तर्क गर्ने कला तिखार्नुहोस्
१. हामी कुन बाइबल विवरण केलाउनेछौं अनि किन?
१ प्रेरित पावलले एन्टिओकको सभाघरमा गरेको कुराकानी तर्क गर्ने कलाको एउटा बेजोड नमुना हो जुन प्रेरित १३:१६-४१ मा लिपिबद्ध छ। पावलले आफ्ना श्रोताहरूको पृष्ठभूमि र सोचाइ बुझेर सुसमाचारलाई त्यसैअनुसार ढाले। हामी पनि सेवकाईमा त्यसै गर्न सक्छौं। तर कसरी? आउनुहोस्, यी विवरण केलाऔं।
२. पावलले कुराकानी सुरु गरेको तरिकाबाट हामी के सिक्छौं?
२ दुवैको लागि स्वीकार्य पक्ष खोज्नुहोस्: पावलको मुख्य सन्देश यहोवाको उद्देश्य पूरा गर्ने प्रमुख व्यक्ति नै येशू हुनुहुन्छ भन्ने थियो। तर सुरुमै उनले यो कुरा गरेनन्। बरु, यहूदीहरूलाई राम्ररी थाह भएको उनीहरूकै इतिहासबाट उनले कुरा सुरु गरे। (प्रेरि. १३:१६-२२) पावलले जस्तै दुवैलाई स्वीकार्य पक्षहरू खोज्यौं भने हामी पनि श्रोताहरूको हृदय छुन सक्छौं। हो, हामीले कौशलतासाथ प्रश्नहरू चलाएर तिनीहरूको मन भित्रको कुरा निकाल्न सक्नुपर्छ। तिनीहरूको लागि कुन कुराले महत्त्व राख्छ, थाह पाउन ध्यान दिएर तिनीहरूको कुरा सुन्नुपर्छ।
३. येशू नै प्रतिज्ञाकृत मसीह हुनुहुन्छ भनेर स्वीकार्न पावलका श्रोताहरूलाई किन गाह्रो भयो?
३ यहूदी इतिहासबारे कुरा गर्दा, परमेश्वरले दाऊदको वंशबाट एक जना मुक्तिदाता पठाउनेछु भनी गर्नुभएको प्रतिज्ञा उनले बताए। तर अधिकांश यहूदीहरू एउटा यस्तो व्यक्तिको पर्खाइमा थिए, जसले तिनीहरूलाई रोमीहरूको थिचोमिचोबाट मुक्त गर्ने थिए। अनि यहूदी राष्ट्रलाई समुन्नत र शक्तिशाली बनाउने थिए। तर येशूलाई त यहूदी धार्मिक नेताहरूले नै तिरस्कार गरेका थिए। रोमी अधिकारीहरूको हातमा सुम्पेर मारेका थिए। यो कुरा सारा यहूदीहरूलाई राम्ररी थाह थियो। त्यसोभए यिनै व्यक्ति प्रतिज्ञाकृत मसीह हुनुहुन्छ भनेर पावलले कसरी तिनीहरूलाई विश्वस्त गराए?
४. आफ्ना यहूदी श्रोताहरूसित पावलले कसरी कुशलतासाथ तर्क गरे?
४ परिस्थितिअनुसार प्रस्तुति ढाल्नुहोस्: श्रोताहरूको सोचाइलाई राम्ररी बुझेकाले तिनीहरूले स्वीकारेका बुँदाहरूसित सम्बन्धित शास्त्रपदहरू चलाएर पावलले तर्क गरे। येशू दाऊदको वंशबाट आउनुभएको कुरा उनले बताए। अनि बप्तिस्मा दिने यूहन्नालाई अधिकांशले अगमवक्ता भनी स्वीकार्थे। तिनै यूहन्नाले पनि येशूलाई स्वीकारेको कुरा उल्लेख गरे। (प्रेरि. १३:२३-२५) येशूलाई तिरस्कार गरेर अनि मारेर वास्तवमा धार्मिक नेताहरूले “अगमवक्ताका वचन पूरा गरे” भनेर उनले बताए। (प्रेरि. १३:२६-२८) येशू बिउँतनु भएको आफ्नै आँखाले देख्नेहरूबारे पनि उनले बताए। येशूको पुनरुत्थान भएर पूरा भएको केही शास्त्रपदहरूमा पनि ध्यान खिचे र यी शास्त्रपदहरू यहूदी श्रोताहरूलाई राम्ररी थाह थियो।—प्रेरि. १३:२९-३७.
५. (क) ग्रीक श्रोताहरूसित कुरा गर्दा पावलले कसरी आफ्नो प्रस्तुति ढाले? (ख) स्थानीय इलाकामा साक्षी दिंदा हामी कसरी पावलको सिको गर्न सक्छौं?
५ अर्कोतिर, अरैयापागसका ग्रीक श्रोताहरूसित कुरा गर्दा पावलले अर्कै तरिका अपनाए। (प्रेरि. १७:२२-३१) दुवै पटक उनले एउटै मूल सन्देश दुई भिन्न तरिकामा प्रस्तुत गरे तर दुवै पटक उनको प्रयास खेर गएन। (प्रेरि. १३:४२, ४३; १७:३४) दुवैको लागि स्वीकार्य पक्षहरू खोजेर, श्रोताहरूको पृष्ठभूमि र सोचाइ बुझेर अनि त्यसैअनुसार प्रस्तुति ढालेर आज हामी पनि सेवकाईमा अझ प्रभावकारी हुन सक्छौं।