बाइबल विद्यार्थीका चिनजानहरूलाई भेट्ने गर्नुहुन्छ?
अहिले तपाईंले कसैलाई बाइबल अध्ययन गराइरहनुभएको छ भने बाइबल विद्यार्थीका साथी, आफन्त वा चिनजानहरू पनि कतै बाइबलका कुरा बुझ्न चाहन्छन् कि, विद्यार्थीलाई सोधे कसो होला? सायद विद्यार्थीले थुप्रैको नाउँ लिन सक्छन्। ती व्यक्तिहरूलाई भेट्न जाँदा तपाईंको बाइबल विद्यार्थीलाई कुनै आपत्ति छैन भने फलानाको तर्फबाट आएको भनेर तिनको नाउँ लिन सक्नुहुन्छ। तर यसो गर्नअघि विद्यार्थीसित अनुमति लिनुहोस्। तिनीहरूलाई यसो भन्न सक्नुहुन्छ, “[विद्यार्थीको नाउँ] . . .-ले बाइबल अध्ययन गरिरहनुभएको छ र तपाईंले पनि बाइबलका कुराहरू बुझ्न चाहनुहुन्छ जस्तो उहाँलाई लागेको रहेछ।” त्यसपछि, अध्ययन कसरी गरिन्छ भनेर बाइबलले सिकाउँछ किताबबाट छोटोमा देखाउनुहोस्।
यदि तपाईंका विद्यार्थीले राम्रो उन्नति गरिरहेका छन् भने चाहिं उनका चासो देखाउने खालका साथी र परिवारका सदस्यहरूलाई बाइबल अध्ययनबारे उनैलाई बताउन लगाउनुहोस्। उनले तिनीहरूलाई आफ्नो अध्ययनमा बस्न अनुरोध पनि गर्न सक्छन्। त्यसो गर्न विद्यार्थीलाई असुविधा पर्छ भने उनले तपाईंलाई तिनीहरूसित भेट गराइदिन सक्छन्। यसरी भेट्दा बाइबल अध्ययन कसरी गरिन्छ भनेर तिनीहरूलाई देखाउन सक्नुहुन्छ। यसो गर्दा, विद्यार्थीले आफूले सिकेको ज्ञान अरूसित बाँड्न सिकिरहेका हुन्छन्।
तपाईंले नियमित पुनःभेट गरिरहनुभएका कतिपय व्यक्तिहरूसित बाइबल अध्ययन त सुरु भइसकेको छैन होला। तैपनि, तिनीहरूले आफ्ना चिनजानहरूलाई तपाईंसित भेट गराइदिन पनि सक्छन्। तिनीहरूलाई बाइबलले सिकाउँछ किताब दिनुहुँदा यसो भन्न सक्नुहुन्छ, “यो किताब पढ्न रुचाउने अरू पनि कोही छन् कि?”
अहिले बियाँलो गर्ने समय होइन। अविलम्बी हुने समय हो। तसर्थ, मानिसहरूलाई सुसमाचार सुनाउन र स्वीकार गर्न मदत दिन हर प्रयास गर्न चाहन्छौं। के तपाईं बाइबल विद्यार्थीका चिनजानहरूलाई भेट्ने गर्नुहुन्छ?