के यसले प्रचार गर्न बाधा पुऱ्याउँछ?
१ अधिकांश मानिसहरू व्यस्त जीवन बिताउँछन्। यहोवाका साक्षीहरू पनि अत्ति व्यस्त मानिसहरूमध्ये पर्छन् अर्थात् उनीहरू परमेश्वरको वचन अध्ययन गर्न, मण्डलीका सभाहरूमा उपस्थित हुन, क्षेत्र सेवामा भाग लिन व्यस्त हुन्छन्। यसको अतिरिक्त, हाम्रो जागिर छ, घरायसी काम वा स्कूलको काम र अन्य थुप्रै जिम्मेवारीहरू छन्। यी सबैले प्रशस्त समय लिन्छ। विशेष गरी, परिवारका शिरहरूलाई झनै गाह्रो छ।
२ धेरै ठाउँहरूमा आर्थिक अवस्था नराम्रो भएको कारण गुजारा चलाउन घरका शिरहरूले धेरै समय काममा कडा परिश्रम गर्नुपर्ने हुन्छ। सांसारिक पेसामा धेरै समय अनि परिश्रम लगाउनु परेकोले गर्दा प्रचार कार्यको निम्ति तिनीहरूसित थोरै मात्र समय बच्छ। तिनीहरूको दायित्व आफ्नो परिवारको लागि भौतिक कुराहरूको प्रबन्ध मिलाउनु भएकोले कसै-कसैले सेवकाईमा थोरै मात्र भाग लिन सक्छु भनेर सोच्न सक्छन्। (१ तिमो. ५:८) आज जीवनका आवश्यकताहरू पूरा गर्ने सम्बन्धमा धेरै दबाउहरू आउने कुरालाई पनि नकार्न सकिंदैन। तर कसैको सांसारिक काम सुसमाचार प्रचार कार्यमा बाधा बन्नु आवश्यक छैन। (मर्कू. १३:१०) तसर्थ, हामीले आफ्नो वास्तविक परिस्थितिलाई केलाउनु पर्छ।
३ संसारको रूप सधैं परिवर्तन भइरहने भएकोले, परिवारको शिरले आइपर्ने संकटहरूको लागि आर्थिक तवरमा सुदृढ हुन काममा धेरैभन्दा धेरै समय बिताउने झुकाव राख्लान्। (१ कोरि. ७:३१) सांसारिक काममा बढी समय बिताउँदा त्यसले थप भौतिक चीज वा मनोरञ्जनका लागि थप अवसरहरू प्रदान गर्लान् तर आध्यात्मिक गतिविधि र नियमित तवरमा सभाहरू धाउन छोडेर यी कार्यहरूमा लाग्यौं भने, के यसले परिवारलाई खुसी र अझ सन्तुष्ट बनाउन सक्ला? हाम्रो आध्यात्मिकतालाई खतरामा पार्ने जुनसुकै चीज होस् हामी त्यसलाई पक्कै त्याग्न चाहन्छौं। ‘स्वर्गमा धन-सम्पत्ति थुपार्ने’ अनि ‘परमेश्वरतर्फ धनी हुने’ येशूको सल्लाह पालन गर्नु बुद्धिमानी कदम हो।—मत्ती ६:१९-२१; लूका १२:१५-२१.
४ पहिले राज्यको खोजी गर: येशूले आफ्ना चेलाहरूलाई सबैभन्दा पहिले आध्यात्मिक कुरालाई प्राथमिकता दिन सिकाउनुभयो। उहाँले तिनीहरूलाई यस्तो आग्रह गर्नुभयो: “के खाउँला? कि के पिऔंला? कि के पहिरौंला?’ भनी फिक्री नगर।” उहाँले किन त्यसो भन्नुभयो? उहाँ यसो भन्नुहुन्छ: “किनभने तिमीहरूका स्वर्गका पिताले तिमीहरूलाई यी सबै थोकको दर्कार छ भनी जान्नुहुन्छ।” यदि हामीलाई यस कुरामा पूर्ण विश्वास छ भने, येशूले फेरि भन्नुभएको यस आज्ञा पूरा गर्न हामीलाई कसैले बाधा दिन सक्नेछैन: “पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्।” परमेश्वरले अवश्य हाम्रा आवश्यकताहरू पूरा गर्नुहुनेछ। (मत्ती ६:३१-३३) यो पक्कै पनि जीवन धान्न अत्यधिक चिन्ताले व्याकुल हुने वा छिट्टै नाश भएर जाने यस रीतिरिवाजमा आरामपूर्वक जीवन बिताउने चाहना राख्ने समय होइन।—१ पत्रु. ५:७; १ यूह. २:१५-१७.
