‘उहाँको पाइलामा टेकेर हिंड्नुहोस्’
१. हामी कसरी प्रभावकारी प्रचारक हुन सक्छौं?
१ येशूले रब्बीहरू पढ्ने स्कूलमा शिक्षा हासिल गर्नुभएको थिएन। तैपनि उहाँ इतिहासकै महान् प्रचारक हुनुहुन्थ्यो। येशूले सेवाको काममा बसालेको नमुना हाम्रै फाइदाको लागि बाइबलमा लेखिएको छ र यसको लागि हामी कोटीकोटी धन्यवादी छौं। प्रभावकारी प्रचारक हुन हामी “उहाँको पाइलामा टेकेर” ‘हिंडनैपर्छ।’—१ पत्रु. २:२१.
२. ख्रीष्टले जस्तै मानिसहरूलाई माया गर्न हामीलाई केले मदत गर्नेछ?
२ मानिसहरूप्रति माया देखाउनुहोस्: मानिसहरूप्रतिको मायालु चासोले गर्दा नै येशू तिनीहरूको आवश्यकता पूरा गर्न जुरमुरिनुहुन्थ्यो। (मर्कू. ६:३०-३४) हाम्रो इलाकाका थुप्रै मानिस “वेदनामा” छन् र तिनीहरूले सत्य कुरा के हो, त्यो थाह पाउनै परेको छ। (रोमी ८:२२) तिनीहरूको नाजुक परिस्थिति अनि यहोवाले तिनीहरूप्रति देखाएको मायालु चासोलाई सम्झँदा हामी प्रचार गरिरहन उत्प्रेरित हुनेछौं। (२ पत्रु. ३:९) यसबाहेक, हामी तिनीहरूलाई साँच्चै माया गर्छौं भन्ने तिनीहरूले महसुस गरेका छन् भने तिनीहरूले हाम्रो सन्देश सहजै स्वीकार्छन्।
३. येशूले के-कस्ता मौकामा प्रचार गर्नुभयो?
३ हरेक मौकाको फाइदा उठाउनुहोस्: येशूले अरूलाई सुसमाचार प्रचार गर्न मिल्ने हरेक मौकाको फाइदा उठाउनुभयो। (मत्ती ४:२३; ९:९; यूह. ४:७-१०) त्यसैगरि, हरेक दिन हामी पनि मानिसहरूलाई सत्यबारे बताउन तम्तयार हुन चाहन्छौं। काम गर्ने ठाउँमा, स्कूलमा, यात्रा गर्दा, किनमेल गर्दा र यस्तै अन्य अवसरमा मौका मिल्ने बित्तिकै प्रचार गर्न सकियोस् भनेर केहीले साहित्यहरू र बाइबल बोक्ने गरेका छन्।
४. परमेश्वरको राज्यलाई हामी कसरी प्रचारको मुख्य विषय बनाउन सक्छौं?
४ परमेश्वरको राज्यतर्फ ध्यान खिच्नुहोस्: परमेश्वरको राज्यको सुसमाचार नै येशूको प्रचारको मुख्य विषय थियो। (लूका ४:४३) प्रचार गर्दा परमेश्वरको राज्यबारे तुरुन्तै वा प्रत्यक्षतः कुराकानी नगरे तापनि परमेश्वरको राज्य किन आवश्यक छ भन्ने कुरा घरधनीलाई बुझाउन हामी बिर्संदैनौं। हामी आखिरी दिनमा बाँचिरहेका छौं भनेर संकेत गर्ने संसारको बिग्रँदो परिस्थितिबारे बताउँदा पनि मुख्यतः “असल कुराका शुभ समाचार” नै प्रचार गर्छौं।—रोमी १०:१५.
५. प्रचारकार्य प्रभावकारी भएको चाहन्छौं भने बाइबललाई के गर्नुपर्छ?
