नम्रहरूलाई परमेश्वरको मार्गमा हिंड्न प्रशिक्षण दिनुहोस्
१. चेला बनाउनुमा के समावेश छ?
१ ख्रीष्टको प्रथम शताब्दीका चेलाहरू एउटा खास “मार्गमा” हिंड्नेहरू भनेर चिनिन्थे। (प्रेरि. ९:२) तसर्थ, साँचो मसीहीधर्म अँगाल्नुमा सारा जीवन नै मुछिएको हुन्छ। (हितो. ३:५, ६) त्यसैले बाइबल अध्ययन गराउँदा बाइबलको सही ज्ञान दिएर मात्र पुग्दैन। बाइबल विद्यार्थीलाई यहोवाको मार्गमा हिंड्न प्रशिक्षण पनि दिनै पर्छ।—भज. २५:८, ९.
२. बाइबल विद्यार्थीलाई परमेश्वरको इच्छा अनुरूप गर्न कुन कुराले उत्प्रेरित गर्छ?
२ यहोवा र येशूप्रति प्रेम: आफ्नो सोचाइ, दृष्टिकोण, बोली र आचरण परमेश्वरको इच्छा अनुरूप ढाल्नु असिद्ध मानिसलाई सजिलो त हुँदैन। (रोमी ७:२१-२३; एफि. ४:२२-२४) तथापि, परमेश्वर र उहाँको पुत्रप्रतिको प्रेमले गर्दा गाह्रै भए पनि नम्र व्यक्तिहरू यस्ता सुधार गर्न उत्प्रेरित हुन्छन्। (यूह. १४:१५; १ यूह. ५:३) यहोवा र येशूप्रति प्रेम खेती गर्न बाइबल विद्यार्थीलाई कसरी मदत दिन सक्छौं?
३. बाइबल विद्यार्थीलाई यहोवा र येशूप्रति प्रेम जगाउन कसरी मदत दिन सक्छौं?
३ परमेश्वरको व्यक्तित्व कस्तो छ, विद्यार्थीलाई बुझाउनुहोस्। एक भाइले भने: “अपरिचित मानिसलाई प्रेम गर्न सकिंदैन। त्यसकारण, सुरुमै म विद्यार्थीहरूलाई बाइबलबाट परमेश्वरको नाउँ देखाउँछु। त्यसपछि मौका पाउनेबित्तिकै यहोवाका गुनहरूमाथि प्रकाश पार्छु।” परमेश्वरलाई राम्ररी चिन्न मदत गर्ने एउटा उत्तम तरिका येशूको उदाहरण बताउनु हो। (यूह. १:१४; १४:९) त्यसबाहेक, परमेश्वर र उहाँको पुत्रका अद्भुत गुणहरूमाथि मनन गर्न विद्यार्थीलाई बाइबलले सिकाउँछ किताबको हरेक अध्यायको अन्तको पुनरावृत्ति पेटी चलाएर मदत दिन सकिन्छ।
४. (क) प्रचार गर्नु किन थुप्रै विद्यार्थीलाई गाह्रो लाग्छ? (ख) आफ्ना विद्यार्थीले मसीही सेवकाईमा भाग लिन थाल्दा कसरी तिनीहरूलाई मदत दिन सक्छौं?
४ उदाहरण बसालेर सिकाउनुहोस्: हामी सिकाउने मात्र होइन तर डोऱ्याउने पनि गर्छौं। त्यसैले परमेश्वरको मार्गमा हिंड्नुको अर्थ के हो, कामैले देखाऔं। (१ कोरि. ११:१) जस्तै, आफ्नो विश्वासबारे चिन्दै नचिनेका व्यक्तिहरूसित कुरा गर्न धेरैजसो बाइबल विद्यार्थीलाई गाह्रो लाग्न सक्छ। तसर्थ, प्रचार गर्ने र चेला बनाउने काममा आवश्यक प्रेम, विश्वास र साहस तिनीहरूमा जगाउन हामीलाई धीरज र सीप चाहिन्छ। (२ कोरि. ४:१३; १ थिस्स. २:२) हामी विद्यार्थीलाई प्रशिक्षण दिन चाहन्छौं। त्यसैले विद्यार्थीले मसीही सेवकाईमा भाग लिन थाल्दा सँगै लगेर मदत दिन उत्प्रेरित हुन्छौं।
५. असल उदाहरणले परमेश्वरको स्तरअनुसार जीवन बिताउनुको अर्थ विद्यार्थीलाई बुझाउन कसरी मदत गर्छ?
५ तपाईंको उदाहरण हेरेर विद्यार्थीले मसीही जीवनका अन्य महत्त्वपूर्ण पक्षहरूमा पनि प्रशिक्षण पाउन सक्छन्। जस्तै, बिरामी हेर्न जानुहुँदा वा सभाहरूमा अरूलाई न्यानो स्वागत गर्नुहुँदा प्रेम व्यवहारमा उतारिएको विद्यार्थीले देख्नेछ। (यूह. १५:१२) त्यस्तै, राज्यभवनको सफाइ गर्नुहुँदा वा अरूलाई केही सहयोग गर्नुहुँदा, सेवा कसरी गर्नुपर्छ भनेर विद्यार्थीहरूले सिकिरहेका हुन्छन्। (यूह. १३:१२-१५) सरल जीवन बिताउनुहुँदा ‘पहिले राज्यको खोजी गर्नु’ भनेको के हो, तिनीहरूले राम्ररी बुझ्छन्।—मत्ती ६:३३.
६. यहोवाको सेवा गर्न नम्रहरूलाई मदत गर्दा परिणाम कस्तो हुन्छ?
६ परमेश्वरको वचन अरूलाई सिकाउन र चेला बनाउन अथक प्रयास त चाहिन्छ। तर नम्रहरू “सत्यमा चलेका” हेर्न पाउँदा असीम आनन्द पनि पाइन्छ।—३ यूह. ४.