प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km98 जून pp. ३-६
  • मालिकको सम्पत्तिको देखभाल गर्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मालिकको सम्पत्तिको देखभाल गर्ने
  • हाम्रो राज्य सेवकाई—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मसीही कारिन्दाको काम
  • “विश्‍वासी र बुद्धिमान भण्डारे”
  • अर्को प्रविधि
  • संगठनात्मक विविध आवश्‍यकता
  • ध्यान दिनुपर्ने कुराहरू
  • सम्पत्तिको देखभाल
  • तपाईं भरोसायोग्य भण्डारे हुनुहुन्छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • के तपाईँलाई थाह थियो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • परमेश्‍वरको प्रशंसा गर्न बाइबल साहित्यको उत्पादन
    यहोवाका साक्षीहरू—विश्‍वभरि एक भएर परमेश्‍वरको इच्छा गरिरहेका छन्‌
हाम्रो राज्य सेवकाई—१९९८
km98 जून pp. ३-६

मालिकको सम्पत्तिको देखभाल गर्ने

१ बाइबलकालीन कारिन्दाहरू ठूलो भरोसाको पात्र हुन्थे। अब्राहामले छोरो इसहाकको निम्ति पत्नी खोज्ने काम आफ्नो कारिन्दालाई सुम्पे। (उत्प. २४:१-४) भनौं भने, अब्राहामको सन्तान पुस्ता दर पुस्ता हुँदै जानुमा त्यही नोकर नै जिम्मेवार थियो। कत्ति ठूलो जिम्मेवारी! प्रेरित पावलले यसो भन्‍नु कुनै छक्कलाग्दो कुरा होइन: “कारिन्दाहरूमानै मानिस विश्‍वासी पाइओस्‌ भन्‍ने चाहिएको छ।”—१ कोरि. ४:२.

मसीही कारिन्दाको काम

२ मसीही सेवकाईका केही पक्षलाई बाइबलमा कारिन्दाको काम भनेर उल्लेख गरिएको छ। उदाहरणका लागि, प्रेरित पावलले ‘तिनलाई तिनीहरूतर्फ दिइएको परमेश्‍वरको अनुग्रहको प्रबन्धको [‘कारिन्दाको काम,’ NW] विषयमा’ एफिसीहरूलाई बताए। (एफि. ३:२; कल. १:२५) तिनले जाति जातिका मानिसहरूलाई सुसमाचार सुनाउने काम विश्‍वासपूर्वक पूरा गर्नुपर्ने कारिन्दाको कामजस्तै हो भन्‍ने सम्झे। (प्रेरि. ९:१५; २२:२१) प्रेरित पत्रुसले अभिषिक्‍त भाइहरूलाई यसो लेखे: “एउटाले अर्कोलाई बिना गनगन अतिथि सेवा गर। हरेकले वरदान पाएअनुसार, परमेश्‍वरको नाना प्रकारको अनुग्रहको असल कारिन्दाहरूले जस्तैगरी एउटाले अर्कोको सेवा गर।” (१ पत्रु. ४:९, १०; हिब्रू १३:१६) प्रथम शताब्दीका मसीहीहरूसँग जे जति भौतिक सम्पत्ति थियो, ती सब यहोवाको अनुग्रहले गर्दा थियो। तसर्थ, तिनीहरू ती सम्पत्तिको कारिन्दा थिए र त्यसलाई तिनीहरूले मसीही तौरतरिकामा चलाउनुपर्थ्यो।

३ आज यहोवाका साक्षीहरूले पनि तिनीहरूको जस्तै विचार राख्छन्‌। तिनीहरूले आफूलाई यहोवाप्रति समर्पित गरेका छन्‌ र तिनीहरूसँग भएका यावत्‌ थोक अर्थात्‌ जीवन, शारीरिक शक्‍ति, भौतिक सम्पत्ति चाहिं “परमेश्‍वरको नाना प्रकारको अनुग्रहको” फल हो भन्‍ने दृष्टिकोण राख्छन्‌। असल कारिन्दाको हैसियतमा तिनीहरूले यी कुराहरू चलाउने विषयमा आफूलाई यहोवाप्रति जवाफदेही ठान्छन्‌। यसबाहेक, तिनीहरूलाई सुसमाचारको ज्ञान पनि दिइएको छ। यो पनि सम्पत्ति नै हो। तिनीहरू यसलाई यहोवाको नाउँ प्रशंसा गर्न र अरूलाई सत्यको ज्ञान सिक्नमा मदत दिन यथासम्भव उत्तम तरिकामा प्रयोग गर्न चाहन्छन्‌।—मत्ती २८:१९, २०; १ तिमो. २:३, ४; २ तिमो. १:१३, १४.

