इच्छुक मनोभावले आशिष् ल्याउँछ
१. दाऊद र नहेम्याहले कसरी इच्छुक मनोभाव देखाए?
१ गोल्यतले इस्राएली फौजको खिल्ली उडाउँदा कमसेकम एक जना सिपाही हिम्मत गरेर त्यससित लड्न अघि बढ्नु पर्ने हो तर कोही पनि अघि सरेन। बरु युद्धसम्बन्धी कुनै तालिम नलिएको गोठालो केटो अग्रसर भयो। (१ शमू. १७:३२) निर्वासनबाट यरूशलेम फर्केका यहूदीहरूले पर्खाल पुनर्निर्माण नगर्दा कोही पनि त्यसको निर्माण सुरु गर्न अग्रसर भएनन्। बरु फारसका राजालाई मद्य टक्राउने व्यक्ति, दरबारमा आफूले पाएको उच्च ओहदा त्यागेर यरूशलेमसम्म यात्रा गर्न र त्यहाँ कामको बन्दोबस्त मिलाउन अग्रसर भए। (नहे. २:५) इच्छुक मनोभाव देखाउने यी दुई पुरुष—दाऊद र नहेम्याहलाई यहोवाले आशिष् दिनुभयो।—१ शमू. १७:४५, ५०; नहे. ६:१५, १६.
२. मसीहीहरूले किन इच्छुक मनोभाव देखाउनुपर्छ?
२ आज संसारमा यस्तो मनोभाव पाइँदैन। अहिले “आखिरी दिनमा” मानिसहरू व्यस्त र “स्वार्थी” छन्। (२ तिमो. ३:१, २) आफ्नै कुरामा मात्र व्यस्त भएको हुँदा अरूलाई मदत गर्ने मौका हुँदा समेत वास्तै नगर्ने झुकाव हुन सक्छ। तर हामी मसीहीहरू येशूको अनुकरण गर्न चाहन्छौं जो अरूलाई मदत गर्न अग्रसर हुनुभयो। (यूह. ५:५-९; १३:१२-१५; १ पत्रु. २:२१) हामी कसरी इच्छुक मनोभाव देखाउन सक्छौं अनि कस्ता आशिष् पाउनेछौं?
३. इच्छुक मनोभावले सभाहरूमा कस्तो योगदान पुऱ्याउँछ?
३ हाम्रा भाइहरूको खातिर: सभामा श्रोताहरूलाई जवाफ दिने मौका दिइँदा टिप्पणी दिएर हामी अरूलाई “आत्मिक वरदान” दिन सक्छौं। (रोमी १:११) टिप्पणी दिंदा यहोवाको आदर हुन्छ, हाम्रो मन अनि हृदयमा सच्चाइ ठप्प बस्छ अनि सभा रमाइलो हुन्छ। (भज. २६:१२) भाषण दिन खटाइएको व्यक्ति अनुपस्थित हुँदा उनको सट्टा भाषण दिन पनि हामी अग्रसर हुन सक्छौं। यसो गर्दा हाम्रो सिकाउने क्षमता तिखारिंदै जान्छ।
४. इच्छुक मनोभाव देखाउन सक्ने केही तरिका के-के हुन्?
४ मण्डलीका जिम्मेवारीहरू सँभाल्न अग्रसर भएर भाइहरूले इच्छुक मनोभाव देखाउन सक्छन्। (यशै. ३२:२; १ तिमो. ३:१) त्यसै गरी, विभिन्न विभागहरूमा स्वयम्सेवा गरेर सबैले सम्मेलन तथा अधिवेशन सुचारु रूपले चलाउन योगदान पुऱ्याउन सक्छन्। परिभ्रमण निरीक्षकसित क्षेत्र सेवकाईमा जाँदा वा तिनलाई भोजनको निम्ति बोलाउँदा “दुवैले एउटा अर्काबाट प्रोत्साहन पाउन” सक्छन्। (रोमी १:१२, NRV) मण्डलीका टुहुरा-टुहुरी, विधवा, बिरामी, अशक्त, कलिला केटाकेटीका आमा र अरूलाई पनि चाहिएको मदत दिन अग्रसर हुँदा आनन्दका साथै यहोवाको कृपा पाउँछौं।—हितो. १९:१७; प्रेरि. २०:३५.
