तिनीहरूको विश्वास अनुकरण गर्नुहोस्
१ प्रेरित पावलले विश्वासलाई “आशा राखेका कुराको निश्चयता, र नदेखेका कुराको प्रमाण हो” भनेर परिभाषित गरे। तिनले अझ भने, “विना विश्वास उहाँलाई [परमेश्वर] रिझाउन असम्भव छ।” (हिब्रू ११:१, ६) पावलले हामीलाई विश्वासलाई क्रियाशील बनाउन, विश्वासमा प्रशस्त हुन र विश्वासको पछि लाग्न आग्रह गरे।—२ कोरि. ४:१३; कल. २:७; २ तिमो. २:२२.
२ बाइबलमा विश्वासका थुप्रै उल्लेखनीय उदाहरणहरू वर्णन गरिएका छन्। पावल अटल विश्वास प्रदर्शन गर्ने साक्षीहरूको लामो सूची हिब्रू अध्याय ११ मा दिन्छन्। यस सूचीमा हाबिल पनि छन्, जो आफ्नो विश्वासको लागि शहीद हुने प्रथम व्यक्ति थिए। नूहले आफ्नो परिवारलाई बचाउन ईश्वरीय भय देखाएकोले तिनको नाउँ सूचीबद्ध गरिएको छ। अब्राहामलाई तिनको विश्वास र आज्ञाकारिताको लागि सराहना गरिएको छ। अदृश्य व्यक्तिलाई देखेझैं गरी विश्वासमा दृढ रहेकोले मोशाको प्रशंसा गरिएको छ। उदाहरणहरूको त्यो सूची असाध्यै लामो छ। त्यसैले ती सबैबारे बताउने समय छैन भनेर पावलले भने। तिनीहरूको “पवित्र जीवन र भक्ति[को]” पुनरावलोकन गर्दै आफ्नो विश्वास बलियो पार्न सकिने भएकोले हामी कति कृतज्ञ छौं!—२ पत्रु. ३:११.
३ प्रथम शताब्दीमा येशूले यसरी प्रश्न गर्नुभएको थियो: “मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास पाउनेछ?” (लूका १८:८) त्यसो भए, के आज हाम्रो माझ विश्वासका जीवन्त उदाहरणहरू छन्? के आज हामी परमेश्वरका बाइबलकालीन मानिसहरूले जस्तै अटल विश्वास प्रदर्शन गर्ने जवान तथा वृद्ध पुरुष र स्त्रीहरू देख्छौं?
४ विश्वासका आधुनिक उदाहरणहरू: विश्वासका उल्लेखनीय उदाहरणहरू हाम्रो वरपर पाइन्छन्! हाम्रो नेतृत्व लिइरहेका निरीक्षकहरूको विश्वास अनुकरण गर्न योग्यको छ। (हिब्रू १३:७) तर यिनीहरू मात्र विश्वासको लागि अनुकरणीय होइनन्। प्रत्येक मण्डलीमा वफादार जनहरू छन्, जसले असाध्यै कठिन परिस्थितिहरूको बावजूद धेरै समयदेखि परमेश्वरको सेवा गर्दै आएका छन्।
५ वर्षौंदेखि आ-आफ्ना पतिहरूको विरोध सहँदै आएका विश्वासी बहिनीहरूको हामीले तारिफ गर्नैपर्छ। एक्लो आमा वा बुबाहरूले छोराछोरी हुर्काउने चुनौती सामना गर्नु परेका छन्। हामीबीच वृद्धा विधवाहरू पनि छन्, जसलाई परिवारका सदस्यहरूले मदत नगर्लान्, यद्यपि तिनीहरू मण्डलीका क्रियाकलापहरू कहिल्यै गुमाउँदैनन्। (लूका २:३७ तुलना गर्नुहोस्।) दीर्घकालीन स्वास्थ्य समस्याहरू सहिरहेकाहरूको विश्वास देखेर हामी छक्क पर्छौं। थुप्रैले परिस्थितिवश सेवामा थप सुअवसरहरू पाउन नसके तापनि वफादारीसाथ निरन्तर सेवा गरिरहेका छन्। स्कूलमा विरोधको बावजूद पनि साहसपूर्वक विश्वास देखाउने जवान साक्षीहरू छन्। वर्षौंदेखि अनगिन्ती समस्याहरूको सामना गर्दै सेवा गरिरहेका विश्वासी अग्रगामीहरूलाई हेर्दा हाम्रो ईश्वरीय भक्ति सशक्त हुन्छ। प्रेरित पावलले भनेझैं हामीले पनि परमेश्वरको राज्य सेवाका सबै अनुभव तथा यी भाइबहिनीहरूले देखाएका विश्वासपूर्ण कार्यहरूको बयान गरेर साध्य छैन!
६ विश्वासी जनहरूका यी उदाहरणहरूले हामीलाई सान्त्वना र प्रोत्साहन प्रदान गर्छन्। (१ थिस्स. ३:७, ८) हामीले तिनीहरूको विश्वास अनुकरण गर्नु राम्रो हो किनभने “इमान्दार [विश्वासी, NW] मानिससित उहाँ [यहोवा] प्रसन्न हुनुहुन्छ।”—हितो. १२:२२.