन्‌ र सत्यको सही ज्ञान लिऊन्‌” भन्‍ने हो। (१ तिमो. २:३, ४) परमेश्‍वरको इच्छाअनुसार चल्ने एउटा तरिका यहोवाबारे अरूलाई सिकाउनु हो।

११. हामीले यहोवाबारे सिकाउँदा कसरी उहाँलाई अझ राम्ररी चिन्‍ने मौका पाइरहेका हुन्छौँ?

११ हामीले यहोवाबारे सिकाउँदा अक्सर उहाँलाई अझ राम्ररी चिन्‍ने मौका पाइरहेका हुन्छौँ। उदाहरणको लागि, यहोवाले हामीलाई उचित मनसाय भएका मानिसहरूकहाँ डोऱ्‍याउनुहुँदा उहाँको दयाको प्रत्यक्ष प्रमाण देख्छौँ। (युह. ६:४४; प्रेषि. १३:४८) हामीसित अध्ययन गरिरहेका मानिसहरूले कुलत त्यागेको र नयाँ व्यक्‍तित्व धारण गरेको देख्दा परमेश्‍वरको वचनको शक्‍तिले काम गरेको देख्छौँ। (कल. ३:९, १०) साथै हाम्रो वरिपरि बस्ने मानिसहरूलाई यहोवाले उहाँबारे सिक्ने र उद्धार पाउने थुप्रै मौका दिनुहुँदा उहाँको धीरजको प्रमाण देख्छौँ।—रोमी १०:१३-१५.

१२. प्रस्थान ३३:१३ ले देखाएअनुसार मोसाले कस्तो बिन्ती गरे? किन?

१२ मोसा यहोवासित गाँसेको आफ्नो सम्बन्धलाई अनमोल ठान्थे। मोसाले परमेश्‍वरको नाममा चमत्कारहरू गर्ने सुअवसर पाए तापनि यहोवालाई अझ राम्ररी चिन्‍न सकूँ भनेर उहाँलाई आदरपूर्वक बिन्ती गरे। (प्रस्थान ३३:१३ पढ्‌नुहोस्‌) यो बिन्ती गर्दा मोसा ८० वर्ष कटिसकेका थिए तैपनि स्वर्गमा बस्नुहुने आफ्नो मायालु बुबाबारे अझ धेरै कुरा सिक्नुपर्छ भनेर तिनलाई थाह थियो।

१३. परमेश्‍वरसितको मित्रतालाई अनमोल ठान्छौँ भनेर देखाउने एउटा तरिका के हो?

१३ यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? यहोवाको सेवा गरेर हामीले जतिसुकै समय बिताइसकेको किन नहोस्‌, हामीले उहाँसितको सम्बन्धलाई अनमोल ठान्‍नुपर्छ। उहाँसितको मित्रतालाई अनमोल ठानेको देखाउने एउटा तरिका प्रार्थना गरेर उहाँसित कुराकानी गर्नु हो।

१४. यहोवाबारे अझ सिक्न प्रार्थना गर्नु किन महत्त्वपूर्ण छ?

१४ बलियो सम्बन्ध गाँस्न खुलस्त कुराकानी नगरी हुँदैन। त्यसैले हरबखत प्रार्थना गरेर अनि नहिचकिचाई मनको बह परमेश्‍वरलाई पोखाएर उहाँसित घनिष्ठ हुनुहोस्‌। (एफि. ६:१८) टर्कीमा बस्ने क्रिस्टा यसो भन्छिन्‌: “यहोवालाई आफ्नो भावना पोखाउँदा अनि उहाँको मदत पाउँदा उहाँप्रतिको मेरो माया र भरोसा बढ्‌छ। यहोवाले मेरो प्रार्थनाहरूको जवाफ दिनुभएकोले मैले उहाँलाई बुबा र साथीको रूपमा हेर्न सकेको छु।”

यहोवालाई मन पर्ने मानिस

१५. यहोवाले राजा दाउदबारे के भन्‍नुभयो?