४ यहोवाका साक्षीहरूले कारिन्दाका हैसियतमा आफ्ना जिम्मेवारीहरू कसरी पूरा गरिरहेका छन्‌? गत वर्ष मात्र तिनीहरूले विश्‍वव्यापी तवरमा ‘राज्यको सुसमाचार’ प्रचार गर्न एक अरबभन्दा बढी घण्टा बिताए। अनि चासो देखाउनेहरूसँग ४५,००,००० भन्दा बढी गृह बाइबल अध्ययन सञ्चालन गरे। (मत्ती २४:१४) तिनीहरूले विश्‍वव्यापी कामकुरा तथा स्थानीय राज्यभवनको रेखदेख गर्न उदारतासाथ दिएको चन्दा, परिभ्रमण निरीक्षक तथा अरूप्रति देखाएको आतिथ्य अनि सशस्त्र संघर्षजस्ता कुराको शिकार भएकाहरूप्रति देखाएको अपूर्व दयाले पनि तिनीहरू यहोवाका कारिन्दाका हैसियतमा विश्‍वासी छन्‌ भनेर देखाउँछ। सामूहिक रूपमा साँचो मसीहीहरूले मालिकको सम्पत्तिको राम्रो देखभाल गरिरहेका छन्‌।

“विश्‍वासी र बुद्धिमान भण्डारे”

५ कारिन्दाको काम व्यक्‍तिगत तवरमा मात्र नभएर संगठनात्मक तवरमा पनि हुन्छ। येशूले पृथ्वीका अभिषिक्‍त मसीही मण्डलीलाई “विश्‍वासी र बुद्धिमान भण्डारे” भन्‍नुभयो। (लूका १२:४२) यी ‘विश्‍वासी भण्डारेको’ जिम्मेवारी ‘भोजन दिनु’ र अन्तरराष्ट्रिय तवरमा सुसमाचार प्रचार गर्ने काममा अगुवाइ लिनु हो। (प्रका. १२:१७) विश्‍वासी भण्डारे वर्गको प्रतिनिधित्व गर्ने परिचालक निकायले भौतिक अनि आध्यात्मिक “तोड़ा” सही ढंगमा चलाउने इश्‍वरप्रदत्त जिम्मेवारी पाएका छन्‌। (मत्ती २५:१५) हरेक शाखा निकायले ‘विश्‍वासी भण्डारेको’ उदाहरणअनुरूप आर्थिक अनुदानलाई परमेश्‍वरको राज्य गतिविधिमा उत्तरदायी ढंगमा प्रयोग गर्ने हर प्रयास गर्छन्‌। यस्तो चन्दा विश्‍वस्त भएर दिइएको हुन्छ अनि त्यसलाई बुद्धिमानी, किफायती र प्रभावकारीसाथ उपयुक्‍त काममा प्रयोग गर्ने जिम्मेवारी ‘विश्‍वासी र बुद्धिमान भण्डारेको’ हो।

६ चन्दालाई बुद्धिमानीसाथ प्रयोग गरिन्छ भन्‍ने कुरा २० औं शताब्दीको दौडान यहोवाका साक्षीहरूको मुद्रण गतिविधिमा भएको प्रगतिबाट देख्न सकिन्छ। बाइबल तथा बाइबल साहित्यहरू अर्थात्‌ पत्रिका, पुस्तक, पुस्तिका, सानो पुस्तिका, पर्चा र राज्य समाचारहरू-ले यी “आखिरी दिनमा” “सुसमाचार” फैलाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्‌। (२ तिमो. ३:१; मर्कू. १३:१०) अनि प्रहरीधरहरा चाहिं “परमेश्‍वरका घराना” र तिनीहरूका सहयोगी अर्थात्‌ “अरू भेड़ा[द्वारा]” बनिएको “ठूलो भीड़[लाई]” “ठीक ठीक समयमा खान” दिने महत्त्वपूर्ण साधन हो।—एफि. २:१९; यूह. १०:१६; प्रका. ७:९; मत्ती २४:४५.