५ परमेश्वरको वचनमा भर पर्नुहोस्: प्रचारकार्यभरि नै येशू परमेश्वरको वचन बाइबलमा भर पर्नुभयो। उहाँले आफ्नै तर्फबाट कुनै पनि शिक्षा दिनुभएन। (यूह. ७:१६, १८) उहाँले परमेश्वरको वचन ग्रहण गर्नुभयो र शैतानको आक्रमणबाट जोगिन उक्त वचन प्रयोग गर्नुभयो। (मत्ती ४:१-४) अरूलाई प्रभावकारी तरिकामा सिकाउने हो भने हामीले पनि दिनहुँ परमेश्वरको वचन पढ्नुपर्छ र पढेको कुरा लागू गर्नुपर्छ। (रोमी २:२१) क्षेत्रमा सोधिने प्रश्नहरूको जवाफ दिंदा बाइबललाई आफ्नो जवाफको आधार बनाउनुपर्छ र सम्भव भएसम्म बाइबलबाटै पढेर सुनाउनुपर्छ। घरधनीले हामी आफ्नो होइन तर परमेश्वरको विचार व्यक्त गर्छौं भनेर बुझेको हामी चाहन्छौं।
६. श्रोताको हृदयसम्म पुग्न येशू के गर्नुहुन्थ्यो?
६ मन छुनेगरि सिकाउनुहोस्: “यस मानिसले जस्तो ता कुनै मानिसले कहिल्यै बोलेन।” (यूह. ७:४६) येशूलाई पक्रन असफल हुनुको कारण सोध्दा अफिसरहरूले मुख्य पूजाहारी र फरिसीहरूलाई उपरोक्त जवाफ दिएका थिए। तथ्य मात्र दिनुको साटो येशू मानिसहरूको मन छुनेगरि सिकाउनुहुन्थ्यो। (लूका २४:३२) दिइएको शिक्षा प्रस्टै बुझून् भनेर मानिसहरूले याद गर्ने सामान्य कुरालाई नै येशू उखान वा दृष्टान्तको रूपमा प्रयोग गर्नुहुन्थ्यो। (मत्ती १३:३४) तीनथुप्रो जानकारी लादेर येशू आफ्ना श्रोतालाई अलमल्लमा पार्नुहुन्न थियो। (यूह. १६:१२) मानिसहरूको ध्यान आफूतर्फ खिच्नुको साटो उहाँ तिनीहरूको ध्यान यहोवातर्फ खिच्नुहुन्थ्यो। “आफ्नो शिक्षाको विषयमा” निरन्तर ‘होशियार रहेर’ हामी पनि येशूजस्तै असल शिक्षक हुन सक्छौं।—१ तिमो. ४:१६.
७. येशू किन प्रचारकार्यमा लागिरहनुभयो?
७ भावशून्यता देखाउँदा र विरोध गर्दा पनि लागिरहनुहोस्: येशूले सामर्थ्यका थुप्रै काम गर्नुभए तापनि धेरैले उहाँको कुरा सुनेनन्। (लूका १०:१३) येशूका परिवारको सदस्यलाई समेत “उहाँको मन ठेगानामा छैन” जस्तो लागेको थियो। (मर्कू. ३:२१) तैपनि येशूले हार मान्नुभएन। उहाँ सकारात्मक भइरहनुभयो किनकि मानिसहरूलाई स्वतन्त्र तुल्याउने सत्य आफूसित छ भनेर उहाँ पूर्णतया विश्वस्त हुनुहुन्थ्यो। (यूह. ८:३२) यहोवाको मदत पाएर हामी पनि हरेस नखान कटिबद्ध भएका छौं।—२ कोरि. ४:१.
८, ९. सुसमाचारको खातिर त्यागहरू गर्न हामी कसरी येशूको अनुकरण गर्न सक्छौं?
८ पूरापूर भाग लिन आवश्यक त्यागहरू गर्नुहोस्: सेवाको काममा लाग्न येशूले भौतिक सुखसुविधाहरू त्याग्नुभयो। (मत्ती ८:२०) प्रचार गर्न उहाँ कहिल्यै थाक्नुभएन। कहिलेकाहीं दिन ढलिसक्दा पनि उहाँ प्रचारमा व्यस्त भइरहनुहुन्थ्यो। (मर्कू. ६:३५, ३६) आफूलाई सुम्पिएको जिम्मा पूरा गर्न समय धेरै बाँकी छैन भनेर येशूलाई राम्ररी थाह थियो। “समय अल्प भएको”-ले हामीले पनि येशूको अनुकरण गर्दै आफ्नो समय, शक्ति अनि सरसम्पत्ति त्याग गर्नुपर्ने हुन्छ।—१ कोरि. ७:२९-३१.
९ येशूबाट सिकेकोले प्रथम शताब्दीका ख्रीष्टियानहरू प्रभावकारी प्रचारक भएका थिए। (प्रेरि. ४:१३) इतिहासकै महान् प्रचारकको अनुकरण गऱ्यौं भने हामी पनि सेवाको काम पूरा गर्न सक्छौं।—२ तिमो. ४:५.