भविष्यसूचक वचनमाथि ध्यान दिनुहोस्
१ “औ बढ़ता पुष्टि गराउने हामीसँग अगमवाणीको वचन छ।” (२ पत्रु. १:१९) पत्रुसले किन त्यसो भने? झण्डै ३२ वर्षअघि येशूको रूप परिवर्तन हुँदा पत्रुस र अन्य दुई चेलाहरूले देखेका अनि सुनेका कुराले गर्दा हिब्रू शास्त्रमा दिइएका राज्यसम्बन्धी भविष्यवाणीहरूका साथै येशू ख्रीष्ट आफैले गर्नुभएका भविष्यवाणीहरू पक्का अथवा “पुष्टि” भएका थिए। हर्षोल्लासपूर्ण महिमा र आफ्नो पिताको पूर्ण समर्थनसाथ येशू ख्रीष्ट अवश्य राज्य शक्तिमा आउनुहुनेछ भनी त्यस नाटकीय दर्शनले तिनीहरूलाई आश्वस्त गराएको थियो। प्रथम शताब्दीका मसीहीहरूले ‘अगमवाणीको वचनलाई बलिरहेको दियोलाईझैं ध्यान दिइरहेका थिए’ अन्यथा तिनीहरूको हृदयमा अन्धकार हुनेथियो। ज्योतिर्मय भविष्यसूचक वचनमाथि ध्यान दिनाले त्यस नयाँ दिनसम्म तिनीहरू जागा र ज्ञानसम्पन्न हुने थिए जब “बिहानको तारा,” ख्रीष्ट, राज्य शक्तिमा उदाउनु हुनेथियो।—२ पत्रु. १:१६-१९; मत्ती १७:१-९.
२ महिमित ढङ्गमा येशूको रूप परिवर्तन हुँदा हामी पत्रुससँगै उपस्थित थिएनौं। तैपनि भविष्यसूचक वचनमा ध्यान दिने यस पुस्ताका मसीहीहरूले ख्रीष्टको राज्यको पूर्वदर्शन नभइ महिमित राजाले वास्तविक शासन थालेको प्रशस्त प्रमाणहरू देख्ने ठूलो सुअवसर पाएका छन्। सन् १९१४ पश्चात् वर्षैपिच्छे त्यो भविष्यसूचक वचन झन् झन् पुष्टि हुँदै गएको छ किनकि येशूले आफ्नो शाही “उपस्थिति” बारे दिनुभएको असाधारण “चिह्न” का विभिन्न पक्षहरू पूरा भइरहेको हामीले देखिरहेका छौं। यो चिह्नको एउटा महत्त्वपूर्ण भाग के हो भने, त्यस राज्यको राजाले यस रीतिरिवाजलाई नष्ट गर्नु अघि सारा राष्ट्रहरूबीच उहाँको सरकार वा राज्यको घोषणा हुनेछ। ख्रीष्टको निर्देशनमा अहिले २३१ मुलुकहरूमा पहिले कहिल्यै कल्पना नगरिएको मात्रामा त्यस राज्यको प्रचार-कार्य सम्पन्न भइरहेको छ। (मत्ती २४:३-१४) यसबाहेक, “महासङ्कष्ट” को समय दिन प्रतिदिन नजिकिंदै जाँदा सिंहासनारुढ राजाले “हरेक जातिबाट” “ठूलो भीड़” जम्मा गर्दै हुनुहुन्छ, जसले “थुमाको रगत” द्वारा प्राप्त छुटकारामाथि विश्वास गरेका छन्।—प्रका. ७:९, १०, १४.
