यहोवाको भलाइ अनुकरण गर्नुहोस्
१ सूर्यास्तको मनोरम दृश्य वा स्वादिष्ट भोजनबाट आनन्द उठाइसकेपछि के हामी सबै प्रकारका भलाइको स्रोत, यहोवालाई धन्यवाद दिन उत्प्रेरित हुँदैनौं र? उहाँको भलाइले हामीलाई उहाँको अनुकरण गर्न उत्प्रेरित गर्छ। (भज. ११९:६६, ६८; एफि. ५:१) हामी कसरी भलाइको गुण प्रकट गर्न सक्छौं?
२ विश्वासमा नभएकाहरूतर्फ: हामीले यहोवाको भलाइ अनुकरण गर्न सक्ने एउटा तरिका, हाम्रो भन्दा बेग्लै विश्वास भएका व्यक्तिहरूतर्फ निष्कपट चासो देखाएर हो। (गला. ६:१०) व्यावहारिक ढंगमा भलाइ देखाउँदा, त्यसले यहोवाका साक्षीहरू तथा हामीले सुनाउने सन्देशप्रति उनीहरूको दृष्टिकोणमा सकारात्मक असर पार्न सक्छ।
३ उदाहरणका लागि, स्थानीय अस्पतालको बहिरंग विभागमा पर्खिरहेको बेला एक जना जवान अग्रगामी भाइ अरू बिरामीहरूभन्दा सिकिस्त देखिने एउटी वृद्ध महिलाको नजिकै बसे। डाक्टरलाई भेट्ने आफ्नो पालो आउँदा तिनले आफ्नो सट्टा ती महिलालाई मौका दिए। पछि भाइले ती महिलालाई फेरि भेटे तर यस पटक भने बजारमा र त्यस भाइलाई भेट्न पाएकोमा ती महिला औधी खुसी थिइन्। पहिला-पहिला तिनले सुसमाचारमा कुनै चासो नदेखाएको भए तापनि यहोवाका साक्षीहरूले साँच्चै आफ्ना छिमेकीहरूलाई प्रेम गर्दा रहेछन् भन्ने कुरा अब भने थाह भएको तिनले बताइन्। तिनीसित नियमित बाइबल अध्ययन सुरु गरियो।
४ हाम्रा भाइहरूतर्फ: सँगी विश्वासीहरूलाई मदत गर्न अग्रसर हुँदा पनि हामी यहोवाको भलाइ अनुकरण गर्छौं। विपत्तिको समयमा हाम्रा भाइहरूलाई सहायता गर्नेहरूमा हामी अग्रपंक्तिमा आउँछौं। सभाहरू जान यातायातको आवश्यकता पर्नेहरूलाई सहयोग गर्दा, अशक्तहरूलाई भेट्न जाँदा र मण्डलीमा राम्रोसित चिनापर्ची नभएका व्यक्तिहरूप्रति ठूलो मनका हुँदा पनि हामी यस्तै मनोभाव देखाउँछौं।—२ कोरि. ६:११-१३; हिब्रू १३:१६.
५ यहोवाले भलाइ देखाउनुहुने अर्को तरिका, उहाँ “क्षमा गर्न [तयार]” हुनुभएर हो। (भज. ८६:५) उहाँको अनुकरण गर्ने सन्दर्भमा, अरूलाई क्षमा दिएर हामी भलाइप्रतिको आफ्नो प्रेम प्रदर्शन गर्न सक्छौं। (एफि. ४:३२) यसले सँगी विश्वासीहरूसितको हाम्रो सरसंगतिलाई ‘असल र मनोहर’ बनाउन मदत गर्छ।—भज. १३३:१-३.
६ यहोवाको प्रशस्त भलाइले हामीलाई उहाँप्रतिको प्रशंसाले गद्गद र हर्षविभोर हुन लगाओस्। अनि यसले हामीलाई आफ्नो सबै चालमा उहाँको भलाइको अनुकरण गर्ने प्रयत्न गर्न उत्प्रेरित गर्न सकोस्।—भज. १४५:७; यर्मि. ३१:१२.