ईश्वरीय बुद्धिको सर्वश्रेष्ठ महत्त्व
१ कतिपय मानिसहरूको सोचाइ कस्तो छ भने, मानिसजातिले आज सामना गरिरहेका विद्यमान् समस्याहरू कम गर्न मदत दिनेतर्फ यहोवाका साक्षीहरूले प्रत्यक्ष रूपमा आफ्नो प्रयास केन्द्रित गर्नुपर्छ। यस्ता मानिसहरूले हाम्रो बाइबल शैक्षिककार्यको सर्वश्रेष्ठ महत्त्वलाई बुझ्न सकेका छैनन्। यो त प्रेरित पावलले लेखेझैं हो: “क्रूसको [शासनाको खम्बा, NW] कुरा नष्ट हुनेहरूका निम्ति मूर्खता हो, तर हामी उद्धार पाउनेहरूका निम्ति ता परमेश्वरको शक्ति हो।” (१ कोरि. १:१८) साँच्चै भन्ने हो भने, आज यस पृथ्वीमा भइरहेको मसीही सेवकाई सबैभन्दा महत्त्वपूर्ण कार्य हो भन्ने कुरा हामीलाई थाह छ।
२ अहिल्यै उत्तम जीवन: मानिसजातिका समस्याहरू समाधान गर्ने मानव प्रयासहरूले सीमित सफलता मात्र हासिल गरेका छन्। नियम कानुनले अपराधको जगजगीलाई रोक्न सकेको छैन। शान्तिसन्धि तथा शान्तिसेनाहरूले युद्धलाई अन्त गर्न सकेका छैनन्। सामाजिक कार्यक्रमहरू गरिबी उन्मूलन गर्न असफल भएका छन्। (भज. १४६:३, ४; यर्मि. ८:९) त्यसको ठीक विपरीत, राज्यसन्देशले परमेश्वरलाई स्वीकार्य नयाँ व्यक्तित्व धारण गर्न मदत गरेर लाखौंको जीवन परिवर्तन गरेको छ। (रोमी १२:२; कल. ३:९, १०) यसो गरेर उनीहरूले अहिल्यै पनि सुध्रिएको जीवनस्तरको आनन्द उठाइरहेका छन्।—१ तिमो. ४:८.
३ उज्ज्वल भविष्य: जीवनका वर्तमान समस्याहरूको सफलतासाथ सामना गर्न मदत गर्नुको अलावा, ईश्वरीय बुद्धिले हामीलाई भविष्यको लागि प्रभावकारी ढङ्गमा योजना बनाउन पनि मदत गर्छ। (भज. ११९:१०५) यसले हामीलाई वर्तमान रीतिरिवाज सुधार्ने व्यर्थको प्रयास गर्नदेखि जोगाउँछ। (उप. १:१५; रोमी ८:२०) केवल भ्रमले भरिएका लक्ष्यहरूको पछि लागेर आफ्नो जीवनलाई खेर नफालेकोमा हामी कत्ति कृतज्ञ छौं! बरु, हामी धार्मिकताले बास गर्ने “नयाँ स्वर्ग र नयाँ पृथ्वी[बारे]” यहोवाले गर्नुभएको पक्का प्रतिज्ञामा आफ्नो प्रयास केन्द्रित गर्छौं। यहोवाको न्यायको दिन आउँदा, ईश्वरीय बुद्धिमा भर पर्नेहरूले सही छनौट गरेका थिए भन्ने कुरा अचूक ढङ्गमा प्रस्ट हुनेछ।—२ पत्रु. ३:१०-१३; भज. ३७:३४.
४ “यस संसारको ज्ञान[मा]” चुर्लुम्मै डुबेकाहरूलाई ईश्वरीय बुद्धि अव्यावहारिक लाग्न सक्छ तर हामीले पछ्याउनुपर्ने एक मात्र व्यावहारिक मार्ग यही नै हो। (१ कोरि. १:२१; २:६-८) तसर्थ, हामी “सर्वज्ञानी” परमेश्वरबाट आउने सन्देश सारा पृथ्वीभरि घोषणा गरिरहन्छौं।—रोमी १६:२७.