७ सुरु-सुरुमा यहोवाका साक्षीहरूको सम्पूर्ण साहित्य व्यापारिक छापाखानामा छापिन्थ्यो। तर यहोवाका सेवकहरूको आफ्नै छापाखाना भएको खण्डमा झन्‌ प्रभावकारी हुनुका साथै आध्यात्मिक तवरमा पनि फाइदाजनक हुनेछ भन्‍ने निर्णय १९२० को दशकमा गरियो। सन्‌ १९२० मा सानो छापाखाना चलाउन थालियो र बिस्तारै बढ्‌दै गएर न्यु योर्कस्थित ब्रूकलिनको छापाखानाले एकदमै ठूलो रूप लियो। सन्‌ १९६७ यता त यस्ता छापाखानाहरूका ठूलठूला भवनहरू भए। अन्य मुलुकहरूमा पनि मुद्रणकार्य सुरु भइसकेको थियो तर धेरैजसो मुलुकहरूमा दोस्रो विश्‍वयुद्धको कारण बन्द भयो।

८ तथापि, संयुक्‍त राज्यमा मुद्रणकार्य जति नै ठूलो भए पनि त्यहाँ पूरै संसारको लागि साहित्यहरू प्रकाशन गर्न सम्भव थिएन। त्यसकारण, युद्धपश्‍चात्‌ क्यानाडा, ग्रीस, डेनमार्क, दक्षिण अफ्रिका, पश्‍चिम जर्मनी, बेलाइत र स्वीटजरल्याण्ड लगायत अन्य विभिन्‍न देशहरूमा मुद्रणकार्य सुरु गरियो वा सुरु भइसकेको थियो। सन्‌ १९७० दशकको प्रारम्भतिर अस्ट्रेलिया, घाना, जापान, नाइजेरिया, फिनल्याण्ड, फिलिपिन्स र ब्राजिलमा पनि मुद्रणकार्य सुरु भयो। यीमध्ये केही देशहरूले सजिल्द पुस्तकहरू पनि छापे। साथै, १९७० दशकको प्रारम्भतिर गिलियड मिसनरीहरूलाई मुद्रणकार्यको प्रशिक्षण दिइयो अनि माथि उल्लिखित कुनै कुनै देशमा त्यहाँका स्थानीय भाइहरूलाई मुद्रणकार्यमा मदत गर्न पठाइयो।

९ सन्‌ १९८० दशकको प्रारम्भतिर पत्रिका छाप्ने देशहरूको शिखर संख्या ५१ पुग्यो।a मालिकको सम्पत्तिको कत्ति राम्रो सदुपयोग! परमेश्‍वरको राज्यको काममा प्रगति भएको कस्तो ठोस प्रमाण! अनि “आफ्नो धन-सम्पत्तिले परमप्रभुको आदर” गर्ने यहोवाका लाखौं साक्षीहरूले उदारतासाथ दिएको समर्थनको कस्तो जोडदार पुष्टि! (हितो. ३:९) अतः यहोवाले विभिन्‍न तरिकामा आशिष्‌ दिनुभएका कुराहरूको असल कारिन्दा हौं भनेर तिनीहरूले प्रमाणित गरेका छन्‌।

अर्को प्रविधि

१० सन्‌ १९७० र १९८० दशकहरूको प्रारम्भतिर मुद्रण प्रविधिमा ठूलठूला प्रगति भए। अनि यहोवाका साक्षीहरूले नयाँ मुद्रण प्रविधिहरू प्रयोग गर्नथाले। यसअघि, तिनीहरूले पुरानो लेटरप्रेस चलाउँथे। तिनीहरूले त्यसको ठाउँमा अत्याधुनिक अफसेट मुद्रण यन्त्र चलाउन थाले। फलस्वरूप, पुरानो लेटरप्रेसमा छाप्न मिल्ने मात्र दुई रंगका (कालो र अर्को रंग) चित्रहरूको साटो रंगीन चित्रहरूसहित आकर्षक प्रकाशनहरू तयार पार्न थालियो। यसबाहेक, कम्प्युटर प्रविधिले गर्दा मुद्रणअघिको काममा पूरै परिवर्तन आयो। यहोवाका साक्षीहरूले मल्टिल्यांग्वेज इलेक्ट्रोनिक फोटोटाइपसेटिङ सिस्टम (मेप्स) भन्‍ने कम्प्युटर प्रणाली विकास गरे। अहिले यस प्रणालीको सहायताद्वारा ३७० भन्दा बढी भाषाहरूमा साहित्य मुद्रण भइरहेको छ। मेप्स-ले जस्तो अरू कुनै व्यापारिक कम्प्युटर प्रोग्रामले यतिका विविध भाषाहरूमा काम गर्नसक्दैन।

