अरूलाई परमेश्वरको मित्र हुन मदत दिनुहोस्
१ आज सारा राष्ट्रका मानिसहरूलाई यहोवाका तौरतरिकाहरू सिकाइँदैछ। (यशै. २:२, ३) तर ती मानिसहरूले ‘धीरजसित फल फलाउन’ यहोवालाई प्रेम गर्नै पर्छ। (लूका ८:१५; मर्कू. १२:३०) उहाँलाई प्रेम नगरी तिनीहरूले हानिकारक प्रभावहरूलाई रोक्ने शक्ति र जे सही छ त्यही गर्ने साहस पाउनेछैन। यहोवासित राम्रो सम्बन्ध विकास गर्न मदत दिने एउटा तरिका उहाँका गुणहरूप्रति तिनीहरूको मनमा प्रेम जगाइदिनु हो। तिनीहरूलाई यहोवाको नजिक आओ (ड्र क्लोज टु जेहोभा) किताबमा पाइने जानकारी राम्ररी विचार गर्न प्रोत्साहित गर्नुहोस्।
२ उदाहरण बसाल्नुहोस्: तपाईंका कार्यहरूले बाइबल विद्यार्थीहरूको हृदयमा गहिरो प्रभाव पार्न सक्छ। तपाईंले यहोवासितको आफ्नो सम्बन्धलाई मूल्यवान् ठान्नुहुन्छ र त्यसले तपाईंको जीवनमा कसरी प्रभाव पारेको छ भनेर जब तिनीहरूले देख्छन् तब तिनीहरू पनि यहोवासित त्यस्तै सम्बन्ध गाँस्न उत्प्रेरित हुन सक्छन्। (लूका ६:४०) वास्तवमा, हाम्रो कुराले भन्दा कामले अरूमा बढी प्रभाव पार्छ।
३ आमाबाबुले छोराछोरीको मनमा यहोवाप्रति प्रेम जगाइदिने मुख्य तरिका उदाहरण बसालेर हो। (व्यव. ६:४-९) छोराछोरीलाई सच्चाइमा हुर्काउन चाहने एक दम्पतीले यस सन्दर्भमा सफल भएका अरू आमाबाबुहरूसित सल्लाह मागे। सल्लाह माग्ने पतिले भने: “सबैको एउटै राय थियो, आमाबाबुले नै उदाहरण बसाल्नुपर्छ।” त्यसैले, आफ्नो सम्पूर्ण जीवनलाई नै ज्वलन्त उदाहरण बनाएर आमाबाबुले छोराछोरीलाई ‘यहोवाको मित्र’ हुनुको अर्थ सिकाउन सक्छन्।—याकू. २:२३.
४ हार्दिक प्रार्थना: हृदयदेखि नै प्रार्थना गर्न सिकाएर पनि तपाईं अरूलाई यहोवासित मित्रता गाँस्न मदत दिन सक्नुहुन्छ। येशूको नमुना प्रार्थनालगायत बाइबलमा भएका अन्य हार्दिक प्रार्थनाहरू तिनीहरूलाई देखाउन सक्नुहुन्छ। (मत्ती ६:९, १०) छोराछोरी र बाइबल विद्यार्थीहरूलाई तपाईं आफैले प्रार्थना गरेर प्रार्थना गर्ने तरिका सिकाउन सक्नुहुन्छ। प्रार्थनामा तपाईंका हार्दिक अभिव्यक्तिहरू सुनेर तिनीहरूले यहोवाप्रति तपाईंको भावना कस्तो छ, सो बुझ्छन्। परीक्षाको सामना गर्नुपर्दा तिनीहरूलाई ‘प्रार्थनामा अटूटसँग लागिरहन’ प्रोत्साहन दिनुहोस्। (रोमी १२:१२) आवश्यकता परेको बेला यहोवाबाट मदत पाएको महसुस हुँदा तिनीहरूले उहाँलाई साँचो मित्र ठानेर भरोसा र प्रेम गर्न थाल्नेछन्।—भज. ३४:८; फिलि. ४:६, ७.