३ “बिहानको तारा” उदाइसकेको अर्थात् ख्रीष्ट राज्य शक्तिमा आइसक्नु भएकोले के अझै भविष्यसूचक वचनमाथि ध्यान दिने कुनै कारण छ? छ! महिमित येशू ख्रीष्टले प्रेरित यूहन्नालाई श्रृङ्खलाबद्ध दर्शनहरू दिनुभयो जसद्वारा सिङ्गो प्रकाशको पुस्तक बनेको छ। यी दर्शनहरू प्रथम शताब्दीका मसीहीहरूको प्रोत्साहन र निर्देशनका लागि भए तापनि “प्रभुको दिन” का लागि त्यसले विशेष महत्त्व राख्छ र आज हामी त्यही समयमा बाँचिरहेका छौं। (प्रका. १:१०) त्यसैकारण यहोवाका साक्षीहरूको मण्डलीहरूले अहिले फेरि प्रकाश चरमोत्कर्ष पुस्तक अध्ययन गर्दैछन्।
४ “जसले यो अगमवाणीका वचनहरू पढ़छ, र जस जसले सुन्छन्, र त्यसमा लेखिएका कुराहरू पालन गर्छन्, तिनीहरू धन्यका हुन्, किनभने समय नजीकै छ।” (प्रका. १:३) हामी आनन्दित हुन चाहन्छौं भने, यी भविष्यसूचक दर्शनहरूको अर्थ र अझ भन्ने हो भने त्यसको वास्तविक समझ प्राप्त गर्नैपर्छ। तर यसको लागि के गर्नु आवश्यक छ? प्रकाशका विवरणहरूको महत्त्वलाई हृदयदेखि राम्ररी बुझ्न त्यसलाई दोहोऱ्याइरहनु आवश्यक छ। भाइहरूलाई आध्यात्मिक रूपमा “जागृत गराउन” आधारभूत सच्चाइलाई दोहोऱ्याइरहनु आवश्यक छ भनेर प्रथम शताब्दीको परिचालक निकायका सदस्य प्रेरित पावलले बुझेका थिए। (२ पत्रु. १:१२, १३) त्यस्तैगरि आधुनिक समयका “विश्वासी र बुद्धिमान दास” ले पनि हाम्रो ध्यान बारम्बार भविष्यसूचक वचनहरूतर्फ केन्द्रित गराएर हाम्रो मूल्याङ्कनलाई सजीव राख्न मदत गर्छ।—मत्ती २४:४५-४७.
५ कसरी ध्यान दिने: प्रकाशको पुस्तकको भविष्यसूचक वचन कस्तो ध्यानको योग्य छ? स्वर्गदूत वा अगमवक्ता मार्फत आफ्ना मसीहीपूर्व सेवकहरूसित सम्पर्क गर्नुभएझैं अहिले परमेश्वरले बोल्नुभएको छैन भनेर प्रेरित पावल हामीलाई स्मरण गराउँछन्। बरु यहोवाले आफ्नो सबैभन्दा प्रिय पुत्रद्वारा हामीसँग सम्पर्क गर्नुभएको छ, जसलाई उहाँले “सबै कुराको हकदार” नियुक्त गर्नुभयो। (हिब्रू १:१, २) “यसकारण हामीले सुनेका कुराहरूलाई हामीले झन् बढ़ी उत्कट ध्यान दिनुपर्दछ, नत्रता हामी तिनीहरूबाट तर्केर जानेछौं।” (हिब्रू २:१) हो, हामीले परमेश्वरको वचन र अझ विशेषगरि येशू ख्रीष्टद्वारा आउने भविष्यसूचक वचनमाथि ध्यान दिनैपर्छ। प्रकाशको पुस्तक अध्ययन गर्दा हामी कसरी विशेष ध्यान दिनसक्छौं?