१५ राजा दाउद जुन देशमा जन्मेका थिए, त्यहाँका सबै मानिस यहोवाका उपासकहरू थिए। तर आफ्नो परिवार अनि जातिले यहोवाको उपासना गरेको भएर मात्र तिनले यहोवाको उपासना गरेका थिएनन्‌। तिनी आफैले परमेश्‍वरसित घनिष्ठ सम्बन्ध गाँसेका थिए अनि यहोवाले पनि तिनलाई असाध्यै माया गर्नुहुन्थ्यो। यहोवा स्वयम्‌ले दाउद आफूलाई “मन पर्ने मानिस हो” भन्‍नुभयो। (प्रेषि. १३:२२) दाउद कसरी यहोवासित घनिष्ठ हुन सके?

१६. दाउदले सृष्टिका कुराहरू हेरेर यहोवाबारे के सिके?

१६ दाउदले सृष्टिका कुराहरू हेरेर यहोवाबारे सिके। युवावस्थामा दाउद आफ्नो बुबाको भेडा चराउँदा खुला आकाशमुनि घण्टौँ बिताउँथे। सायद त्यतिबेलादेखि तिनले यहोवाले बनाउनुभएका कुराहरूमा मनन गर्न थाले। उदाहरणको लागि, राती आँखा उठाएर आकाशतिर हेर्दा तिनले अनगिन्ती तारा देखेको हुनुपर्छ अनि ती बनाउने सृष्टिकर्ताका गुणहरूबारे पनि विचार गरेको हुनुपर्छ। त्यसैले तिनी यस्तो लेख्न उत्प्रेरित भए: “आकाशले परमेश्‍वरको महिमा गर्छ; गगनले परमेश्‍वरको हातको कामको वर्णन गर्छ।” (भज. १९:१, २) मानिसहरू कत्ति अचम्मलाग्दो तरिकामा बनिएका छन्‌ भनेर विचार गरेपछि दाउदले यहोवाको अद्‌भुत बुद्धि काममा झल्किएको देखे। (भज. १३९:१४) तिनले यहोवाका कामहरूमा मनन गर्दा आफूलाई नम्र तुल्याउन सके।—भज. १३९:६.

१७. सृष्टिका कुराहरूमा मनन गरेर के सिक्न सक्छौँ?

१७ यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? सृष्टिका कुराहरूमा चासो राख्नुहोस्‌। यहोवाले यस सुन्दर संसारमा गर्नुभएको सृष्टिका कामहरू समय लगाएर हेर्नुहोस्‌ अनि तपाईँ पक्कै आश्‍चर्यचकित हुनुहुनेछ! आफ्नो वरिपरि भएका सृष्टिका कुराहरूमा हरेक दिन मनन गर्नुहोस्‌। जस्तै: रूख-बिरुवा, जनावर र मानिस। तीबाट तपाईँ यहोवाबारे के सिक्न सक्नुहुन्छ, विचार गर्नुहोस्‌। त्यसपछि हरेक दिन तपाईँले आफ्नो मायालु बुबाबारे धेरै कुरा थाह पाउनुहुनेछ। (रोमी १:२०) अनि हरेक दिन उहाँप्रतिको तपाईँको माया झन्‌झनै गहिरो हुँदै गएको महसुस गर्नुहुनेछ।

१८. भजन १८ अनुसार दाउदले के बुझेका थिए?

१८ दाउदले यहोवाले आफूलाई सधैँ साथ दिनुभएको महसुस गरे। उदाहरणको लागि, आफ्नो बुबाका भेडाहरूलाई सिंह र भालुबाट जोगाउँदा यहोवाले नै आफूलाई ती शक्‍तिशाली जङ्‌गली जनावरहरूलाई मार्न मदत गर्नुभएको हो भनी दाउदले बुझेका थिए। तिनले अजङ्‌गको योद्धा गोल्यतलाई परास्त गर्दा यहोवाले नै तिनलाई मदत गर्नुभएको हो भनेर तिनले प्रस्ट प्रमाण देखे। (१ समु. १७:३७) साथै डाही राजा साउलदेखि भाग्दा पनि यहोवाले नै आफूलाई बचाउनुभएको हो भनी तिनलाई थाह थियो। (भज. १८, परिचय) घमन्डी मानिसले ती सबै सफलताको श्रेय आफैले लिने थिए। तर दाउद नम्र भएकाले तिनले आफ्नो जीवनमा यहोवाको हात रहेको महसुस गरे।—भज. १३८:६.