११ मेप्स कम्प्युटर प्रविधिको मदत र इलेक्ट्रोनिक मेलजस्ता नयाँ पद्धतिहरूको प्रयोगद्वारा ठीक ठीक समयमा आध्यात्मिक भोजन तयार पार्ने काममा निकै ठूलो प्रगति भएको छ। पहिले पुरानो प्रविधि प्रयोग गर्दा अंग्रेजीमा छापिएको सामग्रीहरू महिनौं वा कहिलेकाहीं त वर्ष दिनपछि मात्र अन्य भाषाहरूमा छापिन्थ्यो। अहिले प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! क्रमशः ११५ र ६२ भाषाहरूमा एकै चोटि प्रकाशित हुन्छन्‌। मतलब, संसारभरि साप्ताहिक प्रहरीधरहरा अध्ययनमा उपस्थित हुनेहरूमध्ये ९५ प्रतिशत मानिसहरूले एउटै विषय एकै समयमा छलफल गर्छन्‌। कत्ति राम्रो आशिष्‌! यी नयाँ प्रविधिमा लगानी गर्नु निश्‍चय पनि मालिकको सम्पत्तिको उत्तम सदुपयोग हो!

संगठनात्मक विविध आवश्‍यकता

१२ यो नयाँ मुद्रण प्रणालीले गर्दा यहोवाका साक्षीहरूको विश्‍वव्यापी मुद्रण कार्यमा संगठनात्मक परिवर्तन आयो। पुरानो लेटरप्रेसको तुलनामा वेब अफसेट प्रेस कता हो कता छिटो हुन्छ तर यसको मूल्य पनि उत्तिकै महंगो पर्छ। लेख तयार गर्ने, अनुवाद गर्ने, चित्रकारी र ग्राफिक्सजस्तो मुद्रणकार्यसित सम्बन्धित काममा पुरानो प्रणालीभन्दा कम्प्युटर प्रणाली धेरै उपयोगी भए तापनि यसमा निकै धेरै खर्च हुन्छ। केही समय नबित्दै विभिन्‍न ५१ देशहरूमा पत्रिका छाप्नु धेरै खर्चिलो भएको कुरा स्पष्ट भयो। अतः १९९० दशकमा ‘विश्‍वासी भण्डारेले’ त्यस परिस्थितिलाई पुनः सोचविचार गऱ्‍यो। निष्कर्ष के निस्क्यो त?

१३ एकै ठाउँमा मुद्रणकार्य गरियो भने यहोवाका साक्षी तथा तिनीहरूका मित्रहरूले दिएको “धन-सम्पत्ति” अझ प्रभावकारी ढंगमा प्रयोग हुन्थ्यो भनेर अध्ययनले औंल्यायो। अतः एकपछि अर्को गर्दै मुद्रण शाखाहरूको संख्या कटौती गरियो। जमर्नीले पूर्व र पश्‍चिम युरोपका थुप्रै देशहरूका लागि पत्रिका तथा साहित्यहरू मुद्रण गर्न थालेको छ जसमध्ये कतिको त आफ्नै छापाखाना थियो। इटालीले ग्रीस र अल्बेनियालगायत अफ्रिका र दक्षिण-पूर्वी युरोपका लागि पत्रिका तथा साहित्यहरू पठाउन थालेको छ। अफ्रिकामा नाइजेरिया र दक्षिण अफ्रिकामा मात्र पत्रिका मुद्रण गरिन्छ। यसरी नै संसारभरि थोरै ठाउँमा मात्र साहित्य मुद्रण गर्न थालियो।

ध्यान दिनुपर्ने कुराहरू

१४ जुलाई १९९८ देखि युरोपका अस्ट्रिया, ग्रीस, डेनमार्क, नेदरल्याण्ड, फ्रान्स र स्वीटजरल्याण्डलगायत अन्य केही देशहरूमा पत्रिका मुद्रण गरिनेछैन। युरोपले गर्ने मुद्रणकार्य इटाली, जर्मनी, फिनल्याण्ड, बेलाइत, स्पेन र स्वीडेनले मात्र गर्नेछ। यसो गरेर अनावश्‍यक खर्च कटौती गर्नुका साथै विश्‍वव्यापी कार्यमा चन्दाको राम्रो सदुपयोग गरिनेछ। कुन देशले मुद्रणकार्य जारी राख्ने र कुन देशमा स्थगित गर्ने भनेर कसरी निर्णय गरियो त? ‘विश्‍वासी भण्डारेले’ मालिकको सम्पत्ति बुद्धिमानीसाथ देखभाल गर्नुपर्ने कुरा ध्यानमा राख्दै कुन मुलुकमा मुद्रण गर्नु व्यवहारिक छ भनेर लेखाजोखा गरे।