६ प्रथमतः हर हप्ता मण्डली पुस्तक अध्ययनमा उपस्थित हुनु अत्यावश्यक छ। हो, हामीमध्ये धेरैले तेस्रो पटक प्रकाश चरमोत्कर्ष पुस्तक अध्ययन गर्दैछौं। त्यसैकारण शायद कसैकसैले पुस्तक अध्ययनमा उपस्थित हुन लापरवाही गर्लान् र विषयवस्तुसँग पहिल्यै परिचित भइसकेकोले एक दुई पटक सभा छुटेपनि केही फरक पर्दैन भनी महसुस गर्लान्। तथापि, सन् १९८९ मा प्रथम पटक हाम्रो मण्डली पुस्तक अध्ययनमा हामीले प्रकाश चरमोत्कर्ष पुस्तक अध्ययन गरेदेखि यता वर्षैपिच्छे ती भविष्यसूचक जानकारी झनै प्रासङ्गिक र सामयिक भएको छ। प्रकाशको पुस्तकमा दिइएका भविष्यवाणीअनुरूप द्रुत गतिमा पूरा भइरहेका वर्तमान समयका घटनाहरूप्रति हामी सबै सजग हुनु आवश्यक छ। तब मात्र हामी यहोवाको इच्छाअनुसार चल्न तयार हुनसक्छौं। अतः यस पटक प्रकाशको महत्त्वपूर्ण छलफलमा यथासम्भव एउटै पनि पुस्तक अध्ययन नछुटाउने व्यक्तिगत लक्ष्य बनाउनुहोस्।
७ दोस्रो, राम्ररी पाठ तयार गर्नुहोस्। उद्धृत शास्त्रपदहरू हेर्नुहोस् र प्रकाशका पदहरूबारे दिइएको व्याख्यालाई त्यसले कसरी समर्थन गर्छ, त्यसमाथि विचार गर्नुहोस्। यसो गर्नुभयो भने तपाईंले प्रश्नहरूको जवाफभन्दा बढी कुराहरू बुझ्न सक्नुहुन्छ। ज्ञान मात्र नभइ बुद्धि र समझ प्राप्त गर्ने कोशिश गर्नुहोस्। (हितो. ४:७) तेस्रो, टिप्पणी दिने र शास्त्रपदहरू पढ्ने काममा सक्रियतासाथ भाग लिनुहोस्। प्रत्येक अध्ययनको दौडान कम्तिमा एक पटक र सकेसम्म धेरै पटक जवाफ दिने लक्ष्य बनाउनुहोस्। त्यसो गर्नु भयो भने तपाईंको ध्यान पाठमाथि केन्द्रित हुनेछ।
८ भविष्यसूचक वचनहरूमाथि साबिकभन्दा बढी ध्यान दिन केवल तयारी गर्नु, उपस्थित हुनु र भाग लिनु मात्र समावेश छैन। हामीले अध्ययनपश्चात् पनि ‘मनन गर्न र तिनीहरूमानै लागिरहनु’ पर्छ। (१ तिमो. ४:१५) भविष्यसूचक वचन हाम्रो हृदयमा ज्योतिझैं चम्केको चाहन्छौं भने त्यसलाई हाम्रो भित्री व्यक्तित्व—हाम्रो विचार, चाहना, भावना, प्रेरणा र लक्ष्यहरूमाथि असर गर्न दिनुपर्छ। (२ पत्रु. १:१९) तसर्थ, हामीले आफैसित यस्ता प्रश्नहरू सोधिरहनुपर्छ: व्यक्तिगत तवरमा यस जानकारीले मेरो निम्ति के अर्थ राख्छ? यहोवा र उहाँको पुत्र येशू ख्रीष्टबारे मैले के सिकें? मैले पढेको विषयवस्तु पछाडि के कस्ता सिद्धान्तहरू लुकेका छन्? मैले सिकेका यी सत्य कुराहरूलाई आफ्नो जीवनमा, परिवारमा र मण्डलीमा कसरी लागू गर्न सक्छु? आफूले सिकेका कुराहरूको व्यवहारिक प्रयोग गऱ्यौं भने भजनरचयितालेझैं हामी पनि यसो भन्न सक्छौं: “तपाईंको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो छ।”—भजन. ११९:१०५; अ. २९:३, ४.