५ सांसारिक कामको मुख्य उद्देश्य भौतिक आवश्यकता पूरा गर्नु हो। तर हाम्रा आवश्यकताहरू कति छन्? प्रेरित पावले यस्तो लेखे: “खान र लाउन भएपछि हामी त्यसमा सन्तुष्ट हुनेछौं।” के हामी यो भन्दा बढ्ता प्राप्त गर्ने प्रयास गर्दैछौं? यदि यसो गरिरहेका छौं भने, हामी पनि पावलले लेखे जस्तै परिणाम भोग्न प्रयास गरिरहेका हुनेछौं: “धनी हुने इच्छा गर्ने चाहिं, सर्वनाश र विनाशमा डुबेका मानिसझैं परीक्षा र पासो, औ धेरै मूर्ख र हानिकारक अभिलाषाहरूमा फस्तछन्।” (१ तिमो. ६:८, ९; मत्ती ६:२४; लूका १४:३३) आवश्कता भन्दा बढी प्राप्त गर्ने चाहनाले हामीलाई बाधा दिइरहेको छ भनी हामी कसरी भन्न सक्छौं?
६ यदि सांसारिक कामले गर्दा हामीले क्षेत्र सेवामा थोरै मात्रामा भाग लिएका छौं वा सुसमाचारको खातिर गर्नुपर्ने त्यागहरूको आवश्यकतालाई बुझिरहेका छैनौं भने, हामीले आफ्ना प्राथमिकताहरूलाई काँटछाँट गर्नुपर्ने आवश्यकता हुन्छ। (हिब्रू १३:१५, १६) हाम्रो प्रचार कार्यको यस बाधालाई हटाउन सरल जीवनशैली निकै मदतकारी हुनेछ। हाम्रो समय र शक्ति प्रयोग गर्ने सन्दर्भमा राज्यले सधैं प्राथमिकता पाएको हुनुपर्छ।
७ व्यर्थ नजाने परिश्रम: पावलका शब्दहरूले हामीलाई ‘हाम्रो परिश्रम प्रभुमा व्यर्थ नजाने हुनाले सधैं प्रभुको काममा प्रशस्त हुँदै जान’ प्रोत्साहन दिन्छ। (१ कोरि. १५:५८) सबैभन्दा प्रमुख “प्रभुको काम” नै राज्य-प्रचार र चेला बनाउनु हो। (मत्ती २४:१४; २८:१९, २०) सेवकाईमा पूर्ण रूपले यथासक्दो भाग लिन हामीले हरेक हप्ता क्षेत्र सेवाको लागि समय छुट्याउनुपर्छ र त्यो समयलाई अन्य काममा नलगाउन प्रयत्न गर्नुपर्छ। (एफि. ५:१५-१७) त्यसपछि भने, न त सांसारिक काम न अन्य कुनै कुरा नै हाम्रो सेवकाईको बाधक बन्नेछ।
८ अरूलाई बाइबल सच्चाइ सुनाउन आफैलाई अर्पण गर्दा हामीले दिंदा प्राप्त हुने असीम आनन्द अनुभव गर्छौं। (प्रेरि. २०:३५) राज्य-प्रचार कार्यमा लाग्दा हाम्रो भविष्य सुनिश्चित हुनेछ, “तिमीहरूको काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ, . . . तिमीहरूले देखाएका छौ, सो बिर्सनालाई परमेश्वर अधर्मी हुनुहुन्न।”—हिब्रू ६:१०.