१५ कुनै कुनै देशमा मुद्रणकार्य बन्द गर्नु र एकै ठाउँमा मुद्रणकार्य सञ्चालन गर्नु व्यवहारिक थियो। एउटा देशले अरू थुप्रै मुलुकका लागि साहित्य मुद्रण गर्नु निकै सुविधाजनक हुनुका साथै महंगा उपकरणहरूको सदुपयोग पनि हो। अहिले ती ठाउँहरूमा मुद्रण हुन्छ जहाँ मुद्रण खर्च कम लाग्छ, सरसामान सजिलै पाउन सकिन्छ अनि ढुवानीको राम्रो सुविधा छ। अतः मालिकको सम्पत्तिको सदुपयोग भइरहेको छ। निस्सन्देह, कुनै देशमा मुद्रणकार्य बन्द हुँदैमा त्यहाँ प्रचारकार्य ठप्प हुने होइन। ती मुलुकहरूमा प्रशस्त मात्रामा मुद्रित प्रकाशनहरू पठाइनेछन्‌। अनि त्यहाँ यहोवाका हजारौं साक्षीहरूले जोसका साथ तिनीहरूका छिमेकीलाई “मिलापको सुसमाचार” सुनाइरहनेछन्‌। (एफि. २:१७) यसरी मुद्रणकार्य पुनः संगठित गर्नाले अन्य फाइदा पनि भएका छन्‌।

१६ एउटा उदाहरण लेऔं। ग्रीस, डेनमार्क, नेदरल्याण्ड र स्वीटजरल्याण्डका आधुनिक मुद्रण यन्त्रहरू नाइजेरिया र फिलिपिन्समा पठाइयो। युरोपका दक्ष सञ्चालकहरूले ती यन्त्रहरू लगेर स्थानीय सञ्चालकहरूलाई प्रशिक्षण दिने निमन्त्रणा स्वीकारे। अतः अन्य देशहरूले झैं अहिले ती देशहरूले पनि गुणस्तरीय पत्रिका पाइरहेका छन्‌।

१७ अर्को फाइदा विचार गर्नुहोस्‌: अहिले जुन मुलुकमा पत्रिका मुद्रण हुन्छ त्यही मुलुकले मुद्रण खर्च बेहोरिरहेको छ। परिणामस्वरूप, मुद्रणकार्य बन्द गरिएका देशहरूमा आर्थिक स्रोतहरू राज्यभवन निर्माण गर्ने अनि गरिब मुलुकका हाम्रा भाइबहिनीहरूलाई खाँचोमा परेको बेला मदत गर्ने जस्ता अन्य काममा चलाउन सकिएको छ। तसर्थ, मालिकको सम्पत्ति होसियारीसाथ चलाउनुको अर्थ पावलले कोरिन्थीहरूलाई लेखेका शब्दहरू अझ प्रभावशाली ढंगमा अन्तरराष्ट्रिय तवरमा लागू गर्न सम्भव तुल्याउनु हो। तिनले यसरी लेखे: “अरूहरूलाई सुबिस्ता र तिमीहरूलाई चाहिं दुःख होस्‌ भनेर म यो भन्दिनँ, तर समानताको विचारले, यस वर्त्तमान समयमा तिमीहरूका बढ्‌ती तिनीहरूका अभावको निम्ति, र . . . सबैमा समानता होस्‌।”—२ कोरि. ८:१३, १४.

