आमाबाबु हो—आफ्ना छोराछोरीलाई असल बानी बसाल्न लगाउनुहोस्
१ असल आचरण न जन्मजात आउने कुरा हो न त यो अकस्मात् प्राप्त नै गर्न सकिन्छ। छोराछोरीमा असल बानी बसाल्न समय लाग्छ। “बसाल्ने” भन्ने शब्दको अर्थ “बिस्तारै सिकाउनु” वा “थोपाथोपा गरी हाल्नु” हुन्छ। छोराछोरीलाई “प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण” गर्न आमाबाबुले लगातार प्रयत्न गर्नु आवश्यक छ।—एफि. ६:४.
२ शैशवकालदेखिनै सुरु गर्नुहोस्: कलिलो उमेरका बच्चाहरूको सिक्ने तथा नयाँ कुराहरू गर्ने विशिष्ट क्षमता हुन्छ। प्रायः वयस्कहरूलाई नयाँ भाषा सिक्न गाह्रो भए तापनि भर्खरै स्कूल जान थालेका बच्चाहरूले एकै पटक दुई वा तीन भाषाहरू सिक्न सक्छन्। असल बानी बसाल्न अहिले तपाईंको बच्चा कलिलै छ भनेर कहिल्यै नसोच्नुहोस्। यदि सुरुदेखिनै छोराछोरीलाई बाइबलका निर्देशनहरू लगातार रूपमा सिकाउन थालेमा, समयको दौडान कलिलो उमेरमै उसमा “मुक्तिको निम्ति . . . बुद्धिमान” तुल्याउने ज्ञान भरिनेछ।—२ तिमो. ३:१५.
३ क्षेत्र सेवकाई जाने बानी बसाल्नुहोस्: बच्चाहरूलाई बढ्दो उमेरमा बानी बसाल्नु पर्ने एउटा कुरा नियमित रूपमा परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्नु हो। अधिकांश आमाबाबुहरूले आफ्ना छोराछोरीलाई बालक छँदा नै घर-घरको सेवकाईमा लैजान सुरु गर्छन्। आमाबाबुले नियमति रूपमा प्रचारकार्यमा भाग लिएमा छोराछोरीले पनि सेवकाईप्रति मूल्यांकन तथा जोस बढाउने मदत पाउँछन्। आमाबाबुले छोराछोरीलाई सेवकाईको हरेक पक्षमा कसरी भाग लिने भनी देखाउन सक्छन्।
४ ईश्वरतान्त्रिक सेवकाई स्कूलमा भर्ना भएर पनि छोराछोरीले मदत पाउन सक्छन्। यसले तिनीहरूलाई पढ्ने राम्रो बानी बसाल्न तथा बुझ्ने हिसाबले अध्ययन गर्न सिकाउँछ। तिनीहरूले यसबाट बाइबलबारे कसरी कुराकानी गर्ने, पुनःभेट गर्ने तथा बाइबल अध्ययन सञ्चालन गर्ने भनी सिक्छन्। यस्ता प्रशिक्षणहरूले तिनीहरूलाई अग्रगामी हुन तथा सेवाका विशेषाधिकारहरू प्राप्त गर्न उत्प्रेरित गर्नसक्छन्। अधिकांश बेथलाइट तथा विशेष अग्रगामीहरूले ईश्वरतान्त्रिक स्कूलमा भाग लिएका आफ्ना सुरुका दिनहरू सम्झने गर्छन् र उनीहरू यस स्कूललाई आफूमा असल बानी विकास गर्न मदत गर्ने प्रबन्धको रूपमा लिने गर्छन्।
५ हामी सबै महान् कुमाले यहोवाको हातका माटा हौं। (यशै. ६४:८) माटो नरम हुँदा आकार दिन सजिलो हुन्छ। तर यसलाई धेरै लामो समयसम्म सुक्खा राखेमा कडा हुन्छ। मानिसमा पनि यही कुरा लागू हुन्छ। साना छँदा केटाकेटीहरू निकै नरम हुन्छन् र त्यत्तिबेलै तिनीहरूलाई सिकाएमा नतिजा राम्रो हुन्छ। कलिलो उमेर भनेको बढ्ने उमेर हो, यस बेला नै असल वा खराब आकार दिन सकिन्छ। पालन-पोषण गर्ने आमाबाबुको हैसियतमा सुरुदेखि नै आफ्ना छोराछोरीलाई मसीही सेवकाईमा असल बानी बसाल्न लगाउनुहोस्।