५. राज्यभवनसित सम्बन्धित कस्ता कामहरूमा इच्छुक मनोभाव चाहिन्छ?
५ हाम्रो समय र शक्ति दिने अर्को तरिका राज्यभवनको सरसफाइ र स्याहारसम्भारमा मदत गरेर हो। साथै, थुप्रै नयाँ व्यक्तिहरूले सच्चाइ सिकिरहेको हुँदा नयाँ राज्यभवन र ती निर्माण गर्न स्वयम्सेवकको खाँचो छ। निर्माणसम्बन्धी कुनै दक्षता नभए तापनि एक दम्पती क्षेत्रीय निर्माण समितिलाई (रिजनल बिल्डिङ कमिटी) सहयोग गर्न अग्रसर भए। केही समयपछि यस दम्पतीलाई तालिम दिइयो अनि अहिले तिनीहरू डकर्मीको काम गर्छन्। पत्नीले यसो भनिन्: “अरूसित काँधमा काँधमा मिलाएर काम गर्दा घनिष्ठ मित्रहरू बनाउन सक्यौं। दिनभरि काम गरिसकेपछि थकाइ त लाग्छ तर आध्यात्मिक तवरमा भने फूर्तिलो नै हुन्छौं।”
६. हाम्रो सेवकाईलाई किन सबैभन्दा महत्त्वपूर्ण स्वयम्सेवा भन्न सकिन्छ?
६ प्रचार गरेर: अहिले हामीले गर्न सक्ने सबैभन्दा ठूलो स्वयम्सेवा भनेको प्रचारकार्यमा भाग लिएर हो। मानिसहरूलाई बाइबलको सच्चाइ बुझाएर त्यसैअनुसार जीवन बिताउन मदत दिंदा तिनीहरूको जीवन अर्थपूर्ण हुन्छ अनि हानिकारक बानी समेत छोड्ने बल पाउँछन्। तिनीहरूले भविष्यको लागि बाइबलले दिने उत्थानदायी आशाबारे सिक्न पाउँछन्। यसरी बाइबलको शिक्षा अरूलाई दिंदा हामीले चिरकालीन लाभ हुने आनन्ददायी स्वयम्सेवा गरिरहेका हुन्छौं। (यूह. १७:३; १ तिमो. ४:१६) सहायक वा नियमित अग्रगामी सेवा गरेर, प्रकाशकहरूको आवश्यकता बढी भएको ठाउँमा बसाइँ सरेर वा अर्को भाषा सिकेर प्रचारकार्यमा अझ बढी भाग लिन हाम्रो परिस्थितिले दिन्छ कि?
७. अहिले इच्छुक मनोभाव देखाउनु किन अत्यन्तै महत्त्वपूर्ण छ?
७ मसीहले शासन गर्न थालेपछि परमेश्वरका जनहरूले “राजी-खुशीले आफैलाई अर्पण गर्नेछन्” भनी राजा दाऊदले भविष्यवाणी गरेका थिए। (भज. ११०:३) यहोवाले आध्यात्मिक कटनीलाई तीव्र गतिले अघि बढाइरहनुभएको हुँदा हाम्रो स्वयम्सेवा चाहिने ठाउँ प्रशस्तै छ। (यशै. ६०:२२) के तपाईंले “म हाजिर छु। मलाई पठाउनुहोस्” भन्नुभएको छ? (यशै. ६:८) इच्छुक मनोभाव देखाएर हामी साँच्चै यहोवालाई खुसी बनाउँछौं अनि प्रचुर आशिष् पाउँछौं।