९ डरलाग्दो समयमा जागा रहनुहोस्: सा. यु. ३३ मा येशूले आफ्ना चेलाहरूलाई यरूशलेममाथि आउँदै गरेको विनाश र सुरक्षित स्थानमा भाग्न तिनीहरूलाई सङ्केत दिने परिस्थितिबारे बताउनुभयो। (लूका १९:४१-४४; २१:७-२१) तत्पश्चात् ३० वर्ष बिते। केही यहूदी मसीहीहरूलाई शायद निकट भविष्यमा केही हुन्छ जस्तो लागेन होला। अतः प्रिय प्रेरित पत्रुसले सा. यु. ६४ मा लेखेको दोस्रो पत्रमा ‘अगमवाणीको वचनमा ध्यान देओ’ भनी दिएको सल्लाह कति सामयिक थियो! (२ पत्रु. १:१९) यसको केही समयपश्चात् सा. यु. ६६ मा रोमी सेनाहरूले यरूशलेम घेरे। तर कुनै प्रत्यक्ष कारणबिना एक्कासि रोमी सेनाहरू फर्किंदा जागृत यहूदी मसीहीहरूले येशूको निर्देशन पालन गरे र त्यहाँबाट भागे। पछि सा. यु. ७० मा रोमी सेनाहरू फर्के र यरूशलेमलाई पूर्णतः ध्वस्त पारे। येशूको भविष्यसूचक वचनमाथि गम्भीरतापूर्वक ध्यान दिएकोमा ती मसीहीहरू कति खुशी भए होलान्!
१० हामी आधुनिक समयका मसीहीहरू चाहिं कुन कुराको प्रतीक्षामा छौं? प्रकाशको पुस्तकको दर्शनहरूमा प्रभुको समयको दौडान थुप्रै घटनाहरू घट्नेछन् भनी येशूले आज बाँचिरहेका मसीहीहरूलाई चेताउनी दिनुभयो। बितेका ८० वर्षहरूमा त्यस्ता थुप्रै घटनाहरू घटिसकेका छन्: ख्रीष्टको राज्यको जन्म; स्वर्गमा युद्ध अनि शैतान र त्यसका प्रेतहरूको हार र त्यसपछि पार्थिव क्षेत्रमा मात्र तिनीहरूलाई सीमित राखिनु; महान बेबिलोनको पतन; चहकिलो रातो रङ्गको जनावर अर्थात् आठौं विश्व-शक्तिको उदय आदि। प्रकाशको पुस्तकमा दिइएका यी भविष्यसूचक वचनको पूर्तिले बाँकि नाटकीय घटनाहरू पनि हामीले देख्नेछौं भनी निश्चित् गराउँछ: १,४४,००० का अन्तिम सदस्यमाथि छाप लगाइनु, ठूलो भीड पूर्णतः जम्मा गरिनु, महान बेबिलोनको विनाश, आरमागेडोनको युद्ध, शैतानलाई अगाध खाँदमा हालिनु अनि ख्रीष्टको सहस्रवर्षे शासन सुरु हुनु। येशूको चेताउनीमाथि ध्यान दिनु कति महत्त्वपूर्ण छ: “हेर, म चोरजस्तै आउनेछु। त्यो धन्यको हो, जो सतर्क रहन्छ, र आफ्ना लुगाको रखवाली गर्छ। नत्रता त्यो नाङ्गै हिंड़नेछ, र तिनीहरूले त्यसको लाज देख्नेछन्”!—प्रका. १६:१५.
