तपाईं कुन कुरालाई प्राथमिकता दिनुहुन्छ?
१ धेरै धार्मिक संघ-संस्थाहरूले सांसारिक शिक्षा वा आवश्यक उपचारको लागि सुविधाहरू प्रबन्ध गर्ने जस्ता परोपकारी काममा जोड दिन्छन्। तथापि, यहोवाका साक्षीहरू “भलाइ गर्न र सहयोगी हुन” सजग रहन्छन् तर मानिसहरूलाई आध्यात्मिक तवरमा मदत दिने कुरालाई उनीहरू प्राथमिकता दिन्छन्।—हिब्रू १३:१६.
२ प्रथम शताब्दीको नमुना: आफ्नो पार्थिव सेवकाईको दौडान येशूले धेरै असल काम गर्नुभयो तर उहाँको प्रमुख कार्यचाहिं सत्यको गवाही दिनु थियो। (लूका ४:४३; यूह. १८:३७; प्रेरि. १०:३८) उहाँले आफ्ना अनुयायीहरूलाई ‘गएर सबै देशका जातिहरूलाई चेला बनाउने . . . तिनीहरूलाई सिकाउने’ आज्ञा दिनुभयो। (मत्ती २८:१९, २०) अनि उहाँलाई विश्वास गर्नेहरूले, उहाँले सुरु गर्नुभएको कामभन्दा पनि ठूला काम गर्नेछ भनी संकेत गर्नुभयो। (यूह. १४:१२) येशूले प्रचारकार्यलाई प्राथमिकता दिनुभयो किनभने यसैले मानिसहरूलाई उद्धारको मार्ग सिक्न मदत गर्छ।—यूह. १७:३.
३ प्रेरित पावलले प्रचारकार्यलाई, गर्न “करै लागेको” अर्थात् टार्न नमिल्ने काम ठाने। (१ कोरि. ९:१६, १७) तिनी आफ्नो सेवकाई पूरा गर्न आवश्यक जस्तोसुकै त्याग गर्न, परीक्षा सहन वा कठिनाइ भोग्न इच्छुक थिए। (प्रेरि. २०:२२-२४) प्रेरित पत्रुस तथा तिनका सँगीहरूले पनि यस्तै किसिमको मनोवृत्ति देखाए। झ्यालखानामा पर्दा र पिटाइ खाँदासमेत तिनीहरूले “येशूनै ख्रीष्ट हुन् भन्ने सुसमाचार सुनाउन बन्द गरेनन्।”—प्रेरि. ५:४०-४२.
४ हामी नि? के हामी राज्यको सुसमाचार घोषणा गर्ने र चेला बनाउने कामलाई प्राथमिकता दिन्छौं? “गोठालो नभएका भेडाहरू जस्तै हैरान भई तितर-बितर भएका[हरूप्रति]” के हामी येशूले जस्तै साँचो चासो देखाउँछौं? (मत्ती ९:३६) वर्तमान विश्वघटना र बाइबल भविष्यवाणीले यस दुष्ट रीतिरिवाजको समय अब धेरै बाँकी छैन भन्ने कुरा स्पष्टसित देखाउँछ! प्रचारकार्यको महत्त्वलाई स्पष्टसित बुझेको खण्डमा त्यसले हामीलाई जोसिलो भई प्रचार गरिरहन उत्प्रेरित गर्नेछ।
५ आफ्नो परिस्थिति केलाउनुहोस्: व्यक्तिगत परिस्थिति परिवर्तन भइरहने भएकोले प्रचारकार्यमा अझ बढी भाग लिन काँटछाँट गर्न सक्छौं कि भनेर समय समयमा विचार-विमर्श गर्नु राम्रो कुरा हो। सन् १९५०, ६० र ७० दशकको दौडान नियमित अग्रगामी गरेकी एउटी बहिनीले आफ्नो स्वास्थ्यस्थिति बिग्रेको कारण यस कार्यलाई निरन्तरता दिन सकिनन्। तथापि, समय बित्दै जाँदा तिनको स्वास्थ्यमा सुधार आयो। हालै तिनले आफ्नो परिस्थिति पुनः केलाएर हेरिन् र फेरि अग्रगामी गर्न सक्ने रहेछु भन्ने निष्कर्षमा पुगिन्। नब्बे वर्षको उमेरमा अग्रगामी सेवा स्कूलमा उपस्थित हुन पाउँदा तिनी औधी खुसी भइन्! तपाईं नि? के तपाईंले अवकास पाउनै लाग्नुभएको वा पढाइ सिध्याउनै लाग्नुभएको छ? परिवर्तित अवस्थामा कतै तपाईं पनि अग्रगामी गर्न सक्नुहुन्छ कि?
६ मार्थालाई “सेवामा ज्यादै व्यस्त” भएकी देख्नुभएपछि येशूले तिनलाई धेरै कुराको विषयमा चिन्ता नगरेको खण्डमा तिनले प्रचुर आशिष् पाउनेछिन् भनेर दयालुपूर्वक सम्झाउनुभयो। (लूका १०:४०-४२) के तपाईं आफ्नो जीवन शैली सरल बनाउन सक्नुहुन्छ? के पति पत्नी दुवैले जागिर खानु साँच्चै आवश्यक छ? छाँटकाँट गरिएको खण्डमा, के एक जनाको आयले मात्र परिवार चलाउन सकिन्छ कि? सेवकाईमा धेरैभन्दा धेरै भाग लिनको निम्ति छाँटकाँट गरेर धेरैले आध्यात्मिक तवरमा लाभ उठाएका छन्।
७ येशू तथा प्रेरितहरूले बसालेका नमुनालाई हामी सबैले पछ्याउन सकौं! राज्यको सुसमाचार प्रचार गर्ने महत्त्वपूर्ण कार्यमा पूरापूर भाग लिन हामीले गर्ने निष्कपट प्रयासमा यहोवाले आशिष् दिनुहुनेछ भनेर हामी ढुक्क हुन सक्छौं।—लूका ९:५७-६२.