साँचो मसीही एकता—कसरी?
१ कुन कुराले २३४ मुलुकमा छरिएर रहेका ६० लाखभन्दा बढी मानिसहरू र लगभग ३८० वटा विभिन्न भाषा बोल्ने समूहहरूलाई एकतामा बाँध्न सक्ला? यहोवा परमेश्वरको उपासनाले मात्र। (मीका २:१२; ४:१-३) आज साँचो मसीही एकता साँच्चै वास्तविकता भएको छ भनेर यहोवाका साक्षीहरूले आफ्नो व्यक्तिगत अनुभवबाट थाह पाएका छन्। हाम्रो “एकै गोठाला” अन्तर्गत “एकै बगाल[को]” हैसियतमा हामी यस संसारको विभाजक आत्माको प्रतिरोध गर्न कटिबद्ध छौं।—यूह. १०:१६; एफि. २:२.
२ सबै बौद्धिक सृष्टि साँचो उपासनामा एकताबद्ध होस् भन्ने परमेश्वरको अचूक उद्देश्य छ। (प्रका. ५:१३) यसको महत्त्वलाई बुझेको कारण, येशूले आफ्ना अनुयायीहरूको एकताको लागि निष्कपट प्रार्थना गर्नुभयो। (यूह. १७:२०, २१) मसीही मण्डलीको एकतामा हामी प्रत्येकले कसरी योगदान पुऱ्याउन सक्छौं?
३ कसरी एकता प्राप्त हुन्छ: परमेश्वरको वचन र आत्माविना मसीही एकता प्राप्त गर्न असम्भव हुनेछ। बाइबलमा पढेको कुरा लागू गर्दा हाम्रो जीवनमा परमेश्वरको आत्मा कुनै रोकटोकविना परिचालन हुन्छ। यसले हामीलाई “आत्माको एकता राख्नालाई शान्तिको बन्धनमा परिश्रम” गर्न सक्षम बनाउँछ। (एफि. ४:३) यसले हामीलाई प्रेममा एउटाले अर्कोलाई सहन उत्प्रेरित गर्छ। (कल. ३:१३, १४; १ पत्रु. ४:८) के तपाईं हरेक दिन परमेश्वरको वचनमा मनन गरेर एकता बढाउनुहुन्छ?
४ प्रचार गर्ने र चेला बनाउने हाम्रो कामले पनि हामीलाई एकतामा बाँध्छ। “सुसमाचारको विश्वासको निम्ति एउटै मनको भई” मसीही सेवकाईमा अरूसित सँगै काम गर्दा हामी “सत्यको सहकर्मी” हुन्छौं। (फिलि. १:२७; ३ यूह. ८) हामीले यसो गर्दा मण्डलीलाई एकतामा बाँध्ने प्रेमको बन्धन बलियो हुन्छ। हालै सँगै काम नगरेका कसैलाई यस हप्ताको क्षेत्र सेवकाईमा आफूसँगै काम गर्न निम्त्याउनुभए कसो होला?
५ आज पृथ्वीमा भएको एउटै मात्र साँचो अन्तरराष्ट्रिय भ्रातृत्वको भाग हुन पाउनु ठूलो आशिष्को कुरा हो! (१ पत्रु. ५:९) हालै, “परमेश्वरलाई महिमा दिनुहोस्” विषयक अन्तरराष्ट्रिय अधिवेशनहरूमा हजारौंले यो विश्वव्यापी एकता प्रत्यक्षतः अनुभव गरे। हामी प्रत्येकले हरेक दिन परमेश्वरको वचन पढेर, प्रेममा मतभिन्नताहरू सुल्झाएर अनि “एकै मनका भएर” सुसमाचार प्रचार गरेर यस अमूल्य एकतामा योगदान पुऱ्याउन सकौं।—रोमी १५:६.