१८ यसरी एकै ठाउँमा मुद्रणकार्य थालिएको हुनाले संसारभरिका यहोवाका साक्षीहरू पहिलेभन्दा झनै संयुक्‍त हुन सकेका छन्‌। डेनमार्कका साक्षीहरूले पहिले आफै मुद्रणकार्य गरे तापनि अहिले तिनीहरूको पत्रिका जर्मनीमा मुद्रण हुन्छ। तर यसमा तिनीहरूलाई कुनै आपत्ति छैन। जर्मन भाइहरूले गरेको सेवाप्रति तिनीहरू आभारी छन्‌। के जर्मन भाइहरू आफ्नो चन्दा डेनमार्क वा रूस, युक्रेन अनि अन्य मुलुकहरूका लागि बाइबल साहित्यहरू उत्पादन गर्न खर्च गर्नुपरेकोमा तिनीहरूप्रति रुष्ट छन्‌ त? अहँ, पटक्कै छैनन्‌। ती मुलुकका भाइहरूले तिनीहरूको चन्दा अब अन्य आवश्‍यक कामहरूमा चलाउनसक्छन्‌ भन्‍ने जान्‍न पाउँदा तिनीहरू खुसी छन्‌।

सम्पत्तिको देखभाल

१९ संसारभरि यहोवाका साक्षीहरूको राज्यभवनमा “सोसाइटीको विश्‍वव्यापी कामको लागि चन्दा—मत्ती २४:१४” लेखिएको चन्दा बाकस राखिएको हुन्छ। ती बाकसमा जम्मा भएका स्वेच्छाकृत चन्दा आवश्‍यक परेको ठाउँमा चलाउन सकिन्छ। ती चन्दा कसरी चलाउने, ‘विश्‍वासी भण्डारे’ र हरेक शाखा निकायले निर्णय गर्छ। अतः एउटा मण्डलीको चन्दा बाकसमा खसालिएको रकमले सयौं किलोमिटर टाढाको यहोवाका साक्षीहरूको कानुनन मान्यता पाएको अर्को मण्डलीका क्रियाकलापमा सहयोग पुऱ्‍याउनसक्छ। कुनै कुनै मुलुकमा आँधीबेह्री, भुँमरी, भैंचालो र गृहयुद्धजस्ता परिस्थितिहरूको मारमा परेका सँगी विश्‍वासीहरूलाई आपत्‌कालीन मदत दिनमा पनि चन्दा प्रयोग गरिएको छ। अनि यस्तो चन्दा देशभरिका पूर्ण-समय सेवकहरूको रेखदेखमा पनि सदुपयोग गरिन्छ।

२० साधारणतया यहोवाका साक्षीहरूको मण्डलीमा महिनामा एक चोटि मात्र केही मिनेट आर्थिक लेखाजोखा गरिन्छ। राज्यभवन वा सम्मेलनहरूमा चन्दा थाली घुमाइँदैन। व्यक्‍तिगत तवरमा कसैलाई पनि कोषको लागि आह्वान गरिंदैन। चन्दा उठाउने अभियान चलाइँदैन। साधारणतया, प्रहरीधरहरा-ले वर्षमा एकैपल्ट मात्र विश्‍वव्यापी कार्यमा सहयोग पुऱ्‍याउन चन्दा दिन चाहनेहरूले कसरी वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीलाई चन्दा दिन सक्छन्‌ भनेर प्रष्ट्याउँछ। सोसाइटीको आर्थिक अवस्था कस्तो छ, ब्यूँझनुहोस्‌!-मा घरीघरी बताइँदैन। त्यसो भए, विश्‍वव्यापी तवरमा सुसमाचार प्रचार गर्ने, राज्यभवनहरू निर्माण गर्ने, पूर्ण-समय सेवामा लाग्नेहरूको रेखदेख गर्ने र खाँचोमा परेका मसीहीहरूलाई सहयोग गर्ने तमाम काम कसरी पूरा भइरहेका छन्‌? यहोवाले आफ्ना जनहरूलाई अद्‌भूत तरिकामा आशिष्‌ दिनुभएर उदार मनोभाव दिनुभएको छ। (२ कोरि. ८:२) “आफ्नो धन-सम्पत्तिले परमप्रभुको आदर” गर्नेहरू सबैलाई हामी धन्यवाद दिन चाहन्छौं। ‘विश्‍वासी भण्डारेले’ सधैं नै मालिकको सम्पत्ति देखभाल गर्नेछ भनी तिनीहरू ढुक्क हुनसक्छन्‌। अनि विश्‍वव्यापी कार्य विस्तार गर्न मिलाइएका सम्पूर्ण प्रबन्धहरूमा यहोवाले आशिष्‌ दिऊन्‌ भनी प्रार्थना गर्छौं।

[फुटनोट]

a यीमध्ये सातवटा देशहरूमा व्यापारिक छापाखानामा साहित्य मुद्रण गरिन्थ्यो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने