प्रचारकार्यले हामीलाई धीरजी हुन मदत गर्छ
१ परमेश्वरको वचनले हामीलाई “हाम्रा सामनेमा राखिदिएको दौड धीरजसँग” दौडने सल्लाह दिन्छ। (हिब्रू १२:१) सफलतासाथ दौड पूरा गर्न एक जना धावकलाई धीरजको खाँचो परेजस्तै अनन्त जीवनको पुरस्कार पाउन हामीलाई पनि धीरज चाहिन्छ। (हिब्रू १०:३६) मसीही सेवकाईले कसरी हामीलाई अन्तसम्मै विश्वासीपूर्वक स्थिर रहन मदत गर्न सक्छ?—मत्ती २४:१३.
२ आध्यात्मिक तवरमा सुदृढ: धार्मिक नयाँ संसारबारे बाइबलको सानदार प्रतिज्ञा घोषणा गर्दा हामी आफ्नो आशालाई उज्ज्वल राखिराख्न सक्छौं। (१ थिस्स. ५:८) क्षेत्र सेवकाईमा नियमित रूपमा भाग लिंदा हामी आफूले बाइबलबाट सिकेको सत्य कुरा घोषणा गर्ने मौका पाउँछौं। हामीसित आफ्नो विश्वासको पक्षमा बोल्ने मौका छ, जसले हामीलाई आध्यात्मिक तवरमा सुदृढ पार्न मदत गर्छ।
३ अरूलाई प्रभावकारीसाथ सिकाउन, पहिला हामी आफैले बाइबल सत्य छर्लङ्गसित बुझेको हुनै पर्छ। कुनै पनि विषयवस्तुलाई लिएर हामीले अनुसन्धान र मनन गर्नुपर्छ। जति लगनशील प्रयास गर्छौं उति नै हाम्रो ज्ञानको भण्डार बढ्छ, हाम्रो विश्वास दरिलो हुन्छ र आध्यात्मिक तवरमा स्फूर्ति प्राप्त हुन्छ। (हितो. २:३-५) यस प्रकार, अरूलाई मदत गर्ने कोसिस गर्दा हामीले आफैलाई बलियो बनाइरहेका हुन्छौं।—१ तिमो. ४:१५, १६.
४ सेवकाईमा जोसिलो भई भाग लिनु “परमेश्वरको सारा हात-हतियार[को]” एउटा अभिन्न भाग हो र दियाबल तथा त्यसका प्रेतहरू विरुद्ध दृढ भई खडा हुन सक्नको लागि हामीलाई यसको आवश्यकता छ। (एफि. ६:१०-१३, १५) पवित्र सेवामा व्यस्त रहँदा त्यसले हामीलाई उत्थानदायी कुरामा ध्यान केन्द्रित गर्न र शैतानको संसारद्वारा भ्रष्ट हुनदेखि जोगिन मदत गर्छ। (कल. ३:२) अरूलाई यहोवाका तौरतरिकाहरू सिकाउँदा, स्वयम् हामीले पवित्र चालचलन कायम राख्नुपर्ने आवश्यकता स्मरण भइरहन्छ।—१ पत्रु. २:१२.
५ परमेश्वरद्वारा बलियो पारिएका: अन्तमा, प्रचारकार्यमा भाग लिंदा हामी यहोवामाथि भर पर्न सिक्छौं। (२ कोरि. ४:१, ७, NW) यो साँच्चै एउटा आशिष्को कुरा हो! यस किसिमको भरोसा विकास गर्दा हामी आफ्नो सेवकाई पूरा गर्न मात्र होइन तर जीवनमा आइपर्न सक्ने जस्तोसुकै परिस्थितिको पनि डटेर सामना गर्न सुसज्जित हुन्छौं। (फिलि. ४:११-१३) साँच्चै, यहोवामाथि पूर्णतया भर पर्न सिक्नु धीरज धारण गर्ने कुञ्जी हो। (भज. ५५:२२) थुप्रै तरिकामा प्रचारकार्यले हामीलाई धीरजी हुन मदत गर्छ।