आफ्नो समर्पणअनुसार जीवन बिताउने
१ तपाईंले भर्खरै बप्तिस्मा लिनुभएको होस् वा दशकौंअघि, सम्भवतः तपाईंले आफ्नो जीवनको त्यस महत्त्वपूर्ण घडीलाई सम्झनुभएको होला। तर हाम्रो बप्तिस्माको अर्थ अन्त होइन बरु, आजीवन गर्ने समर्पित सेवाको सुरुवात हो। (१ यूह. २:१७) आफ्नो समर्पणअनुसार जीवन बिताउनुमा के-के समावेश छन्?
२ ख्रीष्टको उदाहरण पछ्याउनुहोस्: येशूले बप्तिस्मा लिनुभएपछि “राज्यको सुसमाचार” घोषणा गरेर आफ्नो “कार्य आरम्भ” गर्नुभयो। (लूका ३:२३; ४:४३ नयाँ संशोधित संस्करण) त्यस्तै गरी, बप्तिस्माद्वारा यहोवाप्रतिको आफ्नो समर्पणलाई प्रतीकात्मक रूप दिंदा हामी सुसमाचारको नियुक्त सेवक हुन्छौं। जीवनका भौतिक आवश्यकताहरू पूरा गर्न धेरै समय र प्रयास खर्च गर्नुपरे तापनि हाम्रो प्रमुख कार्य भनेको मसीही सेवकाई नै हो। (मत्ती ६:३३) परमेश्वरप्रति समर्पित व्यक्तिहरू धन वा प्रतिष्ठाको पछि लाग्नुको सट्टा प्रेरित पावलले जस्तै “सेवामा घमण्ड” गर्ने प्रयास गर्छन्। (रोमी ११:१३) के तपाईं यहोवाको सेवा गर्ने सुअवसरको कदर गर्दै यथासक्य गर्ने प्रयास गर्नुहुन्छ?
३ येशूले जस्तै हामीले पनि “शैतानको विरोध” गर्नैपर्छ। (याकू. ४:७) येशूको बप्तिस्मापछि शैतानले उहाँलाई प्रलोभनमा पार्न खोज्यो भने आज पनि त्यसले यहोवाका समर्पित सेवकहरूलाई आफ्नो तारो बनाउँछ। (लूका ४:१-१३) शैतानको संसारले घेरिएको कारण हामी आत्म-अनुशासित हुनुपर्छ र हाम्रो मन अनि हृदयलाई दूषित अनि भ्रष्ट पार्न सक्ने कुराहरूदेखि अलग रहनुपर्छ। (हितो. ४:२३; मत्ती ५:२९, ३०) मसीहीहरूलाई “प्रभुको टेबल र भूत-प्रेतहरूको टेबल दुवैबाट खानसक्तैनौ” भनी सल्लाह दिइएको छ। (१ कोरि. १०:२१) यसो गर्न हामी हानिकारक मनोरञ्जन, खराब संगत र इन्टरनेटका खतराहरूदेखि सावधान रहनुपर्छ। साथै, हामी धर्मत्यागी विषयवस्तुहरूबाट पनि टाढै रहनुपर्छ। यी तथा शैतानका अन्य चालहरूप्रति सचेत रह्यौं भने हामीले आफ्नो समर्पणअनुसार जीवन बिताउन मदत पाउनेछौं।
४ परमेश्वरको प्रबन्धको सदुपयोग गर्नुहोस्: हाम्रो समर्पणअनुसार जीवन बिताउन मदत गर्नको लागि यहोवाले आफ्नो वचन तथा मसीही मण्डलीमार्फत सहयोग गर्ने प्रबन्ध मिलाउनुभएको छ। बाइबल पढाइ र यहोवालाई प्रार्थना आफ्नो दैनिक दिनचर्याको भाग बनाउनुहोस्। (यहो. १:८; १ थिस्स. ५:१७) मण्डलीका सभाहरूमा रमाउनुहोस्। (भज. १२२:१) यहोवाको डर मान्ने र उहाँका आदेश पालन गर्नेहरूसँग संगत गर्नुहोस्।—भज. ११९:६३.
५ ईश्वरीय मदतद्वारा तपाईं यहोवाप्रतिको आफ्नो समर्पणअनुसार जीवन बिताउन सक्नुहुन्छ र सधैंभरि उहाँको सेवा गरेर आनन्दित हुन सक्नुहुनेछ।—भज. २२:२६, २७; फिलि. ४:१३.