११ के हामी जागा छौं? भविष्यसूचक वचनलाई हामी कति गम्भीरतासाथ लिन्छौं? यहोवालाई आफ्नो जीवन समर्पण गरेको चाहे पाँच वर्षअघि होस् वा पचासौं वर्षअघि, पावलले रोमी मसीहीहरूलाई लेखेका शब्दहरू हामीमाथि पूर्ण औचित्यका साथ लागू हुन्छ: “समय विचार, अब निद्राबाट बिउँझने ठीक बेला आइपुगेको छ, किनकि हामीले विश्वास गरेर ठानेको समयभन्दा अहिले मुक्तिको समय हाम्रो नजीकै छ।” त्यसपछि पावल “अन्धकारको काम छोड़ेर” “इमानसाथ” चल्न मसीहीहरूलाई जोड दिन्छन्। (रोमी १३:११-१३) नैतिक तवरमा निष्पट्ट अन्धकार समयमा हामी बाँचिरहेका छौं। तीस चालीस वर्षअघि स्तब्ध पार्ने आचरण अहिले बीसौं शताब्दीका यस अन्तिम दशकका मानिसहरूलाई सामान्य भइसकेको छ। भाइहरू हो, सावधान हुनुहोस्, यस संसारको अन्धकारतर्फ बहकिंदै नैतिक तवरमा आफूलाई सुस्त नबनाउनुहोस्। यस संसारको भ्रष्ट सोचाइ र जीवनपद्धतिबीच आफूलाई छाडा वा लापरवाह छाड्नुभयो भने आज हामीले सामना गर्ने त्यस सबैभन्दा ठूलो विवाद तपाईंको नजरबाट हट्नेछ, जुन विवाद चाँडै सदाका लागि समाधान हुनेछ: यहोवाको सार्वभौमिकता महिमित गर्ने र उहाँको नाउँको पवित्रिकरण। आध्यात्मिक तवरमा सुस्ती भयौं भने चाँडै आउन लागेको हाम्रो छुटकारा खतरामा पर्नसक्छ।
१२ हृदयदेखि भविष्यसूचक वचनप्रति मूल्याङ्कन बढाउनुहोस्: पुरातन हिब्रू भविष्यवक्ताहरू मसीहबारे बोलिएका पवित्र आत्माले प्रेरित वचनहरूको पूर्तिमाथि निकै चासो राख्थे। परमेश्वरको उद्देश्य कसरी पूरा हुन्छ भनी थाहा पाउन तिनीहरूले लगनशील भएर “खोजेका र प्रयत्नसाथ तलास गरेका थिए।” (१ पत्रु १:१०, ११) त्यस्तैगरि तपाईंले प्रकाशको पुस्तकमा भएको भविष्यसूचक वचनमाथि ध्यान दिनुभयो भने आध्यात्मिक कुराप्रति तपाईंको मूल्याङ्कन बढ्नेछ। तपाईंको आध्यात्मिक भोक बढ्नेछ र “परमेश्वरका गहीरा गहीरा कुराहरू” को खोजी गर्न तपाईं उत्प्रेरित हुनुहुनेछ। (१ कोरि. २:१०) भविष्यसूचक वचनप्रति मूल्याङ्कन र प्रेमले आफ्नो हृदय ओतप्रोत गर्नुभयो भने कसैले तपाईंलाई सभामा उपस्थित हुन आग्रह गर्नुपर्ने छैन; तपाईं आफै नियमित तवरमा उपस्थित हुन र भाग लिन उत्प्रेरित हुनुहुनेछ। (लूका ६:४५) अनि ‘वचन हाम्रो हृदयमा भयो भने’ ‘मुक्तिको निम्ति जनसमक्ष घोषणा गर्न’ उत्प्रेरित हुनेछौं।—रोमी १०:८-१०, न्युव.
१३ अन्तको समय नजिकिंदै जाँदा गिल्ला गर्ने व्यक्तिहरू बढ्दै जानेछन् र परमेश्वरको भविष्यसूचक घोषणाहरूमाथि विश्वास राखेकोमा हाम्रो उपहास गर्नेछन्। (२ पत्रु. ३:३, ४) यद्यपि, हामी जागा भएर भविष्यसूचक वचनमाथि ध्यान दिनेछौं। समयको गतिमा अहिले हामी कहाँ छौं भनेर परमेश्वरको वचनको बत्तीले हामीलाई देखाउँछ। यस अन्धकार संसारको आखिरी दिनमा हामी छौं भनेर त्यसले प्रष्ट पार्छ। बिहानीको तारा उदाइसकेको छ! ख्रीष्ट राज्य शक्तिमा आइसक्नुभएको छ! क्षितिजमा नयाँ बिहानी उदाइरहेको हामी देख्दैछौं। येशूको रूप परिवर्तन हुँदा उहाँको राज्यको पूर्वदर्शन देख्ने तीन प्रेरितहरूका निम्ति त्यो राज्य जति वास्तविक थियो त्यति नै वास्तविक परमेश्वरद्वारा प्रतिज्ञा गरिएको नयाँ संसार हाम्रो लागि होस्!