१९. हामी दाउदको उदाहरणबाट के सिक्न सक्छौँ?

१९ यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? हामीले यहोवाको मदत माग्नुको साथै काम पनि गर्नुपर्छ। उहाँले हामीलाई कहिले र कसरी मदत गर्नुहुन्छ भनेर बुझ्नुपर्छ। हामी नम्र छौँ भने हामी आफ्नै बलबर्कतले सबै काम गर्न सक्दैनौँ र हामीलाई यहोवाको मदत चाहिन्छ भनेर स्विकार्छौँ। हरेक पटक यहोवाबाट मदत पाएको अनुभव गर्दा उहाँसितको हाम्रो सम्बन्ध झन्‌झनै बलियो हुँदै जानेछ। यहोवाको सेवामा वर्षौँ बिताइसकेका फिजीका एक जना भाइ इसाकले यस्तै अनुभव गरे। तिनी भन्छन्‌: “आफ्नो जीवनलाई फर्केर हेर्दा मैले बाइबल अध्ययन सुरु गरेको समयदेखि अहिलेसम्म यहोवाले मदत गरिरहनुभएको म देख्छु। त्यसैले यहोवा मेरो लागि वास्तविक परमेश्‍वर हुनुहुन्छ।”

२०. दाउदले यहोवासित गाँसेको सम्बन्धबाट हामी के सिक्न सक्छौँ?

२० दाउदले यहोवाका गुणहरूको सिको गरे। यहोवाले हामीलाई उहाँका गुणहरूको सिको गर्न सक्नेगरि बनाउनुभएको छ। (उत्प. १:२६) यहोवाको व्यक्‍तित्व प्रकट गर्ने उहाँका गुणहरूबारे हामी जति-जति सिक्दै जान्छौँ, उहाँका गुणहरू त्यति नै राम्ररी सिको गर्न सक्नेछौँ। दाउदले स्वर्गमा बस्नुहुने आफ्नो बुबालाई राम्ररी चिनेकाले अरूसित व्यवहार गर्दा उहाँको अनुकरण गर्न सके। एउटा उदाहरण विचार गर्नुहोस्‌। बेतसेबासित अवैध यौनसम्बन्ध राखेर अनि पछि उनको पतिको हत्या गर्न लगाएर दाउदले यहोवाविरुद्ध पाप गरे। (२ समु. ११:१-४, १५) तर यहोवाले दाउदलाई कृपा देखाउनुभयो किनभने तिनले पनि अरूलाई कृपा देखाएका थिए। दाउदले यहोवासित राम्रो सम्बन्ध गाँसेकाले तिनी इस्राएलका प्रिय राजाहरूमध्ये गनिए अनि यहोवाले अरू राजाहरूको तुलना गर्नुपर्दा दाउदलाई उदाहरणको रूपमा चलाउनुभयो।—१ राजा १५:११; २ राजा १४:१-३.

२१. एफिसी ४:२४ र ५:१ अनुसार यहोवाको ‘देखासिकी गर्दा’ नतिजा के हुन्छ?

२१ यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? हामीले यहोवाको ‘देखासिकी गर्नुपर्छ।’ उहाँको देखासिकी गर्दा हाम्रै फाइदा हुन्छ र उहाँलाई अझ राम्ररी चिन्‍न पनि सक्छौँ। हामीले आफ्नो व्यक्‍तित्व उहाँको जस्तै बनायौँ भने उहाँका छोराछोरी हौँ भनेर प्रमाणित गरिरहेका हुन्छौँ।—एफिसी ४:२४; ५:१ पढ्‌नुहोस्‌।

यहोवालाई चिन्‍नुहुन्छ भनेर कामबाट देखाउनुहोस्‌

यहोवाबारे सिक्न समय बिताउनुहोस्‌। त्यसपछि तपाईँले उहाँलाई चिनेको आफ्नो कामद्वारा देखाउनुहोस्‌।

सार्वजनिक साक्षीकार्यमा एक दम्पती ट्रलीको छेउमा उभिरहेका छन्‌, एउटी बहिनी एउटी स्त्रीलाई साक्षी दिँदै छिन्‌, एक दम्पती सँगै प्रार्थना गर्दै छन्‌, एक जना भाइ अर्को भाइसँग मिलाप गर्न खोज्दै छन्‌, एक बहिनी कक्षामा आफ्नो विश्‍वासको पक्षमा बोल्दै छिन्‌ र एउटा साक्षी परिवार अक्वेरियममा माछाहरू हेर्दा यहोवाका कामहरूको प्रशंसा गर्दै छ
  1. १-२. अरूलाई यहोवाबारे सिक्न मदत गर्नुहोस्‌।

  2. ३. उहाँलाई नियमित प्रार्थना गर्नुहोस्‌।

  3. ४. जतिसुकै गाह्रो अवस्थामा पनि मेलमिलाप कायम गर्नुहोस्‌।

  4. ५. परमेश्‍वरबारे निडर भई बोल्नुहोस्‌।

  5. ६. यहोवाले सृष्टि गर्नुभएका कुराहरू हेरेर त्यसको प्रशंसा गर्नुहोस्‌ अनि उहाँसित अझ घनिष्ठ हुनुहोस्‌।

यहोवाबारे अझ धेरै सिक्नुहोस्‌

२२-२३. यहोवाबारे सिकेको कुरा लागू गऱ्‍यौँ भने के हुन्छ?

२२ यहोवाले उहाँ कस्तो किसिमको व्यक्‍ति हुनुहुन्छ भनेर आफ्नो सृष्टि र आफ्नो वचन बाइबलमार्फत प्रकट गर्नुहुन्छ भनेर हामीले छलफल गऱ्‍यौँ। बाइबलमा मोसा र दाउदजस्ता हामीले अनुकरण गर्न लायकका यहोवाका वफादार सेवकहरूको उदाहरण पाइन्छ। यहोवाले आफ्नो भूमिका निर्वाह गर्नुभएको छ। अब हामीले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ अनि उहाँबारे सिक्न आफ्नो आँखा, कान र हृदय खुला राख्नुपर्छ।

२३ यहोवाबारे सिकेर कहिल्यै सकिँदैन। (उप. ३:११) हामीलाई यहोवाको विषयमा कति थाह छ, त्यो महत्त्वपूर्ण होइन बरु उहाँबारे थाह पाएपछि के गर्छौँ, त्योचाहिँ महत्त्वपूर्ण हो। हामीले आफूले सिकेको कुरा लागू गऱ्‍यौँ अनि हाम्रो मायालु बुबाको अनुकरण गर्ने प्रयास गऱ्‍यौँ भने उहाँ हामीसित झनै घनिष्ठ हुनुहुनेछ। (याकु. ४:८) उहाँलाई चिन्‍न र उहाँसित घनिष्ठ हुन चाहनेहरूदेखि उहाँ कहिल्यै टाढा जानुहुन्‍न भनेर उहाँले आफ्नो वचनमार्फत आश्‍वासन दिनुभएको छ।

तपाईँले यिनीहरूबाट यहोवाबारे के सिक्नुभयो?

  • मोसा

  • राजा दाउद

  • सृष्टिका कुराहरू

गीत ८० ‘चाखेर हेर यहोवा छन्‌ भलो’

a मानिसहरूलाई परमेश्‍वर हुनुहुन्छ जस्तो लाग्छ तर तिनीहरूले उहाँलाई राम्ररी चिनेका छैनन्‌। यहोवालाई चिन्‍नु भनेको के हो? उहाँसित घनिष्ठ सम्बन्ध कसरी गाँस्ने, त्यसबारे मोसा र राजा दाउदबाट हामी के सिक्न सक्छौँ? यस लेखले यी प्रश्‍नहरूको जवाफ दिनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने